पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित स्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । पोखरा–३२ भमरा पार्टी प्यालेसमा सम्पन्न साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष कार्कीले सहकारीहरूमा पारदर्शिता, आर्थिक अनुशासन आवश्यक हुनेमा जोड दिनुभयो । सहकारीका अध्यक्ष किसान परियारले सहकारीमा आर्थिक अनुशासन कायम गर्दै आम सर्वसाधारणको बचतलाई सुरक्षित गराउनेतर्फ संस्था निरन्तर लागिरहेको जानकारी गराउनुुभयो । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सहकारी अध्यक्ष किसान परियारको सभापतित्व एवम् सचिव शरणकुुमार प्रधानले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गर्नुुभएको थियो । कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष मेघराज पौडेल, रुपा सहकारीका अध्यक्ष गणेशबहादुर खत्री, शेयर सदस्यद्वय फुलमाया राना र मोहनराज बराल, राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका ऋण अधिकृत रोशन खतिवडा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सञ्चालक समिति सदस्य मनमाया पुनले गर्नुभएको थियो भने आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन सचिव शरणकुमार प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता थापाले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै लेखा सुरपरिवेक्षण प्रतिवेदन संयोजक मणिनाथ न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले नियमित बचतलाई आजीवन शेयर रहेसम्म बचत गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । सहकारीले सदस्यहरूको सहजताका लागि तत्काल मोवाइल बैंकिङ सेवा बिस्तार गर्ने जनाएको छ । कार्यक्रमका अवसरमा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा संस्थाका अध्यक्ष किसान परियार निर्वाचित बन्नुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गरिएको थियो । उक्त अवसरमा असल कारोबारीका रुपमा रामप्रसाद तिवारी, ऋणतर्फ पविसरा पुन, कक्षा १२ उत्तिर्ण उत्कृष्ट छात्र, छात्रा क्रमशः करुण पौडेल र स्नेहा परियार, कर्मचारीतर्फ उत्कृष्ट व्यवस्थापक सुजाता सुवेदी, ज्येष्ठ नागरिकतर्फ चन्द्रबहादुर सुवेदी क्षेत्रीलाई सम्मान गरिएको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको महान चाड बडा दशैं विजयादशमी, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ - ‘महान चाड बडादशैंले हामी सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास लिएको छु । साथै, यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ भन्ने मलाई लाग्दछ ।’ उहाँले बडा दशैं, २०८१ ले हामी सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ुसमृद्ध नेपाल, सुखी नेपालीु को साझा राष्ट्रिय संकल्प हाँसिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
पोखरा: शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ । स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा आज पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को भवनमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का विखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुुर्गाबहादुर शाह‘बाबा’, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल लगायतले पुस्तकको लोकार्पण गर्नुुभएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृतिका सर्जक बरालले मिहिनेतका साथ महत्वपूर्ण कृति बजारमा ल्याउनुुभएको बताउनुुभयो । सभ्य समाज निर्माणमा यस्ता कृतिको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुुभयो । पुस्तकबारे समिक्षा गर्दै प्रा.डा.