पोखरा: कपडाको थोक पसल चलाइरहेकी भगवती बानियाँ केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लेकसाइडको आफ्नै जमिनमा होटल खोलिन् ।  विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेन । अपेक्...

रुकुम:   रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् ।   उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका–५ का दुईवटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् ।   रुमालबारा र शिला टोलका दुईवटा समूहले विगत एक महिनायता बाजा बजाउन सिकिरहेको सिस्ने–५ शिलाकी फम्फा परियारले बताउनुभयो ।   यसअघि जिल्लामा पुरुषले मात्र पञ्चेबाजा बजाउँदै आएका थिए । अब महिलाले पनि सीप सिकेर बाजा बजाउन सुरु गरिसकेको परियारले बताउनुभयो । बाजाको २२ चालामा आफूहरूले एक महिना अवधिमा चार–पाँच चाला सिकिसकेको बताउँदै नेपालीले यसै महिनाको एउटा सामाजिक कार्यमा महिलाको टिमले मात्र बाजा बजाएर काम टारेको सुनाउनुभयो । शिलाकै सलिना परियारले चुलोचौकोमा सीमित पारिएका महिला अहिले आएर पुरुषसरह बाजा बजाउन थालेपछि खुसी लागेको बताउनुभयो ।   समाजमा महिलाले पनि पुरुषसरहको काम गर्न सक्छन् भन्ने खालको उदाहरण दिन भए पनि आफूहरू बाजा बजाउन उत्सुकताका साथ सिकिरहेको उहाँले बताउनुभयो । पछिल्लो युवापुस्ता विदेशिरहेको अवस्थामा पञ्चेबाजाको अस्तित्व सङ्कटमा पर्छ कि भन्ने डरले पनि आफूहरूले स्थानीय सरकारसँग बजेटको माग गरी तालिम लिएको डल्ली नेपालीले बताउनुभयो ।   युवापुस्ता विदेश गइरहँदा गाउँघरमा बाजा बजाउने बूढापाकामात्र रहेको बताउँदै नेपालीले आफूहरूले पनि सीप सिकेर गाजाबाजा बजाउन सक्छौँ र नयाँ मान्छेलाई सिकाएर यस क्षेत्रमा ल्याउन सक्छौँ भन्ने हेतुले आफूहरूले सिकेको बताउनुभयो ।   वडाको सिफारिसमा सिस्ने गाउँपालिकाले पञ्चेबाजा सीपका लागि रु दुई लाख बजेट छुट्याएको थियो । यस बजेटबाट एक महिनाको आधारभूत सीप सिकाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।   जिल्लामै पहिलोपटक पञ्चेबाजा बजाउन महिला उत्सुक देखिएको र त्यसैअनुसार सीप पनि सिकेकामा खुसी व्यक्त गर्दै अध्यक्ष रेग्मीले सीप वृद्धिका लागि माथिल्लोस्तरको तालिमको आयोजना गर्ने बताउनुभयो ।

पोखरा :  विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए स्वदेशी तथा विदेशी पर्यटक । कतै तस्वीर खिच्दै गरेका त कतै सेल्फीमा रमाइरहेका थिए उनीहरु ।   फेवामा तैरिरहेका डुङ्गा छालसँगै चलमलाइरहेका थिए । केही डुङ्गा पर्यटक बोकेर घरी तालबाराही मन्दिर त घरी फेवा किनार आवतजावतमा व्यस्त थिए । त्यही बीचमा देश–विदेशका एक सय १८ चित्रकारको हुल पनि मिसिएपछि सोमबारको जमघट बाक्लिएको थियो । पोखरामा पर्यटकहरू आउने क्रम सुरु हुनै लागेकाले  अझै सोचेअनुसार पर्यटक आइपुगिसकेका छैनन् ।   कलाकारको जमघटले त्यहाँको माहोल बाक्लिएको पाइन्थ्यो । फेवातालबाट देखिन दृश्यले कलाकारलाई चुप लागेर बस्न दिएन । आएका कलाकार दुरान्तर कायम गर्दै मस्तिष्कमा खिचिएका दृश्यलाई  टाइपोट र इजलका साथ जलरङमा कुची चोपेर क्यान्भास रङ्ग्याउन थालिहाले । कोही डुङ्गामा पुगे, कोही बाराही मन्दिर गए, कोही फेवा किनारमै बसे त कोही ‘वाकिङ प्लेस’का प्रतिक्षालयबाट नियाल्दै  चित्र कोर्न लागे ।   