काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ ।
काठमाडौं: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। शनिबार राति टोखा नगरपालिका ८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो। एसपी रिजालका अनुसार उनीहरूबीच झगडा भएको थियो। शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ र कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो। उक्त खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रासस
पोखरा: शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’ हेर्न गाउँ गाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजनीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन्। झन्डै डेढ दर्शक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट संघिय राजधानी काठमाडौँ कलाकार बन्नकै लागि उनि आएका थिए। काठमाडौँ आएपछि ओस्कार कलेज अफ फिल्म स्टडिजमा अभिनय पढ्न थालेका त्रिपाठीले सोहि कलेजमा अध्यापक बने। हाल उनि अभिनय विभाग प्रमुख छन्। उनले पहिलो पटक अभिनय गरेको तर रिलिजको हिसाबले तेश्रो बनेको चलचित्र ’हल्कारा’ बाट प्रतिष्ठित अन्तराष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट अभिनेता समेत बनेपछि उनको चर्चा व्यापक भएको थियो। कोभिड १९ को महामारीले गर्दा केहि समय पहिले नै रिलिज हुनुपर्ने यो चलचित्र अहिले बल्ल रिलिज भएपछि दर्शकहरुको प्रतिक्षा पुरा भएको छ । शनिबार पोखराको ट्रेड मलमा रहेको हलमा सयौंको संख्यामा एकसाथ दर्शक आई चलचित्र हेरेका छन्। कास्कीका कास्कीकोट र मालेपाटन, काहु। ढिकुरपोखरी , वाम्दी लगायतका गाउँबाट उनीहरु बस नै रिजर्भ गरेर पोखरा आएका थिए। गत बर्ष ५५औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो । यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह(लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ ।
काठमाडौं: थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गर्नुभएको छ । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट भएको बताउनुभयो । उहाँका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिनुभयो । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् । RSS
पोखरा: गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली मगर(सुविन) ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गरेका छन् । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत रहेका मगरले शुभकामना दिन आउनेहरुलाई माला र खादाको प्रयोग नगर्न आग्रह गरेका हुन् । खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा फजुल खर्च हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए । उनका अनुसार आज विहान सचिवालयबाटै सूचना नै जारी गरी सम्पूर्णमा जानकारी गराइएको पौडेलले बताए । शुक्रबार पद तथा गोपनीयताको सपथ र कार्यभार सम्हालेका जुग्जाली मगरले प्रादेशिक सडकहरुको गुरुयोजना तयार पार्ने निर्णय गरेका थिए । आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको मन्त्री जुग्जालीले बताउनुभयो । यसअघि एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा करिब दुई महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका जुग्जाली मगरले काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वका प्रदेश सरकारमा भौतिक मन्त्रालयको जिम्मेवारी पाएका हुन् । जुग्जाली मगर म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजकसमेत हुन् ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ। उनीहरूबीच छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका हुन् । छलफल संसद्मा विधाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ।
मुस्ताङ: अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार घुम्नै पर्ने उत्कृष्ट स्थानमा नेपालको मुस्ताङ पनि परेको छ । अमेरिका समाचार संस्था सिएनएनले जारी गरेको रिर्पोट अनुसार सन २०२३ मा घुम्नै पर्ने स्थानको सुचीमा नेपालको मुस्ताङ उपत्यका पनि परेको हो । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ। नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ। हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ । तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् । लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् । पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन्। साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ । मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो। यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ। काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ। तस्बिर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिएका छन् । उनको अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ । मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि यही वैशाख १५ गते र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालेको हो । केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । रासस

