पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

पोखरा:    कास्कीको मर्दी पदमार्गमा बेपत्ता भएकी चिनियाँ नागरिकको सकुशल उद्धार गर्न सफल भएको भन्दै चिनियाँ नागरिक 'बेला'ले गाउँमै आएर सम्मान गरेका छन् ।   गत असोज २३ गते मर्दी पदमार्गमा बेपत्ता भएका चिनियाँ नागरिकलाई २३ घण्टापछि सकुशल उद्धार गरेको थिए ।    उनै बेपत्ता बेला अहिले आएर माछापुच्छ्रे गाउँपालिका ९ सिधिङमा आएर स्थानीय यामबहादुर क्षेत्री, मदन क्षेत्री, प्रसाद पौडेल र गोर्बद्धन पौडेललाई हिजो (सोमबार) नगदसहित सम्मान गरेकी हुन् ।    चिनियाँ नागरिक बेलाले नगद रु ५० हजार र नेपाल चाइना एशोसिशयनको तर्फबाट उनीहरुलाई नगद २० हजार सम्मानस्वरुप प्रदान गरेको वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।    कसरी हराए 'बेला' ?   असोज २३ गते मर्दी हिमाल पदमार्ग अन्तरगत चिनियाँ नागरिक ‘बेला’ हाइक्याप पुगिसकेकी थिइन् ।   त्यहाँको होटल नमस्तेबाट चेक आउट भई निस्केकी उनी एकाएक बाटो बिराएर गन्तव्यविहीन बनिन् । उनी मर्दी खोलाको मुहानसम्म पुगेकी थिइन् ।     उनी कसैको सम्पर्कमा नआएपछि खोजतलासका लागि मर्दी हिमाल पर्यटन व्यवस्थापन समिति, पर्यटक प्रहरी र जनप्रतिनिधिहरुलाई खबर पुग्यो ।   त्यसपछि सयुक्त रुपमा सबै टोली परिचालित भए ।   त्यसपछि उनलाई मर्दी खोलाको मुहान नजिकै कोलङ्गेबाट २३ घण्टापछि स्थानीय यामबहादुर क्षेत्री, मदन क्षेत्री, प्रसाद पौडेल र गोर्बद्धन पौडेल लगायतले सकुशल उद्धार गरेका थिए ।   

पोखरा:   विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ ।  सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लैजान लागिएको हो ।    प्रहरी स्रोतका अनुसार उनलाई बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत भैरहवा लगिदैं छ । तर अहिले प्रतिकुल मौसमका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थलमै अड्किएका छन् ।   उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो ।  उनलाई बिहान सबेरै बुटवल पुर्याउने भनिएपनि मौसमका कारण फ्लाइट डिले भएको विमानस्थलले जनाएको छ ।    कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सोही रातीनै पोखरा ल्याइएको थियो ।   उललाई गत आइतबार कास्की जिल्ला अदालतले चौथों पटक १३ दिनको म्याद थप गरेको छ । बयानका लागि रुपन्देही लगेपनि बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ ।   उनलाई रुपन्देही लगिने भएपछि रास्वपाका कार्यकर्ताहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । यद्यपी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।  

