पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखरा:  अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) पोखराका प्रमुख डा. रविन कडरियाले घान्द्रुक पदमार्गको हब बन्न सक्ने बताएका छन् ।    कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभाको उद्घाटनपछि बोल्दै एक्याप पोखराका प्रमुख कडरियाले घान्द्रुकबाट पदमार्गको गन्तव्य सुरु हुने भएकाले हब बन्ने सक्ने बताए ।    ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रोजाईको गन्तव्य बन्दै गइरहेको छ, घान्द्रुकलाई सास्कृतिक गाउँको रुपमा विकास गर्न सके अझै यसको महत्व बढ्न सक्छ’, कडरियाले भने, ‘घान्द्रुकबाट अन्नपूर्ण पदमार्ग, मुल्डे,हिडन लेक, म्याग्दीको घोडेपानी, खोर्पा, पुनहिल पदमार्गमा पर्यटकको रोजाईमा पर्छन् जसको कारण घान्द्रुक पदमार्गको हव बन्न सक्छ ।’     एक्याप प्रमुख कडरियाले घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै वन्यजन्तु संरक्षणमा विशेष ध्यान दिन समेत सुझाव दिए ।    ‘घान्द्रुकमा पर्यटकको संख्या र बसाई लम्बाउन नयाँनयाँ पर्यटकीय गन्तव्यसँगै घान्द्रुकलाई सांस्कृतिक रुपमा विकास गर्न सके अझै पर्यटकको आगमन बढ्न सक्छ’, उनले भने, ‘वन्यजन्तुलाई हामीले हानी नोक्सानी गर्ने रुपमा मात्र हेरेका छौं तर यसको संरक्षण प्रवद्र्धन गर्न सके चितवनमा हात्ती र चितुवा हेर्न जाने पर्यटकजस्तै यहाँ पाइने जंगली जनावर देखाउन पर्यटक ल्याउन सकिन्छ ।’   उनले पछिल्लो समय वन डढेलोका कारण पर्यटन क्षेत्रसँगै जलवायुमा प्रत्यक्ष असर परेकाले वन डढेलो नियन्त्रणमा समुदाय नै चनाखो हुन समेत आग्रह गरे ।     यस्तै उनले घान्द्रुक लगायत अन्नपूर्ण क्षेत्रमा पाइने अल्लो र स्थानीय उत्पादनलाई बा्रण्डिङ गर्न आवश्यक रहेको बताए ।      कडरियाले घान्द्रुकको लोकल रक्सी, सुकुटी र स्थानीय उत्पादनलाई समेत ब्राण्डिङ गर्न सके आर्थिक रुपमा समेत सबल हुने बताए ।    यस्तै अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकको विकासको लागि स्थानीय सरकार, एक्याप र स्थानीयको समन्वयमा काम गर्दै आएको बताए ।    कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप इलाका कार्यालय घान्द्रुकका पूर्व प्रमुख जगनसुब्बा गुरुङले घान्द्रुकको विकास र यहाँको संरक्षणको लागि संरक्षण क्षेत्र स्थापना भए सँगै स्थानीयहरुसँग समन्वय गर्दै आएको उल्लेख गरिन् ।   साधारण सभामा घान्द्रुक  पर्यटन व्यवस्थापन समितिका सचिव माया पुन थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।   यस्तै साधारणमा सभामा अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका पूर्व कार्यालय प्रमुख जनगसुब्बा गुरुङ, घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा सबैभन्दा बढी विदेशी पर्यटकको शुल्क बुझाउने होटल ब्रिजका सञ्चालक सुवास गुरुङ  र नेपाली गाइड (पोटर)को शुल्क बुझाउने होटल वल्ड भिलेज इनका सञ्चालक अमृत गुरुङलाई सम्मान गरिएको थियो ।      साधारण सभामा तमु प्येल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ, लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले घान्द्रुकको विकाससँगै पर्यटन प्रर्वद्धनमा एकताबद्ध तरिकाले अगाडि बढ्न सुझाव दिए ।    साधारण सभा घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता, सदस्य रामकुमारी परियारको स्वागत र सचिव माया पुन थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ आजबाट सुरु हुदैंछ । आज र भोलि पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।   डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता नेपाल मै पहिलो पटक हुन लागेको हो।   समाज सेवामा लामो समयदेखि सक्रिय लायन्स क्लबले युवा सशक्तिकरण र मोटर स्पोर्टस् जस्ता साहसिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको छ। यसले राष्ट्रिय खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि अघि बढ्न सहयोग पुर्‍याउने विश्वास छ।   प्रतियोगिताको सम्पूर्ण प्राविधिक व्यवस्थापन मोटर स्पोर्टस् नेपाल क्लबले गर्नेछ। प्रतियोगिताका लागि असोज ४ गते प्राक्टिस राउन्ड आयोजना हुनेछ भने असोज ५ गते मुख्य प्रतियोगिता हुनेछ। लायन्स डिष्ट्रिक्ट ३२५ जे का स्पोर्टस् चिफ लायन अनिल कुमार बरालका अनुसार यो प्रतियोगिताले नेपाली मोटर स्पोर्ट्सलाई नयाँ उचाईमा पुर्‍याउने अपेक्षा छ।   प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरुलाई कप र नगद पुरस्कार प्रदान गरिनेछ साथै प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिने जानकारी चिफ पिआरओ लायन रामराजा थापाले दिए। प्रतियोगिताको संयोजनमा लायन्स क्लब अफ काठमाडौं युनाईटेड स्टार्स र लायन्स क्लब अफ पोखराले प्रमुख भूमिका निर्वाह गरिरहेका छन्।  

प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।   बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको छलफलमा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्नो गाउँमा खेल पर्यटन प्रबद्र्धन हुने गरी प्रतियोगिता हुन लागेकोमा उत्साहित हुँदै कार्यक्रम सफल पार्ने प्रतिबद्धता जनाएका हुन् ।   ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ यही असोज १२ गते ८ किमीको खुला पर्वतीय दौड हुन लागेको हो ।   पोखरा २२ का प्रमुख पर्यटकीय गन्तव्य पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेव मूर्ति र बुद्ध पार्क जोडेर खेल पर्यटन प्रवद्र्धन गर्न आयोजित उक्त पर्वतीय दौडका धावकलाई आफूहरुले फूलमालाले स्वागत गर्ने स्थानीयले बताए ।   वडाध्यक्ष हिमलाल बरालले आफ्नो वडामा नयाँ अवधारणाका साथ आयोजना हुने उक्त प्रतियोगिता सफल पार्न सबै जना लाग्नुपर्नेमा जोड दिए ।   उनले यस वर्ष सफल भए अर्को वर्ष फरक ढंगले सहयोग र साथ दिने बताए । धावक आफ्नो घरआँगन अगाडि आउँदा स्वागत गर्न आग्रह गर्दै उनले वडामा पर्यटकको कम्तीमा एक दिनको बसाइँ अवधि लम्बाउने गरी धेरै भौतिक संरचना निर्माण गर्न आवश्यक भएको बताए ।   वडा कार्यालयका अधिकृत रामप्रसाद पौडेलले २५ किमी सडक क्षेत्रमा दौड उपयुक्त रुट हुने बताए । उच्च मनोबलसाथ उक्त प्रतियोगिता सम्पन्न गर्न सुझाए ।   शुक्रराज माविका प्राचार्य नरनाथ बरालले १६ वर्षमुनिका धावकका लागि निःशुल्क दर्ताको व्यवस्था गर्न सुझाव दिए । विश्वसामु परिचित गर्न गाउँमा आयोजना हुने उक्त प्रतियागिता सफल पार्न विद्यालयबाट आवश्यक विद्यार्थी सहभागी गराउने वचन दिए ।   बुद्ध पार्क समिति अध्यक्ष लाला गुरुङले उक्त प्रतियोगिता सफल पार्न समिति सहित सिंगो गाउँले नै तयार रहेको जनाए ।   पोखरा–२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रबिन्दु बनाउन खेल पर्यटनले समेत सहयोग पुग्ने हेतुले प्रतियोगिताको जमर्को गरिएको आयोजक पोखरा क्लिक प्रालि अध्यक्ष दीननाथ बरालले बताए ।   दौडको रुट विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने व्यवस्थापक सागर सुनारले बताए ।   प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।   यस्तै, महिला धावक, १६ वर्ष मुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जना नगद ७ हजारसहित पुरस्कृत हुने छन् । कार्यक्रममा शुक्रराज माविका शिक्षक मिलन गुरुङ, नेकपा (माओवादी केन्द्र) २२ का उपाध्यक्ष सनतकुमार बराल, कालीमाटी टोल विकास संस्थाका अध्यक्ष सुदीप विक, प्रवीण बराल, सावित्री भुजेललगायतले सहयोग गर्ने बताए । प्रतियोगितको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका छन् ।

पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे ।  संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६।१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ ।  शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार भएकाले यो सडक बन्न लागेकाले प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताए ।  प्रदेश सरकारकै सहयोगमा गाउँपालिकामा गाउँ—गाउँमा मोटरबाटो पुगेको उनले सुनाए । ‘प्रदेश सरकार बन्नु पहिले ५० मिटर पिच बाटो थियो । अहिले धेरै ठाउँमा बाटो बनेको छ,’ निवर्तमान मुख्यमन्त्री अधिकारीले भने, ‘अहिले केही टोलमा पिच बाटो बन्न बाँकी छ । यसले प्रदेश सरकार किन चाहिने रहेछ भनेर देखाउँछ ।’ गाउँमा सडक पूर्वाधार पुग्ने तर मानिस सहर झर्ने परिस्थिति बन्नु दुःखद भएको उनले टिप्पणी गरे । रूपा रिङरोड बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउने विषयमा ध्यान दिनुपर्ने अधिकारीको भनाइ थियो । ‘खेतबारी बाँझो रहन दिनु हुँदैन ।  बजारबाट किनेको खान्न भन्ने हुनुपर्छ,’ उनले भने, ‘बजारबाट खाली आउने गाडीलाई यहाँबाट भरेर पठाउनुपर्छ । पोखराबाटै सामान बोकेर आउने अवस्था भयो भने हामी र भोलिको पुस्ताका लागि अभिशाप हुन्छ ।’ भौतिक मन्त्री केसीले समयमै काम सक्न र जनतालाई दुःख दिने काम नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले त्यसलाई समाधान गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।  निर्माण कार्यमा बजेट अभाव हुन नदिने मन्त्री केसीले सुनाए । ‘अहिले बेगनास तालबाट रामकोटसम्म आउने सडक स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट विभिन्न खण्डमा काम भइरहेको अवस्था छ,’ मन्त्री केसीले भने, ‘प्रदेशले काम गर्ने गरि छुट्टाइएको खण्डमा बजेट अभाव हुन नदिने तथा सघंले काम गरिरहेको खण्डमा समेत समयमा नै काम सम्पन्न गराउन मेरो पहल रहने छ ।’ गाउँपालिका अध्यक्ष नवराज ओझाले यो रिङरोडको काम सकिएपछि लमजुङ, तनहुँ र कास्कीको आवागमन धेरै सहज हुने विश्वास व्यक्त गरे । सडकमा धेरै लगानी गरेको भनेर प्रश्न आउने गरेको तर उत्पादनलाई बजारसँग जोड्दा जनताको जीवनस्तर उकासिने भएकाले सडक आवश्यक रहेको उनले बताए ।  आगामी आर्थिक वर्षमा रिङरोडको बाँकी ३५ किलोमिटर सडकलाई पनि बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अध्यक्ष ओझाले आग्रह गरे ।  निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीय स्तरबाट समस्या नभए समयभन्दा अघि नै काम सक्ने प्रतिबद्धता जनाए ।  उनले स्थानीय एकजुट भएमा काम गर्न सहज हुने सुनाए । शिलान्यास कार्यक्रममा भौतिक मन्त्रालयका निमित्त सचिव रामकुमार श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङ, रूपा—१ का वडाध्यक्ष रामबहादुर गोदार, रूपा—७ का वडाध्यक्ष कृष्णराज सुवेदी, अन्य जनप्रतिनिधि, नेपाली कांग्रेस रूपा गाउँपालिका समिति सभापति विमल न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि माधव पौडेललगायत उपस्थित थिए ।   यो मोटर बाटो निर्माणको ठेक्का एमरएस जी.एन.सी.पी.एल—बी.बी.आर कन्स्ट्रक्सन जेभी, हेटौंडाले पाएको छ । यसका लागि गत साउन १७ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।  निर्माण कार्य २०८३ साल माघ १६ सम्म सक्नुपर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख सी।डी।ई सोभियत खड्काले जानकारी दिए । रिङरोडको पहिलो खण्डअन्तर्गत फैंचोकदेखि पोल्याङसम्म १० किलोमिटर, रूपा परियोजनाअन्तर्गत ९ किलोमिटर सडक बनिसकेको छ ।