रामनाथ ओझाले पौराणिक आदर्श नारीहरू अनुुसूूया, उर्मिला, गान्धारी, दमयन्ती, मन्दोदरी, सकुन्तला, सावित्री, सीता र सुलोचनाका सम्बन्धमा पुुस्तकमा चर्चा गरिएको बताउनुुभयो । नारीहरूको पतिब्रता चरित्र तथा त्यसबाट प्राप्त गरेको शक्तिलाई कृतिमा प्रस्तुत गरिएको बताउँदै उहाँले रामायण र महाभारतका पात्रहरूलाई पुस्तकमा प्रस्तुत गरिएको जानकारी दिनुुभयो । बर्तमानमा उत्तरआधुुनिकता तर्फ बढीरहेको हाम्रो समाजलाई पुस्तकले पूर्वीय आदर्शमा डो¥याउने काम गरेको उहाँले बताउनुुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले प्रतिष्ठान भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा लागेको बताउनुुभयो । साहित्य, कला संगीतको क्षेत्रमा राज्यको सहयोग पुुग्नुुपर्नेमा उहाँले जोड दिनुुभयो । स्रष्टा समाज पुम्दीभुुम्दीका कावा. अध्यक्ष नवराज बरालको अध्यक्षता एवम् सचिव ध्रुुबराज बरालले सञ्चालन गर्नुुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष हिमलाल बराल, शुक्रराज माध्यमिक विद्यालयका प्रधानाध्यापक नरनाथ बराल, पत्रकार रविन्द्र माकाजुु, कृतिका स्रष्टा शोभाकर बराल, सदस्य राजन बराल, निशान बराल लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा कस्केली अधिकृत समाजका सदस्य बसन्त चालिसेले चिन्ता शीर्षकको कविता वाचन गनुुभएको थियो ।
पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ । युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् । उक्त दोकान घरको उद्घाटन आज (बुधबार) पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे । सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहेपनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे । यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष प्रेम सुवेदीले ग्राहकको मन जित्न सफल हुनेमा विश्वास व्यक्त गरेका थिए । उक्त दोकान घरमा हाल ८ जनाले रोजगारीको अवसरमा पाएका दोकान घरका सञ्चालक युवा व्यवसायी सुर्यबहादुर गुरुङले जनाकारी दिए । उनका अनुसार सो दोकान घरमा नेपाली उत्पादन, दैनिक उपभोग्य तथा खाद्यान्नका समाग्रीहरु उपलब्ध छन् । ‘पोखराको अमरसिंह आफैमा चर्चित छ, भान्सामा चाहिने खाद्यान्नदेखि अन्य पेयपदार्थहरु एकै ठाउँबाट किन्न पाउनुहुनेछ । त्यसैले एउटै छानाबाट ग्राहकलाई चाहिने सम्पूर्ण ग्रोसरीका सामानहरु उपलब्ध गराउने उद्देश्यसहित दोकान घर सञ्चालनमा ल्याएका हौं ।’ व्यवसायी गुरुङले भने । पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा रहेको दोकान घरले होम डेलिभरीको व्यवस्थासमेत गर्नेछ ।
पोखरा: पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत पोखरा– चितवन सौराहाका लागि रोयल पोखराको २ वटा सुविधासम्पन्न बस सञ्चालनमा आएको छ । दुई पर्यटकीय गन्तव्य जोड्ने गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगन्द्र बहादुर केसीले करिब १ करोड ५० लाखको लागतमा घटस्थापनाको अवसर पारेर आजदेखि सेवा सुरु गरको हो । पृथ्वी राजमार्ग सञ्चालक कम्पनी प्रालिका संरक्षक तथा वरिष्ठ यातायात व्यवसायी केशव अधिकारीले उक्त बस सेवाको शुभारम्भ गरेका हुन् । उक्त बस पर्यटक बसपार्कबाट छुट्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । उनले विभिन्न समस्या तथा चुनौतीको सामना गर्दै यात्रुहरुलाई गन्तव्य पु¥याउन लागि परिरहेको बताए । ‘देशमा बाढी पहिरो लगायतका विभिन्न कारणले सार्वजनिक यातायात सञ्चालन गर्न धेरै चुनौतीहरु सृजना भएका छन्’, अध्यक्ष केसीले भने, ‘तथापी हामी यातायात व्यवसायी मजदुरहरु आत्मविश्वासका साथ प्रस्थान बिन्दुबाट गन्तव्य विन्दुमा पु¥याउन लागि परिरहेका छौं, ।’ उनले यात्रुहरुलाई सुविधासहितको सेवासहित पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बस पोखरा–चिवतन सौराहा लागि बस सञ्चालनमा ल्याएको समेत बताए । ‘यात्रुहरुलाई कति सकिन्छ सुविधासहितको सेवा दिने प्रयास गरिरहेका छौं, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी बसहरु सञ्चालमा ल्याइरहेका छौं’, उनले भने, ‘ सोही सन्दर्भमा पोखरा–चितवनको सौराहा जोड्ने बसको शुभारम्भ गरेका छौं, यसरी नै हामीले पर्यटकीय गन्तव्यलाई जोड्ने गरी भिआईपी गाडी सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।’ सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यसहित दुर्घटनारहित सेवा सञ्चालन गर्ने लक्ष्यसहित यातायात व्यवसायीहरु लागि परिरहेको बताए । उनका अनुसार पोखरा– चितवनको सौराहा र सौराहा–पोखरा बिहान ७ बजे बस छुट्नेछ । भने, भाडादर १ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
