पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:   पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो । पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरेका हुन् । सेल्डनले निकट भविष्यमै डिजिटल नक्सा राख्ने र हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी दिइन् । ‘पछि यहाँ ठूलो डिजिटल नक्सा राख्ने गरी तयारी भइरहेको छ । यसमा यहाँ अवलोकन गर्न आउने दर्शकले स्क्रिनमा जुन ठाउँमा छुन्छन्, त्यसपछि प्रश्नोत्तरसहित जानकारी लिन सक्नेछन्,’ उनले भने । उक्त नक्साले नेपालको भूगोलसहित जीवनशैली तथा जैविक विविधता बुझ्न मद्दत गर्ने विश्वास संग्रहालयकी कार्यकारी अधिकृत निर्मला न्यौपानेको छ । उनले भनिन्, ‘यो नक्सा स्थापना भयो संग्रहालय अझ डिजिटल बन्ने नै छ । अवलोकनकर्ताले देश बुझ्न अझ सहयोग पुग्ने विश्वास लिएका छौं ।’ शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबार सकिँदैछ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सव संयोजक जिनेश सिन्दुराकारले जानकारी दिए । महोत्सवमै नेपाल पंक्षी  संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको थियो ।   

पोखरा: पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पोखरामा बहस भएको छ । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भएको थियो ।  बहसमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितसँगै जलवायुसम्बन्धी अध्येता जगन्नाथ अधिकारी वक्ता थिए । बहसमा सहभागी वक्ताहरुले पछिल्लो समय तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले तापक्रम उच्च हुँदा हिमालमा हिउँ कम पर्ने र छिटो पग्लिने समस्या देखिन थालेको सुनाए । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाल कालो हुँदै गएको बताए । ‘अहिले हामीले तलबाट माथि धुवाधुलो पठाउँदैछौं । यसले पनि हिउँ पग्लिने क्रम एकदमै बढेको देखिन्छ,’ उनले भने, ‘त्यसमाथि माथिल्लो भेगसम्म पानी पर्न थालेको छ । पानी परेपछि हिउँ झनै छिटो पग्लिन्छ ।’ पत्रकार कुन्द दिक्षितले पछिल्लो समय जलवायु परिवर्तनका नाममा हिउँँ र बरफमा मात्रै विषय केन्द्रित भएको बताए । उनले हिउँ र बरफ पग्लिँदै जाँदा निकट भविष्यमै पानीको ठूलो संकट देखिन सक्ने सुनाए । ‘यसलाई जलवायु परिवर्तन नभनौं, संकट भनौं । यो संकट पानीको हो,’ दिक्षितले भने, ‘पानीमै हाम्रो मानव जीवन र सभ्यता आश्रित छ । हिमालमा हिउँ पग्लिनेबित्तिकै तल्तिरका भेगमा ठूलो असर पार्छ ।’ उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानुपर्ने सुनाए । डा जगन्नाथ अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसम पूर्वानुमान गर्नै मुस्किल रहेको सुनाए । उनले जलवायु परिवर्तनले गर्दा जनजीवन नै असर गरिरहेको बताए ।  अर्की वक्ता डा अमिना महर्जनले जलवायु परिवर्तनले गर्दा हिमाली जनजीवनमात्रै नभएर कृषि उत्पादनै समस्या पार्न थालेको बताइन् । पछिल्लो समय बाली भित्राउनेबेला पर्ने बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारिरहेको सुनाइन् । ‘जलवायु परिवर्तनले कृषि, पर्यटन र स्वास्थ्यमा ठूलो च्यालेन्ज छ । नेपालका हिमाल हेर्न आएका विदेशी पर्यटकहरु मौसममा पनि हिमाल देख्न पाउँदैनन्,’ डा महर्जनले भनिन्, ‘यो प्रभाव बढ्नेबाहेक घट्नेवाला छैन । सरकारले यो विषयमा आवाज उठाएकै छैन ।’ वक्ता डा घनश्याम गुरुङले भने पानीका स्रोत नबचाई हाइड्रो ऊर्जालाई मात्रै महत्व दिन नसकिने बताए । पानीको अत्याधिक प्रयोग गर्ने तर, पुनःसिञ्चित नगर्दा केही दशकपछि नै पानीको हाहाकार हुन सक्ने दाबी गरे । कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय घटिरहेका घटनालाई जलवायु परिवर्तनलाई देखाएर राज्य उम्किन नमिल्ने भनाइ राखे । जलवायु परिवर्तन अहिले विश्वभरकै प्रमुख समस्या भएकाले अब जलवायुअनुकूल जीवनशैलीबारे बहस हुनुपर्ने सुझाव राखे ।  आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले हिमाली भेगसँग पर्वतीय पर्यटनको जीवन पनि जोडिएकाले वातावरण संरक्षणमा अब अरुको मुख ताकेर बस्ने अवस्था नरहेको बताए । उनले पर्वतीय क्षेत्रमा फोहोर हुन नदिन संस्थाका तर्फबाट अभियान र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।  शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबार सकिँदैछ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । महोत्सवका अवसरमा ३ दिनसम्म आर्चरी, जिपलाइन खेलसमेत समावेश गरिएको थियो । महोत्सवमै नेपाल पंक्षी  संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको छ । 

