काठमाडौं: प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक बिहीबारका लागि सरेको हो। बुधबार दिउँसो १ बजेका लागि बोलाइको बैठक सभामुख र प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलपछि दिउँसो ३ः१५ बजेका लागि सरेको थियो। तोकिएको समयभन्दा केही ढिला सुरु भएको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि समामुख देवराज घिमिरेले बिहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो। प्रतिनिधिसभाको अवरोध खुलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच निरन्तर प्रयास भइरहे पनि सहमति जुट्न सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् ।
काठमाडौं: सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ । ‘भिजिट भिसा’ प्रकरणलाई लिएर विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटकपटक सहमतिका लागि दलहरूबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख घिमिरेले संसद्को गतिरोध हटाउने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतहरूसँग छलफल गर्नुभएको थियो । तर, दलहरू आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन बनेको हो । प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने बताउनुभएको थियो । अर्कोतर्फ सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्याउनु भयो । बैठकमा सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उहाँले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न दलहरुलाईआग्रह गर्नुभयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको विपक्षी दलको अवरोधका कारण जेठ १३ यता सदन चल्न सकेको छैन ।
विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताउनुभयो । कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उहाँले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको धारणा राख्नुभयो । महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताउनुभयो ।
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्चालन हुने वातावरण नभएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो । उता सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीनवटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् । राससका अनुसार संसद् भवन नयाँबानेश्वरमा शुक्रबार बसेको विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत् राख्दै गृहमन्त्रीको राजीनामा नआएसम्म प्रतिनिधिसभा बैठक बस्न नसक्ने निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जानकारी दिनुभयो । श्रम ऐन, २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन आयोग बनाउन प्रतिपक्षी दलले माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा र नेकपा (एकीकृत समाजवादी) को बैठकले यस्तो निष्कर्ष निकालेको उहाँले सुनाउनुभयो । बैठकमा उक्त प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको झाले बताउनुभयो ।
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो । सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताउनुभयो । “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उहाँले भन्नुभयो । त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो
सुनसरी: सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव आज बिहान फेला परेको छ । सशस्त्र प्रहरी बल (एपीएफ)का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य आज बिहानैदेखि तीव्र पारिएको थियो । सोही क्रममा सप्तकोशी नदीको कोशी ब्यारेजदेखि करिब तीन किलोमिटर तल सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो । गएको दिन, सप्तकोशीमा भइरहेको उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर — हरदेव राजवंशी र सुरज साउद डुबेर वेपत्ता भएका थिए । दुवैजना दन्तकाली तालिम केन्द्र, बरमजिया अन्तर्गत कार्यरत थिए । हराइरहेका जवानहरूको खोजी र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिम शिक्षालय, कुरिनटारबाट डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा पाँच सदस्यीय विशेष टोली घटनास्थलमा खटिएको छ । सशस्त्र प्रहरी बलका अनुसार दोस्रो वेपत्ता जवान सुरज साउदको खोजी कार्य हाल पनि जारी रहेको छ ।
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपलाले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ । टोकियोमा सम्पन्न एसिया प्यासिफिक टेक्नोलोजी (एपिटि) को मन्त्रीस्तरीय बैठकको उपलब्धिबारे जानकारी गराउँदै उहाँले सो कुरा जानकारी गराउनुभएको हो । नेपाल पत्रकार महासंघ जापान शाखाले सिनओकुबोस्थित रातोमाटोमा आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो ‘अब नेपालले आफ्नै स्याटेलाइट बनाउँछ । एउटा समिति बनाएर अध्ययन अनुसन्धान भइरहेको छ । सो कार्यका लागि सरकार एक्लैले सम्भव नभए निजी क्षेत्रलाई समेत समावेश गरेर स्याटलाइट बानउने छ ।’ उहाँले हाल नेपालमा रहेको इन्टरनेटको घर अर्थात डेटा सेन्टर एकदमै सानो रहेको र त्यसको प्रयोग सेना, प्रहरी तथा केही संवेदनशील क्षेत्रमा मात्र भइरहेको बताउनुभयो । नेपलको समग्र आइटी क्षेत्रको विकासमा आवश्यक ठुलो क्षमताको डेटा सेन्टर स्थापना गरिने बताउँदै उहाँले भन्नुभयो, ‘त्यसको लागि ठुलो पुँजी, उच्च प्रविधि र सीप समेत आवश्यक पर्ने भएकाले जापानी कम्पनीसँग छलफल अगाडि बढाएको छु ।’ राष्ट्रिय सुरक्षाको दृष्टिकोणले पनि जापानलाई विश्वास गर्न सकिने भएकाले जापानी कम्पनीहरु इच्छुक भएमा नेपालमा डेटा सेन्टर बनाउने काम तुरुन्त सुरु हुने उहाँले बताउनुभयो । मन्त्री गुरुङले चीन र भारतलाई अप्ठ्यारो पर्ने कारणले पनि एलन मक्सको स्टरलिंकलाई नेपलामा कम्पनी खोल्न हालसम्म स्विकृति नदिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जापानी कम्पनीहरुसँगको सहकार्यमा नेपलामा स्याटलाइट र डेटा सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको छ । कुरा सकारात्म छ । जापानी कम्पनीसँग सम्भव नभए रसियासँग कुरा अगाडि बढाउन केही समयपछि रसिया जानेछु । सोही कामको लागि सोपछि स्विट्जरल्याण्ड जानेछु । यतिखेर उनीहरुको प्रविधि र सीप नेपाललाई चहिएको छ ।’ यो वर्ष आइटी क्षेत्रबाट ८७ अर्ब राजस्व संकलन भएको र आइटी क्षेत्रमा केही गर्छु भन्नेहरुका लागि कानुन, बजेट, नीति तथा कार्यक्रममा समेत सबै कुराहरु सहज हुने तरिकाले काम भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘पछिल्लो समय आइटी क्षेत्र राजस्व संकलन गर्ने महत्वपूर्ण क्षेत्र बन्दै गएकाले पनि सूचना प्रविधि क्षेत्रलाई उद्योगको क्षेत्रमा विकास गर्ने छौं ।’ ‘चुस्त र तिब्र गतिका इन्टरनेटको विकासका लागि म्यानपावरदेखि भौतिक संरचनाहरुको विकास हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘टोकियोमा सम्पन्न एपिटिको बैठकमा समेत आइटीसम्बन्धि नीतिगत कुराहरु, नेपालको चुनौतीहरु र नेपालले चाहेको आइटी क्षेत्र कस्तो हो भन्ने कुरा राखेको छु । त्यसगैरी नेपलाले आइटी क्षेत्रलाई अग्रपङ्तिमा राखेर दक्षिण एसियामा विकास गर्न खोजेको कुरा पनि बैठकमा राखेको छु, कुरा सकारात्मक भएको छ ।’