पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ ।   पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रु २५ हजार पाँच सय ५५ राशिसहितको उक्त पुरस्कार शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।   बागलुङ फोटोग्राफर सङ्घका सल्लाहकार शाक्य छ दशकदेखि फोटोग्राफीमा सक्रिय हुनुहुन्छ ।   सङ्घका सल्लाहकार दुर्गा पौडेलले पोखराका पुराना फोटो पत्रकार अशोक बाटाजूको स्मृृतिमा पुरस्कार स्थापना गरिएको हो ।   उहाँले ‘यासिका बक्स टुइन्स लेन्स क्यामेरा’बाट आफूले फोटोग्राफी सुरु गरेको बताउनुभयो ।

पोखरा:   पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्डो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गर्ने भएको छ।   नगर प्रमुख धनराज आचार्यका अनुसार पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद रु. २ लाख २२ हजार २२२ सहित सम्मान गर्न लागिएको हो।    आइतबार पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिनुभयो।   ‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ, प्रमुख आचार्यले भन्नुभयो, तर अहिले सम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो।’   पलेसा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि पोखरा महानगरपालिकाले उनलाई सम्मान गर्न लागेको प्रमुख आचार्यले बताउनुभयो।    ‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गरेका थियौँ, आइतबार पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्डो खेलाडी पलेसालाई सम्मान गर्दै छौँ, उहाँले भन्नुभयो, पोखरा महानगरपालिका सदैव राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको साथमा रहनेछ।’   समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।    नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् ।   पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।   २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

पोखरा:    पोखरा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्री र लमजुङे ठाडोभाका गायिका नन्दमाया दुरालाई नगदसहित सम्मान गरेको छ ।  प्रतिष्ठानको छैटौं वार्षिक साधारणका अवसरमा प्रबन्ध निर्देशक क्षेत्रीलाई स्वर्गीय तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार र दुरालाई स्वर्गीय नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरेको हो ।  क्षेत्री र दुरालाई नगद ५ हजार ५ सय ५५ सहित सम्मान गरिएको प्रतिष्ठानका सचिव रामजी पौडेलले जानकारी दिए ।  उनीहरुलाई प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष प्राज्ञ प्रजापति पराजुलीले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । कार्यक्रममा वरिष्ठ गायकगायिका पुरुषोतम न्यौपाने, हरिदेवी कोइराला, शान्ति गुरुङ, जीवन दाहाल, घनश्याम रिजाल, शंकरविरही गुरुङ र कुमार पुनसहित सहभागी थिए ।  साधारण सभाबाट सांगठिक र आर्थिक प्रतिवेदन पारित भएको सचिव पौडेलले जानकारी दिए । कार्यक्रममा गण्डकीका ९ जिल्लाका प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए ।   