विभिन्न कोण समाएर कलाकारले फेवालाई टम्म घेरे । आ–आफ्नो कोणबाट दृश्य सिर्जना गरे । उनीहरूको तीन दिनदेखिको थकान फेवाले बिर्साइदियो । आगन्तुक आन्तरिक र बाह्य पर्यटक आफ्ना आँखाले नियालिरहेका दृश्यहरू क्यान्भासमा देख्न पाउँदा ट्वाल्ल परेका थिए । उनीहरूले कलाकारसँग तस्वीर र  सेल्फी लिन पनि भ्याए ।   यो अवसर जुटाइदिएको थियो नेपालको अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)ले । पूर्वदेखि पश्चिमसम्मका नेपाली कलाकारका साथमा भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकार सहभागी थिए यहाँ । भारतका कलाकार विजय विस्वाल फेवाको सुन्दरताले मन छोएको र कलाकारका लागि यो अनुपम उपहार भएको बताउनुभयो ।   फेवालाई नेपालको दोस्रो सबैभन्दा ठूलो र गहिरो ताल मानिने स्थानीयवासीले सुनाए । यो तालमा माछापुच्छ«े र अन्नपूर्ण हिमालको मनोरम दृश्य तैरिन्छ । किनारबाट पनि आसपासका प्राकृतिक सुन्दरता नियाल्न सकिन्छ ।   तालको बीचमा पर्ने तालबाराही मन्दिर अर्को विशेषता हो । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यही शिलामा मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजा गर्न थालिएको भनाइ छ  । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको र तालको बीचमा रहेकाले नाम तालबाराही हुन गएको हो ।   प्रमुख शक्तिपीठमध्ये एक मानिने यहाँ दाम्पत्य जीवन सुखमय हुने विश्वासमा धेरै मानिस दर्शन गर्न आइपुग्छन् । सोमबार धेरै कलाकारले त्यही तालबाराहीमै बसेर वरपरका सौन्दर्य र मन्दिरका दृश्य समेटे । फेवाको किनारमा बसेर ताललाई क्यान्भासमा सजाएका भक्तपुरका कलाकार अञ्जन अधिकारीले यहाँ बसेर इजेलका साथ हातमा क्यान्भास र रङ लिएर जब कुची चोप्न थालिन्छ, त्यसपछि शरीरमा आफैँ नौलो ऊर्जा भरिने सुनाउनुभयो  ।   उहाँले भन्नुभयो, “यहाँबाट हेर्दा माछापुच्छ«ेको जुन प्रतिविम्ब फेवातालमा झल्किन्छ, त्यो हृदयस्पर्शी छ, जव ती पानीका छालहरु विस्तारै तरङ्गीत हुन्छ नी, एउटा कलाकारमा  भित्रैदेखि स्वच्छ रक्त सञ्चार हुन्छ, अनि उर्जा आइदिन्छ, काम गर्नका लागि शक्ति बढ्छ र उत्साह थपिन्छ ।”    कुनै पनि कलाकार फेवामा पुग्दा त्यहाँको गहिराइमा डुवेर प्राकतिक सुन्दरतालाई चित्रण गर्न आतुर हुन्छन् । पोखरालाई पहिलोचोटी स्पर्श गर्नुभएका इलामका कलाकार किरणकुमार शिगुलाई पनि त्यही अनुभूति भयो । “नौलो अनुभूतिको आनन्द प्राप्त हुने रहेछ”, शिगुले थप्नुभयो, “कला प्रकृतिबाटै सिकिन्छ, प्रकृतिकै नक्कल गरेर चित्र सिर्जना हुने हुँदा फेवा किनारबाट नियाल्दा भित्रैदेखि सन्तुष्टि प्राप्त भयो ।”   कलाकारहरुको बुझाइमा एउटा चित्रकारले जे कुरा खोजिरहेको हुन्छ ती चिजहरु एकै स्थानबाट प्राप्त गर्न सकिने स्थान हो फेवाताल । उक्त अबसर धेरै ठाउँमा पाइदैन । विविधतायुक्त प्रकृतिलाई खेलाउन फेवा किनार उत्कृष्ट गन्तव्य भएको उहाँहरुको भनाइ थियो । यहाँ बसेर रङ खेलाउन औधी मजा हुने कलाकारहरुले बताए  ।   यसपालीको आर्ट क्याम्पमा उत्कृष्ट १० मा पर्नुभएका चितवनका कलाकार बरुणबाबु घिमिरेले फेवाबाट दुरान्तर असाध्यै राम्रो हुने बताउनुभयो । “एक त सुन्दर ताल त्यसमाथि उभिएको माछापुच्छ«ेसहितका प्राकृतिक छटाले आर्ट गरेरै थाकिन्न जता फर्कियो त्यतै पेन्टिङ गरौँ गरौँ झैँ लाग्छ”, उहाँले भन्नुभयो । घिमिरेका अनुसार पोखरा नेपालीपन र नेपाली परिवेश बोकेको ठाउँ हो ।   भक्तपुरका कलाकार सुस्मा श्रेष्ठ र उहाँकी छोरी  श्रेया हाडा पनि आर्ट क्याम्पमा सहभागी हुनुहुन्थ्यो । दुवै जनाले फेवाको दृष्यलाई सोमबार जलरङले सजाउनुभयो । सुस्मालाई त्यो नजिकका हरियालीभित्रको मसिना कण बनाउन खुब ऊर्जा मिल्यो ।    