काठमाडौं : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन्। चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन्। महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए। सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन्। यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन्। यस्तै अध्यक्ष लामाले पुनः सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए। महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन्। छयात्तर जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । विसं २०३८ मा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो ।
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले प्रतिबन्धित लागु औषध गाँजा १८८.९ के.जी बरामद गरेको छ। गएराति विशेष सूचनाको आधारमा सर्लाही, मलंगवा न.पा.-११ गम्हरीयास्थित झिम खोला बाँध ईलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजादै गरेको गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ। १० गण नम्बर गणबाट खटिएको १५ जनाको गस्ती टोलीलाई देखेपछि प्रतिबन्धित २० पोका छाडी व्यक्तिहरु फरार भएका छन्।
गण्डकी: कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किनुभयो । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो । ‘दौँतरी’ नाम दिइएको कार्यक्रममा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाउनुभयो । सरुभक्तले ‘सपनाले सिसौको बोटमा आत्महत्या गर्दैछ’, ‘चट्टानहरु’, ‘एक किलो अक्षर’, ‘बम खसेको पहाड’ बाटलगायत कविता सुनाउनुभयो । तीर्थले ‘हिउँमा लेखिएका नामहरु’, ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’, ‘मातेको बेला’आदि प्रस्तुत गर्नुभयो । सरुभक्तले तीर्थको कविता ‘आमा’ वाचन गर्नुभयो । तीर्थले सुरुभक्तको ‘कसरी नाम दिउँ म तिमीलाई’ सुनाउनुभयो । कविता पाठसँगै दुवैले सिर्जन–कर्मका अन्तरकुन्तर पनि खोल्नुभयो । विगततिर फर्किएर आफ्नै कविताका रचना गर्भ कोट्याए । उमेरले चार वर्षले तलमाथि भए पनि सुरुभक्त र तीर्थ पोखराका साहित्यिक दौँतरी हुनुहुन्छ । विसं २०१२ सरुभक्त र २०१६ तीर्थको जन्म वर्ष हो । उहाँहरुको मित्रता भने ४५ वर्ष लामो छ । विसं २०३५ देखि तीर्थ र आफूबीच सङ्गत सुरु भएको सरुभक्तले बताउनुभयो । ‘हिउँमा लेखिएका नामहरु’ कविता सुनाउँदै कवि तीर्थले सो कवितालाई सरुभक्तसँगको सम्बन्धको ‘स्मारक’का रुपमा अथ्र्याउनुभयो । सरभक्तले पनि तीर्थको उक्त कवितालाई आफूहरुबीचको मित्रताको निशानीका रुपमा लिनुभयो । सरुभक्तसँगै विसं २०५५ तिर पञ्चासे–भञ्ज्याङ पुगेर फर्केपछि तीर्थले उक्त कविता लेख्नुभएको थियो । “पञ्चासेबाट फर्किँदा हिउँले बाटो सेताम्मे भएको थियो, गाउँलेले टेक्न दिएको लौरोले हिउँमा सुरुभक्तको नाम लेखेँ”, तीर्थले भन्नुभयो, “त्यो यात्राले कविता जन्मायो, कविता लेख्नै मलाई छ महिना लाग्यो ।” कवि तीर्थको उक्त कवितालाई छोटो तर शक्तिशाली मानिन्छ । साहित्यिक मञ्चमा उहाँले सुनाइरहने कवितामा पर्छ- ‘हिउँमा लेखिएका नामहरु’ । हिउँमा रमाउँदै पञ्चासेबाट फर्कँदाको तस्बिर अझै पनि आफूसँग सुरक्षित रहेको सुरुभक्तले बताउनुभयो । संरक्षण कविता आन्दोलनताका आफूसँगै तीर्थ, विक्रम गुरुङ र अनिल रञ्चितकार पञ्चासे पुगेको उहाँले सम्झनुभयो । सुरुभक्तले तीर्थसँगको मित्रताबारे पोखराबाहिर पनि चर्चा हुने गरेको बताउनुभयो । “कुनै विषयमा सहमति–असहमति हुनु बेग्लै कुरा भयो, नत्र हामीबीच जहिल्यै निःस्वार्थ र हार्दिक सम्बन्ध छ”, उहाँले भन्नुभयो । कवि तीर्थले सुरुभक्तसँग भेट भएपछि जीवनमा धेरै कुरा भेटिएको बताउनुभयो । पोखरेली युवा सांस्कृतिक परिवारलाई आकार दिनेदेखि कैँयन साहित्यिक अभियान र सिर्जनात्मक काममा आफूहरु सँगसँगै रहेको उहाँले उल्लेख गर्नुभयो । पोखरेली वाङ्मयिक जगतमा सरुभक्त र तीर्थ पर्यायवाची जस्तै हुनुहुन्छ । दुवै पोखरामा रहेर पनि राष्ट्रियस्तरमा छवि उठाएका प्रतिभा हुनुहुन्छ । दुई घण्टा बढी चलेको कार्यक्रमको सहजीकरण सङ्घका अध्यक्ष डा ईश्वरमणि अधिकारीले गर्नुभएको थियो । ‘दौँतरी’ शृङ्खलाको शुभारम्भ दुई प्रसिद्ध कविबाट गर्न पाउँदा गौरवको अनुभूति भएको अध्यक्ष अधिकारीले बताउनुभयो । ‘दौँतरी’को आउँदो भागमा दुई मुक्तककारलाई प्रस्तुत गर्ने सङ्घको तयारी छ । “वर्षमा दुई वटा शृङ्खला चलाउने सोचिरहेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो । RSS
