पोखरा:  गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...

भक्तपुर: अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।       भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।  प्रहरीले ट्रक चालक  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल मध्यपुरथिमि–३ सागबारी बस्ने ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ 

काठमाडौं:  जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।      सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यही फागुन २६ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिनुभयो ।      सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरूङले सरकारले गरेका २५ वटा निर्णय सार्वजनिक गर्नुभयो ।  भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्राबास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदानप्रदान पत्र स्वीकृत गर्ने र उक्त पत्रमा सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।      त्यस्तै, सरकारबाट क्वालिटी टिभीइटी फर युथ (क्वालिटिटिभी) प्रोजेक्ट, फेज आई कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान रकम १ दशमलव ६८ मिलियन स्वीस फ्रैंक (करिब नेपाली २५ करोड ६५ लाख रूपैयाँ बराबर) अनुदान सहायता स्वीकार गर्ने र उक्त एक्सचेञ्ज अफ लेटरमा नेपाल सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय भएको छ ।       सरकारले विश्व बैंकबाट सञ्चालित विभिन्न आयोजनामा प्रतिकार्य विकल्प (आरआरओ) स्थापना गर्नका लागि उल्लिखित आयोजनाको वित्तीय सम्झौतामा नेपाल सरकारकोतर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ ।  त्यस्तै आगामी चैत २० गतेदेखि २२ गतेसम्म स्पेनको मेड्रिडमा सञ्चालन हुने लिडरसिप एण्ड लिभरेजिङ द ग्लोबल एसआइए नेटर्वक कार्यक्रम र चैत २५ गतेदेखि २६ गतेसम्म थाइल्याण्डको बैंककमा सञ्चालित हुने आइडिआइएडीबी लिडरसिप फोरम कार्यक्रममा सहभागिताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृति प्रदान गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो ।      त्यस्तै, अन्य निर्णयमा विश्व बैंकको वित्तीय सहयोगमा कार्यान्वयनमा रहेको रणनीतिक सडक सञ्चालन तथा व्यापारिक मार्ग सुधार आयोजनामा प्रस्तावित २०० मिलियन अमेरिकी डलर बराबरको थप सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी उल्लेखित दस्तावेजहरूलाई अन्तिम रूप दिन अख्तियारी दिइएको छ ।  आगामी चैत १८ गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा सञ्चालित हुने एजुकेशनल वर्कसप अन सिस्टम अफ अडिट क्वालिटी म्यानेजमेन्ट कार्यक्रममा सहभागिताका लागि उपमहालेखापरीक्षक वैकुण्ठबहादुर अधिकारीलाई स्वीकृति दिएको छ ।       राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम सङ्घ, प्रदेश, स्थानीय तहबीच रोयल्टी बाँडफाँटका आधार, विधि र हिस्सा स्वीकृत गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण९ओएन्डएम० गर्न पूर्वस्वीकृति दिइएको छ । आगामी चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुने १६औँ एनआरएन युरो रिजनल कन्फ्रेन्स मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिइएको छ ।       सरकारले भागीरथी भट्टराई ९ज्ञवाली०, काठमाडाँैलाई विद्युत् नियमन आयोजनाको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले रेट एनलाइसिस नर्मस फर वर्कस् २०८१ स्वीकृत गरेको छ ।  आर्थिक वर्ष २०८१र८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडाँैका लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।       सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा फाइन्द्रराज पाण्डेलाई नियुक्त गरेको छ ।  त्यसैगरी सो मन्त्रिपरिषद् निर्णयबाट अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको तीन सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०८१ गठन गर्ने निर्णय भएको छ ।       गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृित दिइएको छ । जिल्ला समन्वय समितिका नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गाविस वडा नं ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिइएको छ । त्यसैगरी जग्गा प्रशासन निर्देशिका, २०२५ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गरिएको छ ।      यसैगरी, आगामी चैत २१ गतेदेखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने पेटेरेसबर्ग क्लाइमेट डाइलग २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति दिइएको छ । बडीचौर–विम्रेनी–बाबियाचौर–विद्यापुर सडक निर्माणका लागि सुर्खेत जिल्लाको बराहताल गाउँपालिका वडा नं २, ५, ६, ७ र पञ्चपुरी नगरपालिका वडा नं ३ मा रहेको राष्ट्रिय वनको १० दशमलव ३१९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।       जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको सञ्चालन समितिको अध्यक्ष पदमा वन तथा वातावरण मन्त्रालयका सहसचिव ९प्रा० डा बुद्धि सागर पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि कामकाज गर्न खटाउने र नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गरिएको छ ।       मन्त्रीपरिषद्बाट कान्तिबाल अस्पताल भवन पुनःनिर्माण कार्यलाई विशेष परियोजनाका रूपमा कार्यान्वयन गर्नेगरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने, चीनले एम्बुलेन्स प्रयोजनार्थ अनुदान(वस्तुगत सहायता) स्वरूप प्रदान गर्ने ५० थान विद्युतीय सवारीसाधन स्वीकृत गर्न स्वीकृति प्रदान गर्ने र स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय भएको छ ।

