पोखर: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ‘आज मनाइँदै गरेको ३०४ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’ सन्देशमा भनिएको छ – ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो । त्यसपछिका विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहन पुग्यो । पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’ सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । यो दिवसले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गर्नुभएको छ ।
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसिटिभी क्यामेराको निगरानीबाट सुरक्षा प्रदान गरिने भएको हो । कास्कीका सुरक्षा निकायका प्रतिनिधी र महोत्सव आयोजक बिचको बैठकले महोत्सवमा भइपरी हुन सक्ने घटनालाई मध्येनजर गरी महोत्सव स्थलको सुरक्षालाई चुस्त बनाइने निर्णय गरेको छ । सो अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विगतका वर्षहरु भन्दा यो वर्ष सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताईन् । अघिल्लो संस्करणमा कुनै अप्रिय घटना नघटेको भएतापनि अहिलेको परिस्थिती फरक रहेका कारण त्यसमा सम्पूर्ण सुरक्षा निकायले ध्यान दिन आवश्यक रहेको बताईन् । महोत्सवकै आम्दानीबाट सामाजिक काम मार्फत युनाईटेड क्लबले आफ्नो पहिचान बनाउन सफल भएको बताउदै शर्माले १४ औं पोखरा महोत्सवको सफलताको समेत कामना गरिन । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले महोत्सवमा कानुनले बञ्चित गरेका क्रियाकलापहरु सञ्चालन गर्न नहुने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्कीले जेन्जी आन्दोलन पछि कानुन हातमा लिने गरी मानिसहरुले अवान्छित क्रियाकलापहरु गर्ने गरेको बताउदै महोत्सव स्थलमा त्यस्ता हर्कत गर्नेलाई कडा कारबाही गर्ने बताए । पोखरा महोत्सव अन्य महोत्सव भन्दा फरक हुने भएकाले आफुहरुले त्यही अनुरुप सुरक्षा योजना बनाइ अगाडी बढेको उनको भनाइ रहेको थियो । सशस्त्र प्रहरी बल कालीका गणका सशस्त्र प्रहरी उपरीक्षक सूर्य प्रसाद तिमिल्सिनाले महोत्सवमा आवश्यक पर्ने सुरक्षाका लागि आफ्नो मातहतबाट सुरक्षाकर्मी परिचालन हुने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विगतका महोत्सवहरुमा सुरक्षा निकायको साथ र सहयोगलेनै कुनैपनि अप्रिय घटनाहरु नभएको र यस पटकपनि साथ र सहयोग रहनेमा आफु आशावादी रहेको बताए । क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका कार्यसमिति सदस्य तथा महोत्सवका सुरक्षा व्यवस्थापन उप समिति संयोजक बुद्ध कार्कीले महोत्सव स्थलको बारेमा जानकारी गराएका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीयमाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ। पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णयविरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आएका थिए। बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए। सो क्रममा प्रदर्शनकारीले वडा कार्यालयको गेटमा ताला लगाएका थिए। प्रदर्शनकै क्रममा वडाध्यक्ष अधिकारी खुकुरीसहित उपस्थित भई आन्दोलनकारीलाई तर्साउने प्रयास गरेको स्थानीय सञ्जय आचार्यले बताए । उनले भने‘ वडाध्यक्षले को हो ? यहाँ ताला लगाउने, देखाइदिउँ? ” भन्दै खुकुरी नचाए । घटनापछि अवस्था तनावग्रस्त बनेपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पोखरा पठाएको छ। खुकुरी देखाइएको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले वडाध्यक्षको गाडी तोडफोड गर्नुका साथै वडा कार्यालयको गेट र कार्यकक्षमा पुनः ताला लगाएर प्रदर्शन जारी राखेका छन्। स्थानीय बासिन्दाहरूले भरतपोखरी क्षेत्रको पहिचान कुनै पनि हालतमा ल्याण्डफिल साइट हुन नसक्ने स्पष्ट पारेका छन्। “कुनै पनि परिस्थितिमा यहाँ फोहोर प्रशोधन केन्द्र स्वीकार्य हुँदैन,” स्थानीय दिनेश आचार्यले बताए। विवादले झडप निम्तिने देखिएपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई आफ्नो गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: १४ औं पोखरा महोत्सव भब्य र सभ्य बनाउन पोखरामा रहेका विभिन्न संघ संस्थाले साथ दिने भएका छन । आगामी पुषको २९ देखि माघको ११ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ औं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाले आ आफ्नो झाँकी तथा ¥याली सहभागी गराएर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । उनीहरुले पोखरा महोत्सवको उद्घाटन पूर्व पोखराको रंगशाला गेटदेखि आयोजना गरिने झाँकी तथा ¥यालीमा स्व स्फुर्त रुपमा सहभागी भई महोत्सवको सोभा बढाउने समेत निर्णय गरेका छन । महोत्सव आयोजक युनाईटेड क्लबले आयोजना गरेको संघ संस्था तथा झाँकी ¥याली अन्तरक्रिया कार्यक्रममा सहभागी उनीहरुले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले विशुद्ध सामाजिक काम गर्ने भएकाले आफुहरुले हरेक महोत्सवमा झांकी र्याली सहभागी गराइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने समेत बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका पूर्व अध्यक्ष तथा १४ औं पोखरा महोत्सवका झाँकी र्याली ब्यवस्थापन उपसमिति संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन पोखराका संघ संस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताउदै १४ औं पोखरा महोत्सवमा समेत झाँकी र्यालीबाट साथ र सहयोग हुने विश्वास ब्यक्त गरे । पोखरा महोत्सवको आम्दानी सामाजिक कामका लागि भएकाले संघ संस्थाहरुले समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युनाईटेड क्लबले गरेको सामाजिक काममा सहभागीता रहेको समेत गुरुङले बताए । त्यस्तै संघ संस्था ब्यवस्थापन उपसमिति संयोजक सीमा गुरुङले पोखरा महोत्सवको उद्घाटन पूर्व आयोजना गरिने संघ संस्थाको झाँकी र्याली कार्यक्रमले पोखरा महोत्सवको सोभा बढाएको बताइन । गुरुङले अघिल्लो वर्ष ३ सय १५ संघ संस्थाले झाँकी र्यालीमा सहभागीता जनाएको वताउदै यस वर्षपनि त्यतिनै संख्यामा संघ संस्थाको सहभागीता रहने अपेक्षा रहेको बताइन । सो अवसरमा बोल्दै क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्ण पोखरेलीको साथ र सहयोगले नै पोखरा महोत्सव १४ औं संस्करण सम्म आइपुगेको बताए । क्लबका प्रथम उपाध्यक्ष शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका पदाधिकारी, सल्लाहकार, महोत्सवका विभिन्न उपसमिति संयोजक तथा सल्लाहकार र संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
पोखरा: २१७ औं लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीको बीचमा सस्वर ब्रेल पठन प्रतियोगिता गरिएको छ । पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभुत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरि दुई चरणमा ब्रेल सस्वर पठन प्रतियोगिता गरिएको थियो । कक्षा १ देखि ६ सम्मको प्रतियोगितामा अमरसिंह मा.वि. कक्षा ५ का गगन सिंह तामाङ र कक्षा ५ कै बिनिशा तामाङ क्रमशः प्रथम र द्वितीय एवम् अमरसिंह मा.वि.का कक्षा ५ का अस्मिता बिक र कुँडहर आ.वि.कक्षा ३ का अन्जना गुरुङले तृतीय स्थान प्राप्त गर्नुभयो । त्यस्तै कक्षा ७ देखि ११ सम्मको प्रतियोगितामा कक्षा ११ का ऋषि लोहोनी प्रथम, कक्षा १० का गौरी देउवा द्वितीय र कक्षा ९ का पूर्णिमा गुरुङले तृतीय स्थान प्राप्त गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिका अपाङ्ग सञ्जालका संयोजक गङ्गाबहादुर खड्काले दृष्टिबिहिनहरूलाई उज्यालो संसार देखाउने ब्रेल लिपिका आविष्कारक लुइ ब्रेलको योगदान अतुलनीय भएको बताउनुभयो । नेपाल नेत्रहिन संघका केन्द्रिय सदस्य लक्ष्मण सुबेदीले लुइ नभएको भए आफू यो स्थानसम्म आउन नसक्ने धारणा राख्नुभयो । कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले लुइ ब्रेलको योगदानको चर्चा गर्दै नेपालमा ब्रेल लिपि भित्राउने जङ्गबहादुर बोगटीलाई पनि स्मरण गर्नुभयो । दृष्टिविहिनहरूको मातृ लिपि ब्रेल लिपीलाई कहिल्यै पनि भूल्न नहुने र यहि लिपिका कारण दृष्टिविहिनकोहरूको शिक्षा सम्भव भएको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुशिल होदार र सुनिता ज्ञवालीले गर्नुभएको थियो ।
