पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:   काठमाडौं महानगरपालिका–३१ बानेश्वर कात्यानीचोकबाट ११ जना जुवाखालबाट पक्राउ परेका छन् ।   सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।    विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरिएको थियो ।    पक्राउ परेका जुवाडेहरुको साथबाट नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।   साे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

म्याग्दी:  रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ ।   विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो ।  उमेरले ३० वर्ष पुगेका बरुवाल पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गर्नुभयो । त्यहाँ उहाँको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन ।    यता घरमा परम्परागत खेती किसानी गर्दै आउनुभएका उहाँका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहानुहुन्थ्यो ।   उहाँको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो । नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाअन्तर्गत उहाँको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाखा्रपालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् ।   आयोजनासँगको सम्झौताअनुसार उहाँले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भुइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापलनका लागि पूर्वाधार तयार गर्ने काम गरिसक्नुभएको छ ।   लक्षित कामका लागि निर्धारित कुल रु ३८ लाख ७२ हजार तीन सय तीन लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानबापत रु १९ लाख २८ हजार छ सय ५२, प्रभु बैंकको ऋण लगानी रु ११ लाख ७० हजार र स्वलगानी रु सात लाख ७३ हजार  छ सय ५२ रहेको धनबहादुर बरुवालले जानकारी दिनुभयो ।   सम्झौताअनुसार अनुदानवापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उहाँले बताउनुभयो ।   आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरासमेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआइपीको अनुदान थप प्रेरक बनेको उहाँको भनाइ छ । “भौगोलिक अवस्थितिलगायतका कारण खोर निर्माण आदिमा सम्झौताभन्दा पनि बढी व्यक्तिरूपमा खर्च भइसकेको त छ नै तर यो लगानीका लागि एनएलएसआइपी नै मुख्य प्रेरणाको स्रोत हो”, उहाँले भन्नुभयो । खोरमा मात्रै रु २९ लाख खर्च भइसकेको र करिब रु १८/१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उहाँले जानकारी दिनुभयो । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आउनुभएको छ भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् ।   बरुवालका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जङ्गल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ ।    सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।   स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उहाँले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताउनुभयो । नारायणका बुवा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यापार व्यवसायमा लाग्नुभयो । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उहाँले झण्डै १५/१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाल्नुभयो । बाह्र–तेह्र वर्षअघिसम्म खच्चड पालेको र छ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उहाँको अनुभव छ ।   नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ९एनएलएसआइपी०बाट दूध, खसी बोकाको मासु र पश्मिनाको उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण तथा आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेको आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काले जानकारी दिनुभयो ।  

काठमाडौं:   नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको स्पष्ट पारेको छ। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्टयाएका हुन् ।  बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।  ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिएका छन् । उपप्रमुख रिजालका अनुसार ओलीले बैठकमा आफ्नो पार्टी संविधान निर्माणको नेता पार्टी भएकाले यसका कुनै पनि पिल्लरलाई हल्लाउने वा चलाउने पक्षमा नरहेको बताए।   ओलीको भनाइ उद्धृत गर्दै प्रचार उपप्रमुख रिजालले भने, ‘‘हिजोदेखि एउटा हल्ला चलाइएको छ( नेकपा (एमाले)को बैठकमा संघीयताका बारेमा बहस सुरु भयो। नेकपा (एमाले)ले संघीयतामा पुनर्विचार गर्ने भयो। अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्ने गलत हल्लाहरु चलेका छन्। यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुहुन्छ।’’ बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना तय गरेको छ। जसमा कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ।   

पोखरा:    पोखरामा स्वतन्त्र नागरिकहरुले भ्रष्टाचारविरुद्ध आज युवाहरूले प्रदर्शन गरेका छन् । देशमा भ्रष्टाचारका घटना बढेको र नियन्त्रण गर्नुपर्ने माग गर्दै युवाहरूले दबाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् । उनीहरुले ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियोरु’ लगायतका नाराहरू सहित उनीहरूले प्रदर्शन गरेका हुन्। तस्बिरहरु:-          