पोखरा:   कास्कीको माछापुच्छ्रेगाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा हिजो (आइतबार) एक पर्यटक गाइडको मृत्यु भयो ।    नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहणको गराउन काठमाडौंको सनराइज कम्पन्नीबाट आएका ६२ वर्षीय लालबहादुर तामाङको आरोहणको क्रममै लडेर मृत्यु भएको हो ।    सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशीसहित टोलीमा ४ नेपाली रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।    ‘कात्तिक २३ गते काठमाडौंको सनराइज कम्पन्नीबाट नर्वेका एक नागरिकसहित ४ नेपालीको टोली मर्दी हिमाल आएका रहेका छन् ।   मुख्य गाइडसमेत रहेका लालबहादुर तामाङले नर्वेका नागरिकलाई हिमाल चढाउने र आफु पनि चढ्ने योजनामा आएका रहेछन्’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँगभने, ‘मर्दी हिमाल आरोहणकै क्रममा तामाङको आइतबार लडेर मृत्यु भएको हो, थप बुझ्दै छौं ।’     मर्दीको तापक्रम माइनस १० डिग्री, उद्धारका लागि जुटाउँदै    तापक्रम र भौगौलिक अवस्थाका कारण मृतक लालबहादुर तामाङको शव निकाल्न ​कठिनाई भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले बताए ।    ‘मर्दी हिमाल आरोहणको क्रममा मृत्यु भएका लालबहादुर तामाङको शव घटनास्थलबाट निकाल्न तापक्रम र भौगौलिक अवस्थाका कारण कठिनाई देखिएको छ, अहिले त्यहाँ माइनस १० डिग्री रहेको बुझ्नमा आएको छ । हामीसँग उद्धारका लागि पर्याप्त सामान छैन’, उनले भने, ‘अहिले मर्दीको मौसम चिसिएको छ, तामाङ लडेको स्थान ढुङ्गा नै ढुङ्गा भएको स्थानमा हो । हिडेर जान सकिदैन, रक क्लाइम्बिङ गर्नुपर्छ । त्यसका लागि आवश्यक सामान जुटाउन पर्छ । हामीले तयार गर्दैछौ ।’ उनले तामाङ लडेको स्थानमा रेकी गर्नका लागि सनराइज कम्पन्नीसँग समन्वय गरेर हेलीकप्टर मगाउन  संवाद भइरहेको जानकारी दिए ।    अहिले हाइक्यापमा रहेका पर्यटन व्यवसायी र मर्दी हिमाल आरोहणका लागि गएका विदेशीनागरिकसहितका टोलि तामाङ लडेको स्थानमा जान लागेको उनले बताए ।    सूचना पाएका छौं हाम्रो टोली जाँदै छ: डिएसपी शर्मा   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्तकुमार शर्माले मर्दी हिमाल आरोहणका क्रममा लडेर एक जना बेपत्ता भएको जानकारी आएको बताए ।    ‘मर्दी हिमाल आरोहणको क्रममा एक जना मानिस लडेर बेपत्ता भएको भन्ने सूचना आएको छ । घटनास्थलतर्फ हाम्रो टोली जाँदै छ अहिले बाटोमा छ’, डिएसपी शर्माले भने, ‘अहिले बेपत्ता भएको भन्ने सूचना मात्र पाएका छौैं थप अपडेट हाम्रो टोली जाँदै छ । पुगे पछि थाहा होला ।’   उनले अस्थायी प्रहरी चौकी भेडाबारीबाट टोली घटनास्थल हिडेको बताउँदै थप टोली जिल्लाबाट पठाउने तयारी भइरहेको बताए ।   प्रहरीलाई बेपत्ता भन्ने सूचना आएपनि मुख्य गाइड तामाङको मृत्यु भइसकेको स्थानीयहरुले गएराती नै पुष्टि गरिसकेका छन् ।    २०७१ जेठ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५ हजार ८ सय मिटर उचाईको हिमाल आरोहण गर्न अनुमति नचाहिने निर्णय गरेको थियो ।   सोही निर्णयलाई नै आधार मानेर मृतक तामाङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि उक्त स्थानमा पुगेका थिए । मर्दी हिमालको उचाई ५  हजार ५ सय ८७ मिटर रहेको छ ।   यो पनि पढ्नुहोस   स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु

सरकारको हुलाक सेवालाई पुन:संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।   सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताउनुभयो ।   उहाँले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताउनुभयो ।   कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिनुभयो ।   जिल्लाका बाँकी माछापुच्छे«, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उहाँले जानकारी दिनुभयो ।   हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय रहेका थिए । सरकारको नीतिअनुसार चारवटा इलाका हुलाक कार्यालयलाई पालिकामा रुपान्तरण गरेर बाँकी खारेज हुनेछन् ।   यसैगरी जिल्लामा यसअघि ३७ अतिरिक्त हुलाक कार्यालय रहेकामा चालु आवमा २२ छन् ।   पोखरा महानगरमा तीन काउन्टर सञ्चालनमा रहेको छ ।   अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशः खारेज हुनेछ ।   सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।

पोखरा:   पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकमको सम्पादकमा अर्जुन गाहामगर (सुशान्त) नियुक्त भएका छन् ।    भिजन गण्डकी नेटवर्क प्रालिद्धारा सञ्चालित सुनगाभा न्यूजको सम्पादकमा गाहामगर आज (आइतबार) नियुक्त भएका हुन् ।    गाहामगर यसअघि सुनगाभा न्यूजको समाचार प्रमुखका रुपमा कार्यरत थिए ।    यस्तै संस्थाको बजार व्यवस्थापकमा कृष्ण शर्मा नियुक्त भए । सम्पादक गाहामगर र बजार व्यवस्थापक शर्मालाई भिजन गण्डकी गण्डकी नेटवर्क प्रालिका अध्यक्ष किसान सुनारले खादा लगाएर बधाई ज्ञापन गरे ।    सुनगाभा न्यूजको सम्पादकमा नियुक्त भएका गाहामगर काठमाडौंबाट सञ्चालित एबिसी न्यूज टेलिभिजनमा पोखरा संवाददाताका रुपमा विगत ७ वर्षदेखि कार्यरत थिए ।   गाहामगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका सचिवसमेत हुन् ।    