पोखरा: राष्ट्रिय समाचार समिति(रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले रु ५० हजार र सम्मानपत्रबाट पौडेललाई पुरस्कृत गर्नुभयो । पत्रकारिताका माध्यमबाट ज्येष्ठ नागरिकका क्षेत्रमा पौडेलले पु¥याउनुभएको योगदानको कदर गर्दै पौडेललाई छनोट समितिको सिफारिस अनुसार पुरस्कृत गरिएको पुरस्कारका संस्थापक समेत रहनुभएका पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले बताउनुभयो । पोखराका शैक्षिक एवम सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएका प्रजातन्त्र सेनानी एवम पोखरा बृद्धाश्रमका संस्थापक अध्यक्ष स्व ऋषिकेशव पराजुली र उहाँका धर्मपत्नी लिलादेवी पराजुलीको स्मृतिमा छोरा कुसुमकेशवले पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको हो । पत्रकारिताका माध्यमबाट पोखरा वृद्धाश्रमको समग्र उन्नयनका साथै ज्येष्ठ नागरिकको हक अधिकार संरक्षणका पक्षमा कलम चलाउने सञ्चारकर्मीलाई बृद्धाश्रमले वर्षेनी सम्मान गर्दै आएको छ । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकार ज्येष्ठ नागरिकका हक अधिकार संरक्षणका लागि प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक भगवान्का प्रतिक रहेकाले सँधै आदर र सम्मान गर्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले ज्येष्ठ नागरिकका पक्षमा कानुनी प्रवन्ध गर्न र अधिकारका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । पुरस्कृत व्यक्तित्व वासुदेव पौडेलले ज्येष्ठ नागरिकका पक्षमा बनेका कानुनहरुको कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कानुन कार्यान्वयनका लागि सञ्चार क्षेत्रले जहिलेपनि सरकारलाई खवरदारी गर्ने गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले भनाई राख्नुभएको थियो । विसं २०५३ मा स्थापना भई असहाय एवम् विपन्न ज्येष्ठ नागरिकको सेवा संरक्षणमा क्रियाशील रहँदै आएको पोखरा वृृद्धाश्रममा हाल देशका विभिन्न जिल्लाका ५० जना ज्येष्ठ नागरिक १० जना अपाङ्गता भएका ब्यक्तिहरु एवम स्याहारकर्ताले आश्रय लिदै आउनुुभएको संस्थाका सचिव धर्म गुरुङले जानकारी दिनुभयो । यसैगरी आश्रमले विशेष गरी पोखरा महानगरका ज्येष्ठ नागरिकलाई प्याथोलोजी, मनोपरामर्श र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।
पोखरा महानगरपालिका १५ नयाँगाउँमा विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित फुटबल प्रतियोगिता आजदेखि सुरु भएको हो । सो प्रतियोगिताको उद्घाटन खेलमा दिव्यज्योती युवा क्लबले जित निकालेको छ । कफी धिंलाई २–० गोल अन्तरले पराजित गर्दै दिव्यज्योती दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक विकास गुरुङले जानकारी दिए । उनका अनुसार दिव्य ज्योतीको जीतमा मन्जित थापा र कुशल रानाले समान १ गोलको योगदान दिए । यस्तै दोस्रो खेलमा नवप्रतिभालाई केएनबीले ३–० गोल अन्तरले पराजित गर्याे । केएनबीको जीतमा बुद्धि गुरुङले २ र अमिर गुरुङले १ गोल गरे । यस्तै सेभेन टु एट गाइज र आर फिफ्टिनबीच भएको तेस्रो २–२ को बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा सेभेन टु एट गाइज बिजयी बन्यो । चौथों खेलमा वी आर वन टिमले टुटुङ्गा एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे । वी आर वनको जीतमा विकास गुरुङले निर्णायक गोल गरे । यस्तै आज भएको अन्तिम खेलमा रमाइलो एफसीले पुनटोललाई २–० अन्तरले हराउँदै रमाइलो एफसी दोस्रो चरणमा प्रवेश गर्याे । रमाइलोको जीतमा सुजन मगर र विश्वास गुरुङले समान १ गोलको योगदान दिए । प्रतियोगितामा कुल २६ टिमको सहभागिता रहेको छ । खेलकुदले परिचय फराकिलो बनाउँछ: वडाध्यक्ष बानियाँ आगामी १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका १५ का वडाध्यक्ष तोरण बानियाँले खेलकुदले खेलाडीको परिचय फराकिलो बनाउन सघाउ पुग्ने धारणा राखे । खेलकुदले अनुशासनको दायरामा राख्दै भाइचारको आपसी सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने उल्लेख गरे । ‘खेलकुद यस्तो क्षेत्र हो, जस्ले अनुशासनको दायरामा राखेर आपसी सम्बन्ध मजबुद बनाउन मद्दत गर्छ, उनले भने, ‘यति मात्र होइन यसले खेलाडीको परिचय फराकिलो पनि बनाउछ ।’ उनले खेलकुदकै माध्ययमबाट देशलाई विश्वमा चिनाउनसमेत सकिने बताए । 