प्रकाशको किरणसँगै छिनछिनमा बदलिने प्रकृतिका रङसँगै कलाकारले रङ खेलाउन सक्नुपर्छ । त्यसमाथि जलरङ खेलाउन त्यति सजिलो हुन्न । यहाँको हरियाली वातावरण, तरेली परिरहने एकनासको छाल, सिरिर।।र बहिरहने हावा र हिमालको स्पर्शले मुग्ध पारिदिन्छ ।   साँच्चैभन्दा फेवा किनारले मानिसको तनाव कम गरेर खुसी दिलाइदिन्छ । त्यही विषयलाई क्यान्भासमा उतार्दा आउने आनन्द छुट्टै हुने कलाकर श्रेष्ठले सुनाउनुभयो । नजिकै देखिने सराङकोटलाई क्यान्भासमा उतार्नुभएकी हाडाले भन्नुभयो, “फेवाको किनारबाट ‘प्योर’ प्रकृतिभन्दा अरु केही देखिएन ।” अर्का कलाकार बाबु साहिलाका अनूभूति पनि त्यस्तै थियो । उहाँले सोमबार त्यही प्राकृतिक खुराकलाई आर्ट पेपरमा सङ्गालेको बतउनुभयो ।   यहाँको प्राकृतिक सौन्दर्यको अथाह प्रेमले गर्दा नै  सिर्जनाका लागि विभिन्न जिल्लाका कलाकारलाई पटकपटक यहाँ  तानेर ल्याउने गरेको स्थानीय कलाकार मनोज तामाङले बताउनुभयो । 

पोखरा  :  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको जिल्ला अधिवेशन असोज २९ गते हुने भएको छ ।   प्रतिष्ठान कास्कीको शनिबार बसेको बैठकले ८ औँ जिल्ला अधिवेशन एवं २१ औँ वार्षिक साधारणसभा असोज २९ गते गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य रचित पौडेलले जानकारी दिए ।    प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीको अध्यक्षता एवम् केन्द्रीय सचिव जीवन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले असोज १० गते दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।   प्रमुख अतिथि दाहालले नेपाली गीत संगीतको इतिहासमै कलाकारहरुको सर्वोत्कृष्ष्ट छाता संगठन दोहोरी प्रतिष्ठान रहेको बताए ।   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको निर्देशन तथा प्रदेश कार्य समितिको निर्णयानुसार कार्तिक मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । यसैले कास्की जिल्लाले असोजमै अधिवेशन गर्ने तयारी गरेको हो ।

ललितपुर  :  ‘सक्नेछन् रचना बिलाउन त्यसै बाटो नपाएपछि  केको हुर्कन सक्छ स्वच्छ बिरुवा माटो नपाए पछि’   स्व कवि नारायण गौतम(पापा बा)का कविता सङ्ग्रह ‘सृष्टिको मेरुदण्ड’ बजारमा आएको छ । प्रस्तुत कविता सङ्ग्रहमा रहेका ७९ कवितामा स्पष्ट भाव, सकारात्मक सन्देश,  समाजका विकृतिमाथि प्रहार, राष्ट्र प्रेम,  प्रकृतिमाथिको सुन्दर प्रस्तुती, मानवीय संवेदना र वात्सल्य प्रेम झल्किएको छ ।   उल्लेखित कवितामध्ये दशवटा मन्दाक्रान्ता, छ वटा वसन्ततिलका, पाँचवटा अनुष्टुप, छ वटा उपजाति र एउटा इन्द्रबज्रा छन्दका रहेका छन् । यसैगरी  दुईवटा गीत पनि समावेश गरिएका छन् ।     सरकारी सेवा, प्राध्यान र सामाजिक सेवामा जीवन बिताउनुभएका  श्रीमहालक्ष्मी नगरपालिकाको लामाटार निवासी उहाँका कविता विभिन्न साहित्यिक पत्रिकामा छापिएका छन् । कवि गौतमको  निधन विसं २०५७ साउन २१ गते भएको थियो । श्रीमती भगवती गौतमले प्रकाशित गर्नुभएको उक्त कविता सङ्ग्रह १०२ पृष्ठको छ। 

