काठमाडौं : आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
पोखरा: भारतको सिक्किममा गएको हिउँ पहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको छ। साथै ३ नेपालीसहित १३ जना घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। हिजो मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् । यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।
पोखरा: पोखरा महानगरपालिका –१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुन: मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुन: गणना गर्न फैसला दिएको हो । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारको १०० दिनको उपलक्ष्यमा पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो। निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल र मट्टितेलमा १०/१० रुपैयाँ घटाउने सोमबार निर्णय गरेको थियो। उक्त निर्णयपछि पेट्रोल प्रति लिटर मूल्य १७५, डिजेल र मट्टिटेल प्रति लिटर १६५ कायम भएको छ। हवाइ इन्धनमा पनि १० रुपैयाँ घटाइएको छ।
पोखरा: पोखरा महानगरपालिका १७ विरौटाका इन्द्रप्रसाद अर्यालले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । आज (मंगलबार) अर्यालले विरौटा फिल पछाडी रहेको आफ्नै घरको कोठामा आगो लगाएर आत्मदाह गरेको कास्की प्रहरीले जनाएको छ । अन्दाजी ४५ अर्यालले आफु सुत्ने कोठामा आगो लगाएर आत्मदाह गरेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार सुरेन्द्र बजागाईंले जानकारी दिए। उनका अनुसार उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको हो। 'उहाँहरूले आ-आफ्नो ठाउँमा के/कस्ता कामहरू भइरहेका छन्, सोही विषयमा केन्द्रित भई कुराकानी भएको हो,' उनले भने। भेटमा मेयर हर्कले धरानमा पानी ल्याउने काम कसरी भइरहेको छ भनेर आफ्ना अनुभव साटेको थिए। उनीहरूले एकअर्कालाई 'सिलाम साक्मा' लगाइदिएका थिए। सिलाम साक्मालाई जीवन सुरक्षा कवजको रूपमा लिइने गरिन्छ।
ढोरपाटन: बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरूले भेडाबाख्रा पाल्दै आएका छन् । निसीखोला, तमानखोला र ढोरपाटनका उच्च पहाडी क्षेत्र पशुपालनका लागि उर्वर छन् । अहिले युवापुस्ता सहर केन्द्रित हुँदा र रोजगारीका लागि विदेश रोज्न थालेपछि भेडापालन सङ्कटमा पर्ने चिन्ता छ । वर्षै पहिलेदेखि पुस्ता हस्तान्तरण हुँदै आएको भेडापालन अहिले केही सुस्ताएको छ । माथिल्लो खर्कमा पुग्दा सेताम्मे भेडाका बथान भेटिन्छन् । भेडापालन गर्ने अधिकांश बुढापाका छन् । कृषकले मासुका लागि भेडा मात्रै बेच्दैनन् भेडाको रौँबाट बनेका कपडा पनि बेच्छन् । भेडाको रौँबाट बनेको हापदुला, काम्लो, बख्खु, घुमलगायत कपडा पानी तार्ने, हिउँमा जाडो छेक्ने तथा गर्मीमा घाम छेक्न उपयोगी मान्छिन् । आधुनिक प्रविधिसँगै विभिन्न प्रकारका कपडा भित्रिन थालेपछि स्थानीय उत्पादनले बजार पाउन छोडेको छ । कुनैबेला भेडा र रौँका कपडा बेचेर राम्रो आम्दानी गर्ने भेडापालक अहिले मासुका लागि मात्रै भेडा पाल्नुपर्ने स्थितिमा छन् । मासु गाउँमै बिक्री भए पनि ऊनका कपडा देशमा मात्रै नभएर विदेश पनि निर्यात हुने गर्दथ्यो । ऊनको कपडा बनाउन धेरै झन्झटिलो र समय पनि धेरै लाग्ने हुँदा पछिल्लो समय उत्पादनमा कमी हुन थालेको निसीखोलाका पुनराम बुढामगरले बताउनुभयो । यस्ता कपडाको मूल्य अन्य कपडाभन्दा महँगो पर्ने भएकाले स्थानीयको रोजाइमा कम पर्ने गर्छ । बुढामगरले भन्नुभयो, “पहिले भेडा पालेर राम्रो कमाई हुन्थ्यो, वर्षमा एक डेढ लाखको त घुम, काम्लो नै बिक्री हुन्थ्यो । भेडा पूजाआजा र चाडपर्वमा धेरै बेच्थे, अहिले त उही भेडा मात्रै हो, त्यही पनि बुढो भइयो पहिलेको जस्तो पाँच सय÷एक हजार पाल्न सकिन्न । माथि लेकलेकमा