पोखरा: एमालेका युवा नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पोखरा–बुटवल र नारायणगढ त्रिकोणात्मक सहरको रुपमा विकास हुँदै गरेको बताएका छन् । बुटवल–नारायणगढ तथा मुग्लिन–पोखरा सडक स्तरोन्नति भइरहँदा सिद्धार्थ राजमार्गसमेत स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको उनले जनाए । ‘पोखरा–बुटवल सडकलाई साढे २ घण्टामा छोट्याउने गरी डबल लेनमै भए पनि स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको छ । यही वर्षदेखि सम्झौता भएर कार्यान्वयनमा गयो भने नारायणगढ–पोखरा–बुटवल ३ सहरलाई साढे ७ घण्टाको दुरीमा सीमित गर्न सकिन्छ,’ पाल्पा हाउसमा उनको सम्मानमा आयोजित समारोहमा बोल्दै उनले भने, ‘त्रिकोणात्मक रुपमा एउटा सिटीमा कन्भर्ट गर्ने मोडलमा गई सिंगो नेपालको विकासमा राम्रो उपलब्धि हुनेछ ।’ कालीगण्डकी करिडोरअन्तर्गत राम्दीदेखि रानीमहलसम्म ट्रयाक खोल्न आफूले सदनमा बोलेकोबोल्यै गरेको उनले बताए । पटक पटकको दबाबपछि अर्थ मन्त्रालयले १ अर्ब ४८ करोड खर्च स्वीकृतिका लागि साइन गरेको र चालु आवमै उक्त ट्रयाक खोल्न टेन्डरमा जाने उनको भनाइ थियो । उनले लुम्बिनी र गण्डकी प्रदेशसँग जोडिएको पर्यटकीय एवं धार्मिक क्षेत्र रानीमहल, रिडी, छेर्लुङ वरिपरि पर्यटन पूर्वाधारका हिसाबले निजी क्षेत्रबाट नै केही संरचना निर्माण गर्न सकिएमा दुवै प्रदेशको पर्यटन विकासमा पनि सघाउ पुग्ने बताए । २०४६ सालको परिवर्तनपछि भएको पाल्पा विकास गोष्ठीको निष्कर्ष स्मरण गर्दै उनले पाल्पाको विकासका मूल आधार ः शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र पर्यटन भएको बताए । त्यसबेला पूर्वाधार विकासतर्फ तानसेन–छहरा–अर्घाखाँची मोटरबाटो, तानसेन–चिलाङ्दी–राम्दी, आर्यभञ्ज्याङ–रामपुर तथा बाँस्टारी–झडेवा हुँदै खैरेनी जोड्ने मोटरबाटो गरी ४ सडक पूर्णरुपमा सम्पन्न गरी कालोपत्रे गर्न सकिएमा पाल्पाको विकासमा पूर्वाधार तयार हुने निष्कर्ष रहे पनि ती सडक सबैभन्दा अप्ठेरो र धूलाम्यमै सीमित हुनु दुखदायी हो भने । ती सडक विकासमा आगामी वर्षको योजनामा समेट्ने प्रयास भइरहेको उनले जनाए । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तलाको पकेट क्षेत्र भएको उल्लेख गर्दै वन क्षेत्रमा पनि सुन्तला खेती गर्नुपर्ने बताए । उनले कुसुमखोला र बाँस्टारीमा कोल्डस्टोर निर्माणको कोशिस भएको जनाए । पाल्पाको भगवती जात्रालाई सरकारीको औपचारिक कार्यक्रम बनाउनुपर्ने आवश्यकता औंल्याए । पञ्चायतकालदेखि नै पाल्पा जिल्ला मानव सूचकांकमा विकसित जिल्ला भएको उल्लेख गर्दै उनले जिल्लाको समग्र विकासमा सबै जनाले हातेमालो गर्नुपर्नेमा जोड दिए । जिल्लाका २ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यान्वयन भएकोमा अहिले ५ वर्ष पूरा भएर छैटौं वर्ष प्रवेश गर्दासमेत प्रगति ११ प्रशितमात्र भएकोमा गुनासो गरे । गत वर्ष आफू सांसद निर्वाचित हुने बेला तानसेन–बुटवल यात्रा गर्दा साढे ३ घण्टा लाग्ने र झोलामा एकजोर कपडासमेत बोक्नुपर्ने अवस्था भएको स्मरण गर्दै डुम्रे, चिडियाखोला (कालीमाटी), भूतखोला लगायत चार ठाउँबाहेक सडक स्तरोन्नति भएको दाबी गरे । सिद्धबाबा सुरुङमार्ग प्रारम्भिक चरणमा रहेको र यो समयमै सम्पन्न गर्न सकिएमा तानसेन–बुटवल सडक सरल बन्ने अपेक्षा गरे । एमालेका युवा नेता गैरे अनेरास्ववियूका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष उनी पोखरामा सुरु मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता उद्घाटन अवसरमा यहाँ आएका हुन् । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार आयोजित समारोहमा सांसद गैरेलाई पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरे, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पा कोलोनीका अध्यक्ष रेशम रचक, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायणप्रसाद पौडेलले पाल्पाली ढाकाटोपी, खादा र माला लगाएर स्वागत गरे । पाल्पा हाउस खोलेर एकताबद्ध रुपमा पाल्पालीहरु लाग्दा पोखरासहित पाल्पाको समेत विकासमा सघाउ पुग्ने विश्वास लिए ।
