काठमाडाैँ: भारतको राजधानी नयाँ दिल्लीस्थित रेल्वे स्टेसनबाट सात जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ । एक हप्ते लामो विशेष उद्धार अभियानबाट सात नेपाली बालबालिकाको उद्धार गरिएको हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बङ्गलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै चार सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् । नयाँ दिल्ली रेल्वे स्टेसनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेसनका प्रवेश र निकासद्वारा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् । समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले सात दिनसम्म २४ घण्टा चलाइएको अभियानमा सात नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताउनुभयो । उहाँले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रूपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पुर्याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका धेरै बालबालिकाहरू दिल्ली पुग्ने गरेको बताउनुभयो । बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला सहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरूले बताएका छन् ।
स्याङ्जा: औषधि सेवनबाट निको हुने क्षयरोगको गण्डकी प्रदेशमा फागुन मसान्त सम्म एक हजार चार सय ४१ बिरामी फेला परेका छन् । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी रहेर छ महिना सेवन गरे निको हुने क्षयरोग हरेक दिन बढ्दै जाँदा सबैका लागि चुनौती बनेको छ । गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा दुई हजार चार सय ४७ बिरामी भेटिएकोमा यस आर्थिक वर्षको आठ महिनामा गत वर्ष भन्दा एक हजारले कम देखिएको हो । यहाँ आव ०७७/७८ मा भन्दा आव ०७८/७९ मा ५८२ जना बढी बिरामी भेटिएका थिए । क्षयरोगको मुख्य गरेर चैतदेखि असारसम्म सबैभन्दा धेरै बिरामी देखिने बताउँदै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग कार्यक्रम संयोजक राजेश यादव बिरामी भेटिने समय अगावै धेरै बिरामी भेटिएको बताउनुभयो । गत आर्थिक वर्षको यसै अवधिमा बिरामीको सङ्ख्या धेरै कम रहेको र अबको चार महिनामा यस भन्दा बढी बिरामी भेटिने उहाँको भनाइ थियो । गण्डकीमा आठ महिनामा सबैभन्दा धेरै कास्कीमा ३५८ जना बिरामी भेटिँदा सबैभन्दा थोरै मनाङमा तीन जना बिरामी भेटिएका छन् । नवलपुरमा ३३८, तनहुँमा १७६, स्याङ्जामा १७०, बागलुङ १४०, गोरखा ११९, लमजुङ ५३, पर्वत ४६, म्याग्दी ३३ र मुस्ताङमा पाँचमा क्षयरोगका बिरामी रहेका छन् । पाँच वर्ष पहिला एक जना बिरामी देखिएकोमा गत वर्ष दुई जना क्षयरोगका बिरामी मनाङमा भेटिएका थिए भने अहिले आठ महिनामै धेरै भेटिएका हुन् । भेटिएका क्षयरोगका बिरामीको सङ्ख्या कम भएको बताउँदै गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्रका निमित्त निर्देशक अरुणकुमार झाले बिरामीले रोग लुकाउँदा सरकारी तथ्याङ्कमा सङ्ख्या कमी रहेको बताउनुभयो । कसैले थाहा नपाउन भनेर निजी स्वास्थ्य केन्द्रमा सरकारको तथ्याङ्क भन्दा बढी बिरामीले औषधि सेवन गर्दै आएको उहाँले बताउनुभयो । सबै क्षेत्रबाट रोगको बारेमा सचेतना जगाएर जान सकेमा बिरामीको सङ्ख्या कमी आउने बताउँदै झाले आम नागरिक पनि यसमा जोडिनुपर्ने बताउनुभयो । ११ जिल्ला रहेको गण्डकीमा ७९२ डट्स सेन्टरबाट क्षयरोगका बिरामी उपचार हुँदै आएको छ । देशभर क्षयरोग नियन्त्रण केन्द्रका मार्च २४ को प्रतिवेदनमा आव ०७८/७९ मा ३७ हजार ८६१ बिरामी रहेको छ भने सरकारी सर्भेमा प्रत्येक वर्ष ७९ हजार बिरामी बढ्ने र १७ हजारको मृत्यु हुने तथ्याङ्क छ । आव ०७७/७८ मा देखिएका बिरामी भन्दा १० हजार १८४ ले ०७८/७९ बढी हो ।