पाेखरा:  इन्टरनेशलन वाटरकलर सोसाइटी (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा आजदेखि ‘आर्ट क्याम्प’ सुरु भएको छ ।    पोखरा महानगरपालिका १ बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा आज (शनिबार) देखि ‘पोखरा आर्ट क्याम्प’ सुरु भएको हो ।   आगामी ४ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प प्रतिष्ठानको भवनमा मात्रै सिमित नहुने कार्यक्रम संयोजक मनोज योञ्जन तामाङले बताए । सो क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको कलासहित सहभागिता रहेको तामाङले बताए ।    उनका अनुसार नेपालबाट ९० भारतका ८, बङ्गलादेशका १७ र इरानका ६ जना कलाकारको सहभागिता रहेको छ  । आर्ट क्याम्पअन्तर्गत आज (असोज १ गते) भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी भएका छन्  ।    ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुने कार्यक्रम संयोजक मनोज तामाङले बताए ।   यसैगरि आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले क्याम्पको दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरि कार्यशाला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार तेस्रो दिनभने विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी हुनेछ ।    विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सिमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको गुरुङले बताए ।    आयोजकले कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने लक्ष्य लिएको छ ।    संगीत र कलाको राजधानी हो पोखरा:  पूर्वगृहमन्त्री अधिकारी    नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले पोखरा संगीत र कलाको राजधानी भएको बताए । ‘पोखरा एक प्राकृतिक कला भएको पर्यटकीय स्थल हो, उनले भने,‘ पोखरा संगीत र कलाको राजधानी हो । कलाको माध्यमबाट राज्यलाई चिनाउन महत्वपुर्ण योगदान रहन्छ ।’   उनले कलाले मान्छेलाई सुखस्दुखमा साथ दिने धारणा राखे । ‘कलाले सुखःदुखमा साथ दिन्छ । हरेक कदमकदम कलाको साथ मिल्छ, उनले भने, ‘कलाले संसारलाई एक बनाउनसमेत महत्वुपर्ण योगदान पु¥याउने गर्छ ।’   पोखराका कलाप्रेमी अशोक पालिखेले भने महेन्द्रपुलको आर्ट ग्यालेरी र पुस्तकालय सार्नमा महानगरलाई केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य रहेको बताए ।  ‘महानगरपालिकाको परिभाषा पुरा हुन विश्वविद्यालय, अस्पताल, कला संग्रहालयहरु अनिवार्य रहन्छ छ, पालिखेले भने, ‘तर पोखरा महानगरले चाँही भएको भवन भत्काएर अर्काे ठाउँमा बनाउने घोषणा गरेको छ । यसमा केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य हुन आवश्यक देखिन्छ  ।’   

पाेखरा:  भारतीय अभिनेता एवं पपस्टार लक्की अली पोखरा आइपुगेका छन् ।   काठमाडौंबाट पोखरा आइपुगेका उनले पोखराको सबैभन्दा ठुलो क्लब ‘क्याटवाक’मा भोलि शुक्रबार (१६ सेप्टेम्बर) पहिलो पटक सांगीतिक प्रस्तुति दिनेछन् ।   ‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने क्याटवाकका संचालक गुप्त लामाले बताए । उनका अनुसार अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् ।    गत भदौ २ गतेदेिख खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न पहिलो चरणको टिकटदर १५ सयदेखि २ हजार रुपैयाँ निर्धारण गरिएको सञ्चालक लामाले जानकारी दिए  । उनका अनुसार दोस्रो चरणको प्रवेश शुल्क भने २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ ।  छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट विक्री भइरहेको बताइएको छ । हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट विक्री भइरहेको छ ।    उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवतः अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् ।    करिब ३० करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा ल्याइएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ । भने क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक समितिले दाबी गर्दै आएको छ ।

