नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। ...

पोखरा:  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीको तीन वटै निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार कास्कीका ३ वटा क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । निर्वाचन क्षेत्र नम्बर १ मा १७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर २ मा पनि १७ जना उम्मेदवार छन् । यस्तै क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी दिएका छन्, जहाँ अन्य क्षेत्रको तुलनामा महिलाको संख्या केही सन्तोषजनक (३ जना) छ ।

काठमाडौं:  निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे । ‘फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेका छौँ । मनोनयनपत्र दाखिल गरेपछि बीचमा चुपो लागेर बस्ने हो ? भन्ने लाग्न सक्छ । त्यो, होइन, उनले भने । निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलोमा मतदाता भेट्न सक्ने, रायसुझाव लिन सक्ने उनले बताए । ‘तर, दलगत रूपमा उमेदवारहरूले ठूलो आमसभा, गोष्ठि, सेमिनारलगायतका विषयवस्तु गर्न पाइँदैन,’ उनले भने,’आचारसंहिता लागु भएको छ । मनोनयनपत्र दाखिल गर्न यसरी जानुपर्छ भनेर आह्वान गरेका थियौँ । आचारसंहिता उलंघन भएको उजुरी आएमा छानबिन गर्ने, निर्णय लिने आयोगको क्षेत्राधिकारभित्र पर्छ ।’ प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि पनि प्रतिनिधिसभाको उमेदवार बनेकाले रिक्त स्थानमा फागुन २१ पछि निर्वाचन गरिने बताए ।

म्याग्दी:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।   तर मन्त्री पुन भने आफ्नै अभियानमा सक्रिय हुनका लागि राजीनामा दिएका हुन्। यसअघि मन्त्री पुनले शिक्षामा आमुल परिवर्तन गर्ने भन्दै केही नितिहरु पास गराउने प्रयास गरेपनि सफल नभएको बताउँदै आएका थिए।

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड्दै निर्वाचन नलड्ने जानकारी गराएपछि कांग्रेसले उक्त क्षेत्रको टिकट नैनसिंह महरलाई दिएको छ। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्दै आएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अगाडि देउवाको सचिवालयले चुनाव नलड्ने विषयमा जानकारी गराएको हो।

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट पाएकी हुन् ।  सो क्षेत्रको टिकटका लागि रास्वपा कास्कीका सभापति यदु अधिकारी र गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठी प्रमुख दाबेदारका रूपमा रहेका थिए ।  रास्वपाले क्षेत्र नम्बर १ बाट गनेस पौडेल र २ बाट उत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका हुन् ।  मन्त्री खरेल बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।   उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने निर्णयसहित पदबाट राजीनामा दिएका हुन् ।  राजीनामापत्रमा मन्त्री खरेलले लेखेका छन् , “वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवम् उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निस्कर्षमा म पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय मैले लिएको छु ।”

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थापालाई हटाएर युवा नेता रश्मी आचार्यलाई चुनावी मैदानमा उतार्ने निश्चित गरेको हो।   पोखरा महानगरपालिकाको प्रमुख पदमा पराजय भोगेका थापालाई पुन: अवसर दिने अघिल्लो निर्णयलाई उल्ट्याउँदै एमालेले आचार्यलाई अघि सारेको हो।

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्मेदवारी जेनजी आन्दोलनका सहिद र घाइतेप्रति समर्पित गर्ने बताएका छन् ।  ‘यो चयन हुनु मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, विश्वास र जिम्मेवारीको गह्रुँगो बोझ हो,’ उनले भने, ‘यो भरोसाका लागि पार्टी नेतृत्व र शुभेच्छुकप्रति कृतज्ञ छु ।’ उनले आफ्नो राजनीतिक यात्रा आम मतदाताको साथ, सुझाव र आलोचनासँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।