काठमाडौं : सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला सात सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख दश हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भएको थियो। आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सप्तरी : सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को १५ प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो। मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन्। घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। घाइते ध्रुवको उपचार भइरहेको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ।
पोखारा: हेमजामा ११औं संस्करणको आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । मन्त्री गुरुङले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिर्दै अवको बजेट किसानमुखी बनाउन पहल भइरहेको उल्लेख पनि गरे । प्रदेशसभा सदस्य गणेशमान् गुरुङले कृषि कर्म गर्दा खुशी हुने संस्कारको सुरुवात गर्नुपर्ने स्पष्ट पार्दै यो पेशालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको औँल्याए । निर्वाहमुखी खेतीले केही नहुने स्पष्ट पार्दै सदस्य गुरुङले महोत्सवसँगै उत्पादनमा जोडिन प्रण गर्नुपर्ने बताए । कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै आयोजक प्रति आभार प्रकट गरे । आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजा बासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिए । पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको औँल्याए ।उनले बुहुउद्देश्यीय किसान सहकारीले सुरुवात गरेको महोत्सवलाई निरन्तरता दिएकोमा आयोजक क्लव प्रति आभार प्रकट गरे । उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका भरतराज ढकाल, हेमजाका अगुवा कृषक चित्रनाथ पौडेल लगायतले पनि धारणा राखे । उनीहरुले असली कृषक समच्छे अनुदान पुग्नुपर्ने, मुल्य श्रृङखला व्यवस्थापन गरी उत्पादनमा जुट्नुपर्ने बताएका थिए । कार्यक्रमकाबीच सहयोगदाता जेके क्रसर, कृषि अनुसन्धान निर्देशनालय लुम्ले, पोखरा महानगर कृषि महाशाखा, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र, मुख्य प्रायोजक, मुक्तिनाथ र एनएम्वि बैक, हाई ग्राउन्ड एडभेन्चर प्रा.लिसहित गुरुकुल विद्धासदनलाई सम्मान गरियो । महोत्सव अन्तरगत आइतवार कलाकारहरु चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, परशुराम अधिकारी र पुजा तामाङले प्रस्तुति राखेका थिए । त्यस्तै आज (सोमबार) लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बवि सुनारका प्रस्तुतिहरु रहनेछन् । कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लबले निरन्तरता दिएको हो । महोत्सवमा प्रतिकिलो रु ३५ मा आलुको कारोबार भइरहेको भने करिब ४० टन आलु विक्रीवितरण हुने आयोजकको अपेक्षा छ । मूल आयोजक समितिका अध्यक्षसमेत रहेका क्लब अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अस्विन थापाले स्वागत तथा महासचिव बसन्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।
काठमाडौं: हाम्रोबजार डट कम अनलाइन वेबसाइटमा आइफोनको विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए। हुम्ला सिमिकोट गाउँपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २४ वर्षीय उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो। उनले हाम्रोबजार डट कम नामको अनलाइन वेबसाइटमा आइफोन १४ प्रो म्याक्स जस्ता महंगा मोबाइल सेटलाई सस्तोमा दिने भन्दै विज्ञापन हालेका थिए। मोबाइलको डेलिभरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनको लागि रकम लाग्छ भनी विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाता, इसेवा, खल्ती वालेटहरूमा रकम पठाउन लगाएको एसपी रेग्मीले बताए। त्यसरी रकम लिएपछि सम्पर्कबिहीन भएको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले पीडितबाट एक लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ। ठगी कसूरमा अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी परिसर टेकूमा पठाएको छ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक कोटामा सांसद बनेका ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति ध्यानाकर्षण भएको जनाएको हो। रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ। केन्द्रीय अनुशासन तथा आचारण समितिले सो अडियो प्रकरणबारे २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिएको छ। रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको हो । सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्र बन्न व्यापारी प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।
काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ विन्दुमा पुगेको छ। आज २६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर १ अर्ब १५ करोड ९४ लाख ४८ हजार बराबरको कारोबार भयो। आज सबै उपसमूहको उपसूचक राताम्मे देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा उपसमूह १७९ दशमलव ९४ र निर्जीवन बीमा समूह १५३ दशमलव ३६ अंकले घटेको छ । बैंकिङ समूह १५.११,विकास बैंक समूह ६१ .५२,वित्त समूह २७.७३, होटल तथा पर्यटन समूह ४३.०४ र जलविद्युत् समूह ५७ .९० अङ्कले घटेको छ । त्यस्तै लगानी समूह ०.६६,उत्पादन तथा प्रशोधन समूह ४९. ८१, लघुवित्त ४४. ३५,म्युचुअल फन्ड ०.१०,अन्य समूहको १७.३ र व्यापार समूहको २७.३३ अङ्कले घटेको हो । आजको कारोबारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गिरावट माछापुच्छ्रे बैंक डिबेन्चर–२०८५ को सेयरमूल्य ७ .७५ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नविल बैंक लिमिटेडको ५ करोड ७८ लाख ५५ हजार र शिवम् सिमेन्ट लिमिटेडको ५ करोड ७८ लाख ३७ हजार बराबरको सेयर कारोबार भयो । कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने ग्लोबल बैंक लिमिटेडको प्रमोटर सेयर २ लाख २३ हजार चार सय ३७ कित्ता खरिद बिक्री भएको छ।
म्याग्दी: म्याग्दीमा शिक्षण पेसाप्रति महिलाको आकर्षण बढेको छ । शनिबार प्राथमिक तहमा एक सय जना शिक्षकले स्थायी नियुक्त पत्र लिँदा ४८ जना महिलाले स्थायी नियुक्ति पत्र लिएका छन् । महिलाका लागि अन्य सरकारी सेवाभन्दा शिक्षा सेवा सहज र सुरक्षित भएकाले यो पेसा रोजाइमा परेको हो । पुरुषहरूको पहिलो रोजाइ वैदेशिक रोजगारी र निजामती सेवातर्फ भएकाले महिलाहरूलाई शिक्षा सेवामा प्रवेश गर्न सहज भएको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो । धेरै जसो घरपायक पर्ने भएकाले पनि महिलाहरूलाई सहज हुने उहाँको भनाइ छ । "शिक्षक सेवाको परीक्षामा ४८ प्रतिशत महिला उत्तीर्ण हुन सफल हुनुभएको छ यो सकारात्मक पक्ष हो," हिकाई प्रमुख थापाले भन्नुभयो, "पछिल्लो समय स्थानीय स्तरमा करार र राहत कोटामा शिक्षक भर्ना हुँदा पनि महिला नै छनौटै हुने गरेका छन् । शिक्षक सेवाको परीक्षामा पनि महिला र पुरुष करिब बराबरी सङ्ख्यामा उत्तीर्ण हुनुले शिक्षा सेवामा महिलाको आकर्षण बढेको देखाउँछ ।" यसले शिक्षा सेवालाई समावेशी बनाउँदै शैक्षिक गुणस्तरमा पनि वृद्धि हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । म्याग्दीमा युवाहरू प्रायजसो वैदेशिक रोजगारीमा जाने भएकाले पनि शिक्षा सेवामा महिलाहरूको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । अन्य सरकारी सेवाभन्दा शिक्षक सेवा आफ्नो पहिलो रोजाइ भएको नियुक्ति पत्र बुझ्न आउनुभएकी रघुगंगा गाउँपालिका ३ मौवाफाँटकी उर्मिला रेग्मी खत्रीले बताउनुभयो । महिलाका लागि शिक्षक पेसा सुरक्षित र सहज भएको अनुभव गरेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, "मैले विगत ४ वर्षदेखि करार शिक्षकका रूपमा विद्यालयमा अध्ययन गराइराखेकी छु । शिक्षक पेसा अन्य सरकारी सेवा भन्दा सहज भएको अनुभूति गरेको