उदयपुर: १३ वर्षीया बालिका र १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका–१० घर भई उदयपुर चौदण्डीगडी नगरपालिका–४ बर्खेडाँडा बस्ने १८ वर्षीय र उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाह बस्ने सोही उमेरकै किशोर रहेका छन् । उनीहरूले ती बालिका र किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २० जना प्रहरी अधिकृतहरू दर्ज्यानी प्रदान गरिएको छ । प्रहरी सँगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज (सोमबार) आयोजित एक समारोहबीच २० जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ २१ जनालाई पदोन्नती गरेको थियो । तर कार्यक्रममा २० जनाले दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । पदोन्नती हुनेहरुमा प्रशासनतर्फ प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् । यस्तै प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहेका छन् । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त भने हाल संयुक्त राष्ट्र संघीय मिसनमा छन् । सो कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक बसन्त कुँवरले पदोन्नतिसँगै जिम्मेवारी बढेकाले संगठनको प्रतिष्ठा बढाउने काममा सधै समर्पित हुनुपर्ने बताएका थिए ।
पोखरा: सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले आज (सोमबार) तत्काल कारबाही नगर्न भन्दै रास्वपालाई अल्पकालीन अन्तरिम आदेश दिएको हो । डाक्टर श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भएका थिए । त्यसपश्चात आफूमाथिको भएको कारबाही न्यायोचित नरहेकाले श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले रास्वपा र अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि मागेको छ । रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। स्वर्णिम वाग्लेले सरकारले संसदमा पेस गरेको आउँदो आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे । त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ छ । ‘धेरै विषय परेका छन् । केही छुटाउन नहुने कुरा छुटेका छैनन् । भन्दिनुपर्ने, सुनाइदिनुपर्ने कुरा पनि ल्याइएको नै छ’, वाग्लेले भने, ‘आर्थिक वृद्धि, सुशासन, जलवायु परिवर्तनको असर न्यूनीकरण, सङ्घीयताको सबलीकरण, सामाजिक न्याय, निजी क्षेत्रको मनोबल बढाउनेजस्ता कुरा अर्थमन्त्रीले ल्याउनुभएको छ । तर पनि माहोल खल्लो छ । हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ ।’ बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई तत्काल सुधार्न हतार (सेन्स अफ अर्जेन्सी) नदेखिएको पनि उनले उल्लेख गरे । ‘यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा, सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौँ’, वाग्लेले भने । अर्थतन्त्रले लय गुमाइरहेका बेला आर्थिक वृद्धि र उन्नतिका कुरा असुहाउँदो रहेको टिप्पणी पनि उनले भने । ‘चालु आर्थिक वर्षका लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा अहिले हामी दुई प्रतिशत हाराहारीमा रुमलिनुपरेको छ’, उनले भने, ‘लयमा भएको अर्थतन्त्रमा स्थिरताका कुरा गर्न सुहाउँछ । तर सङ्कटमा जाकिएको र भड्कालोमा परेको अर्थतन्त्रका बेला स्थिरता र स्थायित्वको नाराले न्याय गर्दैन ।’ नेपालको कर्जा विस्तारमा आर्थिक वृद्धिदरसँग सामञ्जस्यता देखिन नसकेको उनले बताए । त्यस्तै सरकारी आयको तुलनामा खर्च बढ्दै जानु पनि गम्भीर विषय रहेकोउनले उल्लेख गरे । ‘बजेट घाटाको खाडल कसरी हटाउने भन्ने ठूलो चुनौती छ । कर्जा लगानी र आर्थिक वृद्धिदरबीच ठूलो भ्वाङ छ । कर्जा नियमितरूपमा २०÷२२ प्रतिशतले वृद्धि भइरहेको छ । तर त्यसले अर्थतन्त्रको वृद्धिदरमा उपेक्षित योगदान दिन सकेको देखिँदैन’, सांसद वाग्लेले भने । सत्तारूढ दल नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा परेको ‘ओम्निबस’ आर्थिक सुधारका विषयलाई गम्भीर भएर लिइनुपर्ने उनले बताए । ‘छोटो समयमा ठूलठूला काम गर्नुछ । लगानीमैत्री वातावरण बनाउनका लागि चार दर्जनभन्दा बढी कानुन संशोधन गर्नुपर्ने भनिएको छ । त्यसमा सरकारको ध्यान पुगोस्’, वाग्लेले भने । नेपालमा डिजिटल प्रविधिको पर्याप्त विकास हुन नसकेको, विश्वआपूर्ति शृङ्खला खल्बलिएको, सस्तो पुँजी दुर्लभ हुँदै गएको, स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पर्याप्त रहेपछि त्यहाँबाट पाइने सेवाको प्रभावकारिता देखिन नसकेकोलगायतका विषय उनले उठाएका छन् ।