पोखरा: पृथ्वीचोकमा रहेको पवित्र वचत तथा ऋण सहकारी संस्था लिं.ले ६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आइतबार पोखराको मुख्य वजारक्षेत्र पृथ्वीचोकमा सरसफाई गरेको छ । रानाभाट तथा भाट समाजद्धारा २०६८ सालमा स्थापना भएको सहकारीको प्रधान कार्यालय पृथ्वीचोकस्थित पोखरा मलमा रहेको छ । सहकारी दिवसको अवसरमा आफ्नो कार्यलय परिसर सरसफाई गर्दा समाजमा राम्रो सन्देश जाने भएकोले पृथ्वीचोकमा सरसफाई गरिएको सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले वताए । २०६८ सालमा रानाभाट समाजका ४८ जना शेयर सदस्यले स्थापना गरेको सहकारीमा हाल १३ सयको करिब शेयर सदस्य छन् । उक्त सरसफाइ कार्यक्रममा पदाधिकारी तथा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको व्यवस्थापक अप्सरा रानाभाटले वताईन् ।
पोखरा: पोखरामा राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी) लाई सम्मान गरिएको छ । नेपालले थ्री नेसन्स कप जितेपछि पहिलोपटक गृह जिल्ला आएका उनलाई स्पार्टस् क्यासल प्रालिले स्वागतसहित सम्मान अर्पण गरेको हो । पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक इश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई खादा माला तथा सम्मान पत्रमार्फत बधाई अर्पण गरे । सो अवसरमा बोल्दै पूर्व राष्ट्रिय फुटबल खेलाडी गुरुङले उदीयमान खेलाडी श्रेष्ठको उज्जल भविष्यको कामना गरे । उनले श्रेष्ठलाई बाल्यकालदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै अहिले आएर श्रेष्ठ आफ्नो सपना नजिक पुगेको उल्लेख गरे । ‘यिनीहरुलाई मैले सानैदेखि हातेमालो गर्दै आएको छ, उनले भने, ‘थ्री नेसन्स कपमा डेब्यु गर्दै देशको नाममा खेल्ने सपना अहिले आएर पुरा हुदैछ । आगामी दिनमा थप राम्रो गर्न चुनौती पनि छ त्यसका लागि म शुभकामना व्यक्त गर्दछु ।’ गुरुङले राष्ट्रिय टिममा स्थान बनाइरहनका लागि कडा मेहनत गर्नुपर्ने धारणा राखे । ‘सुमितको लागि यो अवसर निकै महत्वपूर्ण छ । र त्यतिकै चुनौती पनि छ । किनभने खेलाडीहरु निकै जन्मिरहेका छन् त्यसैले कडा मेहनत र परिश्रमी बन्नु आवश्यक छ’ उनले भने । सम्मान ग्रहण गर्दै फुटबलर सुमित श्रेष्ठले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको बताए । उनले आफु एउटा सपना नजिक पुगेको बताउदै थप मेहनत गर्ने सुनाए । ‘म तपाइहरुकै मायाले यहाँसम्म पुगेको छु । यो सम्मानले मलाई थप जिम्मेवारीको भारी बोकाएको छ, श्रेष्ठले भने, ‘म बोक्न मात्रै तयार छैन । गन्तव्यमा सकुशल अवतरण गराउन पनि तत्पर छु । त्यसैले झन कडा मेहनत गर्ने प्रण गर्दछु ।’ उनले आगामी दिनमासमेत आफुलाई साथ र सहगोग गर्न आग्रह गरे । ‘तपाइहरुको माया मेरो एउटा पावर हो जसले गर्दा म सधै छलाङ मार्न सकिरहन्छु, उनले भने ‘त्यसैले साथ र माया दिइरहनु होला ।’ सो अवसरमा श्रेष्ठलाई केल्मीको आधिकारिक विक्रेता शोरुमको तर्फबाट राज रम्तेलले आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठ जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलीरहेका छन् । सम्मान कार्यक्रममा बगर भाइखलकका वरिष्ठ उपाध्यक्ष इश्वर गुरुङ, कोषाध्यक्ष रमेश श्रेष्ठ, जुनियर बगर भाइखलकका अध्यक्ष धन बहादुर गुरुङ, एन्फा फुटसल विभागका पूर्व संयोजक विनोद गुरुङ खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल लगायतको सहभागिता रहेको थियो ।
पोखरा: सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आइतबार आफ्नो २० औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा भर्खरै सम्पन्न सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यरुलाई सम्मान तथा बधाइ ज्ञापन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधानले सामुदायिक प्रहरी सेवाले गरेका हरेक कार्यक्र उत्कृष्ट रहेको बताए । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिना सामुदायिकले गर्ने हरेक कार्यक्रम आफ्नो कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिवद्धता जनाए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले हरेक उतार चढावक बीच संस्था यो स्थानमा आएको बताउँदै आगामी दिनमा पनि संस्थाले उल्लेखनियक कार्यक्रमहरु गर्नु पर्ने बताउनुभयो । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरकी पूर्व अध्यक्ष तथा सल्लााहकार जीवन अधिकारीले समाजमा हुने विकृति विसंगती रोक्नका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताइन् । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर का अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामभूषण पराजुली र सचिव शिवराज अधिकारीले बोलेका थिए । संस्थाले स्थापना काल देखिनै विकृति विसंगती न्यूनिकरणका लागि सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन्। सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कतिपय सञ्चारमाध्यमहरू सरकारकै तर्फबाट सञ्चालन भएतापनी ती सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी हुन्। उनले त्यसका लागि सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन्। ‘प्रसारण ऐन पारित भइरहँदा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा पनि नयाँ वातावरण सिर्जना गछ,’ उनले भनिन्। मन्त्री शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन लगायत थुप्रै कानुनहरु अभाव रहेको र कानुन बनाउन मन्त्रालयका विज्ञहरूसँग छलफल गरिरहेको जानकारी दिइन्। उनले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरुलाई सञ्चारमाध्यमहरुले प्राथमिकता दिन जरुरी रहेको बताइन्।
पोखरा: पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आईतवार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । इन्द्रेणी थिएटरको स्थापना बि.सं.२०७६ मा भएको हो । स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ भने यहाँका स्थानीय सरकारी निकायहरू, बाङ्मय संस्थाहरू तथा अन्य समान उद्देश्य भएका विभिन्न संस्थाहरूसंग समन्वय गर्दै काम गरिरहेको पौडेलको भनाई छ । मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकठ्ठामा व्यस्त छन । उनीहरु आफ्नै शरीरका हरेक अङ्गसँग बेखबर छन् । आफ्नै मुटु सँग बेखबर छन जो मानिस भ्रूण देखी मृत्यु शैयामा पुगुन्जेल आफ्नै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने छ । कसरी प्रकृति चलिरहेको छ । यदी मानिस फुल भए के हुन्थ्यो ? मानिस खोला भए के हुन्थ्यो ? मानिस बादल भए के हुन्थ्यो ? मानिस बिउ भए के हुन्थ्यो ? यस्ता अनेक प्रश्नहरू मानिसको दिमागमा उब्जिन्छन् यो जीवन बाँच्ने फरक विल्कुल फरक तरिका तरिका रहेको नाटका निर्देशक र अभिनेता समेत रहेका पौडेलले दावी गरे । यसले मानव विकासक्रम र अन्त्यसम्मको संघर्षगाथा बताइरहेको छ । मञ्चमा पौडेल सँगै, कपिल शर्मा र दिपेन्द्र पौडेलको पनि अभियन हेर्न पाईनेछ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङ्ले संगीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ । २०२२ मार्च महिनामा इटालीस्थित पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, संगीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदार नाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्य रहेको थियो । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति इम्ब्रिओनिक तयार भएको थिएटरले जनाएको छ । यसलाइ २०७९ श्रावण ६ गते ढिकीडाँडा रिसोर्ट, घार्मीमा प्रदर्शन गरिएको थियो । २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेष्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो । पोखराका साथै काठमाडौंको मण्डला थिएटरमा भएको नेपाल इण्टरनेशनल थिएटर फेष्टिभलमा पनि यो नाटक भव्य प्रर्दशन भयो । त्यसपछि फरक फरक समयमा गरिएका कार्यशालाहरुले नाटकलाई परिस्कृत गर्दै यसपाली जापान यात्रामा लैजान लागिएको पौडेलले जानकारी दिए ।
मध्यविन्दु: नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु. दुई लाखको लगानीमा व्यावसायिकरुपमा स्ट्रबेरी खेती सुरु गरिएको उहाँले बताउनुभयो । “प्लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।” हालसम्म तीन क्विन्टलभन्दा धेरै स्ट्रबेरी स्थानीय बजारमा बिक्री भइसकेको किसान पराजुलीले बताउनुभयो । प्रतिकिलो रु. छ सयका दरले स्ट्रबेरी स्थानीय बजारमा सहजै बिक्री भएको छ । “स्थानीय बजारसगै बाह्य क्षेत्रबाट समेत माग आउन थालेको छ”, उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको स्ट्रबेरी माघबाट उत्पादन भएको र बिक्री गर्न सुरु भएको छ, सुरुमा आठ सय प्रतिकेजी बिक्री गरेको र अहिले छ सय प्रतिकेजी बिक्री भइरहेको छ । माग धेरै आउन थालेको छ । धान्नै गाह्रो भइसकेको छ ।” दुई कट्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी हुन थलोको छ । अहिलेसम्म रु दुई लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ । “इन्टरनेटको माध्यमबाट खेती गर्ने तरिका सिक्यौँ, कृषि विज्ञको सल्लाह लिएर प्लाष्टिक टनेलमा चितवनबाट गत वर्ष आठ सय स्ट्रबेरीका बोट ल्याई रोपेका हौँ”, उहाँले भन्नुभयो, “यसरी फस्टाउने कल्पना नै गरेका थिएनौँ अहिले दुई हजारभन्दा बढी स्ट्रबेरीका बिरुवा लगाएका छौ राम्रैसँग फल्न सुरु गरेको छ ।” एउटै बोटमा एक केजीसम्म स्ट्रबेरी फल्ने गरेको छ । आफ्नो घर परिवारसगै एक जनालाई रोजगार दिएको पराजुली बताउनुहुन्छ । स्ट्रबेरीका नयाँ बिरुवा तयार गरी नर्सरीसमेत बनाइएको छ । उत्पादन भएको सबै फल बिक्री नभएमा प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्कसेक बनाई बजारमा बेच्ने फार्म सञ्चालकको योजना छ । आफ्नो जमिन नभए पनि दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरी, खरवुजा, ड्रागन खेती, कागती, बयर, शीतलचिनी खेती गरेको पराजुलीले बताउनुभयो । ठाउँ र जातअनुसार स्ट्रबेरीका बिरुवा हुर्कन सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शङ्कर पौडलले बताउनुभयो । “फूल फुलेको करिब ३० देखि ४५ दिनभित्र फलको विकास हुन्छ र त्यसको १५ देखि २० दिनपछि फल टिप्नलायक हुन्छ”, उहाँले भन्नुभयो, “हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र सातदेखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।” पौष्टिकताका हिसाबले महत्वपूर्ण मानिएको यस फलमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, प्रोटिन र खनिजलगायतका तत्व पाइन्छ । स्ट्रबेरीलाई भुइँकाे फल भन्ने गरिए पनि स्थानीय भाषामा भने बुढी काफल भन्ने गरिन्छ । यो फल पिसाबसम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिने जनाइएको छ ।
स्याङ्जा: भीरकोट नगरपालिका–१, सिसौघारी आँधीखोला किनारमा निर्माण गरिएको पार्क पछिल्लो समय सबैको आकर्षणको केन्द्र बनेको छ। यो पार्क बालक, युवा, प्रौढदेखि वृद्धसम्म सबैको मनै लोभ्याउने गरी निर्माण गरिएको छ। सिद्धार्थ राजमार्गबाट करिब पाँच सय मिटरभित्र रहेको यस पार्कमा आउने सर्वसाधारणको सुरक्षाका लागि सीसी क्यामरासमेत जडान गरिएको छ। देशकै पहिलो बालमैत्री नगरपालिका भीरकोटमा बालवाटिकाको कल्पनाअनुरूप बालवाटिका एवं भीरकोट पार्क बनाएको हो। सबै वर्गका लागि सहज रहेको पार्क निर्माणको कल्पना तत्कालीन भीरकोट नगरप्रमुख छायाराम खनालले गर्नुभएको थियो। बालवाटिकाको सोचले निर्माण गरिएको पार्क अहिले नमुना र रमणीय बनेको बताउँदै नगर प्रवक्ता दीपेन्द्र केसीले अवलोकन, वनभोज र भेटघाटका लागि सार्वजनिक बिदाका दिन सर्वसाधारणको भीड लाग्ने गरेको बताउनुभयो। नगरपालिकाले ४४ रोपनी क्षेत्रफलमा २०७६ सालमा पार्क निर्माण सुरु गरेर दुई करोड रुपियाँको लागतमा दुई वर्षमा निर्माण सकेको हो। पार्कको प्रवेशद्धार गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको हो। सो पार्कमा फूलबारी, साना हरियाली रुखहरू, क्यारी, दुबोका बगैँचा, बस्न र खेल्नका लागि कुर्सी, ट्रस्ट, पोखरी, रमणीय र सुन्दर बगैँचा रहेको छ।

