पोखरा: गण्डकी प्रदेश सभा सदस्य नन्दकला दमाई नेपालीले गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम विभेदकारी भएको बताएकी छिन् । प्रदेश सभाको छैटौं अधिवेशनको दशौं बैठकमा बोल्दै उनले हुँदाखानेको नभई हुनेखाने लक्षित नीति तथा कार्यक्रम ल्याएको बताएकी हुन् । उनले भनिन्, ‘हुँदाखानेको भन्दापनि हुनेखाने लक्षित कार्यक्रम होकी भन्ने शंका लागेको छ । स्वास्थ्यको हकमा बालबालिका र जेष्ठ नागरिकलाई स्वास्थ्य सहायता भनेर रक्तजन्य पदार्थमा निशुल्क परिक्षण भनिएको छ । यो कति महङगो् वा सस्तो हुन्छ भनेर स्वास्थ्यकर्मीसँग सोधेर बनाइएको होकी सस्तो लोकप्रियताका लागि बनाइएको हो यसमा मेरो प्रश्न छ ।’ सांसद नेपालीले अहिलेको नीति तथा कार्यक्रम सतही खालको आएको धारण राखिन् । उनले भनिन्, ‘सतही खालको नीति तथा कार्यक्रम आएको छ । बोल्दाबोल्दै थाकिसके मेरा मुखहरु, हेर्दाहेर्दै थाकिसके मेरा आँखाहरु भन्ने खालको मैले महसुस गरेको छु ।’ उनले उपेक्षित समुदायलाई लक्षित गरी नीति तथा कार्यक्रम नआएको भन्दै गुनासो गरिन् । ‘उत्पिडनमा र उपेक्षित समुदायलाई लक्षित गरेर जुन नीति तथा कार्यक्रम आउनु पर्ने थियो । त्यो अनुरुपको कार्यक्रम आउन सकेन, उनले उखान थप्दै भनिन्,‘ अघाएकाहरुले डाँडापारी गएर खाउ भन्छन्, भोकाएकाहरु डाँडावारी नै खाउ भन्छन् रे त्यसैले होला म भोकाएकाहरुको समुदायबाट भएकालेपनि आवाजहरु उठाउँदा उठाउदैपनि थाकेको छैन ।’ उनले आफु २०४६ सालको सडक आन्दोलनदेखि सदनसम्म आइपुग्दा कुनैपनि राज्यले छुवाछुतको विरुद्धमा बोल्न नचाहेको उल्लेख गरिन् ।
जनकपुरधाम: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८.३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकमा प्रदेशसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालोको व्यवस्था गरिनेछ ।’ यस्तै ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रोत्साहन गरिनेछ । किसानको उत्पादनलाई संकलन एवम् बजारीकरण गर्न स्थानीय तहको सहकार्यमा कृषि उपज संकलन केन्द्रको निर्माण र प्रत्येक निर्वाचन क्षेत्रमा कृषि सडक बिस्तारको कार्यलाई प्राथमिकता दिइनेछ । यो पनि पढ्नुहोस यस्ताे छ गण्डकीको नीति तथा कार्यक्रम (पूर्णपाठ) पर्यटनको राजधानी पोखरालाई प्रवर्धन गर्न ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम चलाइने भएको छ । सरकारले पर्यटन राजधानीको अवधारणालाई साकार पार्न नीतिगत सुधार र पर्यटनमैत्री वातावरण निर्माण गर्न पहल गर्ने भएको छ । आगामी वर्ष बाटो नपुगेका ठाउँमा कृषि उपज र कृषि सामग्री ओसारपसारका लागि ग्राभिटी रोपवे सञ्चालन गर्ने सरकारको योजना छ । ‘एक निर्वाचन क्षेत्र, एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म’ सञ्चालन गरी त्यसमार्फत सामूहिक एकीकृत कृषि विकास कार्यक्रम गर्न लक्ष्य लिइएको छ ।
काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा)नेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ । जनकपुरमा जारी महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामा हालसम्मको विवरणअनुसार जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको छ । यस्तै सहअध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत, रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा रामकुमार शर्मा, मनिष सुमन, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन् । रामकुमार शर्मा हालै माओवादीबाट जसपा नेपालमा प्रवेश गरेका छन् । त्यस्तै, उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । जसपा नेपालका एक नेताले हालसम्म अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जानकारी दिँदै समय अझैँ बाँकी रहेपनि सो पदमा अरूको दाबी नदेखिएको बताए । जसपा नेपालको विधानअनुसार २०१ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय पदाधिकारी २० जना हुनेछन् भने त्यसमा खुला १६ जना र चार जना महिला अनिवार्य हुने व्यवस्था रहेको छ । यस्तै केन्द्रीय सदस्य १८१ जनामध्ये खुला १२१ जना छन् भने ६० जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।
पोखरा: स्वतन्त्र सांसद राजीव गुरूङ छैटौं पटक मन्त्री बनेका छन् । यससँगै उनको मन्त्री पदमा डबल ह्याट्रिक पुरा भएको छ । यस्तै फ्लोर क्रस गरेर आफुलाई विश्वासको मत दिएका माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटालाई पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमा नियुक्त गरे । राजीवलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यी दुवै मन्त्रीले पद तथा गोपनियताको शपथ लिए । विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ ।
पोखरा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई दलले कारबाही गर्ने भएको छ। फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका उनलाई संसदीय दलको ह्वीप उल्लंघन गरेकाले भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । नेपाल समाजवादी पार्टी (नेसपा) मा आवद्ध देवकाटा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा–२ (क) बाट निर्वाचित भएका थिए । यद्यपी देवकोटाले भने मध्वावधिमा जानबाट रोक्न र संघीयताको मर्म अनुसारको प्रदेश सरकार जोगाउनका लागि पाण्डेलाई मत दिएको अभिव्यक्ति दिदैं आएका छन् ।
पोखरा: गण्डकी प्रदेश प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् । कुल ५९ सांसदको उपस्थिति रहेको प्रदेशसभामा पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्याे भने विपक्षमा २८ मत परेको छ । पाण्डेलाई कांग्रेसको २७, राप्रपाको २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिए । यता विपक्षमा एमालेको २२ र माओवादीको ६ मत परेको थियो । फडिन्द्रले देवकोटाले फ्लोर क्रस गर्न खोजेपछि ‘ह्विप उल्लंघन गर्न पाइदैन’ भन्दै एमालेले प्रदेश सभामा नाराबाजी गरेका थिए ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली गएका थिए । आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
पोखरा: गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमार्फत विश्वासको मत लिँदैछन् । उनले आफुलाई विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङलाई पत्र लेखेका छन् । यद्यपी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र माओवादी केन्द्र सकरात्मक देखिएको छैन । तर राप्रपाले भने कांग्रेको हकमा लचिलो बन्ने बताउदै आएको छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका राजीव गुरुङले पनि बहुमत पुर्याउन सकेको खण्डमा दिन सक्ने अभिव्यक्ति दिदैं आएका छन् । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई बहुमत पुर्याउन ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यद्यपि उनले बहुमत जुटाउन नसक्ने प्रमुख प्रतिपक्ष दल एमाले र माओवादी केन्द्रको दाबी छ । ६० सदस्ययीय प्रदेशसभामा अहिले कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एक स्वतन्त्र सांसदको हैसियतमा राजीव गरुङ छन् ।