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । महोत्सवमा २ सय ५० स्टल रहने क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । उनका अनुसार स्टलहरु पूर्ण रुपमा बुकिङ भइसकेको छ । यस्तै महोत्सवमा नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रर्दशनी, विद्यार्थीले निर्माण गरेका विज्ञान प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश हुने प्रचार प्रसार उपसमितिका संयोजक दिनेश सुनारले बताए । उनका अनुसार महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रर्दशनी, औद्योगिक उत्पादनको प्रर्दशनी एवम् विक्री वितरण हुनेछ । पोखरा लगायत यस्तै विभिन्न पर्यटीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवम् जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता साथै कृषिका गतिविधिहरु सञ्चालन हुनेछन् । सांगीतिक आकर्षणतर्फ रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछनभने लाईभ कन्सर्टतर्फ पूर्ण राई, डी मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकीसंगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ । पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, सह प्रायोजकमा सिटीजन फर्निचर, प्रायोजकहरुमा बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेड, डियर वक पोखरा स्कुल, हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप पोखरा १० शिवचोक, डिभ्योल मोबिल, पोखरा सेकुवा घर, अफिसियल इन्टरनेट भायानेट, अफिसियल इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, अफिसियल ड्रिङकिङ पार्टनरमा सोल्टी, विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका र अमरसिंह मावि, सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, हस्पिटल पार्टनरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, मोवाइल एप पार्टनरमा वी पोखरा, प्रवद्र्धकमा परिचय, ग्रुमिङ पार्टनरमा ववि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टर, पेमेन्ट पार्टनरमा रेभल अफिसियल टेलिभिजनमा फेवा टेलिभिजन एचडी र एबीसी टेलिभिजन रहेकाे छ । महोत्सवमा २ लाख ५० हजार हाराहारीमा दर्शकको उपस्थिती रहने अनुमान गरिएको छ भने, १ करोड ५१ लाख, ७५ हजार आम्दानी हुने र १करोड २३ लाख , ६० हजार खर्च हुने आयोजकको अपेक्षा छ ।
पोखरा: रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ । संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुङ्गा व्यवसायी संगठनको टोलीले प्रथम, कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी सम्मिलित टान गण्डकीको टोलीले द्वितीय तथा विकास कडेल, रवि प्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी संघको टोलीले तृतीय स्थान हासिल गरे । प्रतियोगितामा विजयी हुने टोलीले खसी, द्वितीय स्थान हासिल गर्नेले बोका तथा तृतीय स्थान हाँसिल गर्ने टोलीले भाले पुरस्कार प्राप्त गरे । महिलाहरू सम्मिलित टेवानको टोलीलाई विशेष पुरस्कारका रुपमा टोकला चियाको तर्फबाट नगद रु ५ हजार प्रदान गरिएको थियो । उनीहरूलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु भट्टराई, आयोजक रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले एक समारोहका बीच पुरस्कार वितरण गरे । महोत्सवमा मंगलबारदेखि रस्साकसी प्रतियोगिता पनि शुरु भएको छ । मंगलबार ल्होसार समेत परेकाले दर्शकहरुको बाक्लो घुइचो देखिएको छ ।
