पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडामा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका वडा नं। १४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडि बोक्सीदह डाँडामा अन्दाजी ५० वर्षीया महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो । सोही अपराधमा संलग्न दुई व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका वडा नं. १४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी छन् । अधिकारी भनि ०७९ साल कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतले बताए अनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो । शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भूपू आर्मिसँग विवाह गराइदिन्छु भनि १५/२० हजार रुपियाँ र गरगहना लगाई राम्रो भएर आउनु भनी फोन गरी बोलाएका थिए । माछापोखरी एरियामा तीन जनाको भेट भएपश्चात् दुई/तीन घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडि बसेका थिए । शिवराम अधिकारी र मृतक दुई घण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुङ्गा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र नगद छ÷सात सय रुपियाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा बसेका थिए भने अर्को दिन बिहान पूर्व जाने गाडी चढी फरार भएका थिए । आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुस ४ गते जगत वि.क.लाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा तीन वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पोखरा:   रोटरी क्लब अफ गण्डकीको आयोजनामा पोखराको विकास क्रमबारे ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा गरेको छ ।  पोखरामा रोटरी क्लब अफ गण्डकीको आयोजनामा इतिहासकार सुनिल उलकले ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा गरेका हुन् ।  क्लबको नियमित मासिक बैठकको अवसरमा ‘पोखरा हिजो, आज र भोलि’ परिचर्चा कार्यक्रममा इतिहासकार सुनिल उलकले पोखराको विकास क्रमबारे चर्चा गरे ।  उनले पोखरामा बस्ती विकाससँगै व्यापार र शिक्षाको अवधारणा, पोखराको कला संस्कृति, पोखराको पर्यटन क्षेत्रको बारेमा चर्चा गरे । पोखरा हिजो, आजको चर्चा गर्दै भोलिको पोखराको चिन्तासमेत व्यक्त गरे । उलकले पोखरामा बस्तीको विकास बैदाम क्षेत्रबाट भएको उल्लेख गरे ।   ‘जहाँ हामी अहिले पोखरा भनिरहेका छौं यस क्षेत्रमा पहिले बस्ती थिएन, बस्ती बैदाम क्षेत्रमा थियो’, इतिहासकार उलकले भने, ‘अहिलेको पोखरामा त्यस समयमा औलोको समस्या थियो, त्यसैले बस्तीको विकास थिएन, पछि गाई पाल्दै जाँदै यस क्षेत्रमा बस्तीको विकास भएको हो ।’ उनले बस्तीको विकास हुनुपूर्व नै पोखरामा १५ औं शताब्दीको बिचमा शिक्षाको सुरुवात भइसकेको सुनाए ।  इतिहासकार उलकले भर्ति भई पेन्सनबाट फर्किएका लाहुरेले नेपालमा भित्राएकाे करिब १५ करोड रुपैयाँले पोखरा लगायत वरपर जग्गा किनबेचको सुरुवात भएको बताए । ‘पहिलो विश्वयुद्धबाट फकिएका लाहुरेले ल्याएका करिव १५ करोड रुपैयाँ नै पहिलो रकम नेपालमा भित्रिएको हो’, उनले भने,‘पेन्सनबाट ल्याएको करिव १५ करोड रुपैयाँले उनीहरुले सानो सानो जग्गा किनेको भिटिएको छ, पाँच वर्ष भित्र लाहुरेले सबै पैसा सकिएपछि पुनः विदेश फर्किदा किनेको जग्गा बिक्री गरे यसरी नै पोखरा र वरपर जग्गाको किनबेच सुरुवात भयो ।’ उनले परिचर्चा कार्यक्रममा पोखराको बालधाराको निर्माणबाट खानेपानीको व्यवस्थादेखि, पोखरामा शिव भान्सारीले सुरुवात गरेको ब्यापार हुँदै पर्यटनको विकासक्रम अगाडि बढेको बताए । रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारले क्लबको मासिक बैठकमा विभिन्न क्षेत्रको व्यक्तित्वहरुसँग समय सान्दर्भिक विषयमा छलफल गर्दै आएको बताए । यस महिनाको बैठकमा उहिलेको पोखरा र अहिलेको पोखराको परिवर्तित विषयवस्तुमा चर्चा गरिएको जानकारी दिए । रोटरी क्लब अफ गण्डकीले शिक्षा, स्वास्थ्य, खेलकुदसहित सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

पोखरा:  कास्की प्रहरीले ३ जनालाई ३ ग्राम ५ मिलिग्रामसहित  ब्राउन सुगरसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका–१० घर भएका ३० वर्षीय सबिन अलीसहित ३ जना रहेका छन् ।   उनीहरुलाई गएराती पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित होटल डाँफेमुनालबाट पक्राउ गरिएको हो ।    उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:  पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका खुलेपछि यात्रुलाई सोधपुछ गर्न थालिएको छ ।    आज बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको थियो ।   विमानस्थलका अनुसार ढोका नजिकै रहेका यात्रुले ह्यान्डिल चलाउँदा ढोका खुलेको बताइएको छ ।    अहिले ति यात्रुलाई अर्काे जहाजमार्फत काठमाडौं लाने तयारी भएको बताइएको छ भने के कति कारणले ह्यान्डिल चलाइयो भन्ने बारे सोधपुछ गरिने विमानस्थले जनाएको छ ।  

पोखरा:  अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गरेका ५ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा आज बिहान अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन गरेर पोखरातर्फ ल्याउँदै गर्दा प्रहरीले पोखरा महानगर–१९ चितेपानीबाट ५ वटा टिप्परलाई नियन्त्रणमा लिएर एक्यापलाई बुझाएको हो ।  एक्याप क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरेर पोखरा ल्याउँदै गर्दा ग १ ख १७८, ग १ क ८४२९, ग २ ख ७७, ग १ क १५१४ नम्बरको टिप्पर र ग १ ख ५८६७ नम्बरको मिनिटिप्परले बिना कागजपत्र नदीजन्य पदार्थको उत्खनन गरेर चोरी निकासी गरेको अवस्थामा फेला पारेर आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पोखरा:   पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई हनि ट्रयापमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना महिलासहित ५ जनालाई प्रकाउ गरेको छ ।    बसपार्क क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई विभिन्न प्रलोभनमा देखाई हनि ट्रयापमा पारेर लुटपाट तथा पकेटमार गरी दुःख दिने कार्यमा संलग्न भएको आरोपमा पृथ्वीचोक बसपार्कबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई हिजो (मंगलबार) प्रकाउ गरेको हो ।  पोखरा महानगरपालिका २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन स्थायी घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, पोखरा ९ बस्ने १९ वर्षीय मन्जु नेपाली, पोखरा ९ बस्ने १९ वर्षीय सम्झना परियार र लमजुङ स्थायी घर भई पोखरा ९ बस्ने योगेश गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । उनीहरुले पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटक, यात्रुहरुलाई महिलाहरुको प्रयोग गेर घुमफिर गर्न आउने पुरुष व्यक्तिहरुलाई होटल मिलाई दिने बहानामा विभिन्न प्रलोभनमा पारेर एकान्त ठाउँमा लगि पैसा तथा मोबाइल फोन लुटपाटमा संलग्न भएको पाइएपछि प्रकाउ गरेको बैदाम प्रहरीले जनाएको छ ।  प्रकाउ परेका पाँचै जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्धामा आज जिल्ल प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।  

पोखरा:   कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई अर्पण गरिएको छ । पूर्व सांसद तथा उद्योगपति स्व।सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको कीर्ति स्मृति वृत्ति सम्मान ३ पत्रकारलाई अर्पण गरिएको हो । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा।सुरेश आचार्य, पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्षहरू माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित भएका हुन् ।  उनीहरू तीनै जनालाई जनही १ लाख ११ हजार १ सय ११ नगद सहित सम्मान गरिएको अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । पुरस्कार छनोट समिति २०७७ को संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पुरस्कार छनोट समिति २०७८ र २०७९ का संयोजकमा महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक रहेका थिए ।   पोखराका प्रथम निर्माण व्यवसायी स्व।कीर्तिबहादुर के.सी.को स्मृतिमा स्थापित यो पुरस्कार २०७३ बाट अर्पण गर्न सुरु भएको हो ।

