पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्पन्न भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सव अन्तिम दिन सोमबार सम्म आईपुग्दा ११ करोड २० लाखको कारोबार गर्न सफल भएको र ३ लाख ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिए । सोमबार मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउमा जम्मा गरि बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखेका थिए । प्रमुख आचार्यले जेन्जी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षती र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थीक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा हामी चिन्तनशिल हुनुपर्नेमा जोड दिएका थिए । पोखरा आसपासमा संचालन हुने महोत्सवलाई नजुधाउने गरि महानगरले सहजिकरण गर्दै आएको उल्लेख गर्दै साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्र्पोर्टस सञ्चालन गर्ने योजना रहेको भएपनि ३ वर्षदेखी उक्त योजना अगाडी वढ्न नसकेको बताए । उनले उक्त योजना सञ्चालन गर्न ढिला भईसकेको वताउँदै यसलाई अगाडी वढाउनका लागी स्थानियहरुको साथ सहयोगको अपेक्षा व्यक्त गरे । प्रमुख आचार्यले पोखरा मुग्लीन सडक निर्माणको अन्तिम चरणमा रहेको वताउँदै यस पश्चात पोखरा–लेखनाथको दुरी घट्ने बताए । उनले लेखनाथको विकासमा महानगरको तर्फबाट कुनै विभेद नगरिएको बताउँदै बरु विकासका ठुला योजनाहरुलाई लेखनाथमा केन्द्रीत गरिएको ले अबका दिनमा लेखनाथवासीले आफुहरु मर्कामा परेको अनुभुति गर्न नपर्ने बताए । कार्यक्रमा रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउने धारणा राखिन् साथै रुपा र पोखराको एकिकृत विकसका लागि योजना बनाउनु पर्ने सुझाव राखेका थिए । सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ वडाअध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र उद्योग ब्यवसायि वसेर एकिकृत विकासका योजना वनाउन आग्रह गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले २१ औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै भव्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्तmा लाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताउदै प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सवैमा आग्रह गर्दै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमारमहिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथवासिहरुको एकताका कारण महोत्सव सफलता भएको बताईन । नौ करोड बरावरको आर्थीक कारोवार दुई लाख ५० हजार दर्शक भित्राउने लक्ष्य रहेको भए पनि महोत्सवले सोचेभन्दा वढि सफलता हात पारेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघको पराजुलीको दावि छ । महोत्सव समापनका दिन किनमेल गर्न कै लागि दर्शकहरु आएको र अन्य दिनको तुलनामा स्टलमा राखिएका सामान केही सस्तो भएपछि किनमेल गर्ने दर्शकको संख्यामा वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको अनुमान गरिएको छ भने अन्य वर्षका महोत्सवले भन्दा यस वर्षको महोत्सवले सोचे भन्दा बढी सफल रहेको वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाको दावी रहेको छ । कार्यक्रममा विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरीएको थियो । महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने भएको छ । संघका अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले गरेका थिए ।