छु।" शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका एक सय जनालाई शनिवार एक कार्यक्रमकाबीच नियुक्ति पत्र प्रदानसँगै शपथ ग्रहण गराइएको थियो । शिक्षा विकास तथा समन्वय हिकाई म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरूलाई एक समारोहकाबीच नियुक्ति पत्र प्रदान गरेको हो । यस वर्ष शिक्षक सेवा आयोगले लिएको तीन चरणकै परीक्षामा उत्तीर्ण भएर म्याग्दीमा प्राथमिक तहमा एक सय जना, निमाविमा ३२ र मावि तहमा १३ जना शिक्षक स्थायी हुन सफल भएका छन् । म्याग्दीमा प्रावि तहमा एक सय २६, निमाविमा ५९ र माविमा २६ जनाको कोटा निर्धारण गरिएको थियो । तीन वटै तहमा माग भएको कोटाभन्दा कम सङ्ख्यामा सिफारिस भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले बताउनुभयो ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता बाँड्न नसकिने बताएका छन्। रायले वर्षेनी साधरण खर्च बढ्दा धान्न नसक्ने अवस्थामा पुगेका कारण भत्ता बाँढ्न नसक्ने बताएका हुन्। उनले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको बताए। आर्थिक पत्रकार संघसँगको भेटमा उनले योगदानविना सामाजिक सुरक्षा भत्ताको रुपमा अर्बौं रुपैयाँ लामो समयसम्म दिन सक्ने अवस्थामा सरकार नभएको बताएका हुन्। 'यसरी अर्बौं रुपैयाँ कुनै योगदान बिना सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई गाह्रो हुन्छ। त्यसैले जनगणना २०६८ मा जति नागरिक पुगेका छन् सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा बाँध्नुपर्छ,' उनले भने। उनले सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए। अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको बताए। यसो गर्दा सरकारको सामाजिक सुरक्षाको दायित्व घट्ने बताए। उनले वर्षेनी अर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाममा खर्च गर्दा सरकारले विनियोजन गरेको बजेटले धान्न नसक्ने बताए।
म्याग्दी: बेनी नगरपालिका–२, लभ्लीडाँडाकी ६० वर्षीया पवित्रा कार्कीले ४० वर्षदेखि निरन्तर ताजा तरकारी र सागसब्जी बिक्री गर्दै आउनुभएको छ । बेनीमा कार्कीलाई तरकारी आमा भनेर चिन्छन् । एकाबिहानै कार्की तरकारी र सागसब्जीले भरिएको डोको बोकेर बेनी बजार झर्नुहुन्छ । एक घण्टाजति घरघरमा तरकारी सागसब्जी पु-याएर उहाँ फेरि उकालो लाग्नुहुन्छ । पवित्राको यस्तै दैनिकी विगत ४० वर्षयता निरन्तर छ । झरीबादल, चर्को घाम उहाँका लागि सामान्य छ । तरकारी र सागसब्जी बिक्री गरेर उहाँले वार्षिक १५ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । तरकारी खरिद गर्ने बजारमा उहाँका नियमित ग्राहक छन् । डोको बोकेर पवित्रा होटलदेखि सर्वसाधारणको घरघर पुग्नुहुन्छ । सबै किसिमका तरकारी पवित्राको डोकामा पाइन्छन् । उहाँले चाइनिज तोरी, लसुन, प्याज, पालुङ्गो, रायो, मुला र ताजा तरकारीमा काउली, बन्दा, गोलभेँडा दैनिक बेनी ल्याएर बिक्री गर्नुहुन्छ । “पहिला एक मुठाको एक रुपियाँमा पनि साग बिक्री गरेँ, धेरै वर्षपछि दुई रुपियाँ भयो । अहिले २० रुपियाँ र बेमौसममा उत्पादन गरेको साग मुठाको ५० रुपियाँसम्म बिक्री गर्ने गरेको छु,” पवित्राले भन्नुभयो, “एक डोका सागसब्जी बिक्री गर्दा अहिले एक हजार रुपियाँ आउँछ । तरकारी ल्याउँदा तीन हजारसम्म पार्ने गरेकी छु, मलाई आजकल त बजारमा तरकारी आमा बनेर बोलाउने गर्नुहुन्छ ।” दुई/तीन रोपनीमा सागसब्जी र तीन/चार रोपनीमा अन्य तरकारी खेती गर्ने गरेको पवित्राले सुनाउनुभयो । उहाँका श्रीमान् चन्द्रबहादुर कार्कीले जिल्लाकै नमुना कृषकको पहिचान बनाउनुभएको छ । पवित्राको परिवारमा श्रीमान्, छोरा र बुहारी छन् । सबै जना तरकारी खेतीमा आबद्ध छन् । कार्कीको खेतबारीमा बाह्रै महिना आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल हुन्छन् । तरकारीका साथै गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछापालनबाट पनि कार्की परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