पोखरा:     पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस मनाइएको छ ।  ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको हो ।  गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालयमा क्रियाशील एसओएस बाल क्लबका अध्यक्ष अश्विन चिलवालले गरेका थिए ।  बालदिवसका उपलक्ष्यमा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले प्राथमिक तहका विद्यार्थीहरूका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।  एसओएस गण्डकीले यस वर्ष हासिल गरेको उत्कृष्ट नतिजाका बारेमा सम्क्षिप्त प्रकाश पार्दै विद्यालयले प्राप्त गरेको यो उचाइलाई कायम राख्न आगामी दिनमा विद्यालय थप उत्साहका साथ लाग्ने पनि प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।  प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो । कक्षा नर्सरीदेखि दुईसम्म अप्रतियोगितात्मक तथा कक्षा तीनदेखि माथि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता–वाचन, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।  कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूको एउटा समूहले स्वस्तिवाचन पनि गरेका थिए । त्यसै गरी कार्यक्रममा अर्णव सापकोटाले शास्त्रीय शैलीको ताण्डव नृत्य प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध तुल्याइदिए भने कक्षा ५ का विद्यार्थीहरूले ‘ऐँचोपैँचो’ र ‘लागुपदार्थ दुव्र्यसनी’ शीर्षकका दुई नाटक प्रस्तुत गरी दर्शकको मन खिचे ।  प्रतियोगितात्मक कार्यक्रममा कक्षा ५ का प्रज्ञान बरालले प्रथम, कक्षा ४ की एन्नी शाहीले द्वितीय, अनमोलरत्न मगरले तृतीय तथा अञ्जु चेपाङले सान्त्वना स्थान हासिल गरेका थिए ।  विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि टकराज गुरुङ, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।   कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले बालबालिकाहरूको आधारभूत अधिकार संरक्षणका लागि सबै पक्ष संवेदनशील हुनुपर्ने बताए ।  आजभोलि बालबालिकाहरूमा सानैदेखि विदेश जानुपर्छ भन्ने चिन्तनको विकास हुनु दुःखद भएको बताउँदै मन्त्री गुरुङले यो देशको भविष्य उज्ज्वल पार्न सबै मिली बालबालिकामा त्यो चिन्तन हटाउनेतर्फ सोच्नुपर्ने बताए ।  अनाथ, असहायदेखि समाजका अन्य बालबालिकाहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको एसओएस गण्डकीलाई आगामी दिनमा प्रदेश सरकारले उपलब्ध गराउँदै आइरहेको आर्थिक सहयोगमा थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि मन्त्री गुरुङले व्यक्त गरे ।  कक्षा ९ का छात्राद्वय स्मारिका न्यौपाने र नेरिन बराल तथा कक्षा ११ का छात्राद्वय सजनी लामिछाने र स्वेच्छा पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण विद्यालयमा क्रियाशील बाल क्लब र रेडक्रसमा आबद्ध विद्यार्थीहरूले गरेका थिए ।

पोखरा: ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् ।  सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् ।  त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि कार्यसमितिले मनोनयन गर्नेछ ।  पूर्वअध्यक्ष तथा सल्लाहकार पूण्य पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले निर्विरोध कार्यसमिति चयन गरेको हो । जसमा सदस्य भानु पराजुली र कुमारीमुना बाँस्तोला रहेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा सचिव विष्णुप्रसाद अधिकारीले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शान्ति गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन भेलाले पास गरेको थियो ।  नवनिर्वाचित कार्यसमितिलाई निर्वतमान अध्यक्ष रविन्द्र बाँस्तोला, कार्यक्रमका प्रमुख अतिथि सुनासका संस्थापक अध्यक्ष सुरेन्द्र थापा मगर, पूर्वअध्यक्ष चन्द्रकृष्ण कर्माचारी, संस्थाको कार्यकारी अधिकृत भानु पराजुली, पूर्वअध्यक्ष पूण्य पौडेलले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिदैं संस्थाले गरेका कामका बारेमा चर्चा गरेका थिए । नवनिर्वाचित अध्यक्ष कोइरालाले प्रतिवद्धता मन्तव्य राख्दैं आगामी दिनमा अझै सशक्त ढंगले जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायहरुमा हुने ढिलासुस्ती र भ्रष्टाचारका विषयमा संस्थाले काम गर्ने बताए । 