कविराज खनाल, कास्की । लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१ औं महोत्सव लक्ष्यभन्दा बढी सफल भएको विश्वास व्यक्त गरिएको छ । महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र करिब ३ लाख १० हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेकाले लक्ष्यभन्दा बढी सफलता भएको लेखनाथ उद्योग वाणिज्य संघले जनाएको हो । महोत्सव सोमबार (पुस १४ गते) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा समापन हुँदैछ । ‘महोत्सवको पनि महोत्सव’ का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई समेट्ने विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए । महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता सम्बन्धी प्रदर्शनी, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहेका थिए। यसका साथै विभिन्न जातजातिका लोपोन्मुख रीतिरिवाज, चालचलन तथा सांस्कृतिक पहिचान झल्काउने उत्कृष्ट नृत्य तथा सांस्कृतिक प्रस्तुत गरिएको थियो । महोत्सवमा देशभरबाट ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी गीत कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान तथा खाना महोत्सवले दर्शकको उल्लेखनीय सहभागिता र उत्साह बढाएको थियो। विशेषगरी स्थानीय परिकार तथा कृषि उत्पादनको प्रवद्र्धनले स्थानीय व्यवसायी र कृषकहरूलाई प्रत्यक्ष लाभ पुगेको आयोजक समितिले जनाएको छ । २१ औं सस्करणको लेखनाथ महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको र यस्ता महोत्सवले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आर्थिक विकासमा टेवा पुर्याउने ,स्थानीय तहको तर्फबाट आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तर सहयोग हुने महोत्सवकी मूल संयोजक अध्यक्ष जानुका पराजुली अधिकारीले बताइन् । आयोजकका अनुसार महोत्सवले स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार–प्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक चलायमानता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । महोत्सव अवधिभर लाखौ दर्शकले अवलोकन गरेको र अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएको महोत्सवका संयोजक धु्रवबाबु भटट्राईको दाबी रहेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीलाई सम्मानसमेत गरिने आयोजक समितिले जनाएको छ । सफल आयोजनाका लागि स्थानीयबासी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सबै सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेका छन् । एघौरौ दिनमा २२ हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेको र आर्थिक कारोबार करिव ९० लाख रुपैयाको आर्थिक कारोवार रहेको संयोजक धुवबाबु भटट्राईले जानकारी दिए । महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र दर्शक ३ लाख १० हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेका छन् ।
लेखनाथ: पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१ औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ । देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अवलोकनका लागि आउने क्रम बढेसँगै लामो समयपछि आफन्त, साथीभाइ र चिनजानहरूसँग पुनर्मिलन हुने अवसर मिलेको छ । रुपा–२ का रामनाथ ओझाले १४ वर्षपछि आफ्ना पुराना साथी योगेन्द्र गुरुङलाई महोत्सवमै भेट्न पाउँदा खुसी व्यक्त गरे। यस्तै पोखरा–३३ का विष्णु आचार्यले २०६४ सालपछि आफ्ना आत्मीय मित्र नवराज दुरालाई यहीँ भेटे। महोत्सवमा धेरै दर्शकहरूले विद्यालय जीवनका साथी तथा टाढाटाढाका आफन्त भेटेर खुसी साटासाट गरिरहेका छन् । दिउँसो दोहोरी प्रस्तुति र साँझ पप कन्सर्टमा युवायुवतीहरूको बाक्लो उपस्थिति देखिने गरेको छ । यसले महोत्सवलाई बालबालिका, युवा, वृद्धवृद्धा, इष्टमित्र तथा