पाल्पा:   कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो ।   कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ नै घन्किने गरेको अनुभव सुनाउनुहुन्छ, कलाकार हरि पोखरेल ।   आजभन्दा करिब एक दशक अघिसम्म रामपुर क्षेत्रमा सत्यनारायण पूजा, श्री स्वस्थानी व्रतकथा होस् या सन्तान जन्मेको खुसीयालीमा छैँठी, न्वारन, पास्नीमा रातभर दोहोरी गाउने गरिए पनि अहिले भने यो चलन पूर्णरूपमा हराएर गएको उहाँले बताउनुभयो । “रातको समय दोहोरी गाउँदा बिहान उज्यालो भएको पत्तो हुँदैनथ्यो, खैँजडी, मजुरा, मादलको तालमा दोहोरीमा हाँसो ठट्यौली गर्दै धेरै रात बिते”, उहाँले भन्नुभयो, “हिजो गीत गाउने दौँतरी कोही घर गृहस्थीमा लागे, कोही कलाकारितामै रमेका छन्, पहिलेजसो दोहोरीको गाउँमा अहिले झम्को हुनै छाड्यो ।” उहाँ दोहोरी गाउनमा बढी रुचि राख्नुहुन्छ । विभिन्न जिल्लामा पुगेर दोहोरी गाएर उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएको छ ।   अहिले भने आफूलाई दोहोरी गाउने इच्छा भए पनि वातावरण नहुँदा प्रतिभा नै ओझेलमा परेको गुनासो पोख्नुहुन्छ । “कला संस्कृतिको प्रोत्साहनका लागि निश्चित बजेट व्यवस्थापन गरेर कला देखाउने माध्यम बनाउनुपथ्र्यो तर स्थानीय सरकारबाट यससम्बन्धी केही कदम हुन सकेन, देखावटीका लागि नगर प्रोफाइल तयार पारे पनि त्यसमा विस्तृतमा संस्कृति नसमेटिने हुँदा यहाँका कला संस्कृति ओझेल परेको छ”, कलाकार पोखरेलले भन्नुभयो ।   पहिला गाउँघरमा सन्तान जन्मेको खुसीयालीमा छैटीँ, न्वारन, पास्नी, सत्यनारायण पूजा, स्वस्थानी व्रतकथा, विभिन्न सङ्घसंस्थामा गरेको उन्नति प्रगतिको खुसीयाली, धार्मिक तथा शुभकार्यमा रातभर दोहोरी गाउने प्रचलन थियो । यसरी दोहोरी गाउने प्रचलन हट्दै जाँदा प्रतिभा भएर पनि बाहिर निकाल्ने माध्यम नपाउँदा कलाकारितामा रुचि राख्नेहरू अवसरको पर्खाइमा छन् । अहिले भने बढ्दो आधुनिकताको मोहसँगै परम्परागत कला संस्कृति लोप हुँदै गएको छ ।   कलाकारलाई जमघट हुने माध्यम भनेको दोहोरी साँझ हो । रामपुरमा दोहोरी साँझको विकास नभएकाले कलाकारिता क्षेत्रको विकास हुन नसकेको कलाकार बताउँछन् । यहाँ गायन, बाद्यवादन, हाँस्य कलाकार, अभिनय, नृत्यलगायतका विभिन्न विद्यामा रुचि राख्ने धेरै छन् ।   राजनीतिब नेताको अभिनय गर्न कलाकार प्रदीप कँडेल सिपालु हुनुुहुन्छ । सानैदेखि कलाकारितामा रुचि राख्ने उहाँ आफूले प्रतिभा देखाउन चाहना गरे पनि अवसर नपाएको बताउनुहुन्छ । स्थानीय सरकारले आधारभूत तह (कक्षा १–८ सम्म) अतिरिक्त विषयअन्तर्गत कला संस्कृतिसम्बन्धी एउटा विषय समावेश गरेमा कलाकारिता क्षेत्र अगाडि बढ्ने उहाँले बताउनुभयो । कलाकार कँडेल विभिन्न गीत– सङ्गीतका म्युजिक भिडियो छायाङ्कन तथा निर्देशन गर्ने, सम्पादन गर्ने, टेलिशृङ्खलामा कथा लेख्ने गर्नुहुन्छ ।   करिब एक दशकदेखि कलाकारिता क्षेत्रमा पाइला चाल्नुभएका उहाँ अहिले डकुमेन्ट्री, वेवसिरिज बनाउने कार्यमा व्यस्त हुनुहुन्छ ।   