गण्डकी:  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो । “पोखराबाट अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटकपटक राज्यका सम्बन्धित उच्च निकायमा ध्यानाकर्षण गरिरहदा पनि उडान सुचारु हुन नसक्दा हामी निजी क्षेत्रका पर्यटन व्यवसायीले नै केही प्रयास गरौँ भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्स सँगको सहकार्यमा यो अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो”, उहाँले भन्नुभयो । यसमा विशेषतः चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दुले सुरुआती उडानहरुमा सहकार्य गरिरहेको बताउँदै उहाँले नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले पनि संयोजनकारी भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उहाँको भनाइ छ । आगामी तीन महिनासम्मको अवधिमा करिब एक हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाईमार्गबाट सीधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले जानकारी गराएको उहाँले बताउनुभयो । सुरुवाती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट सुरु गरेर यसलाई व्यावसायिक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कार्यको लागि पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेको परिषद्ले जनाएको छ । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप पहिलोपटक व्यावसायिक चार्टर्ड उडान हुन लागेको बताउँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अब चार्टर्ड मात्र नभई नियमित उडान हुनुपर्ने बताउनुभयो । ठूलो जनसङ्ख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकिएमा त्यसले पोखरा सहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो । नेपालस्थित चिनिया राजदूतावासका डिसिएम वाङ सिनले पोखराबाट हुन लागेको  व्यावसायिक चार्टर्ड उडानले पोखराको समग्र आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै नेपाल चीनबीचको वर्षौंदेखिको सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  उडानको तालिका अनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे १२७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । उक्त दिन दिउँसो १२ बजे १२७ जना पोखराबाट पर्यटन व्यवसायी छेन्दु प्रस्थान गर्नेछन् । उक्त व्यावसायिक चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायत सहभागी बन्ने जनाइएको छ । पहिलो व्यावसायिक उडानका क्रममा हुनेसात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जनकारी लिइने परिषद्का महसचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो ।  त्यस्तै नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो । “पोखराबाट अन्तर्राष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै गरिने सेल्स मिसनका कार्यक्रमले पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ”, उहाँले भन्नुभयो । त्यस्तै पोखरा महानगरपालिकाका प्रमुखको नेतृत्वमा लुझोउ सहरमा केही विशिष्ट व्यक्तिहरू सहित समकक्षीसँग भेटवार्ता एवं महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ । सञ्चालनको दुई वर्षसम्म पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक गर्न लागिएको व्यवसायिक चार्टर्ड उडान आफैँमा महत्वपूर्ण रहेको पोखरा भ्रमणवर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले बताउनुभयो ।

काठमाडौं: आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ कार्यक्रम हुनेभएको छ ।  प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराउनुभयो ।  उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह नौमा रहेका सदस्यले यस महिनामा प्रश्न सोध्नका लागि नियमावली नियम ५८ बमोजिम अगामाी चैत ३ गते आइतबार दिनको २ बजेभित्र प्रतिनिधिसभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिइसक्नु हुन व्यहोरासभा समक्ष जानकारी गराउन चाहान्छु ।” 