परिवार सबैका लागि उपयुक्त भेटघाटको थलो बनाएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक जानुका अधिकारी पराजुलीले महोत्सव केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक आत्मीयता बढाउने माध्यम बनेको बताइन् । “नयाँपन खोज्दै आउने दर्शकहरू पुराना सम्बन्धमा रमाउन पाउँदा निकै खुसी देखिन्छन्,” उनले भनिन् । महोत्सवमा चर्चित दोहोरी कलाकारहरूको प्रस्तुति, हास्यव्यंग्य कार्यक्रम, पप कन्सर्ट तथा आधुनिक नृत्यले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेको छ। साथै, बाल उद्यानमा रहेका विभिन्न खेलप्रति अभिभावकहरूको आकर्षण बढेको छ । बिदाका दिन बालबालिकालाई खेल खेलाउन घण्टौँसम्म पर्खनु पर्ने अवस्था रहेको बाल उद्यानका संयोजक भरत थापाले जानकारी दिए । शनिबार लोकदोहोरीतर्फ बद्री पँगेनी, आशा बिसी, चोलेन्द्र पौडेल, टेक क्षेत्री, कमला सुनार, पुजा गुरुङ लगायतको प्रस्तुत रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा आशिष राना (लाउरे), रितु कँडेल र सुजित सेवानको प्रस्तुतीले स्टेज तताएको थियो । महोत्सवमा आईतबार पशुपति शर्मा, शुष्मा शाहि ठकुरी, सरला पाण्डे, प्रेमराज अधिकारी, सम बस्याल, सरस्वती परियारर बेलुका सुगम संगिततर्फ सम बस्याल र राजेश वर्देवाको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक भरतराज अधिकारीले जानकारी दिए । महोत्सवमा शनिवार ३५ हजार दर्शकले अवलोकन गरेका छन भने ८० लाख बराबरको कारोबार भएको महोत्सवका कोषाध्यक्ष हरि वस्ताकोटीले जानकारी दिए । हालसम्म २ लाख ८५ हजार दर्शकले अवलोकन गरेका छन हालसम्म ९ करोड ३० लाखको कारोबार भएको आयोजकले वताएको छ । महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन महोत्सवको दशौ दिन शनिवार कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका डा. बोधराज ढकाललाई अभिनन्दन गरिएको हो । स्याङ्जाको आँधीखोला–६ मा जन्मिएर हाल पोखरा–८ सिमलचौर निवासी ढकाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधामा अध्यापनरत छन् । उनले अनुसन्धानमूलक तथा समीक्षात्मक कृतिहरू प्रकाशन र शोध निर्देशनजस्ता महत्वपूर्ण योगदान गरेका छन्। कार्यक्रममा साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक डा. कुशुमाकर न्यौपानेले नेपाली भाषा र साहित्यमा ढकालको योगदानको कदर गरिएकोमा खुसी व्यक्त गरे। महोत्सवका मूल संयोजक जानुका अधिकारीले लेखनाथ महोत्सव २०८२ का अवसरमा प्रदान गरिएको यो सम्मान कवि शिरोमणिप्रतिको श्रद्धाको प्रतीक भएको उल्लेख गरिन् । साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने पोखरा साहित्य प्रतिष्ठानका स्थापनाकालीन अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालका कविताहरूको वाचनसमेत गरिएको थियो। अभिनन्दित स्रष्टा डा. बोधराज ढकालले सम्मानले आफूलाई थप जिम्मेवारी र प्रेरणा मिलेको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. जगन्नाथ रेग्मीलगायतले कवि शिरोमणिको साहित्यिक योगदानको स्मरण गरेका थिए। साथै, कवि लेखनाथसँग सम्बन्धित प्रश्नोत्तरमा सही उत्तर दिने सात जनालाई जनही एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । महोत्सवका अन्य नियमित कार्यक्रमहरू यथावत सञ्चालन भइरहेका छन् ।
