पत्रकार विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
पोखरा: ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आइरहेको छ । लामो समय चलचित्र पत्रकारिता गर्दै आएका विजयलाई जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्ने निर्णय भएको र २०४५ साल देखि नेपाली सिनेमा बनाउँदै आएका फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गर्न लागिएको संघका अध्यक्ष प्रभु अधिकारीले जानकारी गराए । चलचित्र पत्रकार संघ नेपाल कास्कीका पूर्व सहसचिव पत्रकार विजय नेपाल आदर्श समाज दैनिकका कार्यकारी सम्पादक र राजधानी दैनिकका पोखरा संवाददाता हुन् । पाल्पा रिब्दीगाउँपालिका ७, मैनादीका उनी झण्डै २ दशकदेखि पोखरालाई कर्मथलो बनाएर निरन्तर पत्रकारितामा क्रियाशील छन् । हिमालप्रेसमा समेत आबद्ध विजय विशेषगरी फिल्म तथा रंग पत्रकारितामा रुची राख्छन् । सामाजिक विषयवस्तुमा समेत उनको कलम चल्छ । यस्तै २०४५ साल देखि नै सिनेमा निर्माणमा लागेका विनोद शेरचन पोखरा महानगरपालिका वडा नं। १० का स्थायी बासिन्दा हुन् । उनले निर्माण गरेको सिनेमा कन्यादान, तृष्णा, बादल पारी र दुनियाँ चलेको सिनेमा हो । नेपालका नाम चलेका कलाकारहरु भूवन केसी, गौरी मल्ल, निर शाह, दिलिप रायमाझी, कृष्टि मैनाली, जल शाह, रुपा राणा, मुरली धर, निखिल उप्रेती, निरुता सिंह जस्ता कलाकारसँग काम गरेका शेरचनले लगानी गरेका सबै सिनेमालाई दर्शकले रुचाएका छन् । आगामी जेठ १९ गते संघको साधारणसभाका अवसरमा पत्रकार विजय नेपाललाई २५ हजार पुरस्कार राशी सहित पुरस्कृत गरिने र फिल्मकर्मी विनोद शेरचनलाई दोसल्ला, माला र सम्मान पत्र सहित सम्मान गरिने अध्यक्ष अधिकारीले बताए । चलचित्र पत्रकारिता पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वा र परिवारद्वरा नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई थप हौसला प्रदान गर्न स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल कास्कीका सचिव सन्तोष बस्यालले जानकारी गराए । संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनोटका लागि चलचित्र पत्रकार संघ नेपाल कास्कीका सल्लाहकार सुरेश रानाभाटको संयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र कलाकार माओत्से गुरुङ सदस्य रहेको समिति गठन भएको थियो । जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ देखि प्रदान गर्न सुरु गरेको हो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो भने दोस्रो र तेस्रो पुरस्कारबाट संस्थाका पूर्व अध्यक्ष रेम विक र पूर्व सल्लाहकार राजाराम पौडेल पुरस्कृत भइसकेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माध्यमिक विद्यालय तोडफोड गरी सिसी क्यामेरासहित नगद र ल्यापटप लगायतका सामग्री चोरी भएको छ । आइतबार बिहान कार्यालय सहयोगी विद्यालय पुग्दा ताल्चा फुटाएर विद्यालयको सिसी क्यामेराको तार काटेर नगद र जिन्सी सामान चोरी भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । ‘अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माविमा आइतबार कार्यालय सहयोगी पुग्दा ताल्चा फुटाएर विद्यालयमा भएको नगद र जिन्सी सामान चोरी भएको पाइयो, वडाध्यक्ष गुरुङले भने, ‘विद्यालयको सुरक्षाको लागि जडान गरिएको सिसी क्यामेराको तार काटेर ४ थान क्यम्प्युटर(डेल कम्पनी), लेखा शाखाको २० हजार, सिसी क्यामेरा र स्पिकर चोरी भएको छ ।’ वडाध्यक्ष गुरुङका अनुसार चोरी भएको घटनाबारे कास्की प्रहरीलाई जानकारी दिइएको छ ।
काठमाडौं: ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत थिए। घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ। पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण १ घर भइ हाल बालाजु जरंखु, मनमैजु स्थानहरुमा सडकपेटी निर्माण घरमा आश्रय बनाइ बस्ने वर्ष २१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भइ हाल बालाजु जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष १८ की अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष २१ की विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु, जरंखु, मनमैजु लगायतका स्थानमा सडकपेटी निर्माणाधीन घरमा आश्रय बनाइ बस्ने वर्ष ५६ की नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताए। घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको एसएसपी रजौरेको भनाइ छ। प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको उनले बताए। घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनको भनाइ छ। त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य बिरोध शुरु भएको अवस्था पत्ता लागेको बताए। प्रहरीले युवराज घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भन्नेकुरा बुझिन आएको उल्लेख गरेको छ। अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, लामाहरू भइ घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको एसएसपी वसन्त रजौरेले बताए। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शंकास्पद अवस्थामा फेला परेको थियो।
