पोखराः गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ को उद्घाटन गर्दै उनले उक्त प्रतियोगिता नेपालको खेलकुद क्षेत्र र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माइलस्टोन बन्ने उल्लेख गरे । “पोखरा १३ मा आयोजित इन्ड्युरो अन्तर्राष्टिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रिय स्तरका साहसी खेलाडीहरूलाई एउटै मञ्चमा ल्याई साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ।”, उनले भने । मन्त्री थापाले यस्ता गतिविधिले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाउनमात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पोखरालाई खेलकुद र साहसिक पर्यटनको केन्द्र बनाउन उक्त प्रतियोगिता निरन्तर भइराख्नुपर्ने धारणा उनको छ । पोखराको मात्र नभई समग्र देशको साहसिक पर्यटन प्रवर्द्धनमा यस्ता प्रतियोगिता मार्फत टेवा पुग्ने उनले बताए । पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले समेत लगानी गरिरहेको र आगामी समय पनि सहकार्य समर्थन गर्न तयार रहेको भनाई उनको छ । खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समेत प्राथमिकतामा राख्न उनको अनुरोध छ । उनले पोखरा १३ मा आयोजना गरिएको उक्त प्रतियोगिताले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र साना व्यवसायलाई टेवा पुग्ने बताए । ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र आर्थिक गतिविधि बढाउन यस्ता प्रतियोगिता मार्फत मदत पुग्ने विश्वास उनको छ । पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले पोखरा १३ मा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । समुद्री सतहदेखि १४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पु¥याउने उनले बताए । “हाम्रो वडा १३ जस्तो प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यस क्षेत्रलाई साहसिक खेलकुदको केन्द्र बनाउने लक्ष्यमा यो कार्यक्रमले ठूलो सहयोग पु¥याएको छ।”, उनले भने । आगामी दिनहरूमा यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिन र वडाको विकासमा योगदान गर्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता उनको छ । प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी मंसिर १२ देखि १४ गते सम्म चल्नेछ ।
कास्की: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिले पोखरा रङ्गशालास्थित क्रिकेट खेल मैदानको आज निरीक्षण गरेका छन् । आइसिसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलपमेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम हुनुहुन्छ । आइसिसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालनका लागि रहे पनि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिबद्धता खोजेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा महिला विश्वकप क्रिकेटका लागि योग्य रहे पनि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा उहाँहरूको जोड रहेको छ । खेल पूर्वाधार निर्माण गर्न सकेमा पोखरामा विश्वकप सम्भव हुन्छ भन्नुभएको छ ।” सो टोलीले आजनै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापासँग भेट गरेका छन् । भेटमा मन्त्री थापाले प्रदेश सरकार विश्वकपको खेल पोखरामा गर्न आतुर रहेको जनाउँदै सरकारकोतर्फबाट सहयोग गर्ने बताउनुभएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिबद्धता जनाउनुभयो । प्रमुख आचार्यले आइसिसीका प्रतिनिधिलाई विश्वकपका लागि के–के पूर्वाधारको आवश्यकता पर्ने हो त्यसबारेमा जानकारी गराउनसमेत आग्रह गर्नुभयो । यसैगरी नेपाल प्रिमियर लिग (एनपिएल)को टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट सङ्घलाई डकआउट (खेलाडी बस्ने ठाउँ) हस्तान्तरण गरेको छ । पोखरा क्रिकेट मैदानलाई घरेलु मैदानको रूपमा लिएको एभेन्जर्सले सो डकआउट हस्तान्तरण गरेको हो ।
पोखरा: बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासिनी मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कालिकाले उपाधि सहित नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यसै गरी विन्ध्यवासीनिले नगद २० हजार ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी कालिका माविका कुशल नेपाली, हाइस्कोरर विन्ध्यवासीनि माविमा सरोज थापा, उत्कृष्ट गोलकिपर कुशल नेपाली कालिका मावि, उत्कृष्ट डिफेन्स विन्ध्यवासिनीका विपिन गुरुङ, उत्कष्ट स्टाइकर कालिकाका बिवास गुरुङ र उत्कृष्ट कोचको उपाधि कालिकाका आशिष श्रेष्ठले जित्न सफल भए । त्यसै गरी छात्रा तर्फको मैत्रिपुर्ण खेलमा कन्या माविले बाराही माविलाई १–० गोलले हरायो । क्लस्टर स्तरीय प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । कास्की जिल्लाका १५ वटा विद्यालयहरूले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रतियोगिताले विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न गरेको विद्यालय प्रधानध्यापक शिव भण्डारीले जानकारी दिए । विजेता खेलाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्री, समाजसेवी पुरुषोतम प्रसाद पराजुली, हेमराज अधिकारी, लक्ष्मण बराल, प्रधानध्यापक शिव भण्डारी, बाराही विद्यालयका खेलकुद संयोजक सुशील केसी लगाएतले पुरस्कार वितरण गरे ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताउनुभएको छ । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उहाँको भनाई छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७ औं हिसान स्पोर्ट्स मीट २०८१ को औपचारिक समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पार्नुभएको हो । ‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उहाँले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । ‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन् । उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ ।’ उहाँले भन्नुभयो । खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उहाँले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेकोमा जोड दिनुभयो । पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको उल्लेख गर्दै उहाँले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभयो । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको जनाउँदै उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताउनुभयो । आफ्ना सदस्य विद्यालय तथा कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरू बीच आपसी मित्रताको अभिवृद्धि गराउने तथा उनीहरूलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्न हिसानको यो खेलकुद कार्यक्रम प्रशंसनीय रहेको उहाँको भनाई छ । निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत देशभर ४० हजार भन्दा बढी विद्यार्थी र १० हजार बढी कर्मचारीहरु छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् । ‘स्वास्थ्य, अनुशासन र प्रतिभा प्रस्फुटनका लागि खेलकुद’ नाराका साथ आयोजित यस १७ औं संस्करणको खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजहरूका ५ हजार भन्दा बढी विद्यार्थीले दर्जनौं प्रकारका खेलकुद प्रतियोगितामा सहभागिता जनाएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिनुभयो ।
पोखरा: नेपाल पुन मगर समाजको दोस्रो राष्ट्रिय महाधिवेशन यही मंसिर २९ र ३० गते पोखरामा हुने भएको छ । नेपाल पुन मगर समाज केन्द्रीय समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै दोस्रो राष्ट्रिय महाधिवेशनबारे जानकारी दिएको हो । वि.स.२०७२ सालमा हर्कबहादुर पहरे पुनमगरको अध्यक्षतामा स्थापना भएको समाजले ९ वर्षपछि दोस्रो महाधिवेशन गर्न लागेको महासचिव खमबहादुर पुनमगरले बताए । ‘आफ्नो भाषा, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण गर्नको लागि २०७२ सालमा हामीले नेपाल पुन मगर समाजको स्थापना गरेका थियौं’, महासचिव पुनमगरले भने, ‘सम्पूर्ण मगर र पुनमगरहरुलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन दोस्रो महाधिवेशन गर्दै छौं ।’ १२ जिल्लामा शाखा समिति रहेको नेपाल पुन मगर समाजको दोस्रो महाधिवेशनमा सुदूरपश्चिम, लुम्बिनी,कर्णाली प्रदेशका जिल्लाबाटसमेत प्रतिनिधिहरुको सहभागिता रहने महासचिव पुनमगरले बताए । ‘अहिले पुनमगरको शाखा समिति गण्डकी प्रदेशसहित सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा स्थापना गरेका छौं’, उनले भने, ‘महाधिवेशनमा करिव २ सय ५० बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ, यस महाधिवेशनबाट हामीले पुनमगरहरुमा एकताको सन्देशसमेत दिनेछौं ।’ पोखरा सभागृहमा हुने महाधिवेशनको उद्घाटन पूर्व उपराष्ट्रपति नन्द किशोर पुनमगरको प्रमुख आतिथ्यतामा हुने नेपाल पुनमगर समाज केन्द्रिय समितिले जनाएको छ । पोखरा मानवअधिकार चोकबाट झाँकी र्यालीसहित कार्यक्रम सुरु हुनेछ ।
पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं पठाउनेबारे केही तयारी नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले स्पष्ट पारेको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले तत्काल लामिछानेलाई काठमाडौं लैजानेबारे केही कुरा नभएको स्पष्ट पारे । ‘अहिले केही छैन । मलाई यस विषयमा केही जानकारी छैन । बिहानदेखि काम गर्न पाएको छैन । यो फेक न्यूज कस्ले लेख्यो, किन लेख्यो थाहा छैन ।’ डिएसपी शर्माले सुनगाभा न्यूजसँग भने । उनले दोहोर्याउदै अहिलेसम्म लामिछानेलाई काठमाडौं पठाउनेबारे ऐकिन नभएको बताए । ‘तयारी भन्ने अहिलेसम्म केही छैन । सबै गर्ने काठमाडौंले हो । पठाइदे भन्यो भने हाम्रो काम पठाइदिने मात्रै हो । अहिलेसम्म केही छैन ।’ गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमै छन् । संगठित अपराध, सहकारीको रकम अपचलन तथा सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धानका लागि हालसम्म कास्की जिल्ला अदालतबाट पाँच पटक म्याद थपिएको छ । उनीविरुद्ध कास्की जिल्ला अदालतले गत ९ गते १५ दिनका लागि म्याद थप गरिएको थियो । उनलाई यसबीचमा काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेपछि बयानका लागि काठमाडौं लगिने भनिएपनि हालसम्म तयारी नभएको कास्की प्रहरीले बताएको छ ।
पोखरा: राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला अन्तर विद्यालय भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्यासदन र छात्रातर्फ करुणानिधी (केफ) च्याम्पियन बनेको छ । टुडिखेलमा छात्रतर्फ भएको फाइनल खेलमा गुरुकुल विद्यासदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधिसँगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल प्राप्त गर्याे । उपविजेता बनेको माउण्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे । भने, तेस्रो स्थान हाँसिल गर्दै न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफि र मेडल हात पार्याे । प्रतियोगिताबाट गुरुकुलका अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत भए । त्यसैगरी छात्रातर्फ करुणानिधी एजुुकेशन फाउण्डेशन (केफ)ले शान्ता माविलाई ३–१ सेटमा पराजित गर्दै च्याम्पियन बन्यो । केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्याे । उपविजेता बनेको शान्ता माविले नगद ३० हजार, ट्रफि र मेडल प्राप्त गर्याे । यस्तै तेश्रो स्थान हाँसिल गरेको पश्चिमाञ्चल माविले नगद १५ हजार, ट्रफि र मेडल प्राप्त गर्याे । प्रतियोगितामा केफकी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद रु ५ हजार र मेडलसहित पुरस्कृत बनिन् । हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगितामा छात्रतर्फ २६ टिम र छात्रातर्फ १३ टिमको सहभागिता रहेको थियो । छेलोमा लक्सन र शशी विजयी हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्रतर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माविका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भए । भने, छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन् । छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विजेताहरुलाई शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा १ का वडाध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष बरुण विक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम” कक्ष निर्माणका लागि तेश्रो किस्ताका रुपमा थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको चौथो वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित एक कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदिस पुनलाई रकम हस्तान्तरण गरेकी हुन् । एफएम स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोहि प्रतिबद्धता अनुरुप एफएमले दोश्रो र तेश्रो वार्षिकोत्सवको अवसरमा पहिलो र दोश्रो किस्ता गरेर २ लाख २ रुपैयाँ प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको तेश्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । हामीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,उनले भने,‘अघिल्लो दुई वर्ष पहिलो र दोश्रो किस्ता बुझाएका थियौं । यो दोश्रो किस्ता हो भने बाँकी आगामी तीन वर्ष निरन्तर प्रदान गर्छौं ।’ संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै रेडियोले वार्षिकोत्सवको सन्दर्भ पारेर गत कात्तिक १० गते आयोजना गरेको आमस्मिक रक्तदान कार्यक्रम गर्दा २५१ युनिट रगत संकलन भएको थियो । कार्यक्रममा बोल्दै एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताईन् । ‘सोहि उद्देश्य अनुसार नै हामीले एभरेस्ट कक्ष निर्माण गरेका हौं ।’–उनले भनिन् । कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका कार्यालय प्रमुख सदीश पुनले २०८२ साल सम्ममा सहयोगापेक्षीमुक्त समाज बनाउने अभियानमा आफूहरु रहेको भन्दै सो कार्यका लागि सहयोग गरेकोमा एभरेस्ट एफएमलाई धन्यवाद दिए । पोखराको छोरेपाटनमा आमा र हेमजामा बुबाहरुको लागि आश्रम बनाएको भन्दै उनले भने,‘असक्तहरुलाई पालनपोषण गर्ने, परिवार भएकालाई पुर्नमिलन गर्ने कामपनि गरिरहेका छौं ।’ कार्यक्रममा सञ्चालक समितिका सदस्य सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, वोर्ड सदस्य दीपक कार्कीलगायतले बोल्दै एफएमले छोटो समयमै सफलता हासिल गरेकाले यसलाई कायम राख्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो भने प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङ्गको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो । यसैबीच, एभरेस्ट एफएमको ‘बेष्ट स्टाफ अफ दी ईयर’बाट सहायक लेखापाल जमुना तिमिल्सिना पराजुली पुरस्कृत भएकी छन् । । एफएमले वर्षभरी काम गरेको आधारमा छनौट गर्ने स्टाफ अफ दी ईयरबाट पराजुली पुरस्कृत भएकी हुन् । एफएमको तेश्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पराजुलीलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु मीनाकुमारी गुरुङ, सन्तोष पोखरेल, सोभितमान बुद्धाचार्य, धनकुमारी रायमाझीलगायतले सम्मान गरेका थिए । यसअघि दोश्रो वार्षिकोत्सवको अवसरमा प्राविधिक प्रमुख दीलु गुरुङ र तेश्रो वार्षिकोत्सवको अवसरमा शशी पौडेल बेष्ट स्टाफ अफ दी इयरबाट पुरस्कृत भएका थिए ।
पोखरा: शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा सामाजिक कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार शिलन्यास गरिएको हो । पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच शिलान्यास गरेका हुन । सो अवसरमा बोल्दै सांसद मन बहादुर गुरुङले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत अगाडी बढीरहँदा हाल आएर गरिब विद्यार्थीहरुलाई लक्षित गरी आवासिय छात्रावास निर्माणको थालनी गर्नु आफैमा श्रहानिय काम भएको बताए । छात्रावास निर्माणको लागि आफ्नो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने र आफुले नेपाल सरकारको विभिन्न मन्त्रालयहरु र विभागहरुमा समेत उक्त योजनालाई अगाडि बढाउन पहलकदमी गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । सरकारले गर्नुपर्ने काम युनाईटेड क्लबले गरिरहेको बताउदै गुरुङले युनाईटेड क्लबको हरेक क्रियाकलापमा आफ्नो सहयोग रहने समेत बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य सूर्य बहादुर वाग्लेले आफ्नो वडा त्यसमा पनि कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थल नजिकै शिक्षाबाट बञ्चित भएका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको आवासिय छात्रावास निर्माणमा वडाको तर्फबास सक्दो सहयोग रहने बताए । वडा नं २७ मा निर्माण हुन लागेको आवासिय छात्रावास स्थल सम्म वडाले यसअघिनै सडक निर्माण गरिसकेको बताउदै वाग्लेले आगामी दिनमा उक्त सडकको समेत स्तरोन्नती गर्ने बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र त्यसमा पनि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी उठाउदै आएको र क्लबकै पहलमा पोखराको लेखनाथ स्थित पचभैयामा चिडियाखानाको निर्माण कार्य जारी रहेको भएतापनि सरकारले त्यसलाई खुल्ला चिडियाखाना भन्दापनि घाइते भएका वन्यजन्तुको उद्धार केन्द्र बनाउनतर्फ अगाडी बढीरहेको बताए । पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागी भनेर क्लबकै पहलमा सामुदायिक वनहरुसंग सहकार्य गरेको भएतापनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेकाले आगामी दिनमा त्यसतर्फ स्थानीयहरुले समेत सरकारको ध्यानाकर्षण गराउनतर्फ अगाडि बढ्नुपर्ने श्रेष्ठको धारणा रहेको थियो । त्यस्तै क्लबका संस्थापक अध्यक्ष तथा युनाईटेड आवासिय छात्रावास निर्माण समिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबका परियोजनाको रुपमा आवासिय छात्रावास निर्माण गर्न लागिएको र यसका लागि तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताए । करिब ४ करोड लागतमा निर्माण हुने उक्त आवासीय भवन निर्माणका लागि सरकारी, विभिन्न निकाय, संघसंस्था तथा ब्याक्तिहरुको सहयोग आवश्यक रहने बख्रेलको भनाई रहेको थियो । ८ रोपनी क्षेत्रफलमा निर्माण हुने छात्रावास १० कोठाको रहने र ५० जना विद्यार्थीलाई राख्न मिल्ने बताउदै बख्रेलले पहिलो वर्ष ४ कोठाको भवन निर्माण सम्पन्न गरी विद्यार्थी राख्ने र वर्षै पिच्छे निर्माणको कामलाई जारी राख्दै प्रोजेक्ट सम्पन्न गर्ने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थान नजिकै शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित रहेका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागिएको आवासिय छात्राबास निर्माणले शिक्षाको क्षेत्रमा सानो भएतापनि सहयोग पुग्ने बताए ।

