नवलपरासी:   जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको छ। ...

गोरखा:    गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।      उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिनुभयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गर्नुभयो ।      कूल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिनुभयो ।       उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

दार्चुला:    दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी हुनुभएको छ ।  वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।  उक्त उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । निर्वाचनमा १५ मत बदर भएको थियो ।       उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ (६९.९४ प्रतिशत) मत खसेको थियो । दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गर्नुभएको थियो भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ ।  विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो । 

कालीकोट:    कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी हुनुभएको छ ।  वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।  उक्त उपनिर्वाचनमा नेकपा (एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।      कूल ६ सय नौ मतदातामध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए । चार मत बदर भएको थियो । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।

काठमाडौँ:   स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।   बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।   नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो ।   यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी हुनुहुन्छ ।

तनहुँ:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।  आज दमौलीमा आयोजित पार्टीको जिल्ला भेलामा उपसभापति वाग्लेले चीनमात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने बताउनुभयो ।       नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने डा वाग्लेको भनाइ छ ।  “एक प्रतिशत ब्याज भए  ऋण नै लिए पनि फरक पर्दैन । ३०÷४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ”, उहाँले भन्नुभयो,“केही राजनीतिक दलले चीनबाट ऋण लिनैहुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।” उपसभापति वाग्लेले मिसन २०८४ को तयारीका लागि अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले पार्टी सभापति रबि लामिछाने पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको प्रष्ट पार्नुभयो । 

पोखरा:    उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याी सरकार सञ्चालनका लागि एमाले र नेपाली कांग्रेसले सहकार्य गरेको बताएका छन् ।    नेपाल प्रेस युनियन कास्कीले  पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले स्थायी सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले गठबन्धन गरेको बताएका हुन् ।    ‘६/६ महिनामा सरकार परिवर्तन हुँदा जनतामा राजनीतिक वितृष्णा आएको छ, स्थिरता सरकार सञ्चालनसँगै विकास निर्माणका कामलाई तिव्रता दिन हामी सरकारमा आएका छौं’, मन्त्री सिंहले भने, ‘हाम्रो सहकार्य २०८४ सम्म नै जान्छ, ७ बुँदे सहमति अनुसार नै अगाडि बढ्छौं ।’   मन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा बदल्न छलफल हुनेसमेत उल्लेख गरे ।    ‘यो भन्दा अगाडि पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋण अनुदानमा बदल्न छलफल अगाडि बढेको छ । प्रधानमन्त्रीको चीन भ्रमण हामीले अर्थतन्त्र र विकासलाई ध्यानमा राखेका छौं’ उनले भने ।   उनले काठमाडौं–पोखरा सडक खण्ड निर्माण कार्यलाई तिव्रता दिनसमेत निर्माण पक्षलाई ध्यानाकर्षण गराइराखेको बताएका थिए ।     