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरू एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । २९ औँ जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई स्वागत गर्दै उहाँले परिवर्तनकारीहरूको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताउनुभएको हो । ‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’– प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौँ भने यसलाई उल्ट्याउन खोज्नेहरू पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरू एक ठाउँमा आउने बेला भएको छ ।’ विगतमा माओवादी आन्दोलनमा रहेकाहरूबिच संस्थागत रुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उहाँले यो सँगसँगै व्यक्तिगत रुपमा पनि क्रान्तिकारीहरू ध्रुवीकृत भइरहेको बताउनुभयो । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रुवीकरणमा सामेल हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकोमा धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सो क्रममा उहाँले पार्टी विधान र दस्ताबेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गर्नुभयो । सो क्रममा लामो विप्लव नेकपाको नेतृत्वमा रहिसक्नुभएका दाङका युवा नेता ईश्वरी पाण्डे, सोही पार्टीमा रहनुभएका तुलसीपुर खानेपानी संस्थाका पूर्व अध्यक्ष खेमराज ओली, पर्यावरण अभियन्ता गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावत, एमालेमा रहनुभएका अगुवा व्यवसायी युवराज केसी र शैक्षिक अभियन्ता हिमाल डाँगीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो । त्यस्तै बर्दियाका युवा नेता एवं व्यवसायी मोहनलाल चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । नयाँ शक्तिको जिल्ला अध्यक्ष हुँदै नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसक्नुभएका चौधरी होटेल सङ्घ बर्दियाका अध्यक्ष पनि हुनुहुन्छ । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नेताहरू पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मस्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति थियो ।
पोखरा: नेकपा एमाले निकट जनसंगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटि कास्कीको दोश्रो अधिवेशन टेकबहादुर पुनको अध्यक्षतामा ९ सदस्य पछि थप गर्ने गरि ३५ सदस्यीय कार्य समिति चयन गरी विहिबार सम्पन्न भएको छ । कमिटिका उपाध्यक्षमा अग्नी प्रसाद तिवारी र ठुली गोले तामाङ, सचिवमा मोहन गुरुङ, उपसचिवमा हेममाया तामाङ र विजय शाही, कोषाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा देवबहादुर विक, हेमचन्द्र मुडभरी, रोम बहादुर गुरुङ, चन्द्रमा घर्ति, विरबहादुर परियार, सपना परियार, लोक बहादुर सेन, मान बहादुर गुरुङ, सविता गुरुङ, सरस्वती नेपाली, इन्दिरा भट्टराई, देव बहादुर विक, भिमबहादुर रोकाह मगर, इन्द्रबहादुर खड्का, सरोज राई, उजेली घर्ति, दुर्गा बहादुर गुरुङ, कृष्ण गुरुङ अधिकारी र हरिमाया विक सर्वसम्मत चयन भएका छन् ।
पोखरा: नेकपा एमाले जिल्ला कमिटी कास्कीको आगामी चैत्र १० र ११ गते हुने ११ औं जिल्ला अधिवेशनका लागि जिम्मेवारी तोकिएको छ । आज (सोमबार) बसेको ११ औं सचिवालय बैठकले अधिवेशन व्यवस्थित गर्न विभिन्न जिम्मेवारी तोकेको हो । निर्णयानुसार मुल व्यवस्थापन समितिको संयोजकका रुपमा जिल्ला अध्यक्ष मन बहादुर गुरुङले जिम्मेवारी लिएका छन् । यस्तै स्वंयमसेवक उप–समितिको जिम्मेवारी उपाध्यक्ष तेजनारायण अधिकारीले सम्हाल्नेछन् । प्रतिनिधि व्यवस्थापन उपसमितिमा सचिव बैन बहादुर अधिकारी क्षेत्री, प्रचार प्रसार उपसमितिमा उपसचिव दर्शन लामा, जनपरिचालन उपसमितिमा उपसचिव नवराज ओझा, अतिथि सत्कार उपसमितिमा हिरा गिरी, आर्थिक, खानखाजा उपसमितिमा चिरञ्जिवि पोखरेल, मञ्चव्यवस्थापनमा आर पी खनाल, स्वास्थमा डा. छममाया पुन, आवास व्यवस्थापनमा कृण्ण न्यौपाने, सांस्कृतिकमा सुरेन्द्र गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)ले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन् । ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ । महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण अभियानलाई थप गतिशील बनाउन यस किसिमको कार्यक्रम ल्याइएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । यही माघ २५ देखि आगामी चैत २५ गतेसम्म देशभर सञ्चालन हुने सो अभियान समाप्त भएलगत्तै जिल्लाको छनोट गरी पुरस्कृत गरिने उनले जानकारी दिए । सो पार्टीले सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ । आगामी जेठमा हुने महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएकाले केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्यक्षेत्रका सदस्यलाई जानकारी गराउन पार्टीले निर्देशन दिएको छ । महाधिवेशनमा सहभागिताका लागि पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन गरिसकेको छ ।
काठमाडौं: सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने निर्णय गरेको हो । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो । उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको बताइन्छ । तर गणतन्त्र स्थापना पछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो । अहिले नेपाली कांग्रेससहितको गठबन्धन सरकारले भने तीन दिनसम्म विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिले गरेको निर्णय अनुसार आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रम निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइने छ । फागुन ६ गते नै राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने र विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घर-घरमा दीप प्रज्ज्वलन गरिनेछ । यस्तै सबै जिल्लाहरूमा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ ।
काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“ सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको छ । ” सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चारदिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको बताउनुभयो । प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र यस्ता जनशक्तिलाई प्रदेशमै रोजगारीको अवस्था सिर्जना गर्नेसमेत उहाँले दाबी गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सभासदस्य इसराइल मन्सुरी, सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादलगायतको सहभागिता थियो ।
काठमाडौं: प्रतिनिधिसभाको बैठक सकिएको छ । हिउँदे अधिवेशनको रुपमा आजबाट सुरु भएको प्रतिनिधिसभा बैठक माघ २४ गते बस्ने गरी स्थगित भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए । त्यस्तै बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० पेस गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरेका छन् । राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि टेबुल भएको छ ।
काठमाडौं: नेकपा (एमाले)को संसदीय दलले सङ्घीय संसद्को हिउँदे अधिवेशनमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न सो दलका सांसदलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदैछ । सो दलका सचेतक महेश बर्तौलाले आइतबार सम्पन्न दलको बैठकमा सो निर्णय भएअनुसार निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले चालु अधिवेधनका बैठकहरुमा विगतमा भन्दा अझ सशक्त र प्रभावकारीरुपमा प्रतिपक्षको भूमिका निर्वाह गरिने बताउनुभयो । दलको बैठकले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको छ । यस्तै बैठकले युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिई अप्ठ्यारोमा रहेका नेपाली युवालाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ ।