उदयपुर : गाईघाटमा आइतबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको घटनास्थलमा नै मृत्यु भएको छ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे.१.ख.२१८४ नम्बरको ट्रकको ठक्करबाट प्रदेश नं. १–०५–००१ प.६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका -१४ का ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । मदन भण्डारी स्मृति लोकमार्गको गाईघाट बजारको मुख्यचौकमा मोटरसाइकल अचानक मोडिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । दुर्घटना लगत्तै प्रहरीले चालक झापा कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्रराज वंशी र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक हिमाली यातायात व्यावसायिक केन्द्र गाईघाटका व्यावसायी हुन् ।
महेन्द्रनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कञ्चनपुर आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री महेन्द्रनगर आउन लागेका हुन। सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा १७९ विद्यार्थी दीक्षित हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए। दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड, शिक्षामन्त्री अशोककुमार राईलगायतको सहभागिता रहने छ। विश्वविद्यालयबाट पासआउट भएका ८५५ जना विद्यार्थीमध्ये एक सय ७९ जना मात्रै दीक्षान्त समारोहमा सहभागी हुने उपकुलपति जोशीले बताए।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरूद्ध जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको एकल इजसालमा मुद्दाको पेशी तोकिएको छ। यसअघि गत बुधबार लामिछाने विरुद्ध मुद्दा 'हेर्न नभ्याइने'मा राखिएको थियो। सो दिन मुद्दाको पेशी काठमाडौं न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो। यसअघि चैत्र १३ गते मुद्दाको पेशी तोकिएपनि न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलास परेपछि सुनुवाइ स्थगित भएको थियो। सन्दीपलाई थुनुमा पठाउने आदेश दिएका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी परेपछि सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको थियो। न्यायाधीश घिमिरेले नै गत कार्त्तिक १८ गते सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर,पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताको भेटवार्ता भएको हो। छलफलमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसँगै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ।
मुस्ताङ: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले मित्रराष्ट्र चीनसँग जोडिने कोरला नाकाको स्थलगत अवलोकन गर्नुभएको छ । विभिन्न कार्यक्रमसहित मुस्ताङ पुग्नुभएको मन्त्री गाहामगर नेतृत्वको टोलीले सीमाको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको हो । मन्त्री गाहामगर नेतृत्वको टोलीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले सीमा र गाउँपालिकाको समस्याको बारेमा जानकारी गराएका थिए । स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री गाहामगरले कोरला नाकालाई सञ्चालनमा ल्याएको खण्डमा प्रदेशको आर्थिक विकासमा सघाउ पुग्ने बताउनुभयो । उहाँले सो नाकाको अवलोकन गर्न पहिलेपनि गएको बताउदै संघीय सरकारले नीतिगत रुपमा विशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो । साथै चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट सो नाकामा भौतिक संरचना निर्माणका लागि रकम विनियोजन भएको बताउनुभयो । अवलोकनका क्रममा मन्त्री गाहामगर नेतृत्वको टोलीलाई चिनियाँ सीमा सुरक्षामा रहेका प्रहरी टोलीले खादा लगाएर स्वागत गरेका थिए । सो अवलोकनमा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरी गण्डकी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ, मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसी, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल, मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, मन्त्रालयका सुचना अधिकारी शिव लम्साल, अन्य शाखा अधिकृतहरु तथा लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष, सदस्यहरु साथै स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता तथा रोशन बहादुर गाहा थापाले आम नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउनुभएको छ । मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासु जस्तै सम्बन्ध रहेको बताउनुभएको हो । उहाँले आपराधिक क्रियाकलाप रोक्नका लागि नागरिकको महत्वपूर्ण भूमिका रहने बताउनुहुँदै प्रहरीसँगको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्नुभयो । ‘सचेतना र अन्तरक्रिया कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सामिप्यता कायम गर्न सहयोग गर्छ, मन्त्री गाहामगरले भन्नुभयो, ‘नागरिक सचेत भएर समयमै सुचना दियो भने संभावित घटना रोकिन सक्छ । त्यसैले नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै छ ।’ मन्त्री गाहामगरले नेपाल प्रहरीले अघि सारेका कार्यक्रमहरु मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदारी कार्यक्रमको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ‘नागरिकका लागि ल्याउनुभएको यी कार्यक्रमहरु अत्यन्तै राम्रा र उपयोगी छन् तर यी कार्यक्रमहरुको कार्यान्वयन हुन अति आवश्यक छ’ उहाँले भन्नुभयो । मन्त्री गाहामगरले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गराउनका लागि प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहने बताउनुभयो । उहाँले पछिल्लो समय प्रहरीको कार्यशैली र व्यवहारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुहुदै आम जनताले प्रहरीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभयो । मन्त्री गाहामगरले अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न र समस्यालाई व्यवस्थित तरिकाले सम्बोधन गर्न पहल गर्ने बताउनुभएको थियो । यस्तै जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले नेपाल प्रहरीसँग मुस्ताङबासी सहकार्य गर्दै अघि बढेको बताउनुभयो । उहाँले भौगोलिक अवस्थाका कारण मुस्ताङमा सुरक्षाकर्मीहरुलाई काम गर्न कठिन रहेको उल्लेख गर्नुभयो । उहाँले अन्य जिल्लाका प्रहरीहरुलाई भन्दा तुलनात्मक रुपमा सेवामा वृद्धि गर्न अपरिहार्य रहेको बताउनुभएको थियो । सो नागरिकमैत्री प्रहरी कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले मुस्ताङमा रहेको विभिन्न क्षेत्रको समस्याबारे जानकारी गराएका थिए । उक्त समस्याहरुलाई स्थानीयहरुकै सहकार्यमा समाधान गर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो । उहाँले स्थानीय स्तरबाट उठेका प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने बताउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, घरपझोङ गाउँपालिकाका प्रमुख मोहन सिं लालचन लगायतले बोलेका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्रालयका सचिव बद्रीनाथ अधिकारीको सभापतित्वमा सम्पन्न नागरिकमैत्री प्रहरी कार्यक्रमको सञ्चालन मन्त्रालयका उपसचिव चण्डिका पौडेलले गर्नुभएको थियो ।
काठमाडौं: गैरआवसीय नेपाली संघ एनआरएनए जापानको अध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको आसन्न नेतृत्वका लागि श्रेष्ठले उम्मेदवारी दिने पक्का भएको हो । विगत १५ वर्षदेखि जापान रहेर व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । बाग्लुङ समाज जापानको अध्यक्ष भैसकेका श्रेष्ठ एनआरएनए जापानको सल्लाहकार, मानर्थ सदस्य, प्रवक्ता हुदै अहिले महासचिव पदमा कार्यरत छन् । एनआरएनको अन्तराष्ट्रिय अभियानमा श्रेष्ठ सुशासनको क्षेत्रमा काम गर्ने नेताको रुपमा चिनिन्छन् । प्रवक्ता रहदा एनआरएनए जापानमा भएको करोडौ भ्रष्टाचारबिरूद्ध उनले आवाज उठाएका थिए । सो भ्रष्टाचारको घटना सार्वजनिक गरेपछि सत्य तथ्य पत्ता लगाउन संस्थापक अध्यक्ष राजन प्रधाङ्गनको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन भएको थियो । सो समितिले झन्डै दुई करोड़ भन्दा माथिको रकम अनियमिता भएको प्रतिवेदन सार्वजनीक गरेको थियो । श्रेष्ठलाई एनआरएनए जापानको नयाँ नेतृत्वका लागि दाबेदार मानिदै आएको थियो । उनले आसन्न नेतृत्वका लागि उम्मेदवारी दिने पक्का गरेका हुन् । बाग्लुङ स्थायी घर भएका श्रेष्ठ तेक्वान्दोका राष्ट्रिय स्तरका खेलाडी समेत हुन् ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले संहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।
मुस्ताङ: हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक बसेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीको अध्यक्षतामा सुरक्षा बैठक बसको हो । सो बैठकमा हिमाली क्षेत्र मुस्ताङ जिल्लाको शान्ति सुरक्षा, अपराधिक त्रियाकलाप, ठगी चोरी निकासी, सेवाग्राहीको गुनासो, यातायात, कोरला नाका, सीमा स्तम्भको सुरक्षा, भ्रष्टाचार निवारण, वन्यजन्तु चोरी शिकारी, पर्यटकीय गतिविधि, धार्मिक स्थलमा आउने भक्तजनहरु, प्राकृतिक विपद् लगायत विविध विषयमा छलफल भएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापामगरले जनता र सेवाग्राहीहरुको गुनासोलाई छिटो छरितो, ढिलासुस्ती, आलटाल नगरिकन जनताका समस्यालाई सम्बन्धित कार्यालयहरुबाट समाधान गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । उक्त बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल र राष्ट्रिय अनुसन्धान व्यूरोका मुस्ताङ प्रमुख मदन पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेत तथा सुचना अधिकारी शिव लम्सालको सहभागिता रहेको थियो । प्रमुख जिल्ला अधिकारी तथा ४ वटै सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा लगायत अन्य विविध विषयमा ब्रिफिङ गर्नुभएको थियो ।