स्याङ्जा:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार मिर्मीमा उद्घाटन गर्दै उहाँले सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो ।  देशमा राजनीतिक स्थायित्व नहुँदा अन्य विकास निर्माण, व्यापार, उत्पादनलगायत क्षेत्र प्रभावित हुने भएकाले देशलाई अग्रगति दिनका लागि निर्माण भएको वर्तमान सरकार आगामी निर्वाचनसम्म ढुक्ककासाथ टिक्ने उहाँको दाबी थियो । “यो मुलुकको समृद्धिका लागि निर्माण भएको सरकार उद्देश्य पूरा नहुँदासम्म ढल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “म ढुक्कका साथ भन्न सक्छु यो सरकार फेरिन्छ भन्ने भ्रममा नपर्नुस्, सरकार ढल्दैन, २०८४ को निर्वाचनसम्म जान्छ ।”  अझै डेढ वर्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको डेढ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको उहाँले बताउनुभयो । मुलुक बनाउने दृष्टिकोण नभएका पार्टीहरू विभिन्न समयमा आउने र हराउने गरेको बताउँदै उहाँले यस्ता पार्टीसित तर्सनु नपर्ने जिकिर गर्नुभयो ।  “लोकप्रियताका लागि मात्रै भाषण गर्नेहरूसित मुलुक बनाउने भिजन हुँदैन”, उहाँले भन्नुभयो, “यस्ता भिजन नभएका र लोकरिज्याईं गर्नेहरूले नेतृत्व गरेको पार्टीको आयु अल्पायु हुन्छ, धेरै तर्सनुपर्दैन ।” देशमा विभिन्न समयमा आएका सङ्कट मोचनका लागि यिनै दुई ठूला पार्टीहरू एकठाउँमा उभिने गरेको स्मरण गर्दै अहिले पनि देशलाई समृद्धिको दिशामा लैजान एकै ठाउँमा उभिएको उहाँले बताउनुभयो ।  नेपाल  सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आसन्न चीन भ्रमणका क्रममा विगतमा भएका सम्झौताको कार्यान्वयनमा जोड दिने उहाँले बताउनुभयो । चीन भ्रमणका क्रममा बिआरआइका सन्दर्भमा सरकारले ऋण नलिने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य कल्पना तिवारी, भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख गोविन्दकुमार कर्माचार्यलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कालीगण्डकी गाउँपालिका–७ स्थित मिर्मी खेलमैदानमा शुक्रबारदेखि सुरू भएको छैटौँ अध्यक्ष कप तथा खेलकुद महोत्सव आगामी आइतबारसम्म सञ्चालन हुने भएको हो ।  पुरूष महिला फुटबल, भलिबल, क्रिकेट (एकल÷डबल), टेवल टेनिस (एकल÷डबल) दौड, बुद्धिचालसहितका सात खेलका २२ विधामा सात सयभन्दा बढी खेलाडी सहभागी हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले खेल क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न र खेल पर्यटनको विकास गर्नका लागि प्रत्येक वर्ष खेल महोत्सव गर्दै आइरहेको छ । लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन र स्थापित खेलाडीलाई व्यावसायिकतातर्फ उन्मुख गर्नका लागि खेल महोत्सव कोसेढुङ्गा सावित हुने अध्यक्ष थापाको भनाइ थियो । पालिकाका सात वडाबाट ९८ जना खेलाडीका दरले प्रतियोगी सहभागी हुने भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अवधिभर २२ स्वर्ण, २२ रजत र २२ काँस्य पदकका लागि प्रतिस्पर्धा हुने भएको हो ।  प्रतियोगिताका विजेता तथा उपविजेता हुनेलाई नगद रू पाँच लाख १० हजार पुरस्कारस्वरूप उपलब्ध गराउने अध्यक्ष थापाले बताउनुभयो ।

पोखराः    नेपाली कांग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् ।  नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहेका सिग्देललाई प्रवतmामा मनोनित गरेका हुन् ।  नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम सिग्देललाई प्रवक्तामा मनोनयन गरेको पत्रमा उल्लेख छ । प्रवक्तामा सिग्देललाई मनोनित गरे सँगै सभापति बरालले काँग्रेसको सार्वभौम अधिकारको रक्षाको निम्ति पार्टीको निती, सिद्वान्त र कार्यक्रमलाई सफलताको बाटोमा अग्रसर तुल्याउन विगतमा झै सदैव क्रियाशील, रचनात्मक सहयोगको आशा र विश्वास व्यक्त गर्नुभएको छ । सिग्देल कास्कीको १४औ जिल्ला अधिवेशनबाट सहसचिवमा निर्वाचित भएका थिए । १३ औं अधिवेशनबाट सदस्यमा निर्वाचित सिग्देलले अघिल्लो कार्यकाल पनि तीन वर्ष भन्दा बढी समय प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।  विद्यार्थी राजनीति हुँदै पत्रकारितामा पहिचान बनाएका सिग्देल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व सभापति र नेपाल प्रेस युनियन कास्कीको निवर्तमान अध्यक्ष हुन् ।  देश र जनतालाई शिरमा राखेर निष्ठा, त्याग, आदर्श, सिद्वान्तलाई डगमगाउन नदिने उनको भनाई छ । पद सानो, ठूलो जे होला तर पार्टीको हितमा काम गर्नका लागि ठूलो अवसर ठानेर काम गर्ने प्रतिवद्वता उनले व्यक्त गरेका छन् । 

