काठमाडौं: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयमा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन नबुझाएकाले मन्त्रालयले मूल्याङ्कन गर्न नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री खडकाले गत भदौ मसान्तमा बुझाउनुपर्ने कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन गत पुस मसान्तमा बुझाइएकाले कार्यकारी निर्देशक घिसिङको मूल्याङ्कन गर्न नसकिएको जानकारी दिनुभयो । पटकपटक आग्रह गर्दा पनि घिसिङले मन्त्रालयलाई अटेर गरेर म्याद सकिएपछि मूल्याङ्कन गर्न भन्दै आफैँले नम्बर तोकेर पठाएकाले समस्या भएको उहाँको भनाइ छ । डेडिकेटेड र ट्रङ्कलाइन बापत उठ्नपर्ने रु २२ अर्ब रकमसमेत प्राधिकरणको नाफाका रूपमा राखिएको पाइएको मन्त्री खड्काले बताउनुभयो । विभिन्न विषयका कारण प्राधिकरणको नाफा एकिन गर्न नसकिएको उल्लेख गर्दै उहाँले वास्तविकता पत्ता लगाएर मात्रै शेयर बिक्री गरिने जानकारी दिनुभयो । भारतबाट आयात गरिएको भन्दा नेपालबाट गरिने बिजुलीको निर्यात बढी हुने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री खड्काले यस विषयमा आवश्यक अनुसन्धान गरिने बताउनुभयो । उहाँले नीति, नियम तथा कानुन सबैले मान्नुपर्नेमा जोड दिँदै ऊर्जा मन्त्रालय पनि सोहीअनुसारको व्यवहार गर्नरगराउन लागिरहेको स्पष्ट पार्नुभयो ।
महोत्तरी: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभएको छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गर्दै उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।” प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताउनुभयो । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।” उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो । आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप परीक्षण (ट्रायल)का लागि लगाउने भन्ने भनाइमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोपको हालसम्म गरिएका अध्ययनअनुसार सुरक्षित पाइएको र यसको कुने नकारात्मक असर नदेखिएको उहाँले बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भन्नुभयो, “यो खोपले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमणबाट सुरक्षित गराउँछ । यो खोप सुरक्षित र प्रभावकारी छ । यसबाट हालसम्म कुनै गम्भीर किसिमका असर वा घटना भएका छैनन् ।” सांसद मदनकुमारी शाह (गरिमा)ले किशोरीलाई लगाइने यो खोप पूर्ण स्वास्थ्यका दृष्टिकोणबाट कति सुरक्षित छ? र यो खोप पुरुषलाई दिने प्रबन्ध सरकारले कहिले मिलाउने भनी प्रश्न गर्नुभयो । उत्तरमा मन्त्री पौडेलले अन्य राष्ट्रमा पुरुषलाई पनि दिने गरिएको बताउँदै यसबारे सहयोगी राष्ट्रबाट उपलब्ध हुन सक्छ की भन्नेमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । गत माघ २२ गतेदेखि देशव्यापी रूपमा सुरूआत गरिएको अभियानमा हालसम्म १४ लाख किशोरीले यो खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी वर्षदेखि यसलाई नियमित खोपका रूपमा कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइनेछ ।
महोत्तरी: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गर्नुभएको छ । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गर्नुभएको हो । आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ । नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ ।
ताप्लेजुङ: ताप्लेजुङको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो । विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छभने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले सेवा लिन पाएका छैनन् । यो विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय मौसममा उडान भर्दै आएकामा हाल दुवैले सेवा बन्द गरेका छन् । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले दसैँअघि सातामा सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन नियमित उडान भर्दै आएकामा दसैँपछि शुक्रबार मात्रै उडान भइरहेको थियो । मार्च ४ (फागुन २० गते) देखि उडान पुनः सञ्चालन गर्ने आधिकारिक सूचना आएपनि जहाज नआएकाले सञ्चालन गर्न नसकिएको सुकेटार विमानस्थलका वरिष्ठ अधिकृत धर्मेन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम कहिलेकाहीँ प्रमुख चुनौती भए पनि यस पटक मुख्य समस्या जहाज बिग्रिएर भएको हो । लामो समयदेखि हवाई सेवा बन्द हुँदा ताप्लेजुङको पर्यटन क्षेत्र प्रभावित भएको छभने स्थानीय बासिन्दा यात्राका लागि सास्ती खेप्न बाध्य भएका छन् । पर्यटकले हवाई सेवा लिन पाएका छैनन्, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक कामका लागि काठमाडौँसहित अन्यत्र जानुपर्ने सर्वसाधरण झापा वा विराटनगरका विमानस्थलसम्म पुग्नुपर्ने बाध्यतामा छन् । यात्रुहरूको सहज आवागमनका लागि सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको माग छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । तत्कालीन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का लगाएको पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती ब्यहोर्नुपरेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । हालसम्म पिल्लर उठाउने, नदीको बीचमा ‘पाइलिङ’ र काभ्रेपलाञ्चोकतर्फको पिल्लरको पाइलिङ सकिएको छ । निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत भौतिक काम सकिएको दावी गर्दै आएको छ । “दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी हेटौँडा पुगिन्छ, त्यसैले यहाँ पुल बनेमा निकै सजिलो हुने थियो,” स्थानीयवासी रामप्रसाद तिमल्सिनाले भन्नुभयो । निर्माण व्यवसायी खड्ग गोपालीले सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएकाले सामग्री ढुवानीका लागि पहिला सडक बनाउँदा केही ढिलाइ भएको बताउनुभयो । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिं लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले उक्त पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । महाभारत, खानिखोला र बागमती गाउँपालिकाको टोलीले बुधबार मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । सो अवसरमा मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई उक्त पुललाई चाँडो सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । उहाँका अनुसार मन्त्री मास्कले आपूmले प्रदेशका रुग्ण योजना पहिचान गरी २९ वटालाई गति दिएको र तीन योजना सम्पन्न भएको बताउनुभयो ।
म्याग्दी: म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो । परियोजना मार्फत गलेश्वर बसपार्क देखि प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फुलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । “मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सौन्दर्यकरणको परियोजना शुरु गरिएको हो,” उहाँले भन्नुभयो “बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र विकास कोष सहितका संघ संस्थाको रु। ३० लाख बजेटबाट शुरु भएको योजनालाई आगामी वर्षपनि निरन्तरता र पूर्णता दिन्छौ ।” गलेश्वर बजार भित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधनहरु बजार बाहिरको कालिगण्डकी कोरिडोरको सडकबाट मात्र आवत जावतको ब्यवस्था मिलाइने वडा अध्यक्ष केसीले बताउनुभयो । भुईमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपुर्तिका सवारी साधन सञ्चालन गर्न मिल्ने गरि संरचनाको डिजाइने गरिएको छ । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु। २० लाख बजेट बिनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु। छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दीरले रु। दुई÷दुई लाख उपलब्ध गराएका छन् । गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उक्त योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले रु। २४ लाख ३६ हजार पाँच सय ७१ मा ठेक्का लिएको छ । गत माघ महिनामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीका प्रतिनिधी नवराज बरुवालले भुईमा बिछ्याउने ढुङ्गा तयार पार्ने काम भइरहेको र तयार भएपछि ल्याएर यसै आर्थिक वर्षभित्र बिछ्याइने बताउनुभयो । कालीगण्डकी नदी किनारमा नौरोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्नाले मनोकांक्षा पुरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ ।
पाल्पा: जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।