पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगतको क्लब लायन्स क्लब पोखरा डल्फिनको आयोजनामा आज उक्त प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा भाष्कर मेमोरियल स्कुलका छात्रा सौरभी कुशल प्रथम, विन्ध्येश्वरी आर्दश बोर्डिङ स्कुलका छात्रा उपसना रेग्मी द्वितीय र विन्ध्येश्वरी स्कुलकै छात्र विनायक गिरी तृतिय भए । “सिमा बिनाको शान्ति” भन्ने शिर्षकमा ११ देखि १३ वर्षसम्मका विभिन्नका विद्यालयका करीब २५ विद्यार्थीहरु सहभागी भएको थिए । विद्यालय स्तरबाट नै शान्तिको सन्देश सिकाउने उद्देश्यले पिस पोस्टर प्रोग्राम गरिएको प्रतियोगिताका संयोजक तथा रिजन ५ का रिजन चेयर पर्सन लायन कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ पोखरा डल्फिनले मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा यस प्रकारको कार्यक्रम नियमित गर्दै आइरहेको छ । प्रतियोगिताको प्रमुख अतिथिसमेत रहेका विद्यार्थीका विभिन्न पक्षको सन्दर्भमा बोलेका थिए । यस्तै डिस्ट्रिकको एडभाइजर लायन ऋषि गिरी तथा क्लष्टर ३ का क्लष्टर प्रमुख लायन विष्णु श्रेष्ठ लगायतले बोलेका थिए । प्रतियोगिताको निणार्यकका भूमिकामा विन्ध्येश्वरीकै कला शिक्षक अनिता थापा थिइन् । क्लबका अध्यक्ष लायन गोविन्द बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन गणेश बहादुर थापाले गरेका थिए ।
पोखरा: महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि गण्डकी प्रदेशको छलफल तथा सुझाव संकलन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी)को आयोजना र युएन वुमनको आर्थिक सहयोगमा महिला अधिकार महासन्धि छायाँ प्रतिवेदनका लागि गण्डकीमा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो । आगामी मंसिर ६ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनको तयारीमा रहेको महिला, कानून र विकास मञ्चले सात प्रदेशमध्ये गण्डकी र कोशीमा एकैदिन सुझाव संलकन गरेको हो । मञ्चले मधेश प्रदेशमा मात्र सुझाव संकलन गर्न बाँकी रहेको जनाएको छ । महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीका लागि प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रममा पोखरामा महिला विरुद्ध हुने भेदभाव उन्मूलन तथा महिला अधिकार महासन्धिको धारा १ देखि १६ सम्म छलफलसमेत गरिएको थियो । सहभागिहरुलाई ८ समूहमा विभाजन गरि छलफल पश्चात विभिन्न सुझाव दिएका छन् । छलफल तथा सुझाव संकलन क्रममा महिला अधिकारकर्मी सरु जोशीले अहिले सहकारीले सबैभन्दा भन्दा महिलालाई पीडित बनाएको बताइन् । ‘संविधानमा नै सहकारी सञ्चालनका लागि अनुमति दिएको छ, अहिले केही सहकारीबाट सबैभन्दा बढी महिला नै पीडित छन्’, जोशीले भनिन्, ‘सहकारीबाट ऋण लिएका महिलाहरु अहिले अधिकांश विदेश गएका छन् । ऋण उनीको नाममा छ तिर्नु त पर्याे जसको कारण उनीहरु सुरक्षित र असुरक्षित तबरबाट विदेश गएका छन् ।’ यस्तै उनले एउटै घरका दाजुबहिनीलाई गर्ने व्यवहार फरक भएको भन्दै प्रश्न उठाइन् । ‘समानता हामीले व्यवहारमा खोजेका हौं किताबमा होइन’, उनले भनिन्, ‘अहिले पनि एउटै घरमा दाजु बहिनीलाई गर्ने व्यवहार फरक छ, यो विभेद कहिले अन्त्य हुन्छ ?’ उनले गण्डकी प्रदेश सरकारले महिला विरुद्ध हुने भेदभाव उन्मूलनका लागि गरेका कामहरुका बारेमासमेत जानकारी लिनका लागि यो कार्यक्रम आयोजना गरिएको बताइन् । महिला अधिकार महासन्धि छायाँ प्रतिवेदन तयारीको लागि प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्यक्रममा गण्डकी प्रदेशमा क्रियाशिल मानवअधिकारीकर्मी फेडो कास्कीका डिष्ट्रिक प्रोक्जेट कोडिनेटर इश्वरी विक, बार एशोसियसन कास्कीका अध्यक्ष भगवती पहारी, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल, अधिवक्ता इश्वरी पौडेल लगायत सहभागीहरुले सुझाव दिएका छन् । सो छलफलमा अधिवक्ता सुस्मा गौतमले महिला अधिकारसम्बन्धि कार्यपत्र प्रस्तुत गरेकी थिइन् । भने, अधिवक्ता कल्पना भण्डारीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् । कार्यक्रममा सहभागिहरुले दिएका सुझावले महासन्धिमा स्थान पाउनेमा विश्वास व्यक्त गरेका थिए ।
पोखरा: भीमकाली क्लबले चौथों संस्करणको भीमकाली साँझ तथा देउसी भैलो कार्यक्रमबाट संकलितमध्ये केही रकम विभिन्न संस्थालाई सहयोग गरेको छ । पोखरामा महानगरपालिका १ मा क्रियाशिल क्लबले तिन दिने सहयोग कार्यक्रम अन्तरगत १ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । क्लबका सदस्य अनिश गुरुङका अनुसार पहिलो दिन मंगलबार पोखरा १७ छोरेपाटनमा रहेको चाँदनी एनिमल रेस्क्यु एण्ड केयर सेन्टरमा करिब २० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो । उक्त सहयोग केयर सेन्टरका संचालक चाँदनी थापालाई क्लबका सल्लाहकार सूर्यमान गुरुङ, क्लबका अध्यक्ष कृष्ण गुरुङ लगायतले हस्तान्तरण गरे । यस्तै दोस्रो दिन बुधबार पोखरा २३ माझथुमस्थित सिद्धबराह गुरुकुल विद्याश्रममा करिब ४० हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको क्लबका सदस्य अन्जन देवकोटाले जानकारी दिए । उनका अनुसार उक्त विद्याश्रममा चामल ८ बोरा, दाल १ बोरा, सोयाबिन १ बोरा लगायतका अन्य समाग्री सूचना अधिकारी सुरेश लम्साललाई हस्तान्तरण गरिएको हो । यस्तै तेसो दिन बिहीबार ४० हजार बराबरकै पोखरा १ बगरस्थित संस्कृत माविमा अध्ययनरत जेहेन्दार विद्यार्थी तथा बटुकहरुलाई ६० वटा स्वीटर र ६० थान टोपी प्रदान गरिएको हो । उक्त सहयोग समाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीलाई प्रदान गरिएको देवकोटाले बताए । देवकोटाका अनुसार सो सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका सम्पूर्ण पदाधिकारीसहित अन्य सदस्यहरुको सहभागिता रहेको थियो । क्लबले बगरस्थित ट्याक्सीचोकमा गत २० गते आयोजना गरेको चौथों भीमकाली साँझबाट करिब १० लाख बढी रकम संकलन गरेको थियो । सो कार्यक्रमबाट संकलितमध्ये १ लाखको तिन दिने कार्यक्रम घोषणा गरि सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न संस्थालाई सहयोग गरेको क्लबका सचिव चाइना गुरुङले बताए । उनका अनुसार क्लबले हरेकवर्ष आयोजना गर्ने साँस्कृतिक कार्यक्रमबाट संकलितमध्ये केही रकम सामाजिक कार्यमा खर्चिदै आएको छ । बाँकी रकम भने, रकमको बचत कोषमा सुरक्षित राखिने उनले बताए । क्लबले स्थापना कालदेखि रक्तदान कार्यक्रम, राहात वितरण, सरसफाई कार्यक्रम, लागुऔषधविरुद्ध सचेतना कार्यक्रम, विविध खेलकुद प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