यस क्षेत्रमा विभिन्न विधामा प्रतिभाशाली व्यक्ति भए पनि आफ्नो कला, गला प्रस्फुटन गर्ने अवसर नपाएको, स्थानीय तहमा पालिकाले प्रस्फुटन गर्ने माध्यम र यसै भूमिमा जन्मेर ख्यातिप्राप्त गरेका राष्ट्रिय कलाकारले अबका नयाँ पुस्तालाई बाटो देखाइदिनुपर्ने लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ का पूर्व क्षेत्रीय अध्यक्ष प्रेमप्रकाश श्रेष्ठ बताउनुहुन्छ । “कला संस्कृतिको संरक्षणमा स्थानीय सरकारले देखिने गरी काम गर्न सकेन, स्थानीय प्रतिभा सिधै प्रदेश र केन्द्रसँग जोडिन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “व्यक्तिमा लुकेर रहेको प्रतिभा देखाउने अवसर स्थानीय सरकारले खडा गरेमा राष्ट्रियस्तरसम्म पुग्ने प्रतिभावान् कलाकार धेरै निस्कन्छन् ।”   उहाँका अनुसार यहाँ अवसर नपाउँदा राष्ट्रियस्तरसम्म पहिचान बनाउन सक्ने व्यक्ति ओझेलमा परेका छन् । लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ पाल्पाले केही समय पहिले स्थानीयस्तरमा लुकेर रहेका कलाकारलाई जमघट गराउने, विभिन्न कार्यक्रम आयोजना गरी प्रतिभा प्रस्फुटन गराउने कार्यले यहाँका कला र गला भएका व्यक्ति उत्साहित थिए ।   अहिले भने संस्था निस्क्रिय अवस्थामा रहँदा पहिलेजसो कलाकारिता जुर्मुराउने माध्यम छैन । कला संस्कृतिको संरक्षणका लागि रामपुरभित्र रहेका सबै जातजातिको मौलिक संस्कृतिलाई समावेश गरेर नगर प्रोफाइल तयार पारेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।   उहाँ भन्नुहुन्छ, “स्थानीय कला संस्कृतिको संरक्षण गर्दै रामपुर क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेकाले मगर दिवसका दिन वर्षमा एक दिन स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ, लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको जगेर्ना गर्न वडा तथा नगरको तर्फबाट विभिन्न क्रियाकलाप हुने गरेको छ ।” आर्थिक वर्ष २०७९/८० का लागि रामपुर नगरपालिकाको नीति तथा कार्यक्रममा ‘संस्कृति प्रवद्र्धन’ शीर्षकमा नगरपालिकाभित्रका सबै जातजाति, भाषा, धर्म, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने नीति अवलम्बन गरिने, जाति र स्थान विशेषका धार्मिक तथा संस्कृतिको संरक्षण संवद्र्धन गर्नका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने समेटिएको छ ।   साथै कला, सङ्गीत र साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने नीति लिइने, सबै प्रकारका मठमन्दिर, मस्जिद, चर्च तथा गुम्बालगायतका धार्मिक संरचना संरक्षण तथा संवद्र्धनका लागि भौतिक अवस्था पहिचान गरी आवश्यकताका आधारमा भवन निर्माण÷मर्मत शीर्षकमा रकम विनियोजन गरिने यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।   रामपुर क्षेत्रमा जन्मिएका कलाकार राष्ट्रियस्तरसम्म ख्याति कमाउन सफल बनेका धेरै छन् भने केहीले यस क्षेत्रमा बामे सर्दैछन् । नारायण खनाल लेकाली, बद्री पङ्गेनी, खेम राना, कल्पना देवकोटा, लक्ष्मण देवकोटा, माधव भण्डारी, मोहन खड्का, विमल सुनार, प्रेमकुमार गैरे, विमला गैरे, ज्ञानु ठाडा, हुम बिसी, डिबी कालिज, कल्पना रेग्मी, कमल ज्योति, हरि पोखरेल, युवराज रेग्मी, विनोद पोखरेल, आरती विकलगायतका कलाकारले कलाकारितामा आफ्नो पहिचान बनाउनुभएको छ ।   स्थानीय सकारकाले हरेक वडास्तरदेखि नै संस्कृति संरक्षण गर्न जोड दिएर विभिन्न कार्यक्रम गर्नुपर्ने, चलनचल्तीमा आएका सबै संस्कृतिलाई समय मिलाएर बेला–बेलामा प्रस्तुत गरेमा कला देखाउने माध्यम बन्नेछ ।   