काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए । पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।
काठमाडौं: नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनमा रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विभिन्न कलस्टरका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए। उनले त्यसका लागि सातवटै प्रदेशबाट कम्तिमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको बताए। विशेषतः आन्दोलनमा योगदान गरेका नेता–कार्यकर्तालाई प्राथमिकता राख्ने महासचिव पोखरेलको भनाइ छ। ुराष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्ने विषयमा आजको बैठक बस्यो। बैठकले रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ। त्यसका लागि ७ वटै प्रदेशबाट विभिन्न कलस्टरका लागि तीन जनाको नाम सिफारिस गर्न अनुरोध गरेका छौं। आन्दोलनमा योगदान गरेकालाई प्राथमिकतामा राख्छौं,ु महासचिव पोखरेलले भने। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन हुँदैछ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रियसभा निर्वाचनमा शून्य नबनाउन प्रस्ताव गरेको विषय सार्वजनिक भइसकेको छ। यद्यपि एमालेलाई कति सिट दिने विषयमा सत्ता गठबन्धनले टुंगो लगाउन सकेको छैन। राष्ट्रियसभामा २० सिट रिक्त हुने भए पनि निर्वाचन आयोगले १९ सिटका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ। एक सिट भने राष्ट्रपतिले मनोनीत गर्नेछन्।
पोखरा: राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेशले तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको छ। एमाले गण्डकीले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि तीन सिटका लागि नौ जनाको नाम सिफारिस गरेको हो। अन्यतर्फ चक्रबहादुर पराजुली, मोहनलाल शर्मा र ममतादेवी शर्मा उपाध्याय सिफारिस भएका छन् । अपाङ्गता अल्पसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मिना बरामको नाम सिफारिस गरेको छ । महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्याललाई सिफारिस गरेको हो । राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुँदै छ। गण्डकीमा तीन क्लस्टरमा एकरएक गरी तीन पदका लागि निर्वाचन हुँदै छ। अन्य, महिला र अपाङ्गतारअल्पसङ्ख्यकमा निर्वाचन हुन लागेको हो। राष्ट्रिय सभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० मा सकिँदै छ। अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए ।
काठमाडौं: सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएको दाबी गरेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे । उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनर्गठन गरेको बताए । प्रवक्ता सापकोटाले अभियानले कार्यकर्तामा जागृति ल्याएको, चुनावको बेलामा मात्रै नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे । अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढाउन उल्लेखनीय भूमिका खेलेको उनको भनाई छ । उनले भने, ‘जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । टोल कमिटीदेखि समिति गठन, पुनर्गठन भएको छ । कार्यकर्तामा जागृति आएको छ । नागरिकमा आशा पलाएको छ । यो अभियानले माओवादी चुनावको बेलामा मात्रै होइन अरू बेलामा पनि आउँदा रहेछन् भन्ने खालको नागरिकमा आशाका झिल्का पैदा भएको छ ।अभियानले गर्दा उल्लेखनीय सङ्ख्यामा पार्टी प्रवेश गर्नेको सङ्ख्या पनि बढेको छ । नागरिक हामीतिर फर्किएका छन् ।’ प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको पनि बताए ।
काठमाडौं: सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई प्राथमिकता दिने भएको छ । आइतवार पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउन सो कुरालाई प्राथमिकता दिने बताउनु भएको हो । भौगोलिक, जातीय, क्षेत्रीय सन्तुलन, संसदीय क्षेत्रमा योगदान दिनसक्ने, पार्टीप्रति प्रतिवद्ध र स्वच्छ छवि भएकालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने मापदण्ड बैठकले तय गरेको पनि उहाँले बताउनु भयो । प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयो, ‘‘राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतीको आधारमा साझा उम्मेदवार बनाउने र नेपाली काँग्रेसले उम्मेदवार प्रस्तुत गर्दा विधान धारा ३२ को उपधारा ९ बमोजिम प्रदेश कार्य समितिको सिफारिस भई आएको नामहरु मध्ये भौगोलिक, जातीय, क्षेत्रीयलाई समेत ध्यानमा राखेर पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्नसक्ने क्षमता भएका, पार्टीप्रति प्रद्धिवद्ध स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिइनेछ ।’’ नेपाली काँग्रेसले यसअघि नै सो निर्वाचनमा गठबन्धन दलहरुको तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाको रिक्त हुने २० सिटमध्ये १९ सिटमा लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । यस्ता छन् ११ निर्णय-
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको पहिलो बैठकले जनवर्गिय संगठनको अधिवेशन माघ भित्र तथा जिल्ला अधिवेशन चैत्र भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरा बसेको गण्डकी प्रदेशको पहिलो बैठकले गण्डकीका ११ जिल्लाको अधिवेशन चैत महिनाभित्र गर्ने निर्णय गरेको उप सचिब तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिईन । बैठकले पार्टी कमिटी सदस्यहरुको कार्य विभाजनसमेत गरेको छ । जस अनुसार गण्डकी प्रदेशका निर्बाचन क्षेत्र ,भुगोल जिल्ला ,पालिका , जनबर्गिय संगठन सहित विभिन्न बिभागिय जिम्मेवारी तोकेको सचिब धनन्जय दवाडी जानकारी दिए। सचिब दवाडीका अनुसार पार्टीबाट निर्बाचित स्थानिय तहका जनप्रतिनिधिहरूलाइ प्रशिक्षण सहित प्रथम अधिबेशनबाट निर्वाचित चालीस बर्षमुनिका कमिटी सदस्यहरूलाइ नेतृत्व बिकास कार्यशाला समेत आयोजना गर्ने निर्णय गरेको छ ।
धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन। केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएका हुन्। उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन। पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका थिए। प्रतिक्रिया माग्न सेतोपाटीले फोन गर्दा उनको सचिवालयले धरान नै आउन भन्यो। मेयर साम्पाङले हिजो मात्रै केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने भनेर सामाजिक सन्जालमा राखेका थिए।
काठमाडौं: सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरू अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) विशेष रूपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज ९बुधबार० सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताउनुभयो । “जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”, उहाँले भन्नुभयो, ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।” प्रधानमन्त्री प्रचण्डले गणतन्त्र विरोधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष रूपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभई जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठुलो बलिदानपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिनुभयो । “परम्परागत रूपमा फागुनदेखि बजेटका विषयमा छलफल गर्ने र जेठमा टुङ्ग्याउने परिपाटीको अव अन्त्य हुन्छ”, उहाँले भन्नुभयो, ‘‘यस वर्ष सरकारले फागुनसम्ममा जनताले परिवर्तनको महसुस गर्ने गरी नयाँ ढङ्गले बजेटको टुङ्गो लगाइसक्छ ।” फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको बताउनुभयो । ‘‘अहिलेको गठबन्धन पाँचै वर्षसम्म जान्छ, तपाईँहरू ढुक्क हुनुस्”, उहाँले भन्नुभयो, “कसैले कमजोर पार्ने प्रयास गरेपनि त्यो सफल हुँदैन, पाँचै वर्षसम्म सरकारमा हाम्रो बलियो उपस्थिति हुन्छ ।” वर्तमान सरकारले मिटरब्याजीको शोषणलाई अन्त्य गरेर पीडितलाई अत्याचारबाट मुक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने बताउनुभयो ।