'अहिले खेलकुदको विकास भइरहेको छ । क्रीकेट, फुटबल, तेक्वान्दो लगायतको क्षेत्रबाट पछिल्लो समय ऐतिहासिक पदक देशले पाएको छ । यसले देशको गौरवलाई विश्वसमेत फैलाउन सघाएको छ । त्यसैले खेलकुदमा भविष्य देख्नेहरु पछि नहट्नुहोला' उनले भने । सो कार्यक्रमा संगम टोल विकास संस्थाका अदिप बराल, फ्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीका अध्यक्ष गंगा बहादुर क्षेत्री लागायतले बोलेका थिए । नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ । कार्यक्रममा आदर्श आमा समूह र संगमटोल विकास आमा समूहको टोलीले झाँकीसहति र्यालीसमेत प्रर्दशन गरको थियो । उक्त प्रतियोगिताको मिडिया पार्टनरमा सुनगाभा न्यूज डटकम र गोल नेपाल डटकम रहेको छ भने, प्रतियोगिताका सबै खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ तालीब्राङमा दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुने भएको छ । सृजना युवा तथा आमा परिवारको आयोजनामा असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुन लागेको हो । दशै मेलामा फाइभ ए साइड फुटबल प्रतियोगितासँगै अन्य प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको कार्यक्रम संयोजक सनम गुरुङ (सक्रिय)ले जानकारी दिए । उनका अनुसार असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेलामा खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता लगायत अन्य कार्यक्रमहरु आयोजना गरिएको छ । खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए । उनका अनुसार विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले ट्रफी प्राप्त गर्नेछन् । यस्तै फाइभ ए साइड फुटबल प्रतियोगितामा एक समूहलाई रु ३ हजार ५ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । यस्तै रस्साकस्सी प्रतियोगिता र छेलो प्रतियोगिताका विजेताले नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले बताए । दोस्रो तालिब्राङ (तर्मु) दशै मेलाको उद्घाटन समारोहमा आमा समूहबीच मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको सृजना युवा तथा आमा परिवारले जनाएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाएको हो । आयोजना प्रमुख डा रविन कडरियाले पर्यटकले राहदानी र मास्टरकार्डमार्फत प्रवेश शुल्क तिरेर अनलाइनबाटै प्रवेशाज्ञा लिनसक्ने बताउनुभयो । “प्रवेशाज्ञाका लागि शुल्क सङ्कलन काउन्टरमा हुने सेवाग्राहीको भीडलाई मध्यनजर गरेर प्रविधिमैत्री सेवा सुरु गरिएको हो, अनलाइन सेवा चौबीस घण्टा नै सञ्चालन रहनेछ”, उहाँले भन्नुभयो, “अब प्रवेशाज्ञाका लागि सेवाग्राहीले पालो पर्खनुपर्ने बाध्यता हटेको छ ।” यसअघि एक्यापले काठमाडौँको भृकुटीमण्डम, पोखराको ड्यामसाइड, लमजुङको सिमपानी र मुस्ताङको घाँसामा रहेको काउन्टरबाट प्रवेश शुल्क लिई पर्यटकलाई प्रवेशाज्ञा दिँदै आएको थियो । अब पर्यटकले जुनसुकै ठाउँबाट सहजै अनलाइनमार्फत प्रवेशाज्ञा लिनसक्ने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । अनलाइन सेवाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता थपिने उहाँको भनाइ छ । उहाँका अनुसार विदेशबाट पनि पर्यटकले अनलाइन माध्यमबाट उक्त क्षेत्रको प्रवेशाज्ञा लिन सक्ने व्यवस्था मिलाइएको छ । पदयात्रा पर्यटनका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमफिरका लागि पुग्ने गर्छन् । यो वर्षको मुख्य पर्यटकीय याम भर्खर सुरु भएकाले त्यस क्षेत्रका गन्तव्यस्थलमा पर्यटकीय गतिविधि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् । असोजदेखि मङ्सिर र चैतदेखि जेठसम्म पदयात्राका लागि उत्तम याम मानिन्छ । पदमार्ग मात्र नभएर मोटरमार्फत पनि सो क्षेत्रको भ्रमणमा जाने पर्यटकको सङ्ख्या उल्लेख्य रहने गर्छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा यसमा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, कागबेनी, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यस्थल हुन् । कास्कीको खुमैडाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन् । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । यसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक थिए । कोभिड महामारीका बेला सुस्ताएको यस क्षेत्रको पर्यटन विस्तारै पुरानै लयतर्फ फर्किएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । आन्तरिकपछि सबैभन्दा बढी भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा आउने गरेका छन् ।