काठमाडौं: प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। आइतबारको बैठक अवरुद्ध नहुनेगरी शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति जुटेको थियो। यद्यपि कांग्रेसले माग गर्दै आएको संसदीय दलको समितिको टीओआरमा सहमति जुट्न नसक्दा पुनः संसद् बैठक अन्योलमा परेको हो। टीओआरमा सहमति जुटाउनेगरी अहिले पनि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा छन्। कार्यदलको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि पुगेका छन्।
काठमाडौं: आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लामिछानेलाई संसद्को आजको बैठकमा बोल्न दिने निर्णय गरेको हो । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि बैठक सुरू हुन सकेको छैन । बैठकअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाउनु भएको थियो । छलफलमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू, प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायतको सहभागिता थियो । सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको छ । हिजो शनिबार शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ । अहिले कानून मन्त्री पदम गिरीसहित सत्ता र प्रतिपक्षी दलका प्रतिनिधिहरूबीच संसदीय समितिको कार्यादेशबारे छलफल भइरहेको छ । यद्यपी कार्यादेशबारे निर्णय भने भइसकेको छैन ।
काठमाडौं: प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उहाँ ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिनुभएको थियो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताउनुभएको छ । शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले गरेको प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले किसानले गरेको उत्पादनको बजार ग्यारेन्टी र वीमा लगायतको सुविधाको व्यवस्था सरकारले गर्ने खुलाउनुभयो । यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गर्ने उहाँको प्रतिवद्धता थियो । ‘बजेट बनाउँदा किसानहरूले गरेको उत्पादनको मूल्य सके गण्डकी प्रदेशका ८५ वटै पालिकामा नभएपनि ११ जिल्लाका एउटा पालिकाको दरले बजारको ग्यारेन्टी हामी गर्छौ’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले सकेसम्म स्वदेशी कच्चा पदार्थबाट निर्माण गरिएका वस्तुको प्रयोग गर्न आग्रह गर्नुभयो । स्वदेशी वस्तुको प्रयोग गर्ने र प्रयोग गर्न उत्प्रेरित गर्नेलाई पुरस्कृत समेत गर्ने तयारी गरिएको जनाउनुभयो । ‘सकभर आफ्नै उत्पादन प्रयोग गर्नुहोस्, मालामा र खादामा पैसा खर्च नगर्नुहोस्’उहाँको आग्रह थियो । महिला र पुरुषले पाउने श्रमको मूल्यमा समेत फरक देखिने गरेको भन्दै समान कामको समान ज्याला पाउनुनैपर्ने यदी कतै विभेद भएको भए कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । विदेशी पुँजीको दबदबाको अन्त्य गर्न राष्ट्रिय पुँजी निर्माण गर्नुपर्ने आवश्यकता देखिएको उहाँले सुनाउनुभयो । जसका लागि केन्द्र सरकारले आवश्यक नीति बनाउनुपर्छ । ‘नेपाली उत्पादनलाई सहुलियत दिनेछौं, बजारको व्यवस्था गर्नेछौं भनेर सरकारले नीति बनायो भने मात्र राष्ट्रिय पुँजी वृद्धि हुन सक्छ’ उहाँले भन्नुभयो । सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवा नेपालमा ६ प्रदेशका २ सय ८४ सामाजिक उद्यमी महिला सहकारी साथै कृषि र पशुविकास सहकारी संस्थाहरू सदस्य रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेशमा रहेका सेवा नेपालका सदस्यहरू सहभागी बनेका थिए ।
काठमाडौं: सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ । दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।
बुटवल: पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल–१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

