पोखरा: पोखरामा अवैध रुपमा प्राकृतिक नदीजन्य पदार्थहरुको दोहन गरेको आरोपमा प्रहरीले ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ । कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको आरोपमा ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर महानगरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले बताए । ‘कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थहरुको अवैध रुपमा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको स्थानीयको गुनासो आएको थियो’, प्रमुख थापाले भने, ‘स्थानीयको गुनासो पछि प्रहरी युनिटको बैठक बसेर आज विभिन्न स्थानबाट सवारी साधन नियन्त्रणमा लिएर महानगरमा बुझाएका हौं ।’ उनका अनुसार अवैध रुपमा नदीजन्य पदार्थहरुको उत्खनन गरेर भ्याटबिल नभएका, कागजपत्र नभएका, फर्जीबिल बनाएका ५६ वटा ट्रक, टिप्पर र ट्याक्टर नियन्त्रयणमा लिएको हो । अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा बालुवा, गिट्टी ओसार–पोसार गरिरहेको अवस्थामा पोखराको बैदामबाट ५ वटा, रामबजारबाट ८ वटा, बगरबाट २० वटा, शिुशुवाबाट ४ र गगनगौडाबाट १९ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले अब कास्कीको हरेक स्थानमा दैनिक रुपमा नदीजन्य पदार्थ बोकेका सवारी साधनको नियमित जाँच गर्ने समेत बताए । ‘कास्कीमा नदीजन्य पदार्थ बोकेका सवारी नियमित जाँच गछौं’, उनले भने, ‘आज नियन्त्रणमा लिएका सवारीहरुले बोकेका बिल कागजपत्रहरु महानगरले हेरिरहेको छ दोषी देखिए कारवाहीको प्रक्रिया अगाडी बढ्छ ।’
काठमाडौं: ललितपुरको झम्सिखेलबाट प्रहरीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झम्सिखेलबाट उदयपुरका अविनाश राईलाई लागुऔषध ‘आइस ड्रग’ सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा प्रहरीलाई राईले आक्रमण गर्न खोजेपछि प्रहरीले १ राउन्ड गोलीसमेत चलाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राईको साथबाट आधा किलो आइस ड्रग बरामद भएको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका राईमाथि आवश्यक छानिबन भइरहेको पनि भइरहेको प्रहरीले जनाएको छ ।
मनाङ: जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए । प्रजिअ लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।” चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए । चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए । पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।” पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ । चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, “चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्ण रुपमा बन्द नभएको भुजेलले जानकारी दिए । पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउछन् । आफूहरु घर कुर्ने र याकचौँरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, “चिसोमा माउ चौँरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् ।” “लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहुँदैनौ”, उनले भने, “लेकका खर्कबाट गाउँघर नजिक याकचौँरी ल्याइन्छ । नावर पनि याकचौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।” यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् ।
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध काठसहित बलेरो जीपलाई नियन्त्रणमा लिएको छ । पोखरा महानगरपलिका १९ लामाचौर अकला मन्दिरस्थित सवारी साधन चेकजाँचको क्रममा पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइएको हो । चेकजाँचको क्रममा चिरुवा काठ ९फल्याक० २८० थान लोड गरी विना कागजपत्र पोखरा ल्याइएको पाइएपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । अवैध काठसहित जीपचालक माछापुच्छ्रे गाउँपालिका गाउँपालिका भुर्जुङखोला का ३१ वर्षीय अनिष विकलाईसमेत नियन्त्रणमा लिइएको छ । सो विषयमा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय बगर पठाइएको बताइएको छ ।
पोखरा: लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलको सालिनता र लगावले नै उनको परिचयलाई बढ्वा दिइएको छ । सामाजिक क्रियाकलापमा समेत उनको सक्रियता पाइन्छ । यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युटुब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको अभिनय छ । पौडेलकै शब्द संगीत रहेको गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको संगीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् । पौडेलेको यसअघि थुप्रै सिर्जना आएका छन् । जसमा पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले पौडेललाई चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट संगीत संघर्ष गरिरहेकी छिन् । भिर्ने झोलामा लगायतका उनका गीत रुचाइएको छ । निरन्तर लोकदोहोरीमा लागेर आफुलाई क्रियाशिल बनाउने गायिका मध्ये पर्छिन् उनी । क्रियाशिलता र मेहेनतले नै लामिछानेलाई सफलता दिलाएको हो भन्दा अत्युक्त नहोला । पौडेल र लामिछानेको युगल सांगीतिक जोडीलाई यसअघि पनि मन पराइएको छ । ‘हुन्छ भने हुन्छ भन” बाट समेत सफलता मिल्नेमा उनीहरु विश्वस्त छन् ।