काठमाडौं:     नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याउनुभएको छ ।  नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का उम्मेदवारसँगको छलफलका लागि नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीभित्रको एकतालाई बलियो बनाएर जनतामाझ जानुपर्नेमा जोड दिनुभयो ।            प्रवक्ता डा महतले पार्टीकोतर्फबाट उम्मेदवारी दिनुभएका देवेन्द्र पाठकलाई भारी मतकासाथ विजयी गराउन सम्पूर्ण पार्टीपङ्क्ति सक्रिय भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।  “निर्वाचन आचारसंहिताको पालना गर्दै सम्पूर्ण रूपमा सक्रिय भएर कांग्रेसको उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।            नेता डा महतले पार्टीलाई एकताबद्ध गर्दै सङ्गठनलाई चुस्तदुरूस्त बनाएर लैजान सकेमा आगामी २०८४ को निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, “सम्पूर्ण शक्ति पार्टीको उम्मेदवारप्रति होमिन जरूरी छ । त्यसो भयो भने आउने ८४ को निर्वाचनमा पनि पार्टीले एक्लै ठूलो पार्टीमात्रै हैन बहुमतको पार्टी पनि बन्न सक्छ । तर, त्यसका लागि हामीले सशक्त रूपमा एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । जनताबीच जाँदा मतदातामा पुग्दा सकारात्मक ऊर्जा पैदा हुनुपर्छ ।” पार्टीभित्र विपक्षी खोज्ने प्रवृत्ति पार्टीको प्रमुख समस्या भएको उहाँको भनाई थियो ।       “हाम्रो सबैभन्दा ठूलो समस्या भनेको एकअर्काबीचमा कुरा काट्ने र वैमनस्य उत्पन्न गर्न समय खर्चने हो । आफ्नै भित्र विपक्षी खोज्छौँ र विपक्षीसँगको प्रतिस्पर्धालाई बिर्सन्छौँ । अब, एक भएर अघि बढ्नुपर्छ । कांग्रेसको विकल्प कांग्रेस नै हो”, नेता डा महतले भन्नुभयो ।            सङ्घका अध्यक्ष दीपक महतले उम्मेदवार पाठकको प्रचार अभियानमा कुनै पनि कसुर बाँकी नराख्ने भन्दै विगतमा वडामा भएको कामको प्रभावले जीत निश्चित हुने दाबी गर्नुभयो ।  “पर्यटन व्यवसायीकोतर्फबाट  देवेन्द्र पाठकलाई विजयी गराउन प्रतिवद्धताका साथ मत मागिरहेका छौँ”, उहाँले भन्नुभयो, “निर्वाचनमा सहयोग पु¥याउनु दायित्व पनि हो । उम्मेदवारलाई आट भरोसा दिन पनि यो कार्यक्रम गरिएको हो । त्यसैले निर्धक्क भएर उच्च मनोवलका साथ निर्वाचनमा लाग्न आग्रह गर्दछु ।”            उम्मेदवार देवेन्द्र पाठकले आफू नेतृत्वमा रहँदा पर्यटन क्षेत्रलाई सहजीकरण गर्न र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “वडामा कांग्रेसको वर्चस्व कायम रहेको छ, तर एकदमै प्रतिस्पर्धामा छौँ । हालसम्मको प्रयास उत्साहजनक छ, बाँकी दिनमा अझ मेहनत गर्न सकेको खण्डमा अत्याधिक मतसहित विजय हासिल गर्न सक्छौँ ।”