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।   “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।”, उनले भने ।   मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख गरे ।   आजको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै मन्त्री थापाले कुनै पनि वस्तु वा विषयको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन नै विज्ञान हो भएको बताए ।   आजको समयमा विज्ञान र प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सकिने भनाई उनको छ ।   प्रा.डा.भरत पहारीले विज्ञानले अरुको गाली गर्न नसिकाउने र जिज्ञासा बढाउने बताए । विषयको विशिष्टिताको ज्ञान हुन आवश्यक रहेको भनाई उनको छ । प्रा.डा. नवराज देवकोटाले साइन्स एण्ड टेक्नोलोजी उत्पादन सङ्ग जोडिनुपर्ने बताए ।   डा.ढाकाराम भण्डारीले रिसर्चमा वहुवर्षीय रुपमा काम गर्न आवश्यक रहेको बताए । सस्तो लोकप्रियताले विज्ञानमा फड्को मार्न नसकिने भनाई उनको छ ।   डा.पुनम गौचनले रिसर्चमा महिलाहरुको उपस्थिति कम भएको बताइन् । पारिवारिक कारणले गर्दा यस्तो हुन गएको भनाई उनको छ ।   विज्ञान तथा प्रविधि ः विकास र उत्पादन वृद्धि भन्ने नारा सहित मनाइएको विज्ञान दिवसको समय पारेर प्यानल डिस्कसन गरिएको थियो । जसको सहजीकरण डा. कपिल अधिकारीले गरेका थिए ।  

पोखरा:   कास्की जिल्ला मुवाँथाई संघको संयोजकमा धन पुन चयन भएका छन् ।  मुवाँथाई संघ गण्डकी प्रदेशका अध्यक्ष मिलन थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले पुनको संयोजकत्वमा कास्की जिल्ला मुवाँथाई संघको तदर्थ समिति गठन गरेको हो ।  समितिको सदस्यमा रोशन गुरुङ, विक्की गुरुङ, पूर्णिमा गुरुङ, पुष्पा पुन, लक्ष्मण गुरुङ र सचिन पुन रहेका छन् ।  रामबजार युथ क्लबको अध्यक्ष समेत रहेका पुन मुवाँथाईको प्रशिक्षण समेत दिदै आएका छन् । 

पोखरा:  पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन् । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म स्वदेशी तथा विदेशी खेलाडीहरुले दर्ता गर्न सक्ने भएको प्रा.लि.ले जनाएको छ ।   खेलाडीहरुको बिमा देखि उहाँहरुलाई प्रोत्साहन गर्न स्थानियले भव्य स्वागत गर्ने भएका छन् । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलोमिटरको दौड प्रतियोगितामा सहभागिहरुले आफ्नो परिचय सहितको ठेगना खुल्ने गरी अनलाइनबाटै फारम भर्न सक्ने व्यबस्था मिलाएको पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।  पोखरा वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ । पोखरा २२  पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् । विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौडको रुट टुंगिने छ । खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।   आगामी २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवस तथा २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर पहिलो प्रयास गरिएको पत्रकार एवं कम्पनी अध्यक्ष बरालले बताए । पोखरा क्लिक प्रालिअन्तर्गत हाल पोखरा क्लिक डटकम न्यूज पोर्टल संचालित रहेको कम्पनीका व्यबस्थापक सागर सुनारले जनाए ।  