मोरङ:    सडक किनाराको पर्खाल (रिटेनिङ वाल) बलियो र गुणस्तरीय बनाउन माग गर्दै एक युवाले १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका छन् । युवाको उद्धार गर्न सुरक्षाकर्मी लागे पनि सफल भएका छैनन् ।   पोलमा चढेर विरोध गरिरहेका बुढीगंगा-७ डंग्राहाका ४० वर्षे युवा दिनेशकुमार माझीलाई त्यहाँबाट उद्धार गर्न प्रहरीलाई माथि चढाउँदा जोखिम हुनसक्ने भन्दै प्रहरीले युवाको माग पूरा गर्न आग्रह गरेको छ ।   माझीले गुणस्तरीय निर्माणको विश्वास दिलाउनु पर्ने र त्यसका लागि गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार तथा वडाध्यक्षसमेत उपस्थित भएर आफूसँग छलफल गर्न तयार हुनुपर्ने माग राखेका थिए ।  हाई भोल्टेज विद्युत प्रवाह भइरहेको पोलमा बिहान ६ बजेदेखि माझी पोलमा चढेर बसेको प्रहरीले जनाएको छ । उद्धारका लागि पोलका तल सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहे पनि युवा पोलबाट उत्रन मानेका छैनन् ।   सुरक्षाकर्मीले माझीलाई तल झार्न निरन्तर प्रयास गरिरहेको छ । तर युवा पोलबाट झर्न नमानेको मोरङ प्रहरीले जनाएको छ । अहिले पनि प्रसारण लाइनमा १ लाख ३२ हजार भोल्ट विद्युत प्रवाह भइरहेको छ । हाइटेन्सन पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत प्राधिकरणले बिजुली काटेको छैन ।  झापालगायत मेची पहाडका जिल्लामा विद्युत अवरुद्ध हुने भएकाले उद्धारको सबै तयारी पूरा नभई प्राधिकरणले विद्युत प्रसारण बन्द नगरेको जनाएको छ । उद्धार गर्न  १५–२० मिनेटका लागि विद्युत बन्द गर्न सकिने तर लामो समय विद्युत बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए  । उनले भने, ‘हामी माथि चढेर उनलाई झार्न सक्छौँ, तर उद्धारका लागि माथि चढ्दा उनी हाम्फाल्ने जोखिम छ ।’  पोलको ३० मिटर माथि पुगेर ती माझी युवा बसेको प्रहरीले जनाएको छ ।  गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त माझीले राखेको प्रहरीको भनाइ छ । गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर आज धनकुटा जानुभएको छ ।  प्रहरीले अध्यक्ष र वडाध्यक्षलाई त्यहाँबाट फर्काउने पहल थालेको छ । अध्यक्ष आएपछि माझीको माग सम्बोधन गराएर सहज रूपमा तल झार्ने विकल्प प्रहरीले रोजेको छ । आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी माझीले दिएको प्रहरीले जनाएको छ । 

म्याग्दी:     धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए । ‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छु,’ उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ ।’ शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौँको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए ।

काठमाडौं:    मर्मतका लागि मेलम्चीको पानी वितरण कार्य आउँदो सोमबारदेखि रोकिने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले यहि जेठ १ गतेदेखि दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा वितरण गरिएको थियो । तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढीरपहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मर्मत सम्भार गरेर पुनः २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी वितरण गरिएको थियो । त्यसपछिको वर्षामा बन्द गरिएको पानी वितरण कार्य गएको मंसिरदेखि पुनः सुरु गरिएको थियो ।

काठमाडौं:    नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रवार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस हुनेहरूको नाम सार्वजनिक गरेको हो ।  

चितवन:    चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ ।   मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । चित्तौने कचेहेरीका सहनिर्देशक डा जीवन क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्ति जनताको समस्यालाई सामाधान गर्न सके सकेनन् भन्ने विषयमा बहस हुने बताउनुभयो । सभ्य समाज निर्माणका लागि कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।   कचेहेरीमा समसामयिक समस्या, समाधान र सम्भावना खोतल्ने गरी समूहगत छलफल गरिनुका साथै नाटक, साहित्य प्रस्तुत गरिने उत्सव निर्देशक सरिता तिवारीले बताउनुभयो । “दुई दिनसम्म कार्यक्रममा मानिसका जीवनमरणका विषय उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने छ”, उहाँले भन्नुभयो । कचेहेरीको पहिलो दिन सात वटा विषयमा समूहगत छलफल हुनेछ । घर गाउँको सिंहदरबारः कति विकास, कति शासन रु, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य, पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति, विषयमा आज छलफल हुने आयोजकले जनाएको छ । आजै सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा नाटक प्रस्तुत गरिने तिवारीले जानकारी दिनुभयो । शनिबार विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि रु, कसरी लेखिँदैछ चितवनको आख्यान रु, मधेस र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि, ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम हुनेछ । आज उद्घाटन कार्यक्रममा थारु सांस्कृतिको नाच प्रस्तुत गरिरहेको छ । कार्यक्रममा साहित्यिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पत्रकारिता लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागिता रहने छ ।