पोखरा: मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव काठमाडौं पठाइएको छ । पर्यटक गाइड तामाङलाई शवलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा ल्याएर आज एम्बुलेन्सबाट काठमाडौ लगिएको वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए । ‘मर्दी हिमाल आरोहणको क्रममा लडेर शनिबार मृत्यु भएको पर्यटक गाइड तामाङको शव मंगलबार मात्र काठमाडौंबाट आएको खोज तथा उद्धारको टोलीले फेला पारेको थियो’, वडाध्यक्ष क्षेत्रीले भने, ‘भौगोलिक तथा प्रतिकुल मौसमका कारण शवलाई दुर्घटनास्थलबाट तल झार्न नसकेपछि आज सिम्रिक एयरको सहयोगमा पोखरामा पठाएर त्यहाँदेखि एम्बुलेन्समा काठमाडौं लगिएको हो ।’ हेलिकप्टरमार्फत पोखरा झारिएको तामाङको शवलाई एम्बुलेन्सबाट काठमाडौं लगेर पोष्टमार्टम गरेर गृहनगर नुवाकोट नै लगेर अत्येष्टी गर्ने परिवारले जनाएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा शनिबार तामाङको लडेर मृत्यु भएको थियो । मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका तामाङको शव मंगलबार काठमाडौंका आएको खोज तथा उद्धारको टोलीले दुर्घटनास्थल भन्दा २ सय मिटर तल फेला पारेको थियो । काठमाडौंको सनराइज कम्पनीबाट नर्वेली नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोहण योजनासहित आएका तामाङको आरोहणको क्रममा लडेर मृत्यु भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । उनीहरुको टोलीमा एक नर्वेली नागरिकसहित ४ जना नेपालीको समूह रहेको थियो । यो पनि पढ्नुहोस स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु मर्दी फलोअप: गाइडको शव निकाल्न समस्या, वडाध्यक्ष नेतृत्वको टोली जाँदै फलोअप: तामाङको शव भेटियो, काठमाडौंबाट आएको टोलीले निकाल्दै फलोअप: मर्दी हिमालमा मृत भेटिएका गाइडको शव ल्याउन समस्या
पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि नि:शुल्क इन्टरनेटको व्यवस्था मिलाएकाे छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निस्शुल्क रुपमा इन्टरनेटको सुविधा उपलब्ध गराएको हो । 'देशकै नमूना विद्यालयका रुपमा पुरस्कृत भइसकेका शितलादेवी, अमरसिंह मावि जस्ता विद्यालयलाई प्रविधिमैत्री बनाउँदै आइटी पढ्ने विद्यार्थीलाई नि:शुल्क इन्टेरनेटको व्यवस्था वडाले नै गर्ने हो, सरकारी विद्यालयप्रति अझै विश्वास बढाउनका लागि जनप्रतिनिधिले अझै ध्यान दिनुपर्छ भनेर लागि परेका छौं, वडाध्यक्ष बास्तोलाले भने । इन्टरनेटको सुविधा पाएपछि पढाईमा सहज भएको विद्यार्थी प्रज्वल बास्तोलाले बताए । 'अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ भने विद्यार्थीलाई नि:शुल्क इन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याइएको छ, उनले भने । इन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थीले बताए । नि:शुल्क इन्टरनेटको निरन्तरता पाएपछि विद्यार्थीहरु उत्साहित भएका छन् । वडाले नीति तथा कार्यक्रममै भौतिक पूर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो । वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरुलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ । शिक्षण र प्रविधिलाई जोड दिंदै वडाले विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ ।