पुग्नुपर्छ, भेडाको ऊन निकाल्नु पर्छ, कपडा बुन्न धेरै समय लाग्छ ।” स्थानीय ७३ वर्षीय तिलु घर्तीले सानैदेखि भेडापालनमा लागेको र कपडा बनाउने गरेको सुनाउनुभयो । उतिबेला अहिलेको जस्तो ओढ्ने, बिछ्याउने सिरक, डसना नहुने भन्दै भेडाको ऊनबाट बनेको कपडा प्रयोग गरेको उहाँले सम्झनुभयो । कपडा लिन बुटवल, तानसेन पुग्न समस्या हुने गर्थ्यो । “अहिले लेकमा पनि बाहिरबाट आएका कपडा छन्, पहिलेको जस्तो दुःख छैन, जमाना फेरियो, ऊनको कपडाले घोच्छ रे, लगाउँदैनन्, हामीहरू त्यही लगाएर हुर्कियौँ”, उहाँले भन्नुभयो, “चप्पल सानोमा लगाएनौँ, हामी ठूलै भएपछि मात्रै लगाएका हौँ, अहिले घुम, काम्लो बुन्ने मान्छे भए, बुनेकाले बिक्री नभएको गुनासो गर्छन्, मैले सानै हुँदा बुन्न सिकेको थिए, अहिले अलिअलि त बुन्छु, पहिलेको जस्तो सकिँदैन ।” स्थानीय पविन्द्र घर्तीमगरले नयाँपुस्ताले सीप नसिक्दा परम्परागत कपडा हराउन थालेको बताउनुभयो । उहाँले केही वर्ष अगाडिसम्म विदेशबाट पनि बढी माग हुने गरेको सुनाउँदै अहिले घटेको बताउनुभयो । “पहिले एक परिवारले कम्तीमा एक हजार भेडा पाल्थे । तर अहिले निकै कम भयो”, उहाँले भन्नुभयो । घर्तीले भेडापालनलाई स्थानीय सरकारले प्रवर्धन गर्नसके राम्रो आम्दानीको स्रोत बन्ने बताउनुभयो । ऊनका कपडाले युवापुस्ताले मन नपराउँदा बजार पाउन मुस्किल परेको उनीहरूको गुनासो छ ।
काठमाडौं: साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार पनि नेप्से परिसूचक घटेको छ। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको सेयर बजारले यस दिन पनि निरन्तरता पाएको छ। यस दिन नेप्से ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ९१ करोड ७६ लाख १० हजार २९६ रुपैयाँमा सीमित भएको छ। यस दिन २६४ वटा धितोपत्रको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर किनबेच भएको हो। मंगलबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। यसदिन उक्त कम्पनीको सेयरमूल्य २५७ रुपैयाँ ८० पैसा पुगेको छ। यस्तै, सानिमा ग्रोथ फण्डको इकाई मूल्य ८.९३ प्रतिशतले बढेर प्रति इकाई मूल्य ८ रुपैयाँ ५ पैसा पुगेको छ। यसैगरी, यसदिन ८.५ प्रभु बैंक डिवेञ्चर २०८७ को मूल्य सर्वाधिक ९.२९ प्रतिशतले घटेको छ। उक्त डिवेञ्चरको मूल्य ७३८ रुपैयाँ पुगेको छ। यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ८.३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५७३ रुपैयाँ ९० पैसामा झरेको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ७ समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशतले घटेको छ। मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४१० रुपैयाँमा ३ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६९६ रुपैयाँ ६० पैसामा ३ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
काठमाडौं : संघीय राजधानीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी दुई युवकले एक बालिकामाथि सामूहिक बलात्कार गरेको हो। प्रहरीले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक घर भएका २१ वर्षीय आशिष तामाङ र काभ्रेपलाञ्चोक घर भएइका २१ वर्षीया कुशल श्रेष्ठलाई पक्राउ गरेको हो। तामाङले फेक फेसबुक आइडी बनाएर पीडितलाई साथी बनाएका थिए। च्याटका क्रममा ललाइफकाइ पीडित बालिकालाई उनीहरूले भेट्न आग्रह गरेका थिए। उनीहरूले टोखा नगरपालिका-३ ग्राण्डी अस्पताल नजिकै रहेको गेष्ट हाउसमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ। घटनापछि फरार रहेका उनीहरूलाई काठमाडौंको धापासीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार थप अनुसन्धान र कारबाहीका लागि पक्राउ परेका दुई जनालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।