पोखरा:    गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ ।   कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन् ।    क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गरे ।   पत्रकार महासंघले भदौ २९ गते निर्वाचनको कार्यातालिका सार्वजनिक गर्दै अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो ।    अन्तिम नामावलीमा कास्की शाखाले छनोट गरी गण्डकी प्रदेश कार्यालय पठाएकोमा प्रदेश कार्यालयले समेत उक्त नाम अनुमोदन गरेर पठाएपछि पनि केन्द्रले सबैको नाम नसमेटेकोमा भण्डारीले कास्की शाखाकोतर्फबाट नबोलेको भन्दै सपथ ग्रहणबाहिर विरोध गरिएको समूहका सदस्यले बताएका छन् ।   सदस्यता वितरणमा राजनीतिकरण हुँदा ३२ भन्दा बढी पत्रकार महासंघ जिल्ला शाखाले नै क्रियाशील पत्रकारलाई समेट्न माग गर्दै संयुक्त विज्ञप्ति निकालेका छन् ।   तर, कास्की शाखाकी अध्यक्ष भण्डारीले सदस्यता वितरणमा राजनीतिकरण गर्दै मौनता साधेको, पत्रकार महासंघमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी बोलाएर आन्दोलन तुआउन खोजेको आरोप समूहको छ ।      डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र अन्तिम नामावलीमा प्रकाशन गरेको भन्दै १८ जना क्रियाशील पत्रकार नै पुनः आन्दोलन उत्रर्दै सोमबार नै कास्की शाखामा तालाबन्दी गरेका छन् ।    कास्की शाखामा तालाबन्दी लगत्तै सपथ ग्रहणमा पुगेर क्रियाशील पत्रकार समूहले विरोध प्रदर्शन गरेका हुन् ।   क्रियाशीप पत्रकार समूहले यसअघि  महासंघ भवनमा ताला लगाउँदा कास्की अध्यक्ष विमला भण्डारी र विभिन्न संगठनका नेताले सदस्यता आउने आश्वासन दिएपछि ताल्चा खालेको समूहको भनाइ छ । तर, सहमति अनुसार गरिएको वाचा पूरा नगरिएको भन्दै १८ जनाको समूह पुनः आन्दोलनमा उत्रेको बताए ।     ‘हामीले लगाएको ताला खोलेका थियौं । अहिले फेरि हाम्रो आन्दोलन र मागलाई कमजोर ठानेर जुन तरिकाले नाम प्रकाशन भएको छ यसमा हाम्रो सहमति छैन,’ क्रियाशील पत्रकार समूहले निकालेको ध्यानकर्षण पत्रमा उल्लेख छ ।    

पोखरा:    संविधान दिवसको अवसरमा आज पोखराको फेवातालमा सरसफाइ गरिएको छ ।      कास्कीस्थित जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, नागरिक समाज, पोखरा महानगरपालिकाको संयुक्त संयोजनमा पोखराको फिर्के खोला मिसिएको फेवाताल किनारा एवं ड्यामसाइड क्षेत्रमा सरसफाइ गरिएको हो ।      सरसफाइमा सबै सुरक्षा निकाय, नगर प्रहरी, सरकारी कर्मचारी र नागरिक समाजको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवसका अवसरमा प्रदेशस्तरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।  फेवाताल यहाँको मुख्य सम्पदा भएको बताउँदै उहाँले फेवातालले छिट्टै आफ्नो आकार पाउने विश्वास व्यक्त गर्नुभयो ।      कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संविधान दिवसका अवसरमा फेवातालको सरसफाइ आयोजना गरिएको बताउँदै यसको संरक्षण सबैको दायित्व भएको बताउनुुभयो ।      कर्मचारी मिलन केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रका तर्फबाट हरेक महिनाको एक दिन पोखराका सम्पदास्थल सरसफाइ गरिएको बताउँदै संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम फेवातालमा केन्द्रित गरिएको जानकारी दिनुभयो ।       नागरिक समाज कास्कीका संयोजक रामबहादुर पौडेलले पोखराको गौरव फेवातालको संरक्षणका लागि राज्यको ध्यान पुग्नु जरुरी भएको बताउनुुभयो । फिर्के खोलाबाट फेवातालमा फोहर नआउने गरी व्यवस्थापन गर्नुु जरुरी रहेको उहाँको भनाइ छ । संविधान दिवस असोज ३ गते मनाउने गरिन्छ ।