बाजुरा:   बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे२त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार ट्र्याक्टरमा सवार रहेका चार जना मध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ ।  अन्य तीन जना सकुशल रहेको , ट्र्याक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।      राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।        उहाँले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।   प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।      कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्विस एजेन्सीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गोरखा:  भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्कनुभएका उहाँलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन ।      हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उहाँ बाजुरा पुग्नुभयो । पासाङले बाजुरामा काम त पाउनुभयो तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत जानुभएका उहाँ फेरी कागज उद्योगमै पुग्नुभयो ।  “त्यो उद्योगमा काम जानेको मान्छे अरु रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढवर्ष जति काम गरेँ”, विगत सम्झँदै उहाँले भन्नुभयो । २२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर छ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो ।       करिब पाँच लाख रूपैँया ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गर्नुभयो । “अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोवार हुन्छ,” उहाँले भन्नुभयो, “नियमित पाँच जनालाई रोजगारी दिएको छु, सिजनमा कच्चा पदार्थ (लोक्ता) काढ्ने थुप्रै हुन्छन् ।”      चैत–बैशाखमा सयजना जतिले लोक्ता काढ्ने गरेको उहाँ बताउनुहुन्छ । “पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजुदरले उद्योगमा ल्याउछन्, पासाङले भन्नुभयो, “उनीहरुले पनि प्रतिकिलो रु १५० भन्दा बढी बुझेर फर्कन्छन ।”      गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गर्नुभएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारमा माग धेरै छ । “धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु”, पासाङले भन्नुभयो ।       जग्गा भाडामा लिएर उहाँले उद्योग सञ्चालन गर्दै आउनुभएको छ । पासङको उद्योगमा बार्षिक १० देखि २० ‘टन’ कागज उत्पादन हुने गर्दछ । उत्पादित नेपाली हाते कागज चार किलोको रु तीन हजार ५०० सम्ममा बिक्री हुन्छ ।  “बजारको मागअनुसार पु¥याउन अझै सकेको छैन, पासाङले भन्नुभयो, “कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो ।”      पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्मका नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उहाँले दुईवटा छोरीलाई पढ्नै लागि विदेश पठाउनु भएको छ । साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले पनि सहयोग गरेमा अझै सजिलो हुने उहाँ बताउनुहुन्छ ।

तनहुँ:  भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो ।  भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो ।   नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उहाँले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ ।  “वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएपछि यस्तो निर्माण गरेको हुँ, नगरवासीलाई सहज यात्रा गर्ने वातावरण बनाउने दायित्व पूरा गरिरहेको छु”, नगर प्रमुख त्रिपाठीले भन्नुभयो ।   काम छिटो पूरा गर्न ठेकेदारलाई निर्माण सामग्री खरिद गर्नको लागि रकम अभाव नहोस् भनेर नगर प्रमुख त्रिपाठीले रकम भुक्तानी दिएको भानु –१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो ।  उहाँका अनुसार नगर प्रमुख त्रिपाठीले निर्माणको लागि आवश्यक इन्धन जमानी बसेर ठेकेदारलाई उपलब्ध गराउनुभएको छ । ठेकेदारलाई काम गर्न सहज होस् भनेर रु १५ लाख बराबरको सिमेन्टको समेत जमानी लिई व्यवसायीसँग निर्माण सामग्री लगेर काम दु्रत गतिमा काम भइरहेको वडाध्यक्ष अधिकारीले बताउनुुभयो ।  “नगर प्रमुखले ऋण लिएर ठेकेदारले रकम दिएसँगै काम तदारुकताका साथ काम भइरहेको छ”, उहाँले भन्नुभयो । सरकार प्राप्त हुने भुक्तानी आउन समय लाग्ने भएकाले काम प्रभावित नहोस् भनेर भानु –२ स्थित भानु बचत तथा ऋण सहकारीमा खेत धितो राखेर रु १० लाख ऋण लिएर ठेकेदारलाई भुक्तानी दिएको नगर प्रमुख त्रिपाठीले बताउनुभयो ।  “रकम अभाव भएमा ठेकेदारले समयमा काम पूरा गर्दैन, वर्षा लागेपछि काम गर्दा प्रभावकारी हुँदैन, समयमा नै काम पूरा गर्नकै लागि ऋण लिएर सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो ।  भानु नगरपालिका–१  सतीघाटस्थित ६ रोपनी खेत धितो राखेर सहकारीबाट रकम दिएको त्रिपाठीले स्वीकार्नुभयो । पेटी ठेकेदारको रुपमा काम गर्दै आउनुभएका राजेन्द्र पराजुलीले नगर प्रमुुखले ऋण निकालेर सहयोग गरेपछि तीव्र रुपमा काम गरी छिटो सम्पन्न मद्दत गर्नुभएको बताउनुभयो ।    ठेक्का सम्झौता भएको लामो समयसम्म यस मार्गको निर्माण कार्यमा प्रगति हुन नसकेपछि पूर्वाधार विकास कार्यालय तनहुँले काठमाडौँस्थित शङ्करमाली कन्ट्रक्सनसँग तोडिएको ठेक्का पेटी ठेकदारको रुपमा काम गरिरहनुभएका पराजुलीलाई जिम्मा दिइएको हो । पटक–पटक म्याद थप गर्दा समेत सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ ।  भानु–१३ को चन्द्रावती बजारदेखि पोखरीछाप, ठूल्ढुङ्गासम्म दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । अलपत्र कामलाई तीव्रता दिन पहल ऋण लिएर पूरा गर्न लागिएको हो । उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो ।  दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायतका कामका लागि विसं २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ ।   बर्सातका समयमा सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक कालोपत्र गर्ने काममा ढिलासुस्ती हुँदा यस भेगका स्थानीयवासीले सास्ती खेप्दै आएकाले छिटो सम्पन्न गर्न नयाँ ठेकेदारलाई सहयोग गरिएको उहाँले बताउनुभयो । वडाध्यक्ष अधिकारीका अनुसार नयाँ ठेकेदारले जिम्मा लिएपछि हाल करिब ८० प्रतिशत सडक निर्माणको काम पूरा भएको छ ।  चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगर प्रमुख र वडाध्यक्षले व्यक्तिगत रुपमा रकम उपलब्ध गराइदिएपछि काम गर्न सजिलो भएको ठेकेदार राजेन्द्र पराजुलीले बताउनुुभयो ।  शङ्करमालीले काम गरेको रकम भुक्तानी नदिएपछि रकम अभावले काम प्रभावित हुने जानकारी नगरपालिकामा गराएपछि व्यक्तिगत रुपमा रकम दिएर काम गर्न सहज भएको उहाँले बताउनुभयो ।  मिर्लुङ बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक कुशलचन्द अधिकारीले सडकको दूरावस्ताले दैनिक उपभोग्य सामग्री बजारसम्म पु¥याउन र ल्याउनमै समस्या परिरहेको बेला जनप्रतिनिधिको सहयोगमार्फत सडक निर्माणले गति लिएको बताउनुभयो ।  उहाँले सडक स्तरोन्नतिको लागि दिनरात खटिएपछि कामले गति लिन थालेको बताउनुभयो । “यस वर्ष पानी पर्दा हिलोमा चिप्लिने र नपर्दा धुलोले हैरान भएको बेला कालोपत्रको कामले गति लिन थालेसँगै स्थानीयवासीमा खुसी छाएको छ”, उहाँले भन्नुभयो ।  यस वर्ष समयमा नै सडक निर्माण सम्पन्न भएपछि यस भेगका स्थानीयवासी सहज र सुरक्षित यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि सहज यात्रा गर्ने आशामा रहेका स्थानीयवासी कालोपत्रको कामले तीव्रता पाएपछि हर्षित भएका हुन् । 