पोखरा: पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालिन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो । महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव स्थल भित्र छिरेकाले अन्य दिनको तुलनामा विहिवार दर्शकको सख्या दोब्वरले नै बृद्धि भएको आयोजकको दावी रहेको छ । मेलाको थप आकर्षणको रुपमा रहेको विद्यालय स्तरीय प्रस्तुती अन्तरगत विहिवार लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल, जुनियर सिटिजन्स एकेडेमी, लिटल गार्डेन मण्टेश्वरी शिलशिला स्कुलका प्रस्तुतिले महोत्सव स्थलमा थप रोचक बनेको थियो । यसैविच जातजातीको भेषभुष प्रर्दशनितर्फ भण्डारढिक नेवाःखलको प्रस्तुती रहेको थियो भने महिलाहरुको सन्मानका लागि राखिएको रतौली तर्फ खाष्टेताल बाराही महिला समुहको प्रस्तुती रहेको थियो । पुस ३ गते देखि चलेको महोत्सवको आठौं दिन चलिरहदा विहिवार मात्र १ करोड वरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म आउदा ७ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ विहिवार मात्र ३५ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म २ लाख २५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् । यसैविच महोत्सवको आठौं दिन शिव हमाल,राजन कार्की,परशुराम अधिकारी,सपना गाहामगर,नविना सुवेदी र भुमिका गिरीले ंंंप्रस्तुती दिएका थिए भने जानुका पौडेल(प्याकुली) र निरु खड्कले प्रस्तुति दिए भने बेलुका कन्सर्टमा गायक ओम गुरुङ, ¥यापर माईला र यम नेपालीको प्रस्तुतीले स्टेज तताएको थियो ।द
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको दावी रहेको छ । महोत्सवमा राखिएका करिव तीन सय ३६ फरकरफरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थित दर्शकहरु खुसी हुदै आफुले खोजेको र रोजेको सामान सुपथ मुल्यमा पाएको गफ गर्दै फर्केका देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापारको क्रम बढेकाले सन्तुष्ट रहेको बताएका छन् । महोत्सवमा स्वदेशमा नै उत्पादित वस्तुको विक्रि केन्द्र रहेकाले उपभोक्ताले प्रत्यक्ष रुपमा उत्पादकसँग सामान लिन पाउने भएकाले सहुलियत मुल्यमा सामानको विक्रि वितरण भईरहेको छ । पुस १४ गतेसम्म चल्ने महोत्सव सातौं दिनमा चलिरहदा बुधवार मात्र ६० लाख वरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म आउदा छ करोड ८० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको छ भने दर्शक तर्फ बुधवार मात्र १७ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने अहिलेसम्म एक लाख ९० हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक धु्रबबाबु भटराईले जानकारी दिएका छन् । वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिथ्यो । महोत्सव सकिने केही दिन वाँकी रहेको अवस्थामा पनि दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । यसैविच महोत्सवको सातौं दिन कलाकारहरु रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जि सी, रियाररतिमाया खड्का, बिन्दा परियारले प्रस्तुती दिएका थिए भने बेलुका कन्सर्टमा गायक अर्जुन सापकोटा, सहिमा श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको प्रस्तुतीले स्टेज तताएको थियो । महोत्सवमा गाडी देखि गार्मेन्टसम्म र माछा देखि महसम्म एकै ठाउमा पाईने भएपछि उत्पादक र उपभोत्ताको संगम स्थलका रुपमा महोत्सवलाई लिईएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरे पनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा परिचित भएको पुर्ब अध्यक्ष छत्रधर आत्रेयको दावी छ ।