पोखरा:   कास्की प्रहरीले गौहत्या गरेको आरोपमा बस चालकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धादिङको रोराङ नगरपालिका ३ का २८ वर्षीय रोशन ठकुरी रहेका छन् ।   कास्की प्रहरीका अनुसार आज बिहान पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित पोखरादेखि काठमाण्डौ जाँदै गरेको ना ५ ख २११३ नंम्बरको यात्रुबहाक बसले बाटोमा हिडिरहेको गाईलाई ठक्कर दिएको थियो । त्यसपछि उक्त गाईको घटनास्थलमानै मृत्यु भएको थियो ।   ठक्कर दिई फरार भएको भन्ने सूचनाको आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौताराबाट ठकुरीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए ।   उनका अनुसार पक्राउ परेका ठकुरीलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी मुद्दामा ९१०० दश दिनको म्याद थप गरी  अनुसन्धान अघि बढाइएको छ ।  

पोखरा:   नेपाल–जापान मैत्री संघले पोखरामा पुषको पहिलो साताबाट निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ ।  पोखरामा नेपाल–जापान मैत्री संघले जापनिज भाषा तथा संस्कृति सिक्ने इच्छुक विद्यार्थी तथा व्यवसायीहरुलाई मध्यनजर गर्दै निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको हो ।  पोखरा महानगरपालिका–९ पृथ्वीचोक (पोखरा मल)मा कार्यालय रहेको नेपाल–जापान मैत्री संघले (एन फाइभ) निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको संघले जनाएको छ । नेपाल–जापान मैत्री संघले विशेष गरी विद्यार्थी भिषा तथा रोजगारीमा जापान जाने र नेपालमा व्यवसाय गर्नेहरुको लागि जापनिज भाषा कक्षा सम्बन्धी छात्रवृत्ति प्रदान गर्न लागेको हो । जापनिज भाषा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा व्यक्तिले संघको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।  नेपाल र जापानको भाषा, कलासंस्कृति आदानप्रदानसँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको संघले पोखरामा पहिलो पटक निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको बताइएको छ । संघले थप जानकारीका लागि ०६१५८८८६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।  

काठमाडौं:      उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी  छन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताइन्। हिंसा अन्त्यका लागि सोच,व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने उनको भनाइ छ। “सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ”, उपसभामुख रानामगरले भनिन् । महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उनले जोड दिइन्। उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै  महिलाको डिजिटल प्रविधिमा पहुँच पुर्‍याउन सबैको साथ चाहिने बताइन्। महिलाले उत्पादन गरेका सामग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन्।

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ ।  अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दलको बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् ।  उनका अनुसार बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनमा दलको भूमिकालगायतका विषयमा छलफल हुनेछ ।  दलका नेता तथा रास्वपा सभापति रवि लामिछाने बेलायतमा छन् । उनको अनुपस्थितिमा बैठकको अध्यक्षता कार्यवाहक नेता विराजभक्त श्रेष्ठले गर्नेछन् । 

काठमाडौं:     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।  मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २९ गते शुक्रबार दिउँसो १२:१५ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक एजेन्डा छन्।

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् ।  ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तला खेती गरेका छन् । नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नांगो तारले हाँगा छुन थालेको छ । बगैँचाभित्र पस्न करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन् ।  सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँने गरेको छ । तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन् । बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर बढेको स्थानीय बढाउँछन् ।  सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नांगो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नांगो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका हुन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए । ‘सुन्तला बगैँचाभित्र जाँदा करेन्ट लागेर ज्यानै जाला भन्ने डर छ’, उनले भने, ‘तारले छोएको बोटको सुन्तला माया मार्नुपर्ने अवस्था छ । बगैँचा पस्दा कता करेन्ट लागेर मरिने हो भन्ने डर छ ।’  केही दिनअघि दोसल्ले गएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नांगो तार हटाएर एबीसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गरेका थिए ।  सदस्य भण्डारीको नेतृत्वमा आइतबार नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बराल, इञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम रानासहितको टोलीले दोसल्लेको विद्युत् वितरण लाइनको स्थलगत निरीक्षण गरेको छ ।  केन्द्रका प्रमुख बरालले सुन्तला बगैँचाभित्र नांगो तारको विकल्पका एबीसी केबुल राख्न प्रक्रिया अघि बढाएको र केही दिनमै तार परिवर्तन गरिने बताए । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युतको तार व्यवस्थापन गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य भण्डारीले बताए ।