बागलुङ: बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्केरी व्यथा लागेर लामो समयसम्म सुत्केरी हुन नसकेपछि पुनलाई पोखरा पु¥याइएको हो । शनिबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगको समन्वयमा हेलिकोप्टरमार्फत पोखरा पु¥याइएको र हाल पुनको उपचार भइरहेको गलकोट नगर अस्पतालका डा राजेश पौडेलले जानकारी दिनुभयो । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी स्वास्थ्य मन्त्रालयको कार्यविधिअनुसार उहाँको उद्धार गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । पुनको रिघा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि गलकोट नगर अस्पताल सिफारिस गरिएको थियो । अवस्था थप जटिल बनेपछि आकस्मिकरूपमा उपचारका लागि पोखरा पठाइएको र अहिले पुनको शल्यक्रिया गरी बच्चा जन्माएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
पोखरा: फेवातालको सिमसार क्षेत्र पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका सञ्चालक युवराज खतिवडाका २ वटा ट्रिपर पोखरा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । फेवाको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका खतिवडाको २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो । पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । थापाका अनुसार खतिवडा महानगरको पटके कारबाहीमा परिसकेका व्यक्ति हुन् । उनले लामो समय देखी फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपियाँमा लिने गरेको पाइएको छ । सिमसार क्षेत्र पुर्नका लागि उनले रातको समयमा काम गर्ने गरेका छन् ।
पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको छ । संसदीय दलका तर्फबाट आज आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान गण्डकी प्रदेश सरकार अल्पमतमा परेको भन्दै कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराउनुभएको हो । एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रले शुक्रबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । निर्वाचनका समयमा राजनीतिक दलहरूबीच भएको तालमेल तथा त्यसपछि बनेको सरकारमा भएको समीकरण बदलीएको छ । नयाँ गठबन्धन निर्माण भएसँगै देशको राजनीति पुनः सही ‘लिक’ मा प्रवेश गरेको दलका नेता पाण्डेको दाबी छ । अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि न्यून रहेको अवस्थामा वर्तमान सरकारले आर्थिक दायित्व सिर्जना गर्न, कर्मचारी नियुक्ति, सरुवा–बढुवा लगायतको काम गर्नु न्याय सङ्गत नहुने उहाँले बताउनुभयो । अब सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गर्दै नेता पाण्डेले गठबन्धनका दलबीच छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ । दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले विसं २०६७ मा पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । जनतालाई सहजरुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताउनुभयो । अस्पतालले श्वासप्रश्वासको विशेषज्ञ सेवा सुरुआत गरेको छ । पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ स्मृति दिवसको अवसर पारेर अस्पतालले विशेषज्ञ चिकित्सकबाट श्वासप्रश्वासको उपचार सेवा सुरु गरेको हो । हालसम्म जनरल अस्पतालका रुपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्देश्यबमोजिम श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । अस्पतालमा श्वासप्रश्वास सेवाका लागि श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङलाई नियुक्त गरिएको छ । “अस्पताल स्थापनाको मुख्य उद्देश्य श्वासप्रश्वाससम्बन्धी उपचारका लागि हो, हालसम्म जनरल सेवामात्रै दिइँदै आएकामा अब श्वासप्रश्वासको उपचार सेवा सुरु भएको छ”, डा श्रेष्ठले भन्नुभयो । श्वासप्रश्वास सेवाका लागि अस्पतालमा एक विशेषज्ञसहित तीन चिकित्सक, तीन स्टाफ नर्स र एक जनस्वास्थ्य निरीक्षकको व्यवस्था गरिएको छ । उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण विस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । “भएका उपकरणमार्फत सेवा दिने र बाँकी उपकरण विस्तारै थप्दै जाने नीति छ”, श्रेष्ठले भन्नुभयो । अस्पतालमा दैनिक दुई सय ५० भन्दाबढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । अस्पतालमा नै श्वासप्रश्वास उपचार सेवा सुरु भएपछि यस भेगका सर्वसाधारणले अन्यत्र जिल्ला गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । उपचार केन्द्रले विभिन्न रोगका उपचार सेवा थप गर्दै गइरहेको छ । केही समय अगाडि मात्रै उपचार केन्द्रमा थाइराइड परीक्षण सेवा सुरु भएको थियो । केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभुषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आउनुभएको छ । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सजिलो भएको छ । अस्पतालमा तीन जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्स–रे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ । पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने गरेका छन् ।