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित उनले आइतबार पदस्थापन समारोहमा उक्त कुरा दोहोर्याएका हुन् । कामना बैंकका पूर्व महाप्रबन्धक एवं पूर्व प्रदेश प्रमुखसमेत रहेका उनको बैंक वित्तीय संस्था, शिक्षा, सामाजिक एवं राजनीतिक क्षेत्रमा राम्रो पहुँच छ । उनले विद्यार्थीमाझ भने, ‘मैले सधैँ भन्दै आउने गरेको छु, यहाँहरुले उत्कृष्ट नतिजा हासिल गर्नुभयो भने बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, शैक्षिक संस्था, कन्सल्ट्यान्सीमा इन्टर्नसिप र तत्पश्चात् जब मिल्नेछ ।’ उनका अनुसार क्याम्पसले ‘पढ्दै कमाउँदै रमाउँदै’ भन्ने अभियान अघि सारेको छ । उनले शिव शक्ति क्याम्पसमा पढिसकेपछि विद्यार्थीलाई स्कलरसिप, जब प्लेसमेन्ट, इन्टर्नसिपलगायतमा कलेजले व्यवस्थापनमा सहजीकरण गर्ने र अझ कमाउन बाहिर जानुनपर्ने वातावरण मिलाउने वाचा गरे । उनले आगामी कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर सुधार, संस्थागत सुशासन, पारदर्शी, आर्थिक अनुशासन र विद्यार्थी हितलाई प्रमुख प्राथमिकता राख्ने प्रतिबद्धता गरे । यस्तै, कलेजलाई क्यूएएमा लैजान आवश्यक प्रक्रियाका लागि अध्ययन सुरु गरिएको बताए । पोखरा–११, फूलबारीस्थित क्याम्पसको १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनले अघिल्लो महिना उनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको थियो । सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा। तुलसी प्रभास खनाल, कृष्णमान श्रेष्ठ र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सूर्यप्रसाद घिमिरे र लीलावती पनेरु मनोनीत हुँदा पदेनसदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने र त्रिवि प्रतिनिधि विकास थापा छन् । नयाँ सञ्चालक समितिलाई प्रमुख निर्वाचन अधिकृत रोहितराज बास्तोलाले पद तथा गोपनीयताको शपथ गराए । सोही अवसरमा नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम गरिएको थियो । बिबिएस र बिएड प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, नवनिर्वाचित अध्यक्ष टुबराज बास्तोला ‘विशाल’, पूर्व अध्यक्षहरु माधवप्रसाद बास्तोला ‘मधु’, दामोदर बास्तोला, क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, पोखरा विश्वविद्यालय सेवा आयोग अध्यक्ष प्राध्यापक तीर्थराज अर्याल, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपानेलगायतले फूलगुच्छा, कापी, कलमसहित स्वागत गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष कर्माचार्यले विद्यार्थीलाई अनुशासनमा रहन र आजैका दिनदेखि पढाइलेखाइमा ध्यान दिन सुझाव दिए । क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित समितिलाई बधाई दिनुका साथै नवआगन्तुक विद्यार्थीको स्वागत गरे । कार्यक्रम संचालन निर्वाचन समिति सदस्य अधिवक्ता कमल थापा र निवर्तमान सहायक क्याम्पस प्रमुख रमेश थापाले संयुक्तरुपमा गरे । सो अवसरमा विद्यार्थीहरु सलिना नौवाग, निरुता नौवाग र निरु परियारले आकर्षक नृत्य देखाएका थिए ।
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटरतर्फ बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका अमर परियार द्धितिय तथा बेञ्जनकै इमोन थापाले तृतीय स्थान हाँसिल गरे । वेट्रेसतर्फ डुंगा रेष्टुरेण्टका मोनिका नेपाली प्रथम, मोबु रेष्टुरेण्टका रिकिता पौडेल द्धितिय तथा बेलिफ रेष्टुरेण्टका अश्मि घर्ती मगर तृतीय भइन् । उनीहरुले नगद क्रमश : ५ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । हल्लनचोकदेखि खहरेचोकसम्म भएको दौड प्रतियोगितामा वेटरतर्फ २० जना वेट्रेसतर्फ ९ जनाले सहभागिता जनाएका थिए । उनीहरुलाई रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराई लगायतले पुरस्कृत गरे । लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा जारी महोत्सव अन्र्तगत सोमबार सडक बहस कार्यक्रम पनि सम्पन्न भएको छ । अम्मटस्थित सडकमै आयोजित बहसमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटा वक्ताका रुपमा प्रस्तुत हुनुभएको थियो भने सञ्चारकर्मी जमुना वर्षाले मोडरेट गर्नुभएको थियो । रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालि र सह प्रायोजकमा यति डिष्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिष्टिलरी प्रालि रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । त्यस्तै सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्याँस, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्था रहेको छ । महोत्सवमा मंगलबार बिहान अम्मट घाटमा डुंगा दौड प्रतियोगित हुँदैछ ।