पोखरा:   पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गतको लोटस ट्राभल्सले पोखरा–काठमाडौँ रुटमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ । आउदै गरेको विजयादशमी लगायतका चाडपर्वलाई लक्षित गरी सो ट्राभल्सले सुविधासम्पन्न सोफासेटको सिट जडान गरिएको अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको सुपर एसि भिआइपी दुई वटा बसबाट सेवा सुरु गरेको हो । केही दिनभित्रमा थप दुई वटा बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राका लागि आधुनिक सोफा सेट, एसी, हिटर,मोवाइल चार्ज गर्ने प्वाइट लगायतका सुविधा रहेको ट्राभल्सका सञ्चालक लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । पोखरादेखी काठमाडौँसम्मको यात्रालाईं सहज बनाउने लक्ष्य अनुसार सुविधासम्पन्न बस थप गरिएको पौडेलको भनाई छ । “पोखरा पर्यटकीय राजधानी समेत घोषित भइसकेको सन्दर्भमा स्तरीय बस सेवा दिनुपर्दछ भनेर सेवा विस्तार गरेका छौँ । हाम्रो सेवाबाट समग्र पोखरा सहित लामाचौर, पुरुनचौर, माछापुच्छ«े गाउँपालिका नागरिकहरु अझ बढी लाभान्वित हुनुहुनेछ ।” सञ्चालक पौडेलले भन्नुभयो । सुविधासम्पन्न बस २८ सिट क्षमताको रहेको ट्राभल्सका सञ्चालक पुष्पराज पौडेलले बताउनुभयो । “पोखराको उत्तरी क्षेत्र खासगरी सार्दिखोला, तातोपानी, मर्दी हिमाल तथा खुमई डाँडा लगायतका क्षेत्रमा अहिले पर्यटक आगमन धेरै राम्रो छ । हाम्रो सेवाबाट पर्यटकले समेत लाभ लिनेछन् । ” सञ्चालक पौडेलले भन्नुभयो । सुविधासम्पन्न बस पोखराबाट विहान÷बेलुका र  काठमाडाँैँबाट समेत विहान÷ बेलुका सञ्चालन हुनेछन् । काठमाडौँबाट  लैनचौर, सोह«खुट्टे बालाजु  हुँदै पोखराका लागि र पोखरामा लामाचौरबाट नदीपुर, लेकसाइड, पर्यटनवसपार्क हुँदै काठमाडौँका लागि छुट्ने कम्पनीले जनाएको छ । बस सेवाको आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सेवाबाट पर्यटन विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।उहाँले पोखरा–मुग्लिन सडक निर्माण छिटो सम्पन्न गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो । “पोखरा मुग्लिन सडक तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर द्रुत गतिमा काम अघि बढेको छ । प्रदेश सरकारले सडक निर्माण छिटो सक्नका लागि निरन्तर निर्माण कम्पनीसँग छलफल गरी राखेको छ । चार लेनको सडक बनेपछि सुविधासम्पन्न बसहरुले अझ राम्रो सेवा दिनेछन् । ”मन्त्री थापाले भन्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष एनकुमार साईले यातायात व्यवसायीले यस क्षेत्रमा ठूलो लगानी गरेकाले सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो ।  पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले यात्रुमैत्री सेवा आफूहरुको प्राथमिकता रहेको बताउनुभयोे  ।  “पोखराको उत्तरी क्षेत्रका आम यात्रु उपभोक्तालाई यात्रुमैत्री सेवा दिन सुविधासम्पन्न बस सार्थक बन्ने छन् । पृथ्वीराजमार्ग कम्पनीमा आवद्ध बसहरुले समयसापेक्ष सेवा दिनेछन् ।” अध्यक्ष केसीले भन्नुभयो । पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामचौरबाट छुट्ने गरी बस सेवा सञ्चालनले पोखराको माथिल्लो क्षेत्रका नागरिकलाई सुविधा पुगेको बताउनुभयो । “साविक लामाचौर आसपासका बासिन्दाले बस सञ्चालनका लागि लामो प्रयास गरेका थिए, लामो समय लागेको थियो । अहिले सुविधा थप हुँदै जाँदा हामी खुशी छौँ ।” पाण्डेले भन्नुभयो । कार्यक्रममा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका सञ्चालकहरु ज्ञानबहादुर कार्की, अशोककुमार यादव, मेघराज त्रिपाठी, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिँह भण्डारी लगायतले सुविधासम्पन्न बस सेवाले यस क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिने बताउनुभएको थियो ।  सेवा शुभारम्भका अवसरमा लामाचौरमा यातायात क्षेत्रको विकासमा सहयोग गरेकामा नवआदर्श सामुदायिक विकास समाजलाई सम्मान गरिएको थियो ।   