यहाँ ब्राम्ह्ण, मगर, नेवार, कुमाललगायतका विभिन्न जातजाति, समुदायको आ–आफ्नै खालको कला संस्कृति छ ।   सोरठी, मारुनी, कौरा, झ्याउरे, भजन, चुड्काजस्ता संस्कृति विभिन्न मेला, पर्वमा मात्रै देखाइने गरिन्छ । कला संस्कृतिको विकास नहुँदा गाउँघरमा हुने सभा, महोत्सव, वार्षिकोत्सवलगायतका कार्यक्रममा मात्रै देखाइने गरिन्छ ।   कला संस्कृतिको धनी रामपुर भए पनि यहाँका संस्कृतिलाई उजार गर्दै राष्ट्रियस्तरसम्म पुग्न सक्ने सम्भावना बोकेका कलाकारलाई नगर सरकारबाट प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।रासस

पोखरा   :   पोखरामा आगामी असोज १ गते सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरूका सङ्कलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौँ स्मृति दिवसको अवसर पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा साङ्गीतिक साँझ गर्न लागिएको हो ।    आफ्नो जीवनकालमा स्व सरोज गोपालले देउराली उकाली चढेर... नक्कलीलाई भगाई लग्यो झिल्केले.. , सँइको घर कहाँ हो कहाँ...करोडौँ मुटुहरुको ढुकढुकी...जस्ता दर्जनौँ चर्चित लोक तथा राष्ट्रिय गीतका माध्यमबाट नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएको थियो ।      पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजन गर्न लागिएको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो ।   सङ्गीतकार सुनिल थापाको सङ्गीत संयोजन रहने उक्त साङ्गीतिक साँझमा  बाबा राणा, तारा थापा, रामभक्त जाेजिजु,कर्ण दास, ​विनोद बानियाँ, इतु जोजीजु, विनित जोजीजु, फिरोज गोपाल बज्राचार्यलगायतकाे स्वरमा सरोज गोपालका गीत सुन्न सकिने जनाइएको छ । 

गलेश्वर  :  मगर संस्कृतिको धरोहर मानिने जयसिङ्गे राजा र हैमती रानीको स्मरणमा आधारित प्राचीन सोरठी नृत्य लोपलोपोन्मुख अवस्थामा पुगेपछि मगर समुदायका अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् ।    जयसिङ्गे राजा र हैमती रानीको कथामा आधारित उक्त नृत्य मगर समुदायको मौलिक नृत्य हो । देवी, देउता, पौराणिक घटना र कथामा आधारित रहेर सोरठी गाउने र नाच्ने गरिन्छ । सोरठी गीतमा मानिसका दुःख, वेदना, समस्यालगायत चाडपर्वका शुभकामनालाई पनि लयवद्धरुपमा प्रस्तुत गरिन्छ । मगर समुदायमा सोरठी नाच विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमा समेत नाच्ने गरिन्छ । यो नाचलाई पुख्र्यौली नाच पनि भन्ने गरिन्छ । सोरठीमा पुरुषले महिलाको वेशमा कलात्मक ढङ्गले मादलको तालमा ताल मिलाएर नाच्छन् ।   महिलाको वेशमा सजिएका पुरुष कलाकारलाई मारुनी भनिन्छ । सोरठीमा ठाउँअनुसार दुईदेखि तीनजना मारुनी बनेका हुन्छन् । त्यस्तै मादले पनि दुईदेखि तीन जना हुन्छन् । म्याग्दीमा पनि गाउँघरमा मगर समुदायमा चाडबाड, विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेलापर्वमासमेत नाच्ने गरिँदै आएको छ । जिल्लाको उत्तरी र पश्चिम भेगका मगर बस्तीमा पहिलेजस्तो सोरठी गीत र नाच छ्यापछ्याप्ती देख्न सकिँदैन ।सोरठी गाएर नाच्नुपूर्व सबै देवीदेवताको नाम लिएर तीन तालमा मादल ठोक्नुपर्ने मान्यता छ ।    यसैलाई सरस्वती उतार्ने पनि भनिन्छ । सोरठी नृत्यमा पहिले सरस्वती जगाइ सकेपछि मादलको तालमा नाच्ने गरिन्छ। परम्परागत मान्यताअनुसार चोखो हृदय भएको मान्छे तीन ताल मादल बजाउँदा हल्लिन्छ र उसलाई विधिपूर्वक थामथुम पारेर बसाल्नुपर्छ ।    