विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गर्नुभयो । उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट गर्नुभयो । भ्रष्टाचारी एवं विचौलियालाई कारबाही प्रक्रिया सुरु गरेपछि आफ्नो नेतृत्वको सरकार सत्ताबाट बाहिरिनुपरेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी पार्टी सत्ताबाट बाहिरिएपछि देशव्यापी रुपमा पार्टीको सङ्गठन विस्तार, सुदृढीकरण र पुनःनिर्माणमा गर्न पार्टीलाई अवसर प्राप्त भएको छ, पार्टी सुदृढीकरण अभियानमा साथ दिन सबैसँग अनुरोध गर्दछु ।” बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको स्पष्ट गर्दै अध्यक्ष दाहालले मुलुक र जनता विरोधी काम नगर्न सरकारलाई खबरदारी गर्नुभयो ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ । सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानविपरित अभिव्यक्तिको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । जनयुद्धलाई संविधानले सशस्त्र सङ्घर्षका रुपमा सम्बोधन गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको व्याख्यात्मक टिप्पणीमा ‘सशस्त्र सङ्घर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ’ भनेर लेखिएको स्पष्ट पार्नुभयो । “व्याख्यात्मक टिप्पणीमा सबै दलहरुले हस्ताक्षर गरेका छन् । तर अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहस गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “संविधानविपरीत बोल्ने छुट कसैलाई पनि छैन । संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।” जनयुद्धका सहिदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको अध्यक्ष दाहालको भनाइ छ । पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकेकाले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको उहाँले बताउनुभयो । “यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीले सबै सहिदको एकैसाथ सम्झना गर्न जनयुद्धकालदेखि हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने गरेको छ ।” जनयुद्ध थालनी भएको दिन फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने मन्त्रिपरिषद्बाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुङ्गिएको भनेर अदालतबाट रोकिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले अब टिआरसी विधेयक पारित भएपछि जनयुद्धलाई राष्ट्रिय दिवसका रुपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनःविचार गर्नेमा विश्वस्त रहेको बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहाल, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, सचिव देवेन्द्र पौडेललगायत नेता कार्यकर्ताले सहिदद्वय कुँवर र गौतमको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।
कञ्चनपुर: गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिनुभएको छ । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।” प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो । “दुई÷तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।” पत्रकार सम्मेलनमा उहाँले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गुर्नभयो । “दुई दलबीच सात बुँदे सहमति भएर सरकार निर्माण भएको छ”, उहाँले भन्नुभयो, “यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।” गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म रुपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो “यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सुक्ष्म ढङ्गले अनुसन्धान हुन्छ”, उहाँले भन्नुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको छ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।
काठमाडौं: नेकपा (एमाले) को पोलिटब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिनुभएको थियो । सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूयाङ्कन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाउनुभएको थियो । “पारदर्शी ढङ्गबाट एउटा विधि बनाएर पार्टी कमिटी र नेता तथा कार्यकर्ता गरेको कामको मूल्याङ्कन प्रणाली बनाउने कुरा भएको छ”, उहाँले भन्नुभयो, “मूल्याङ्कन कमिटीगत रुपमा हुनुपर्नेमा पोलिटब्युरो सदस्यको सुझाव रहेको छ ।” बैठकमा प्रचार विभाग प्रमुख गौतमले संविधान संशोधनको सन्र्दभमा नेपाली कांग्रेससँग गरिएको सम्झौताअनुसार नै संविधान संशोधन गर्न पोलिटब्युरो सदस्यले सुझाव दिएको बताउनुभयो । उहाँले संविधान पुनरावलोकन आवश्यक र पुनरावलोकनको आधारमा संविधान संशोधन गर्न सुझाव दिइएको बताउनुभयो । बैठकमा ५१ जना पोलिटब्युरो सदस्यले महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि सुझाव दिनुभएको थियो । बैठक दुई दिनसम्म पार्टी कार्यालयमा सञ्चालन भएको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्यूरो बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो दिउँसो बैठक साढे १२ बजे बस्न थालेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको बताउनुभयो । उहाँका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टयाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने जनाइएको छ । आजसम्म चल्ने पोलिटब्यूरो बैठकको समापन समारोहलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिकासमेत रहेको कार्यालय सचिव डा अधिकारीले बताउनुभयो ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा ९एमाले०का बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले आज भेट गरेको छ । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित निवासमा भेट गरेको हो । भेटमा सभापति देउवाले सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै कानुनमन्त्रीलाई छिटोभन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिनुभयो । भेटमा एमालेका बागमती प्रदेश इञ्चार्ज डा भट्टराई, काठमाडौँ जिल्ला इञ्चार्ज आनन्द पोखरेल, काठमाडौँ जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारीहरुको सहभागिता थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आजदेखि सुरु पोलिटब्युरो बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा महासचिव शङ्कर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । कार्ययोजनामा पार्टी सदस्यता, विस्तार र अभिलेखीकरण, पार्टी र जनवर्गीय सङ्गठनका नियमित अधिवेशन, पार्टी कमिटी तथा नेता र कार्यकर्ताको मूल्याङ्कन गरिने कुरा समेटिएको उहाँले बताउनुभयो । “पार्टी कमिटीले दिएका काम पूरा गर्छ कि गदैनन्, क्रियाशील छ कि छैनन् भनेर जोड दिइएको छ । विधिसम्मत तरिकाले पार्टी कमिटी चलेका छन कि छैनन् भनेर पनि मूल्याङ्कन गर्ने विषय पनि कार्ययोजनामा राखिएका छन्”, प्रचार विभाग प्रमुख गौतमले भन्नुभयो । यस्तै सरकार र जनप्रतिनिधिको प्रभावकारिता परिचालन गर्ने, सरकारले गरेका कामलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा पनि कार्ययोजनामा राखिएको जनाइएको छ । प्रत्येक पार्टी कार्यालयलाई प्रविधिमैत्री बनाउने, प्रचार कार्यलाई थप प्रभावकारी बनाउने, पार्टी कार्यालयमा प्रचार डेस्क स्थापना र सामाजिक सञ्जालमार्फत पार्टीका गतिविधि सञ्चालन गर्ने विषय पनि उल्लेख गरिएका छन् । भूमिका नपाएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइने र पार्टीका प्रत्येक तहका कमिटीले स्रोत सुनिश्चित गरेर बजेट निर्माण गर्ने कुरा पनि समेटिएको छ । प्रचार विभाग प्रमुख गौतमले एमाले केन्द्रीय कार्यालय भवन निर्माण गर्न समिति गठन गरेर चाँडै काम सुरु गर्ने विषय पनि कार्ययोजनामा रहेको बताउनुभयो । कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन एमालेले विश्वभरका कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । प्रचार विभाग प्रमुख गौतमकानुसार माक्र्सवादको सिर्जनात्मक प्रयोग र सम्बन्धित मुलुकको अनुभवमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आगामी मङ्सिर वा वैशाखमा महिनामा गर्ने गरी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । भोलि सबै पोलिटब्युरो सदस्यले आ–आफ्नो भनाइ राख्ने कार्यतालिका छ । कार्ययोजनालाई पोलिटब्युरो सदस्यको सुझावका आधारमा अन्तिम रूप दिएपछि सार्वजनिक गरिने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा सचिवालय बैठकबाट तयार पारेको पार्टी कामको योजना र समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, बाँकी जिल्ला अधिवेशन तथा पालिका अधिवेशन समयमै व्यवस्थित रूपमा सम्पन्न गर्ने उल्लेख छ । यसैगरी, बैठकमा कार्ययोजनामा पार्टी प्रवेश गर्नुभएकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने उल्लेख छ । पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्नेसमेत कार्ययोजनामा समेटिएको छ । सबै पार्टी सदस्यले वर्षको एकपटक अनिवार्य रुपमा पार्टी स्कूलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको जनाइएको छ । साथै कार्ययोजनामा प्रचार कार्यलाई थप व्यवस्थित बनाउने र कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने कुरा उल्लेख गरिएका छन् । यस्तै, पार्टीको हरेक वर्षका लागि तय भएका र बाँकी रहेका काम पार्टीको इतिहास लेखन, ‘सेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेलगायत महत्वपूर्ण कार्य कार्ययोजनामा समेटिएको प्रमुख गौतमले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । सांसद भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गनुपर्नेमा जोड दिनुभयो । यस्तै, सांसद उर्मिला अर्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीले केही दिनपहिले प्रहरी प्रमुखका सम्बन्धमा दिनुभएको भनिएको अभिव्यक्तिका बारेमा सत्यतथ्यसहित यथार्थ कुरा सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद नारायणदत्त मिश्रले ब्राजिलको विमानस्थलमा नेपाली अलपत्र परिरहेको तथा रसियामा पनि नेपालीको अवस्था उस्तै रहेको बताउनुभयो । सांसद मदनकुमारी शाह गरिमाले रसियाले गैरकानुनी रुपमा नेपाली नागरिकलाई सेनामा भर्ना गरेको र हालसम्म ४० नेपालीको निधन भइरहेको पाइएकाले तत्काल नेपाली नागरिकको जीवन सुरक्षाका लागि पहल गर्न माग गर्नुभयो । सांसद युवराज शर्माले सङ्घीय प्रणालीलाई सुदृढ बनाउनका लागि प्रहरी समायोजनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।