पोखरा: सहारा क्लब पोखराले तिहारको अवसरमा आयोजना गरेको देउसी भैलोबाट १२ लाख रुपैयाँ संकलन गरेको छ । मोफसलको चर्चित क्लब सहाराले स्थापनाकालदेखि नै नियमितरुपमा देउसीभैलो खेल्दै आएको छ । ‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा भएको देउसी भैलोबाट १२ लाख ९ हजार ३ सय १५ रुपैयाँ संकलन भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रमका लागि क्लब सहकोषाध्यक्ष अशोक लालचनलाई संयोजक तोकिएको थियो । पोखरा १७, दोबिल्लामा क्लबले सहारा फुटबल एकेडेमी संचालन गरेको छ । उक्त एकेडेमी संचालनका लागि क्लबले फुटबल प्रतियोगितासहित यसप्रकारका देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरुले निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा लिनुका साथै नियमित फुटबल सिकिरहेका छन् । यसैबीच, क्लब अध्यक्ष केशवराज बरालले देउसीभैलोमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, दाता, व्यक्ति विशेष लगायतप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
पोखरा: गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो । यो कार्यक्रम हरेक दिन बेलुका दुई घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुती राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पुषको पहिलो हप्ता गण्डकी प्रदेशका मौलिक लोकबाजाहरूको प्रस्तुती ‘अर्केष्ट्रा’ प्रस्तुत गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । ४० जना वाद्यवादक विभिन्न जातजातिको मौलिक धुन र गण्डकी प्रदेशका कीर्तिशेष स्रष्टाहरूको चर्चित लोक गीतका धुनहरू एउटै स्टेजमा प्रस्तुत गर्नेछन् । बाजाले दिने धुन कति महत्वपूर्ण छ भन्ने बारेमा नयाँ पुस्तालाई जानकारी गराउनका लागि यो कार्यक्रम गर्न लागिएको हो । प्रतिष्ठानले अहिलेको आर्थिक वर्ष ८१/८२ को पहिलो चौमासिकसम्म आइपुग्दा वार्षिक कार्यक्रम अन्तरगत रहेका ५७ कार्यक्रम मध्येमा मौलिक बाजा र भाषाका कार्यक्रम लगभग सकेको जनाएको छ । बाजातर्फ गुरुङ समुदायको एक महिने छ्याडु बाजा प्रशिक्षण, नेवार समुदायको धिमे बाजा, साराङ नाच, नेपाल भाषा, श्रीकृष्ण नृत्य, गायन र बाजा, सोरठी प्रशिक्षण लगायतका कार्यक्रम भएको सदस्य सचिव श्रेष्ठले बताए । प्रतिष्ठानले गण्डकी प्रदेशमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्ने गरेको छ । आजसम्म ४२ वटा वाङमयिक संस्थासँग सहकार्य गरेको उनले खुलाए । यस्तै गत वर्ष जस्तै यो वर्ष पनि प्रादेशिक चित्रकला प्रदर्शनी हुने भएको प्रतिष्ठानले जनाएको छ । कुल ५ दिनको प्रदर्शनी मार्फत छनोट भएका चित्रले केन्द्रमा गएर प्रतिष्पर्धा गर्नेछन् । प्रतिष्ठानले स्रष्टाको क्याटगोरीको आधारमा परिचयपत्र वितरण गर्ने भएको छ । त्यो परिचयपत्र देखाएर स्रष्टाले विभिन्न ठाउँमा छुट पाउने अवस्था बनाउन खोजिएको छ । अनुसन्धानको काम र निर्माणका काम भइरहेको छ । भानुहलमा कुर्ची थपेर र साउण्ड सम्बन्धी काम गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । अक्षयकोष निर्माण गर्ने तयारीमा समेत भएको जनाइएको छ । यो वर्ष १५ जना स्रष्टाको बायोग्राफी समेत तयार पारिएको जनाइएको छ । यसरी बायोग्राफी तयार पारिएका स्रष्टामा साहित्यकार सूर्य खड्का बिखर्ची, सुमन कुमार गुरुङ र देवी वनवासी, संस्कृतिकर्मी पदमराज ढकाल, सङ्गीतकार नवराज बराल र श्यामलाल श्रेष्ठ, नृत्यकार धन बहादुर गुरुङ र टक बहादुर गुरुङ, नाटककार कृष्ण उदासी, समालोचक प्रा.