म्याग्दी:     थकाली सेवा समिति नेपाल र थकाली अनुसन्धान केन्द्रको आयोजनामा गत मङ्सिर १६ गतेदेखि बेनीमा सुरु भएको ‘खिमीच्हुव’ र ‘क्होई’ प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ । संस्कार र संस्कृति लोप हुन नदिन र बचाउनका लागि प्रशिक्षण आयोजना गरिएको उपाध्यक्ष योगेन्द्रमान भट्टचनले बताए ।  “थकालीको विवाहका क्रममा माइतीको सम्मानमा खिमीच्हुव र फागु पूर्णिमामा क्होई अनिवार्य गाउनुपर्छ,” उनले भने, “गीत गाउन जानेकाहरु मरेर जाने र नयाँ पुस्तामा ज्ञान, सीप नहुँदा संस्कार नै लोप हुन थालेको छ । थकालीको बसोबास भएको ठाउँमा तालिममार्फत संस्कारको पुस्तान्तरण र संरक्षण गर्ने प्रयासमा छौँ ।”  भट्टचनले बेनी, दरवाङ र दाना क्षेत्रका १८ जनालाई गीतको शब्द, भाका र लयको विषयमा प्रशिक्षण दिनुभएको थियो । खिमीच्हुवमा गाइने गीतको एउटा टुक्का ‘ल्ह्लाङ स्ह्युवे स्ह्याङ, तेलाङ स्ह्युवे स्हयाङ’ को अर्थ देवताको मुलुकमा बस्नु हुने सुखी जीवनमा बस्नुहुने माइती भन्ने हुन्छ ।  मगनी भएपछि माइतीको घरमा जाँदा केटा पक्षले माइतीको सम्मान हुने शब्दहरु समेटिएको खिमीच्हुव गाउने चलन छ । तोरन्ल चाडमा गाउने क्होईको एउटा टुक्का ‘च्ह्योङजी तोरन्ल स्हेम्ब, च्ह्योङजी तोरन्ल’को अर्थ आइपुग्नुभयो तोरन्ल चाड, आइपुग्नुभयो तोरन्ह चाड भन्ने हुन्छ ।  नेपालमा पछिल्लो जनगणनाअनुसार कूल १३ हजार जनाको हाराहारीमा जनसङ्ख्या रहेको थकालीलाई सरकारले अल्पसङ्ख्यक जातिमा सूचीकृत गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका ओमप्रकाश शेरचनले शब्द अप्ठ्यारो भए पनि ‘खिमीच्हुव र क्होई’ गाउन सक्ने भएको बताए ।  “संस्कार र संस्कृति जोगाएर लोप हुन दिँदैनौँ,” उनले भने, “मुस्किल भए पनि हाम्रो मौलिक सम्पत्तिलाई बचाएर राख्ने र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने दायित्वबोध भएको छ ।” नरेश कुमार तुलाचनले ‘खिमीच्हुव’ र ‘क्होई’ का शब्द सङ्कलन गरेर थकाली र नेपाली भाषामा लिपिबद्ध गरेका छन् ।  थकाली सेवा समिति नेपालका पूर्वअध्यक्ष कृष्णकुमारी शेरचनले समितिले संस्कार र संस्कृति संरक्षणका लागि रु ३० लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिए । सोही कोषको ब्याजबाट यसअघि सल्यान, बुटवल र काठमाडौँमा भाषा तथा संस्कारसम्बन्धी तालिम आयोजना गरिएको थियो । थकाली नेपालका अल्पसङ्ख्यक समुदाय हुन् । थकालीको उद्गम थलो मुस्ताङको थासाङ गाउँपालिका हो । थकाली समुदायको जन्मदेखि मृत्युसम्मका मौलिक संस्कार, चालचलन र रहनसहन रहेको छ । थकालीको भाषा पनि छ । पुराना पुस्ताका मानिसको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा थकाली समुदायका संस्कार र संस्कृति लोप हुने जोखिममा छ ।  लोप हुन लागेको थकाली समुदायको संस्कारमध्ये विवाह र तोरन्ल ९फागु पूर्णिमा० पर्वमा गाउने ‘खिमीच्हुव’ र ‘क्होई’ गीत हो । खिमीच्हुव थकाली समुदायको विवाह र क्होई तोरन्ल (फागु पूर्णीमा) पर्वमा अनिवार्य रुपमा गाउनुपर्ने थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष भट्टचनले बताए ।

काठमाडौं:    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोग बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको जनाएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेशसभा सदस्य ५४९ जना कायम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ जना मतदाता रहनेछन् । प्रवक्ता पौडेलले स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कुल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाई ५४९ जना कायम गरिएको जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कुल मतदाता एक हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका प्रमुख चार गरी जना आठ जनाको नाम हटाइ कुल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन कार्यक्रम बमोजिम मिति २०८०र०९र२० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ । त्यसपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा कुल मतभार ५७ हजार ५५९ छ । आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ हुने आयोगले जनाएको छ ।