दार्चुला: दार्चुलाको हिम पहिरोमा परेका थप एक जनाको शव भेटिएको छ । १९ वैशाखमा दार्चुलाको ब्यास गाउँपालिकामा गएको हिमपहिरोमा हराइरहेकाको खोजीमा जुटेको सशस्त्र प्रहरीले एक जनो शव फेल पारेको हो । डोटीको जोरायल गाउँपालिका २ कि २८ वर्षीया इश्वरी थापाको शव सशस्त्र प्रहरी बल नं। ५० गुल्म छाङ्रुको टोलीले फेला पारेको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । हिम पहिरोमा हराइरहेका थप एक जनाको खोजी भइरहेको पनि सशस्त्र प्रहरीले जनाएको छ ।
कालीकोट: कालीकोटको पलाँता गाउँपालिका ६ मा स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरीसहित दुई जना घाइते भएका छन् । बलात्कार मुद्दामा अदालतबाट कुसर सजाय सुनाइएका फरार अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो । पलाँता-४ को कयरदेवबाट प्रहरी सहायक निरीक्षक लक्ष्मीरुन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुङ्गामुढा गर्दा प्रहरी सहायक निरीक्षक रावल र प्रहरीलाई सहयोग गर्ने वडा-५ का धनमान विक घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले जानकारी दिनुभयो । लुकीछिपी रहेको अवस्थामा प्रहरीले हतकडी लगाउन खोज्दा भेला भएका स्थानीयले ढुङ्गामुढा गर्दा रावलको टाउकोमा र विकको टाउको र खुट्टामा चोट लागेको छ । अभियुक्त हतकडीसहित फरार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक बमले बताउनुभयो ।
पोखरा: पोखरास्थित बेगनासतालमा परराष्ट्र मन्त्रालयका एक कर्मचारी मृत फेला परेका छन् । परराष्ट्र मन्त्रालयमा कार्यरकत ३१ वर्षीय नायव सुब्बा अनुप भण्डारी बेगनास तालमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बिहान करिव ८ बजेको समयमा बेगनासतालमा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनास्थलबाट शव तालबाहिर निकालेर हेर्दा साथमा भेटिएको परिचय पत्रको आधारमा भण्डारीको पहिचान खुलेको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र साधारण सदस्यबाट हटाएपछि डा. ढाकाकुुमार श्रेष्ठ अदालत पुगेका छन् । श्रेष्ठले पार्टीको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा हालेको रिटको सुनुवाई आज हुँदैछ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो। यस विषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले आफुलाई फसाइएको र आज अदालतबाट न्याय पाउने जनाएका छन् । ‘सबैलाई थाहा छ, मलाई फसाइएको हो’ श्रेष्ठले भने ‘सम्मानित अदालतबाट आज न्याय पाउनेमा विश्वस्त छु ।’ आफु राजनीतिबाटै सेवा गर्ने उद्धेश्यले लागेको भन्दै उनले कत्ति पनि विचलित नभएको बताएका छन् । सुनुवाइको व्यग्र प्रतीक्षामा रहेका श्रेष्ठ काठमाण्डौंमै छन् ।
काठमाडौं: पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले बताउनु भयो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. थापाका अनुसार पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतीय शव दाह गृह रहेका मध्य एउटा मात्र सञ्चालनमा रहेका छन् । बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण गरी निःशुल्क बनाइने जनाएको हो । अहिले सञ्चालनमा रहेको एक विद्युतीय शव दाह गृह र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण पछि जम्मा ५ वटा विद्युतीय शव दाह गृह हुने छ । यी विद्युतीय शव दाह गृह निर्माणको काम सकिएसँगै पशुपति क्षेत्र विकास कोषले सबै शवहरूको निःशुल्क शवहरूको दाहसंस्कार गर्ने तयारी गरेको बताइएको छ । अहिले पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शव दाह गृहमा ४ हजार रुपियाँ शुल्क लिने गरेको छ ।

