पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् । सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन् । समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ । समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन गरेको अन्तिम नामावलीप्रति आपत्ति जनाएको हो । डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र अन्तिम नामावलीमा प्रकाशन गरेको भन्दै १८ जना क्रियाशील पत्रकार नै पुन: आन्दोलनमा उत्रेका छन् । महासंघले लिष्टमै नभएका व्यक्तिको नाम पनि नामावलीमा देख्दा महासंघले राजनीतिक भागबण्डाअनुसार सदस्यता प्रदान गरेको समूहको आरोप छ । ‘पत्रकारको छाता संगठन बन्नुपर्नेमा पत्रकार महासंघ दलीय भातृ संगठनको रुपमा उभिएकोमा हाम्रो घोर विरोध छ । महासंघले प्रकाशन गरेको नामावलीमा ३२ जिल्ला शाखाले आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्दा हाम्रो कास्की र गण्डकी प्रदेश शाखा मौन हुनुले केन्द्रसँगको साँठगाँठ भएको स्पष्ट छ,’ समूहले जारी गरेको पत्रमा उल्लेख छ । उनीहरुले महासंघमा नेता पत्रकार कुरीकुरी’, ‘१८ जनामा ३ जनाको मात्र सदस्यमात्र कसरी आयो,’ ‘सिफारिसमै नभएकाको नाम कसरी आयो’, पत्रकार महासंघ कस्ले चलाउँछ,’ ‘पत्रकार महासंघ पत्रकारको छाता संस्था कि कार्यकर्ता भर्ती केन्द्र’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । यो समूहले यसअघि पनि महासंघ भवनमा ताला लगाउँदा कास्की अध्यक्ष विमला भण्डारीलगायतले सदस्यता आउने आश्वासन दिएपछि खुलेको थियो । तर, सहमति अनुसार गरिएको वाचा पूरा नगरिएको भन्दै १८ जनाको समूह पुन आन्दोलनमा उत्रेको हो । ‘हामीले लगाएको ताला खोलेका थियौं । अहिले फेरि हाम्रो आन्दोलन र मागलाई कमजोर ठानेर जुन तरिकाले नाम प्रकाशन भएको छ यसमा हाम्रो सहमति छैन,’ पत्रमा उल्लेख छ । समूहले माग सम्बोधन नभए पत्रकार महासंघको कुनै पनि निर्वाचन हुन नदिने धम्की दिएको छ । यस्तो परिस्थितिमा हुने क्षतिको सम्पूर्ण जिम्मेवारी नेपाल पत्रकार महासंघले नै लिनुपर्ने उल्लेख छ । नेपाल पत्रकार महासंघ कास्कीले २०७९ मंसिरमा आवेदन मागेको थियो । कास्कीबाट १८ जनाको नाम सिफारिस भएका थिए । यी सदस्यलाई प्रदेशले पनि अनुमोदन गरेर पठाए पनि पत्रकार महासंघ केन्द्रले सदस्यता वितरणमा राजनीति भागबण्डा गरेको समूहको आरोप छ ।
पोखरा: नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस पोखरामा पनि मनाइएको छ । हेमबहादुर पुन स्मृति प्रतिष्ठा–नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा मगरका संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस मनाएको हो । स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवसको अवसरमा बोल्दै गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले स्व.हेमबहादुर पुनमगरले देशका लागि महत्वपूर्ण योगदान पु¥याएको बताइन् । ‘बेलायत आर्मीबाट अवकाश लिएर नेपाल प्रहरीको निरीक्षक सम्म हुनुभएका स्व. हेमबहादुर पुनमगरले राष्ट्र र देशका लागि महत्वपूर्ण योगदान दिनुभएको छ’, उपसभामुख थापाले भनिन्, ‘मगर समुदाय र पिछडिएका वर्गको उत्थानका लागि नै उनले जागिर छोडेर तत्कालिन समयमा आन्दोलन होमिए जसको कारण आज हामी यो स्थानमा पुग्न सकेका छौं ।’ उपसभामुख थापाले स्व. हेमबहादुर पुनमगरले सम्पूर्ण मगर जातिलाई एकतावद्ध भएर अगाडि बढाउन मगर संघको स्थापना गरेको बताए । ‘स्व. हेमबहादर पुनमगरले सम्पूर्ण मगर जातिलाई एकतावद्ध बनाउन २०३८ सालमा लाङघाली परिवार संघको स्थापना गर्नुभयो’, उनले भनिन् ‘मगरहरुको हकहित र सामाजिक परिवर्तनमा काम गर्दै आएको लाङघाली परिवार संघलाई मगर संघमा रुपान्तरण गरिएको छ जसको नेतृत्व समेत उहाँले नै गर्नुभयो जसको कारण हामी मगर जातिलाई फुटाउन केही तत्वहरु लागेका छन् जसबाट हामी बच्नु पर्छ ।’ कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठान–नेपालका संरक्षक, नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरका छोरा एवम् पूर्व मन्त्री उत्तमबहादुर पुनमगरले सामाजिक कार्यमा अग्रसर हुन स्मृति प्रतिष्ठान खोलिएको बताए । ‘अहिले देशमा धेरै नेता तथा व्यक्तिहरुको नाममा स्मृति प्रतिष्ठान स्थापना भएका छन्, यसैको शिलशिलामा हामीले पनि मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादर पुनको नाममा प्रतिष्ठान स्थापना गरिसकेका छौं, पुनमगरले भने, ‘सामाजिक कार्यक्रममा अग्रसर हुन र सम्पूर्ण मगर समुदायलाई एकतावद्ध बनाएर अगाडि बढाउन प्रतिष्ठान स्थापना गरेका छौं ।’ उनले पुनमगर र पुन जाति भनेर अलग हुन खोजको भन्दै जाति टुक्रिदा समुदाय नै कमजोर भएर जाने भकाले एकताबद्ध भएर अगाडि बढ्नसमेत सुझाब दिए । यस्तै नेपाल मगर संघका केन्द्रीय समितिका सल्लाहकार बालसिंह काउछामगरले स्व. हेमबहादर पुन प्रतिष्ठानलाई राज्यले सहयोग गर्न आवश्यक रहेको बताए । ‘स्व. हेमबहादुर पुनको योगदानलाई राज्यले उचित न्याय गर्नुपर्छ, हिजोका दिन बेलायत आर्मी र नेपाल पुलिसको जागिरबाट अवकाश लिइसकेपछि राणा शासन देखि जनताको हकअधिकारका लागि लडेका हुन् राज्यले सम्मान गर्नुपर्छ’, काउछामगरले भने । अर्का वक्ता नेपाल मगर संघका पूर्व केन्द्रिय महासचिव एवम् अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर संघका केन्द्रिय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल मगर संघका केन्द्रिय सल्लाहकार एवम् नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष हर्कबहादुर पहरेपुनमगर र नेपाल मगर संघ गण्डकी प्रदेश समितिका अध्यक्ष तारामाया थापामगर लगायतले बोलेका थिए । कार्यक्रममा स्व. हेमबहादुर पुनमगरको योगदान र जिवनीसँग सम्बन्धित पुस्तक ‘ज्यूँदो इतिहास’ लेखक बालकृष्ण काउछा मगरलाई सम्मान गरिएको थियो । यस्तै हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालका महासचिव मेकबहादुर पुनमगरले स्व. हेमबहादुर पुनमगरको जीवनी प्रस्तुत गरे । कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठान–नेपालका अध्यक्ष संगिता पुनमगरको अध्यक्षता, नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरको स्वागत र सचिव लालबहादुर रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
कास्कीमा डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेंगी संक्रमण देखिएको हो । यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेंगीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताए । जनघनत्व बढी भएका ठाउँमा संक्रमण छिटो फैलने हुँदा पोखरा डेंगीको ‘हट स्पट’ बनिरहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालयले डेंगीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका संक्रमितसमेत रहेको जनाएको छ । संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे । पछिल्लो तीन महिनामा डेंगी संक्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्ने प्रमुख नेपालीले बताए । “डेंगीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उनले भने, “संक्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्युसमेत हुनसक्छ । यसैले डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।”
पोखरा: राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार पोखरामा भएको दोस्रो अधिवेशनबाट सुनार अध्यक्षमा चयन भएका हुन् । सुनार नेतृत्वको १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सरिता गायक, सचिवमा विजय नेपाली चुनिए । यस्तै सहसचिवमा विन्दु परियार र किशोर परियार, कोषाध्यक्षमा कोपिला सुनार निर्वाचित भइन् । यसैगरी कार्यसमिति सदस्यहरुमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक छानिए । उक्त अधिवेशनबाट केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिसमेत चयन गरेको नवनिर्वाचित सहसचिव विन्दु परियारले जानकारी दिइन् । उनका अनुसार सात जना केन्द्रिय प्रतिनिधि र १२ जना प्रदेश प्रतिनिधि चयन गरिएको हो । यसअघि उद्घाटनसत्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले दलितको मुद्धा दलितले मात्रै नभइ अन्य जातजातीलेसमेत उठाउन आवश्यक रहेको धारणा राखिन् । यद्यपी त्यसका लागि अहिले दलितनै लड्नु परेको रुचालले सुनाएकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दीपक