काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा सरकार सञ्चालन र टीआरसी विधेयकबारे छलफल भएको बुझिएको छ । यस अघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरंगित भएको छ । हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ । राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो । पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिनुभएको छ । सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गर्नुभएको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाउनुभएको छ । कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी हुनुहुन्थ्यो । पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।
काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला कार्यसमितिका सहसचिव सुनिलकुमार श्रेष्ठ ‘सानु’लगायत जिल्लाका नौ जना नेता तथा कार्यकताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उनीहरूलाई खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । पार्टीका पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोको संयोजनमा पार्टी प्रवेश गर्नेहरूमा श्रेष्ठसहित सञ्जय पोखरेल, कृष्णा कार्की, जितेन्द्र लगु, पारस श्रेष्ठ, सानु श्रेष्ठ, भोला पाठक, आशिष कर्ण र गौतम झा छन् ।
काठमाडौं: गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउँदै आफूलाई माओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।
बागलुङ: बागलुङको ताराखोला गाउँपालिकाले ऐन विपरित नाफा मुलक सहकारी संस्थालाई गाडी र कार्यालय सञ्चालन तथा अन्य शिर्षकमा अनुदान दिएको खुलेको छ । महालेखापरीक्षक कार्यालयबाट प्राप्त गत आर्थिक वर्ष २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदनले ताराखोला गाउँपालिकाबाट ऐन विपरित २ नाफा मुलक सहकारी संस्थालाई गाडी खरिद लगायत विभिन्न शिर्षकमा अनुदान दिएको भन्दौ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । आर्थिक कार्यविधि तथा बित्तिय उत्तरदायित्व ऐन २०७६को दफा २४ को उपदफा (२) मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको उचित गुणस्तर समेत कायम हुनेगरी मितव्यायी तरिकाले खर्च गर्नुपर्ने उल्लेख छ । तर गाउँपालिकाले नाफा कमाउने उद्धेश्यले स्थापित दुई संस्थालाई विभिन्न शिर्षकमा अनुदान उपलब्ध गराएको भन्दै महालेखापरीक्षकले असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको हो । गाउँपालिकाले ताराखोला बहुउद्धेश्यीय सहकारी संस्थालाई गाडी खरिद, कार्यालय सञ्चालन र कम्प्युटर तथा फर्निचर खरिद गर्न र यस्तै जनएकता बहुउद्धेश्यीय सहकारी संस्थालाई कार्यालय सञ्चालन र कम्प्युटर तथा फर्निचर खरिद र कन्टिन्जेन्सीमा अनुदान दिएको भन्दै ३९ लाख ९५ हजार ५ सय ४७ रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालिन पूँजी हुने कार्यमा खर्च गर्नुपर्ने तथा नाफा कमाउने उद्धेश्यले स्थापित संस्थालाई अनुदान उपलब्ध गराउन वा त्यस्तो संस्थामा शेयर लगानी गर्न मिल्ने देखिदैन । तर गाउँपालिकाले ताराखोला गाउँपालिका बहुउद्धेश्यीय सहकारी संस्थामा शेयर लगानी वापत रु ३८ लाख रकम लगानी गरेको जनाई खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ । लगानी गरेको रकमलाई लेखाकंन गर्दा र आर्थिक विवरण तयार गर्दासमेत लगानी गरेको जनाई नदेखाई खर्च जनाएको देखिएको भन्दै गाउँपालिकाले कानूनविपरित शेयरमा लगानी गरेको र लेखाकंन तथा आर्थिक विवरणमा समेत लगानी कायम गरी खर्च जनाएको रकम सम्बन्धमा जिम्मेवार पदाधिकारी र कर्मचारीलाई कानून बमोजिम जवाफदेही तुल्याइ उक्त संस्थाबाट ३८ लाख रुपैयाँ रकम असुल हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काठमाडौं: सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजिकरण गर्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ । सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष बैठकले त्यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी हुनुहुन्थ्यो । बैठकमा मुख्य सचिव डा। बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित हुनुहुन्थ्यो । सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहनुभएको छ ।
दाङ: जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले असार ९ गतेदेखि नै लागू हुने गरि सरकारलाई दिएको समर्थन लिएको बताइन्। पार्टीको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको काफ्लेको भनाइ छ। आजैदेखि जसपा नेपाल प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको उनले जानकारी दिइन्। जसपा नेपालबाट चार सांसद निर्वाचित भएका थिए। सांसद अहिर र आदेश अग्रवालले अशोक राईको नेतृत्वमा नयाँ बनेको जसपा रोजेका छन्। अहिर कृषिमन्त्री छन्। जसपा नेपालसँग भने दुई सांसद छन्। समर्थन फिर्ता लिएपनि सरकारलाई भने असर पर्दैन्।
सुर्खेत: भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् । कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा उनको मृत्यु भएको थियो । माछा मार्ने क्रममा बाढीले बगाउँदा छ जना घाइते भएका थिए । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए । घाइतेको उद्धार भइसकेको उपाध्यक्ष सिंहले जानकारी दिए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताउनुभयो । उहाँका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् । यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताउनुभयो । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसद्मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।