पोखरा:    पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २९ गते सम्पन्न हुँदैछ ।  नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा होमिएका छन् । पोखरेल प्यानल सहित अगाडि बढ्दै छन् ।  यसअघि पोखरेलकै समूहमा रहेका पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।  वरिष्ठ उपाध्यक्षमा उत्तममान बज्राचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका हुन् । अघिल्लो पटक हार बेहोरेका पोखरेल यसपाली भने राम्रो समूहका साथ पोउवासंघको नेतृत्व गर्न चाहन्छन् । तेस्रो पुस्ता देखि पहिलो पुस्तालाई सँगै लिएर हिँडेका पोखरेलको जित्ने आधार भनेकै टीम हो ।  उनी आफैले पनि संगठन एक्लै नचल्ने र समूहको आवश्यकता पर्ने बताउँदै आएका छन् । अर्जुन सँगै चुनावी मैदानमा प्यानलबाट उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला, र सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), दुधमान (आशिष) गुरुङ, प्रेम प्रसाद सुवेदी, देवेन्द्र प्रजु, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापा भिड्दैछन् । यसपालीको उद्योग वाणिज्य संघको नेतृत्वका लागि पोखरेल समूह बलियो देखिन्छ । साना, मझौला र ठूला व्यवसायी सबैको पीरमर्कालाई बुझेर आएको समूह भएकाले पनि पोखरेल समूहको पल्लाभारी राम्रो छ ।  व्यवसायीको घरघरमा पुगेर उनीहरुको समस्यालाई सुनेर सम्बोधन गर्ने प्रतिबद्धता सहित निर्वाचनमा होमिएको टीमले काम गर्नेमा आशावादी छन् व्यवसायी ।  पोखरेल भन्छन्, “हाम्रो टीमले जित्ने आधार भनेकै व्यवसायी हुन् । घरदैलोका क्रममा सम्पूर्ण व्यवसायीहरुको समस्यालाई सुन्ने अवसर मिल्यो । धेरै समस्या छन् जसको समाधान गर्न पहलकदमी गर्नुछ । अहिले हाम्रो टीम व्यसायीको समस्यालाई सम्बोधन गर्ने गरी नै आएको हो । आशा छ सबैको साथ मिल्नेछ ।”  

पोखरा:   पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् ।  पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसाय सँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय उडान अत्यावश्यक रहेको बताउँदै पोखरामा लगानी सम्मेलन गरि अन्तर्राष्ट्रिय लगानीलाई समेत भित्राउन आवश्यक रहेको धारणा राखे ।  पोखरेलीले लामो संघर्ष र त्याग पश्चात अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि विभिन्न पक्षले उडान हुन नदिएको बताएका हुन् ।  ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निमित अन्तर्रांष्ट्रिय उडानको लागि लविङ गर्ने, स्वदेश िर विदेशी च्याम्बरहरुसँग सहकार्य र भगिनी सम्बन्धको विस्तार तथा लगानी सम्मेलन गरि लगानीको वातावरण तयार गछौ’ उनले भने, ‘अहिले युवा विदेशिने वाध्यतालाई पनि न्युनिरण गर्न आवश्यक छ । युुवा लक्षित कार्यक्रमहरु आजका आवश्यकता हुन् ।’   पोखराका अधिकांश सटर खाली हुनु आर्थिक मन्दी मुख्य कारण रहेको र यसका लागि नीति नियमको आवश्यकता रहेको कार्कीको भनाइ छ । कार्कीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भएमा यहाँको पर्यटनसँगै उद्योग, कृषि र व्यापारले ठुलो फड्को मार्नेमा आफु आशावादी रहेको बताए ।  संघको उपाध्यक्षसम्म अमुल्य मतले विजयी गराउने सम्पुर्ण उद्योग व्यवसायी तथा व्यापारिहरुले अब एक पटक आफुलाई अध्यक्षका लागि भारी मत दिनेमा समेत आशावादी रहेको र नेतृत्वमा रहुन्जेल आफ्नो कुनैपनि व्यवसायमा नलाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।  पछिल्लो समय कार्कीलाई समर्थन गर्नेको लर्को चलिरहेको छ । गुट–उपगुट नसमाइ स्वतन्त्र रुपमा उठेकाले आफुहरुले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।   

पोखरा:    ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ ।  गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले जानकारी दिइन् । कार्यक्रममा बालबालिकाले आफुलाई लागेको प्रश्न वा जिज्ञासा मुख्यमन्त्रीलाई प्रत्यक्ष रुपमा राख्न सक्नेछन् । कार्यक्रममा प्रदेशभरबाट करिब एक सय बालबालिका सहभागी हुने शर्माले बताइन् । मन्त्रालयले यसअघि पनि उक्त कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनले गर्नेछ ।