डा. जगन्नाथ रेग्मी, प्रा.डा. यदुनन्दन उपाध्याय र झलक सुवेदी, कलाकार प्रमिला तुलाचन, लोक प्रसाद गुरुङ र क्षेत्रलाल कायस्थ रहेका छन् । यो वर्षका लागि तय भएका सबै कार्यक्रम चैत्रको मसान्तमा सक्ने तयारी गरिएको सदस्य सचिव श्रेष्ठले बताए । अहिलेको टिमको कार्यकाल आगामी बैशाख १४ गतेसम्म भएकोले त्यो दिनमा कार्यकालमा भएका सबै कामको फेहरिस्त प्रस्तूत गरेर विदा हुने तयारी भएको समेत उनले खुलाए ।
पोखरा: गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोबलका साथ सेवामा खटिन उनले निर्देशन दिएकी हुन् । मन्त्रालयद्धारा आयोजित आर्थिक वर्ष ०८१/०८२ को त्रैमासिक प्रगति समिक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भनिन्,‘आम कृषकहरु प्रत्यक्ष लाभान्वित हुने गरी कार्यालयहरुको सेवालाई थप चुस्तदुरुस्त बनाउन आग्रह गर्दछु । कृषकहरु गुनासो वा कुनै समस्या लिएर कार्यालय आइपुग्दा तत्काल समाधान हुने छ भने तत्काल र समय लाग्ने तवरको छ भने सोही अनुसार निरुपण हुने गरी कार्य अघि बढाउनु हुनेछ भन्नेमा विश्वस्त छु ।’ कृषकहरुलाई कृषि बीमाबारे अवगत गराउनुपर्ने उनले जोड दिइन् । मन्त्री श्रेष्ठले अधिकांश पशु पालन गर्ने कृषकहरुले पशुको बीमा गर्ने गरेकोमा अन्नबालीतर्फ न्यून संख्यामा कृषकहरु बीमामा संलग्न भएकाले सम्पूर्ण कृषकहरुमा कृषि बिमाको महत्वका बारेमा जानकारी गराउनुपर्ने बताइन् । उनले भनिन्,‘पशु पालन गर्ने अधिकांश कृषकहरुले बीमा गर्नुभएको थाह पाएँ । तर अन्नबाली लगायत खेती गर्ने कृषकहरु बिमामा संलग्न भएको संख्या न्यून छ । अब सबै कृषकहरुलाई कृषि बीमाको महत्वबारे जानकारी गराउँदै यसमा समेट्नु पर्दछ । यसले भइपरी हुने क्षतीबाट कृषकलाई राहत त मिल्छ नै, सँगै कृषि कर्ममा ढुक्क भएर अघि बढ्ने वातावरण तय हुनेछ ।’ यहि कात्तिक २६ गते मालेपाटनस्थित मन्त्रालयको सभाहलमा आयोजित समिक्षा गोष्ठी कात्तिक २७ गते समापन भएको हो । गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
पोखरा महानगरपालिका २२ भ्यू प्वाइन्टमा सम्पन्न दोस्रो भेडीखर्क सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि भ्यूप्वाइन्ट सिक्स टु सेभेन मेटले जितेको छ । शनिबार भएको फाइनल खेलमा नानु एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै भ्यू प्वाइन्ट सक्स टु सेभेन मेट च्याम्पियन बनेको हो । च्याम्पियन बनेको भ्यू प्वाइन्ट सिक्स टु सेभेन मेटले नगद रु ५१ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको नानु एफसीले नगद रु २६ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । यस्तै सो प्रतियोगिताबाट मलिक गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र अर्जुन थापा उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भए । विजेता तथा उपविजेता टोलीका खेलाडीलाई गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, स्थानीय अग्रज तथा समाजसेवी लगायतले पुरस्कार वितरण गरेका थिए । पोखरा भ्यू प्वाइन्ट युथ क्लबको आयोजनामा सम्पन्न सो प्रतियोगितामा कुल २० टिमको सहभागिता रहेको थियो ।