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यू ईयर ईभमा अहिलेका भाइरल उज्जन श्रेष्ठको व्याण्डले लाईभ प्रस्तुती दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्कलगायतका गीतहरु गुञ्जाउने बताए । सो दिन न्यू ईयर ईभमा एक्स नेपथ्य पनि गुञ्जिनेछ । तीन दशकपछि पोखरामा गुञ्जिने सो व्याण्डका स्थापनाकालीन गायकहरु गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् । न्यू ईयर ईभको साँझमा नेपथ्यसँगै डि–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो दिन अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुती रहनेछ । न्यू ईयर ईभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुती दिनेछिन् । पोखरा कोमागाने पार्कमा हुने कार्यक्रम अन्तर्ग पुस १५ गते साँझ चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो साँझ स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । त्यस्तै, केहर एण्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् । सो दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए । त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी तीब्र पारिएको हो । महोत्सवको तयारी स्वरुप मंगलबार महोत्सव सम्पन्न गर्न गठित उपसमिति र सल्लाहकारहरूको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सवलाई सभ्य र भब्य बनाउन सम्पुर्ण एक भएर लाग्ने प्रतिवद्वता जनाएका छन । सो अवसरमा बोल्दै महोत्सव सल्लाहकार डा कृष्ण केसीले समय परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने बताए । क्लबले गरेको सामाजिक कामको उपलब्धिलाई प्रस्टयाउने गरि महोत्सवमा देखाउन आवश्यक रहेको बताउदै केसीले विभिन्न सरकारी नियकासंग सहकार्य गरेर सेतीनदी संरक्षणका लागि समेत काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै अमरसिंह माविका निमित्त प्रध्यानाध्यापक सुदिप आचार्र्यले महोत्सवमा विद्यार्थी आकर्षणका लागि विद्यार्थीले निर्माण गरेका सामाग्री प्रदर्शनलाई समेत समेट्नुपर्ने सुझाव राखे । अर्का सल्लाहकार टीका बहादुर कार्कीले महोत्सव स्थल संधै रहन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने वताउदै आफू विभिन्न संघ संस्थामा आवद्व भएकाले अन्य संघ संस्थाहरु संग समेत सहकार्य र समन्वय गरेर अगाडि वढ्न आग्रह गर्दै पोखरालाई चिनाउने गरि काम गर्न जोड दिए । स्थानीय सरकारले चासो नदिएको सन्दर्भमा महानगरलाई अपनत्व गराउने गरि काम गर्नतर्फ सम्पुर्ण लाग्नुपर्नेमा उनको जोड रहेको थियो । शंकरनाथ पौडेलले लेखनाथ भन्दा उत्कृष्ट महोत्सव पोखरा महोत्सव भएको बताए । राज्यलाई झक्झक्याउने महोत्सव पोखरा महोत्सव भएको वताउदै १४ औं संस्करणको महोत्सवमा लेखनाथ क्षेत्रमा रहेको चिडियाखाना झल्काउने गरी प्रदर्शनीको कार्यक्रम संगै क्लबले अहिले सम्म शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा गरेका कामलाई उजागर गर्न आवश्यक रहेको बताए । राम बहादुर पौडेलले वातावरण मैत्रि ढंगले महोत्सव सञ्चालन गर्न आवश्यक रहेको बताए । महोत्सवको पुर्वसन्ध्यामा सरसफाई कार्यक्रमको तय गरेर कार्यक्रमको अगुवाई गर्ने उनले प्रतिवद्धता जनाए । माधव गौतमले पोखरा महोत्सवमा ३३ वटै वडाबाट समावेस गर्न सके पोखरा महोत्सवको अपनत्व वढ्ने वताए । बलराम ढुंगानले पोखरा महोत्सव सम्पन्न गर्नु सवैको दायित्व भएकाले सम्पुर्णले आआफनो जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । ईन्दिरा पन्तले पोखरा पर्यटकीय राजधानि संगै साहित्यको राजधानि भएकाले महोत्सवमा साहित्यको कार्यक्रमलाई जोड्नसके महोत्सवमा रौनकता थपिने बताइन । राजेन्द्रराज बस्ताकोटीले पोखरेलीपन झल्कने खालका कार्यक्रम ल्याउन सुझाव दिए । सन्तोष सिग्देलले आकर्षक कलाकार ल्याउन सके महोत्सवमा दर्शकको समेत आकर्षण बढ्ने बताए । लिलाधर अधिकारीले पार्किङको समस्यालाई समाधान गर्न आवश्यक रहेको बताए । सुवेदार जस बहादुर गुरुङले महोत्सवको उद्घाटनमा आयोजना गरिने झांकी र्यालिलाई ब्यवस्थापन गर्न आवश्यक रहेको बताउदै अमरसिंह स्कुलका संस्थापक