परियार, प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइराला, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, नेवा पत्रकार पुचः अध्यक्ष अनिशा श्रेष्ठ, फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, नेपाल दलित संघ कास्की अध्यक्ष दुर्गाबहादुर सुनार र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्की अध्यक्ष भीम नेपाली लगायतले बोलेका थिए ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार महिलाका निम्ति पुरस्कार स्थापना गरेको छ । पोखराका वरिष्ठ उद्योगपति, समाजसेवी एवं पूर्व मन्त्री हरि पाण्डेले उक्त पुरस्कारका लागि पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका हुन् । महासंघ कास्की शाखाले संचालन गर्ने गरी मातृसेवा प्रतिष्ठान नेपालले ‘डा. शान्ति स्मृति महिला पत्रकारिता पुरस्कार’ कास्कीमा क्रियाशील पत्रकार महिलालाई वितरण गरिनेछ । यसबारे पत्रकार महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । पुरस्कार स्थापनबारे छिट्टै एक कार्यक्रम गरी घोषणा गरिने जनाइएको छ । हरि पाण्डे र उनकी धर्मपत्नी तुलसा पाण्डेकी साहिली सुपुत्री डा. शान्तिको २०६१ सालमा पोखरामा स्कुटर दुर्घटनामा मृत्यु भएको थियो । पाण्डे दम्पतीको आफ्नी छोरीको स्मृतिमा प्राविधिक विषयमा उच्च शिक्षा पढ्न महिलाका लागि विभिन्न छात्रवृत्ति समेत वितरण गर्दै आएको छ । महासंघ कास्की अध्यक्ष विमला भण्डारी नेतृत्वको टिमले पुरस्कार स्थापनाका लागि पाण्डेसँग प्रस्ताव गरेको थियो । पत्रकार महासंघ कास्की शाखाले बर्सेनि वितरण गर्ने करिब एक दर्जन पुरस्कारमा महिलाका लागि मात्र भनेर यसअघि कुनै पनि पुरस्कार थिएनन् । मिडिया क्षेत्रमा पत्रकार महिलाको संख्या कम्ती रहेको र यस क्षेत्रमा उनीहरुलाई टिकाइराख्न पुरस्कारले प्रोत्साहन मिल्ने अध्यक्ष भण्डारीले बताइन् । आफ्नो कार्यकाल समाप्ति हुँदै गर्दा कम्तीमा पत्रकार महिलाका लागि पुरस्कार स्थापना हुनु गर्वको विषय भएको उनको भनाइ छ । हाल ५ लाख बराबरको अक्षयकोष स्थापना गरी हरेक वर्ष २५ हजार ५ सय ५५ रुपैयाँ राशिको पुरस्कार वितरण गरिने महासंघ कास्कीले जनाएको छ । कास्की जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकार महासंघको सदस्य प्राप्त गरेको कम्तीमा १० वर्ष वा पत्रकारिता पेसामा १२ वर्षसम्म क्रियाशील पत्रकार महिलाले यो पुरस्कार प्राप्त गर्ने छन् । जसमा पत्रकारिता माध्यमबाट महिला सशक्तीकरण र स्वास्थ्य क्षेत्रमा योगदान गरेको व्यक्तिलाई योग्य ठानिने प्रारम्भिक कार्यविधि छ । उक्त पुरस्कार महासंघ स्थापना दिवस १६ चैत वा शान्ति पाण्डेको स्मृति दिवसमा एक समारोह आयोजना गरी वितरण गरिनेछ । महासंघ कास्कीले वितरण गर्ने जगन्नाथ सिग्देल युवा पत्रकारिका पुरस्कारको अक्षयकोष राशिमा ५ लाख रकम थप गर्ने निर्णय भएको छ । यसअघि ५ लाख रुपैयाँ रहेकोमा बढेर १० लाख पुगेको छ ।
पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट अध्यक्ष पदमा गोकर्ण कार्की निर्वाचित भएका छन् । प्यानल खडा गरेर नेतृत्व सम्हालेका अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेललाई ४ सय ५८ मतान्तरले पराजित गर्दै कार्की चुनिए । आइतबार साँझ भएको मतपरिणाम अनुसार कार्कीले कुल १ हजार ३ सय ३९ मत पाए भने, पोखरेलले ८ सय ८१ मत प्राप्त गरेका थिए । शनिबार भएको मतदानमा कुल २२५१ मत खसेको थियो । यस्तै उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग (११ सय ७७ मत) निर्वाचित भए । उनले पोखरेल प्यानलका बालकृष्ण कोइराला (१ हजार ४७ मत )लाई हराए । यसैगरी, खुला १० सदस्यमा पोखरेल प्यानलबाट ८ जना निर्वाचित भए भने २ जना स्वतन्त्र उम्मेदवारी दिएका चुनिए । पोखरेलको प्यानलबाट देवेन्द्र प्रजू १५१६, ललितबहादुर कुँवर १५३९, सौगात थापा १४९४, दूधमान गुरुङ (आशीष) १४६८, भीम गौतम १४३९, टीकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) १३७५ निर्वाचित भए । यस्तै स्वतन्त्र उम्मेदवारी दिएका प्रदीपराज भण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मतसहित निर्वाचित भए । यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका थिए ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे । अध्यक्षमा बिजयी कार्की यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । पोखरेल भने अघिल्लो अधिवेशनमा पनि अध्यक्षमा पराजित भएका थिए । संघको पदाधिकारीमा यसअघिनै ४ जना निर्विरोध भएका थिए । निर्विरोध हुनेमा वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ छन । उनीहरु सबै अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलका थिए । कर्पोरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध भएका थिए । उपमहासचिवमा भने बालकृष्ण कोइरालालाई हराउँदै सुदीप प्रधानांगले जित हासिल गरेका छन । प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि १४ जना उम्मेदवार रहेका थिए ।
पोखरा: ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह÷अपांग बाल अस्पताल तथा पुूर्नस्थापना केन्द्र बनेपाको, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा जन्मजात खुट्टााको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएको बांगो, हड्डी नजोडिएको खुुट्टा लुलो र कमजोर भएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएका , हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि.रोग लागेका बालबालिकाको उपचार गरिएको गरिएको थियो । त्यस्तै शिविरमा औलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बांगो वा खुस्किएको, सहायक सागम्री तथा कृत्रिम अंगको आवश्यकता भएका र ओठ तालु फाँटेका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको अंपागता बाल अस्पाताल तथा पूर्नस्थापना केन्द्र बनेपाका शालिकराम तिमिल्सिनाले जानकारी दिए । शिविरको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गर्दै शिविरले शारीरिक रुप्मा अपांगता भएका बालबालिको स्वास्थ्य परीक्षणमा सहज भएको बताइन् । उनले उपचार र परीक्षणका लागि बनेपा जानुपर्ने बाध्यता समेत हटेको बताउदै शारीरिक रुपमा समस्या भएका बालबालिलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा महानगर गम्भिर रहेको बताइन् । पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा दिर्नेशक निर्मला शर्मा र महिला विकास अधिकृत बेलकुमारी गुरुङले बोलेका थिए । यस्तै पोखरा महानगरपालिका वडा नम्वर १८ मा रहेको बाल सुधार गृहमा रहेका बालकहरुलाई फलफुलट वितरण गरिएको छ । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सुुधार गृहमा रहेका बालकहरुलाई फुलफुल वितरण गरेको हो । आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालगृहका वाडेन अजय क्षेत्रीलाई फलफुुल हस्तान्तरण गरिन् । उनले दिवसको अवसरमा बाल सुुधार गृह अनुगमन गर्दै त्यहाँको आवश्यकताका बारेमा छलफल गरिएको बताइन् । उनले सुधार गृहलाई आवश्यक सामग्री केही समयपछि हस्तान्तरण गरिने बताउदै अहिले आवश्यकता बारे वाडेनसंग छलफल र अनुगमन गरिएको बताइन् । बाल सुधार गृहका वाडेन अजय केसीले बाल सुुधार गृहमा क्षमताभन्दा बढि बालकहरु राख्दा केही समस्या रहेको बताउदै महानगरसंग खाना खानका लागि टेबल कुर्चीको अभाव रहेको बताउदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । हाल सुधार गृहमा ११० जना बालकहरु रहेका छन् । सुधार गृहको क्षमता ६० जनाको रहेको वाडेन केसीले बताए ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघको ३५ औं अधिवेशनमा कार्यसमिति सदस्यतर्फको मतगणना सकिएको छ । निर्वाचनबाट सदस्यमा देवेन्द्र प्रजू (१५१६), सौगात थापा (१४९४), ललितबहादुर कुँवर( १५३९), भीम गौतम१४३९), दूधमान गुरुङ(१४६८), जीवनप्रकाश श्रेष्ठ(१३८३), टीकाराम सुवेदी (१३९४), रामचन्द्र तिमिल्सिना(१३४५), प्रदीप राजभण्डारी (१३७०) र यादवप्रसाद पोखरेल (१३००) निर्वाचित भएका छन् । १० खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका लेखनाथ सुवेदी (१२८६), विष्णुप्रसाद तिमिल्सिना (१२२०), यादवप्रसाद पोखरेल र प्रेमप्रसाद सुवेदी (१२८५) र बिनोद केसी (१२९६) भने पराजित भएका छन् । अब पदाधिकारीतर्फको मतगणना सुरु गर्ने तयारी भएको छ । नयाँ नेतृत्वका शनिबार लागि भएको चुनावमा २ हजार २ सय ५१ मत खसेको थियो । संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की मैदानमा छन् ।