सरस्वती पुज्ने, आँगन पुज्ने, मादल पुज्ने, आंशिक दिनेलगायतविधि पूरा गरेपछि मात्र सोरठी सुरु हुने म्याग्दी पुख्र्यौली सङ्घका अध्यक्ष थप्रसाद गर्बुजाले बताउनुभयो । गाउँ र ठाउँ अनुसार सोरठी गीतको लय र विधि पनि फरक–फरक हुने उहाँको भनाइ थियो । सोरठीमा गाउन र नाच्न मादले, मारुनी, पुरुसुङ्गेसहित कम्तीमा २० कलाकार आवश्यक पर्छ । मादलकै तालबाट मूल गायकको निर्देशनअनुसार अन्य कलाकारले गायनमा साथ दिने गर्छन् ।   सोरठीको अलिखित इतिहाँस   सोरठी नाच्ने र गाउँने चलन कसले र कहिलेदेखि चलाएको हो भन्ने कुराको इतिहास अलिखित छ । यो नाच पछिल्ला पुस्तामा हस्तान्तरण हुन नसक्दा भने बुढापाका चिन्ता व्यक्त गर्छन् । समयअनुसार गाइने सोरठी गीतको आफ्नै विशेषता छ ।   पछिल्लो समय मगर समुदायमा सोरठी नाच्ने र नाच्नका लागि गाउने गीत तथा कथा वाचन गर्ने जनशक्ति अभाव हुँदै गएको मालिका गाउँपालिका–४ च्युरीबोटस्थित दाजुङ खोलाख्याली सोरठीका अध्यक्ष बोमबहादुर पुनले बताउनुभयो । सोरठी संरक्षण र प्रवद्र्धन गर्न स्थानीय सरकारसँगै युवाले चासो दिन आवश्यक रहेको मालिकागाउँपालिका–४ स्थित नेपाल मगर सङ्घ इकाइ समिति ओखरबोटका अध्यक्ष तुलप्रसाद पुनले जानकारी दिनुभयो ।   सोरठीमा मारुनीले चोली, धरो, रुमाल, चुरापोते, टीका आदि लगाउने गर्छन् । ठाउँ अनुसार पुरुसुङे पनि मादले र मारुनीको साथमा नाच्दछ । पुरुसुङले दौरा सुरुवाल, स्टकोट लगाएका हुन्छ भने मारुनीले कम्पनी माला र शिरमा सेली पहिरिएका हुन्छन् ।सोरठी नाचमा दैवी शक्ति रहेको विश्वास गरिन्छ ।समाजमा सानो, ठूलो, जातभात, धनी ,गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको संरक्षण अभियन्ताले बताए  ।   युवा पुस्ताले यो नाच सिक्न चाहेर पनि समय अभावले पुस्तान्तान्तरण हुन नसकेको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति अध्यक्ष डकमाया पाइजाले बताउनुभयो । जिल्लाका अधिकांश मगर बस्तीमा नाचिने यो नाच संरक्षण र प्रवद्र्धनका लागि अहिले मगर समुदायका युवा जुटेका छन् । युवा पुस्तामा मौलिक संस्कार हस्तान्तरण हुन आवश्यक रहेको उहाँको भनाइ थियो । “सोरठी मौलिक संस्कार संस्कृति मात्र नभइ हाम्रो पहिचान पनि हो । यसको संरक्षण र प्रवद्र्धनमा राज्यले चासो दिनुपर्छ,” अध्यक्ष पाइजाले भन्नुभयो ।   लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको सङ्गीत र लयको बारेमा पछिल्लो पुस्ताले सिक्न आवश्यक रहेको अधिवक्ता मनोज घर्तीगरले बताउनुभयो । “यो नाच नेपालकै परम्परागत नृत्य हो । नयाँ पुस्ताले यो नाच सिक्न आवश्यक छ,”उहाँले भन्नुभयो,“यसको संरक्षण र पुस्तान्तरणमा अग्रजले युवालाई पुराना ज्ञान सिकाउन जरुरी छ ।” जिल्लामा सोरठीको संरक्षण र प्रचारप्रसारका लागि केही सोरठी संरक्षण समिति बनेका छन् ।   समुदायमा प्रचलित सोरठी नाचको संरक्षण र जगेर्ना गर्नका लागि आफूले गाउँपालिकाबाट योजना बनाएर सहयोग उपलब्ध गराउने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । “यो नाच मगरसमुदायको मात्र नभइ साझा मौलिक संस्कार हो”, उहाँले भन्नुभयो,“सोरठी नाच संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्न सोरठी संरक्षण समितिसँग छलफल गरेर आवश्यकताअनुसार सहयोग गर्ने योजना बनाएको छु ।” जिल्लाका अधिकांश ठाउँमा अतिथिको सत्कारमा सोरठी नाच्ने गरिएको छ । सोरठी गाउने र नाच्नेलाई दान दिने र सोही दानले कलाकारले खर्च चलाउने चलन परापूर्वकालदेखि रहँदै आएको छ ।