तनहुँ: जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ । पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक आवश्यकताभन्दा १५ हजार लिटर कम पानी आपूर्ति हुँदा कैदीबन्दीलाई समस्या परिरहेको छ ।” मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा केही महिनायता नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी आएको उहाँ भनाइ छ । उहाँले भन्नुभयो, “अब पानीको आपूर्ति बढाउन नयाँ इनार खन्नुपर्ने मात्र विकल्प छ । अहिले जाडोको समयमा पानी अभावले धेरै असर नगरे पनि गर्मीयाम सुरु भएपछि समस्या हुन्छ ।” जाडोयाममै पानीको आपूर्ति बढाउने विकल्प तयार गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुभयो । कारागार निरीक्षणका लागि सोमबार पुग्नुभएका तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीसमक्ष कारागार प्रमुख अधिकारीले पानीको व्यवस्थाका लागि अहिलेबाटै काम गर्नुपर्ने विषय अवगत गराउनुभएको छ । निमित्त प्रजिअ भण्डारीले पानीको समस्याका बारेमा कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा लेखी पठाउने जानकारी दिनुभयो । मादी नदीबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ । पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चारवटा धारा जडान गरिएको छ । कारागारमा महिला र पुरुष गरी तीन सय दुई कैदीबन्दी छन् । महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहेकामा महिलातर्फ २२ र पुरुषतर्फ दुई सय ८० कैदीबन्दी छन् । करागारका निमित्त प्रमुख अधिकारीका अनुसार महिला कारागारमा आमासँग तीन बालिका पनि छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ८६, लागुऔषध मुद्दाका ५६, कर्तव्य ज्यान मुद्दाका ५३, चोरीका २७, सवारी ज्यानका १९ जना कैदीबन्दी छन् ।
काठमाडौं: युएईमा भइरहेको एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान–२ मा हुनेछ । समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसाग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । सेमिफाइनल पुग्न भारतलाई जितको आवश्यकता छ । तर नेपालले हकमा भने सेमिफाइनल पुग्न भारत विरुद्ध ‘मिराकल विन’ आवश्यक छ । अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ठूलो जित निकाल्ने र नेपालले पनि भारत विरुद्ध सानदार जित निकाले मात्र सेमिफाइनल पुग्नेछ । यस समूहमा दुई खेल जितेको पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने बलियो सम्भावना छ । भारत र अफगानिस्तानको समान २ अंक छ भने नेपाल अंकविहीन छ । यू–१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ । सन् २०१७ मा भएको यू–१९ एसिया कपमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो । २०१८ मा भएको खेलमा भने नपाल भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
काठमाडौँ: बेलायतका विभिन्न स्वास्थ्य क्षेत्रमा रोजगारीमा जान ४५ नर्स अन्तिम छनोटमा परेका छन् । अन्तर्वार्तामा सहभागी भएका ६० जनामध्ये ४५ नर्स अन्तर्वार्ताबाट छनोट भएको वैदेशिक रोजगार विभागले जनाएको हो । विभागका अनुसार अन्तर्वार्ताका लागि ७१ जना नर्सको प्रारम्भिक सूची सार्वजनिक गरिए पनि अन्तर्वार्तामा ६० नर्स मात्रै सहभागी भएका थिए । अन्तर्वार्तामा छनोट भएका नर्सलाई बेलायतको कामबारे जानकारी दिइने र एक/डेढ महिनाभित्र बेलायत पठाइने विभागले जनाएको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको थियो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारका प्रतिनिधिबिच २०७९ भदौ ६ गते सम्झौता सम्पन्न भएको थियो । विभागले गएको साउन ५ देखि तीन महिनाको समयअवधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । तीनमहिने अवधि राखेर आह्वान गरिएको आवेदनमा ७३५ जनाको आवेदन परेकामा दुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार ७१ जना मात्रै छनोट भएका हुन् । जसमा ११ जना अन्तर्वार्तामा अनुपस्थित रहेकाले अन्तर्वार्तामा ६० नर्स सहभागी रहेकामा ४५ जना अन्तिम छनोटमा परेको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रियाबमोजिम गरिएको हो । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) दुई देशका सरकारले पारित गरेसँगै बेलायतमा नेपाली नर्सका लागि आवेदन खुलाइएको थियो । प्रोटोकल अनुसार मागभन्दा कम नर्स मात्रै छनोटमा परेका छन् । अनलाइन आवेदन दिएर तोकेको मापदण्ड पूरा गरेकाको बेलायत स्वास्थ्य विभागले प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।
पोखरा: लेकसाइडस्थित डान्सबारमा महिला स्टाफलाई ग्राहकसँग मादक पदार्थ सेवन गर्न लगाएर बढी विल उठाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका–६ लेकसाइडस्थित ड्रागन डान्स बारका म्यानेजर र सेभेन डान्स बारका कर्मचारीलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रकाउ पर्नेमा ड्रागन बारका म्यानेजर पोखरा-१७ बिरौटा घर भएका सागर गुरुङ र पोखरा –६ लेकसाइड बस्ने सेभेन स्टार डान्स बारका कर्मचारी प्रविण खड्का रहेका छन् । उनीहरुलाई प्रहरीले आज बिहान करिव १ बजेको समयमा नियन्त्रणमा लिएको हो । उनीहरुले बढी उठाउने मनसायले मापदण्ड विपरीत महिला स्टाफलाई ग्राहकसँग राखेर मादक पदार्थ सेवन गराएर बढी बिल उठाउने गरेको पाइएपछि नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रकाउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