सोलुखुम्बु: सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।  राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रदान गर्नुभयो ।  वडाअध्यक्ष महलसिं राईको सिफारिसमा नागरिकता वितरण गरिएको थियो । जिल्लाका कुनै पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोस भन्ने उद्देश्यअनुरुप राईलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।  उहाँले भन्नुभयो, “उहाँ नागरिकता पाउनबाट बञ्चित हुनुभएको रहेछ, जसले गर्दा राज्यबाट पाउने सेवा सुविधाबाट  वञ्चित हुनुभएको रहेछ ।” राईका बुवाआमा सानैमा मृत्यु भएका कारण नागरिकता बनाउन नसकेको वडाध्यक्ष महलसिंह राईले बताउनुभयो । अत्यन्त न्यून आयस्तर भएका वृद्धाको घर नभएका कारण कटेरामा बस्दै आउनुभएको छ । “उहाँको आफ्नो भन्ने कोही छैन, घरसमेत नभएका कारण सानो कटेरामा बस्दै आउनुभएको छ, यसभन्दा अघि पनि नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी उल्झनका कारण सम्भव भएको थिएन तर यो पटक सिडिओ साबले सहजीकरण गर्दिनुभयो नागरिकता दिलाउन सम्भव भयो ।” वडाध्यक्ष राईले भन्नुभयो । गोटाल मनिका एक छोरा छन् ।  बावुको पत्ता नलागेका उक्त छोराको नागरिकता बनाउनसमेत आमाको नागरिकता आवश्यक पर्ने भएकाले वडा कार्यालयको पहलमा नेपाली नागरिकता दिलाइएको स्थानीयले बताए । विसं २०१३ साल असार १७ गते जन्ममिति रहेको राईको आर्थिक अवस्था अत्यन्त कम्जोर छ ।