पोखरा:  रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखरामा विरोश प्रर्दशन गरेका छन् ।   कास्की प्रहरीले अनुसन्धानका लागि आज लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराउन लैजादै गर्दा यता उनको समर्थनमा नाराबाजी गरेका थिए ।    सोही क्रममा उनीहरुले (जिरोदेखिमहेन्द्रपुलसम्म र्याली) ​ 'रवि दाई हाई हाई, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर' लगायतका नारा लगाएका थिए ।   लामिछानेको रिहाइको माग गर्दै प्रर्दशन गरेपनि उनी विरुद्ध आज पनि १३ दिनको म्याद थप भएको छ ।   यससँगै लामिछानेको हिरासत बसाई लम्बिएको छ ।   तस्बिरहरु:-                        

पोखरा:   पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज चौथोंपटक कास्की जिल्ला अदालत लगिदैं छ ।   लामिछानेविरुद्ध तेस्रो पटक थपिएको म्याद सकिएपछि कास्की प्रहरीले आज फेरि अदालत उपस्थित गराउने भएको हो ।   अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० यसअघि तेस्रो पटक १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो ।      उनीविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।    आज पनि रास्वपाको प्रदर्शन   लामिछानेको पक्षमा रहेका उनका कार्यकर्ताले आजा पनि विरोध प्रदर्शन गर्ने भएको छ ।   रास्वपाले १० बजे जिरोमा जम्मा भएर वाइचोकमा पुगेर सभा आयोजना गर्ने बताएको छ ।    अन्य दिन धर्ना दिदैं आएपनि उनलाई अदालत लाने दिन भने विरोध प्रदर्शन नै गर्दै आएको छ ।    

स्वरसम्राट नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, बष्ठि साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी, हारमोनी अध्यक्ष ईतु जोजिजु, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक तथा अध्येता प्रकाश सायमीले एकसाथ पुस्तकको विमोचन गरेका हुन् ।   पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक तथा अध्येता सायमीले स्वरसम्राट नारायणगोपालको जीवनीमा आधारित चलचित्र बनाउने घोषणा गरे ।   पचासको दशकमा सुपरहिट चलचित्र दिएर दर्शकको मनमुटुमा बसिसकेका उनले कालजयी गीतका गायक स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणा गरेका हुन् ।   सायमीले पचासको दशकमा ‘सिमाना’लगायतका चर्चित चलचित्रहरु निर्माण गरेका थिए । पछि रेडियो कर्ममा लागेपछि उनले चलचित्र निर्माणबाट विश्राम लिए । तिनै सायमीले करीब तीन दशकपछि चलचित्र बनाउने घोषणा गर्दै भने,‘म आफैले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु । सोहि चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दैछु ।’ उनले आफूले चलचित्र निर्देशन नछाडेको बरु केहि विश्राम लिएर पुनः फर्किन लागेको स्पष्ट पारे ।   पुस्तक विमोचन कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्र्तक्रियात्मक सम्वाद गर्दै लेखक तथा अध्येता सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गरे । बायोपिक पुस्तकमा आंशिक सत्यतामात्रै हुन्छ भन्ने सुनिन्छ नि भन्ने प्रश्नको जवाफ दिदै उनले भने,‘अरुको मलाई थाहा भएन तर मैले लेखेको ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकमा उहाँको ९९ प्रतिशत सत्य छ ।’ पुस्तकमा उनले नारायणगोपालको जन्म काठमाडौंमा नभई सिराहामा भएको, उहाँको श्रीमती पेमलाले नारायणगोपालको मृत्यूपश्चात आफ्नै श्रीमानले गाएको गीतपनि नचिनेको, आफूमाथि आक्रमण गर्नेको नाम गोप्य राखेकोजस्ता विषयहरुपनि समावेश गरिएको छ ।   पुस्तकका लेखक सायमीले स्वरसम्राट नारायणगोपालको पोखरासँग गहिरो सम्बन्ध रहेको बताए । पेमलासँगको विहेपछि सिधै पोखरा आएको, कवि भुपी शेरचनसँगको निकटतालगायतका कारणलेपनि नारायणगोपाल पोखरासँग निकट रहेको पुष्टि हुने उनको दाबी छ ।   पोखरामा गरिएको पुस्तक विमोचन आफ्नो गृह विमोचन भएको बताए । साठीको दशकको अन्त्यतिर पोखरामा एफएमको स्टेशन म्यानेजर भएर आएका उनले स्मृति ताजगी गर्दै भने,‘पोखरासँग मेरो छुट्टै अट्याचमेन्ट छ । म पोखरा आएर झनै अग्लिएँ । थप स्थापित भएँ अनि न्यानो माया पाएँ ।’   कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए । उनले भने,‘अनुसन्धानमा समर्पित सायमीको यो पुस्तक जीवन्त पुस्तकमध्येको एक हो ।’   नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताए । उनले भने,‘जगदीश घिमिरेको आत्मवृतान्तपछि सायमीको स्वरसम्राट नारायणगोपाल पठनीय पुस्तकका रुपमा आएको छ ।’ बरिष्ठ लोक गायीका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताईन् । त्यसको एक अंश स्वरसम्राट नारायणगोपाल पुस्तक रहेको भन्दै उनले भनिन्,‘उहाँको कारण नारायणगोपाललाई थप अजम्बरी बनाउन सघाएको छ ।’ उनले सायमीलाई पोखरेली भन्न मन लाग्ने र पोखरेली भन्दा गर्व लाग्नेपनि बताईन् ।   कार्यक्रममा बरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, टीकाबहादुर कार्कीलगायतलेपनि स्वरसम्राट नारायणगोपाल र लेखक प्रकाश सायमीको व्यक्तित्व र पोखरासँगको सम्बन्धबारे बोलेका थिए ।  

पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको तेस्रो संस्करणको सिम्पानी साँझबाट करिब ७ लाख संकलन भएको छ । पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसरमा (भाइटिकाको अघिल्लो दिन) आयोजित विविध सांस्कृतिक साँझबाट ७ लाख संकलन भएको क्लबका सहसचिव तथा कार्यक्रम संयोजक प्रविण सुवेदीले जानकारी दिए ।  सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारहरुले विभिन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गरेका थिए । भने, क्रिस्टल क्लजले विविध आइटन डान्सहरु प्रस्तुत गरेको थिए ।   यस्तै ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डले लाइभ कन्सन्ट गरेको उनले बताए ।    ‘यो वर्षको कार्यक्रमबाट करिब ७ लाख संकलन भएको छ । यसको पूर्ण रुपमा सदुपयोग हुन्छ, उनले भने, ‘तेस्रो संस्करणसम्म आउँदा राम्रै तरिकाले अवतरण गरेका छौं । यो वर्ष नौलो विहानीको समूहलाईसमेत स्टेज दिएका थियौं । रामै्र प्रस्तुती दिनुभयो । आगामी वर्ष थप पृथक तरिकाको कार्यक्रम गर्ने योजना बनाएका छौं ।’     नौलो विहानी संस्थाले तेस्रो लिङ्गीहरुको हित र अधिकारका लागि काम गर्ने भएकाले यो वर्ष स्टेज दिएको बताए ।   ‘नौलो विहानी तेस्रो लिङ्गीहरुका लागि काम गर्ने संस्था हो । उनीहरुको हक अधिकारको लागि काम गर्ने संस्था भएकाले सकरात्मक सन्देश जान्छ भन्ने हेतुले यो वर्ष उहाँहरुलाई पनि बोलाएका हौं ।’   कार्यक्रम संयोजक सुवेदीले उक्त कार्यक्रमबाट बचत भएको मध्ये केही रकम सामाजिक कार्यमा खर्चिने र अन्य बाँकी रकम कोषमा रहने बताए ।    ‘हामीले साँझबाट बचत भएको रकममध्ये केही सामाजिक कार्यमा खर्चिनेछौं । र क्लबको भवन जीर्ण अवस्थामा भएकाले यसको मर्मत संभार गर्नुपर्ने पनि छ । भने, बाँकी रकम हामीले कोषमै राख्नेछौं ।’     गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष रितु भण्डारी काफ्लेले सभापतित्व ग्रहण गरेकी थिइन् भने, क्लबका निवर्तमान अध्यक्ष तथा सल्लाहकार बासु जिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।    हरेक वर्ष सिम्पानी चोकमा हुने कार्यक्रमको मुख्य प्रायोजन टुबोर्ग बियरले गर्दै आएको छ भने, शान्ति सुरक्षामा वडा प्रहरी कार्यालय बगरले सहयोग गर्दै आएको छ ।