मेजर विरसिंह र जग्गादाता देवराज घिमिरेलाई समेत महोत्सवमा स्मरण गर्न आवश्यक रहेको बताए । माधव घिमिरेले महोत्सवलाई सकारात्मक र नकारात्मक रुपमा लिदै स्कुलको मैदान संरक्षणमा समेत लाग्नुपर्नेमा जोड दिए । राजेन्द्र बहादुर कार्कीले १४ ओैं पोखरा महोत्सवमा समाजकल्याण परिषदको तर्फबाट सहयोग गर्ने बताए । अनिल थापाले क्लवले गरेको कामलाई उजागर गर्न नसकेको वताउदै १४ ओैं पोखरा महोत्सवमा उजागर गर्नतर्फ जोड दिए । गोविन्द घिमिरेले महोत्सव स्थलको विकल्प आवश्यक रहेको बताए । पवित्रा देवी गुरुङले युनाइटेड क्लवले अनुभव संगालेर अगाडि बढेको युनाईटेड क्लव र पोखराबासी मिलेर अमरसिंह चौरको संरक्षण गर्न आवश्यक रहेको बताईन । १४ ओैं पोखरा महोत्सवका मुल समारोह संयोजक लोक बहादुर थापाले महोत्सवलाई सभ्य रभब्य वनाउन सम्पुर्णको साथ र सहयोग आवश्यक रहने बताए । संस्थापक अध्यक्ष हिमालय बख्रेललले महोत्सवका सल्लाहकारहरु ब्याकबोन भएकाले सल्लाहकारको सललाहलाई कार्यान्वयन गरेर लैजाने बताए । पोखरा महोत्सवकै कारण पोखरा खुल्ला चिडियाखानाको अभियनता युनाईटेड क्लवनै रहेको र अवको गन्तव्य आवाशिय छात्राबास रहेको उनको भनाइ रहेको थियो । सरकारी विद्यालय बन्द भईरहेको सन्दर्भमा अर्चलेमा रहेको सामुदायिक विद्यालय संग समन्वय गरेर छात्राबास सञ्चालन गर्ने र छात्राबास संगै क्लबले उत्पादनलाई समेत जोडेर लैजाने गरि कृषि परियोजना समेत सञ्चालन गरेर लैजाने बख्रेलले बताए । कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिएभने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रममा सल्लाहकारहरु रामजी प्रसाद बास्तोला, गुप्त बहादुर कार्की लगायतले आ आफ्नो धारणा राखेका थिए ।
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे । राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर आचार्यले देश विभिन्न मुद्दामा विभाजित हुँदा पनि खेलकुदको माध्यमबाट एकजुट र एकताबद्ध बन्ने गरेको स्मरण गरे । उनले ग्रासरुटबाट खेलाडी उत्पादनको गर्नको लागि महानगरले ध्यान दिएको दावी गरे । त्यसको मुख्य थलो विद्यालय भएकोले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने उनको भनाइ थियो । यहीँबाट उत्पादन भएका विद्यार्थी जिल्ला, प्रदेश, राष्ट्रियस्तर हुँदै अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुग्ने बताउँदै त्यसैको आधार तयार गर्न यो प्रतियोगिता आयोजना गरिएको प्रष्ट पारे । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरका रुपमा रहेको पर्यटनको राजधानी सहर पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यसहित पोखरा महानगरले काम गरिरहेको बताइन् । विद्यालय तहका बालबालिकाहरूको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने भएकाले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन् । पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले व्यक्तिगत स्वास्थ्यमात्र नभई समाजलाई नैतिकवान्, मूल्यवान, सशक्त र एकताबद्ध बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासित बनेर खेल्न आग्रह गरे । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको उनको भनाइ छ । उद्घाटन समारोहमा नयाँ खेलाडीमा उत्साह थप्न नेपालका नम्बर वान टेनिस खेलाडी प्रदिप खड्का सहित राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेत र अञ्जना रानामगरको विशेष उपस्थिति रहेको थियो । बस्नेत र रानामगरसँग तस्बिर खिचाउन र अटोग्राफ लिन विद्यार्थीको भिड लागेको थियो । सो अवसरमा ४० वटा विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । उसुको डेमोस्ट्रेसन, सांस्कृतिक नृत्य समेत उद्घाटन समारोहको आकर्षणको रुपमा रहेको थियो । समितिका अध्यक्ष दीपक बहादुर गोदारको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए । आयोजकका अनुसार पहिलो दिन बिहानैबाट विभिन्न खेल आयोजना भएका थिए । उद्घाटन खेलको रुपमा रहेको एथलेटिक्स तर्फको १५ सय मिटरको छात्र दौडमा कालिका माविका सुजन नेपाली प्रथम, बालोदयका तेन्जोन रोका मगर द्धितीय, पश्चिमाञ्चल माविका रोशन पन्थ तृतीय भए । १५ सय मिटरको छात्रा दौडमा छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, साधना परियार द्धितीय र गौरी शंकर माविकी कविता मगर तृतीय भएको सदस्य सचिव अधिकारीले जानकारी दिए । बिहीहार बिहानैबाट खेलहरु सुरु हुने आयोजकले जनाएका छन् ।
पोखरा: कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरिएको छ । महोत्सवको छैटौँ दिन मंगलबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित उद्योग बहस कार्यक्रमले उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव साटासाट र छलफलको अवसर प्रदान गरेको थियो । सुरुका दिनमा सुन्तला उत्पादन र बजारीकरण प्रवद्र्धनका लागि आयोजना गरिएको लेखनाथ महोत्सव समयक्रमसँगै स्थानीय संस्कृति, कला, कृषि र उद्योगको प्रवद्र्धनमा केन्द्रित हुँदै आएको छ । उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगका प्रतिनिधिहरूले आफ्ना व्यवसायिक यात्रा, संघर्ष र सफलताका कथा सुनाएका थिए । कर्माचार्य ग्रुपका विक्रम कर्माचार्यले व्यवसायिक परिवारमा जन्मिएकाले सानै उमेरदेखि व्यवसायप्रति आकर्षित भएको बताए । उनले १३–१४ वर्षकै उमेरमा नेपाली उत्पादनहरू जस्तै टुथपेस्ट, मेची चिया, मायालु साबुन र सोल्टी साबुन बिक्री गरेको अनुभव स्मरण गरे । खुला सीमाका कारण नेपाली व्यवसायमा परेको असर अनुभूति गरेपछि स्वदेशी उत्पादनलाई ब्रान्डका रूपमा स्थापित गर्दै विज्ञापनमार्फत अघि बढ्ने सोच बनाएको उनको भनाइ थियो । यस्तै, दिप आइसक्रिमकी सञ्चालक पम्फा देवकोटाले ‘म कर्म गर्न सक्छु र कर्म गरेरै अगाडि बढ्छु’ भन्ने दृढ इच्छाका साथ व्यवसायमा लागेको बताइन् । उनले निरन्तर मेहनत, आत्मविश्वास र कर्मचारीको साथले आफ्नो व्यवसाय अघि बढ्दै गएको अनुभव सुनाउँदै संघर्षका कथा साझा गरिन् । मनकामना प्लाइउड कम्पनीका सञ्चालक नारायण प्रसाद वास्तोलाले सानो समिलबाट सुरु गरेको व्यवसाय प्लाइउड उद्योगसम्म आइपुग्दा विभिन्न चुनौती झेल्नु परेको बताए । विशेष गरी नेपालमा वन पैदावारसम्बन्धी स्पष्ट कानुनको अभावले व्यवसाय सञ्चालनमा समस्या आएको स्मरण गर्दै संघर्षकै बीच व्यवसायलाई निरन्तरता दिएको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज ढकालले उद्योग प्रवद्र्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औँल्याए । डिपिआरमै ठूलो खर्च हुने हुँदा धेरै योजना अलपत्र पर्ने अवस्था आएको उल्लेख गर्दै अनुदानलाई निश्चित दायराभित्र ल्याउने प्रयास भइरहेको जानकारी दिए । साथै, प्रदेशका गौरवका रूपमा रहेका औद्योगिक क्षेत्रको विकासका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको उनले बताए । स्थानीय बजारलाई चलायमान बनाउँदै साना तथा मझौला व्यवसायीलाई उत्साहित बनाउने उद्देश्यसहित आयोजना गरिएको लेखनाथ महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ । आयोजकका अनुसार महोत्सवको छैटौँ दिन मंगलबार मात्रै करिब २५ हजार दर्शकले अवलोकन गरेका छन् । आर्थिक कारोबारतर्फ दैनिक करिब १ करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए । लेखनाथ महोत्सवले स्थानीय उत्पादन, उद्योग र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् ।