काठमाडौं: गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो । सरुवा हुनेमा १४ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) सहित रहेका छन् । गृह सचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले अतिरिक्तमा रहेका ११ सहसचिवको पदस्थापन र तीनजनाको सरुवा गरेको छ भने ११ जना सहसचिवको विभिन्न निकायमा सरुवा गरेको छ । जसअनुसार सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ । सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । यसैगरी, मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर, रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्यूठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रजिअ, धनकुटाकी लीलाकुमारी केसी (पाण्डे) लाई पाँचथरको सप्रजिअ, दोलखाका प्रजिअ शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रजिअ, रामेछापका प्रजिअ शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीको सहायक प्रजिअमा सरुवा गरिएको छ । यसैगरी, जिल्ला प्रशासन कार्यालय लमजुङका प्रजिअ वसन्तराज पुरीलाई सहायक प्रजिअ दोलखा, पर्वतका प्रजिअ चित्राङ्गत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वतको सहायक प्रजिअ र प्यूठानका प्रजिअ वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रजिअमा सरुवा गरिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रजिअहरु क्रमशः कृष्णचन्द्र पौडेल, मुकेशकुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्यूठान, धनुषा र धनकुटाको सहायक प्रजिअ बनाई पठाएको जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेका बताएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकीको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले यस्तो धारणा राखेका हुन् । ‘लोकसेवा आयोगमा जनताले विश्वास गरेका छन्, लोक सेवा र न्यायपालिकाले निष्पक्ष रुपमा काम गरेको छ, गुरुङले भने, ‘अहिले अन्य क्षेत्र भन्दा लोक सेवा आयोगमा जनताले बढी विश्वास गरेका छन्, लोक सेवाले राम्रो काम गर्दै आएको छ ।’ उनले संघीयतालाई कार्यान्वयन गर्न संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आवश्यक रहेको समेत बताए । ‘संघीयताप्रति केहीले विश्वास नभएको अभिव्यक्त गर्न थालेका छन्, संघीयता आवश्यक छ भनेर विश्वास दिलाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ, उनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई अधिकार नदिनु संघीयता विपरित हो ।’ प्रदेश प्रमुख गुरुङले संघले प्रदेश सरकारलाई अपाङ्ग बनाउँदा जनताले चाहे अनुसार काम गर्न नसकेको समेत बताए । यस्तै कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लोक सेवाले निष्पक्ष कर्मचारी निर्माण गर्न सफल भएको बताए । ‘लोकसेवामा राजनीतिको प्रभाव हुन्छ भन्ने नकारात्मक सन्देश आमजनतामा हुन सक्छ, अधिकारीले भने, ‘लोक सेवा राजनीतिक भागबन्दामा चल्दैन, निष्पक्ष तरिकाले लोक सेवा आयोग चलिरहेको छ ।’ गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले लोकसेवामा अहिले आर्कषण घटेको भन्दै चिन्ता व्यक्त गरे । ‘लोक सेवाको तथ्याङ्क अनुसार महिलाको भन्दा पुरुषको तथ्याङ्कमा घटेको छ, समर्गमा महिलाको बढेपनि पुरुषको घटेको छ, गुरुङले भने, ‘वैदेशिक यात्रा र अन्य क्षेत्रमा आर्कषण बढेर जाँदा लोक सेवामा युवाहरुको आर्कषण घट्न थालेको छ ।’ उनले पछिल्लो समय आशा लाग्दो तथ्याङ्क नभएकाले यसमा अनुसन्धान गर्न आवश्यक रहेको कुलपति गुरुङले धारणा राखे । प्रदेश लोकसेवा आयोग गण्डकीको दोर्सो वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, उच्च अदालत पोखराका न्यायधिस इन्द्रराज आचार्य, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा प्रदेश लोक सेवा आयोग गण्डकीमा कार्यरत कम्प्युटर अधिकृत लक्ष्मीप्रसाद पोखरेललाई नगदसहित सम्मान गरेको थियो ।

