पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौँ:  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ ।   यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ ।    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा ७.४६ प्रतिशतले घट्न पुगेको छ । 

काठमाडौं : सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्या चार लाख नाघेको छ। सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्।    कोषले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो। कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन्।    कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन्।    कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ। कोषमा १७ हजार सात सय ३९ रोजगारदाता आबद्ध भएका छन्।    कोषले हालसम्म ३० अर्ब ११ करोड रुपैयाँ योगदान संकलन गरेको छ। कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ।    पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ।    औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ।    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजित एक कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गरेका थिए।।    वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सूचीकृत गराउन सुरु भएसँगै विदेशमा रोजगारी र स्वरोजगारमा रहेका लाखौँ श्रमिक योजनामा समावेश हुने अनुमान गरिएको छ।    गैरआवासीय नेपाली संघ (एनआरएन)ले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गर्दै आएको थियो।    कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ। 

गण्डकी:      लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल अलपत्र परेको छ । पोखरा-२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । बजेट अभावमा डेढ वर्षदेखि निर्माण ठप्प छ ।  पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताउनुभयो ।   चालु आवमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन पहल भइरहेको अध्यक्ष खड्काले बताउनुभयो । अहिलेसम्म कभर्ड हलमा रु. एक करोड दस लाख खर्च भइसकेको उहाँको भनाइ छ । आव २०७४/०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु. ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो ।  त्यसयता राष्ट्रिय खेलकुद परिष्दको रु. ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रु. २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु. २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ । “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने उहाँको भनाइ छ । सुरुमा रु. तीन करोडको बजेट अनुमान गरिएपनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ । नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिनुभएको थियो । प्रदेश सरकारका प्रतिनिधिले पनि पटकपटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् ।   तर बजेटकै कारण महत्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । “जुन उद्देश्यले कभर्ड हलको योजना सुरु गरेका थियौँ, त्यो अनुसार काम नहुँदा हामी पनि दुःखी छौँ”, अध्यक्ष खडकाल भन्नुभयो, “अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनौ, सरकारसँग हारगुहार गरेर भएपनि कभर्ड हल बनाउँछौँ ।”   पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।  “कोभिड–१९ महामारी जस्ता कारणले पनि खेल पूर्वाधारमा बजेट कटौती भयो, अब बजेट र स्रोतसाधन जुटाएर कभर्ड हललाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्छ, पूर्वाधार नै नभए खेलकुद क्षेत्र अगाडि बढ्न सक्दैन ।” लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाई गर्नुपर्ने कार्यालय प्रमुख योगीले बताउनुभयो । “खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रङ्गशाला बन्छ”, उहाँले भन्नुभयो । रङ्गशालामा भएका संरचनाको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको पोखरा-२९ आदर्शचोकका पूर्ण खत्रीले बताउनुभयो । “स्थानीयवासीले पैसा उठाएर बनाएको ब्याडमिन्टन कोर्टमा तोडफोड हुन थालेपछि हामी जानै छोड्यौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार नै नभएपछि रङ्गशाला नाम मात्रको भएको छ ।” रासस  

गोर्खा:  गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार भएको छ ।   बुधबार साँझदेखि हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।   उनीहरु मंगलबार घुम्न निस्किएका थिए । तर समस्यामा परेको सूचना सुरक्षाकर्मीले बुधबार साँझ मात्र पाएका थिए । तत्कालै उद्धार टोली परिचालन गरिएको थियो ।   उनीहरुलाई चुमनुब्री गाउँपालिकाको अप्ठेरो ठाउँमा फेला पारेर उद्धार गरी धर्मशालामा ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।   प्रजिअ भुसालका अनुसार उनीहरु कसरी त्यस्तो अप्ठ्यारो ठाउँसम्म पुगे भन्ने खुलेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्।   उनले सञ्चारमाध्यम सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताए।   आज सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताए।   ‘सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ,’ उनले भने।   उनले अहिलेको सरकार संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढतापूर्वक अगाडि बढिरहेको बताए।   ‘सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा छ,’ उनले भने, ‘मैले दृढताका साथ संकल्प गरेको छु, सम्पूर्ण तागतका साथ निरासा र आशंका चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोटमा दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको छु।’

झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्।   जिल्लामा तीन दर्जन बढि आवास भवनको उद्घाटन गर्न अध्यक्ष ओली झापा आउन  लागेका हुन्। उनी  दिउँसो १ बजे झापा आउने कार्यक्रम तय भएको छ।   उनले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।

काठमाडौं : सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको  छ। अघिल्लो कारोबार दिन बुधबार दुई हजारले घटेर प्रतितोला सुन १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।   नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ९ हजार रूपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ।   सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। यसदिन  चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ।   बुधबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

नयाँ दिल्ली:  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दैआएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । नयाँ दिल्लीमा आज बुधवार भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा उहाँले सो आग्रह गर्नुभएको हो ।    ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अत्यधिक शुल्क लाग्नेगरेको गुनासो छ’ मन्त्री शर्माले भन्नुुभयो, ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसूल दरमा सेवा उपलब्ध गराउनुपर्छ ।’   नेपाल र भारत नजिकका छिमेकी राष्ट्र भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकोप्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुुभयो, ‘यसमा दुवै देशका सेवा प्रदायक र नियामक निकाय सजग हुनुपर्ने देख्छु ।’    त्यस्तै, सञ्चारमन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ पनि भारतीय पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो । मन्त्री शर्माले भन्नुुभयो, ‘भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकाले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म आग्रह गर्छु ।’   विशेषतः नेपाली च्यानल भारतमा डाउनलिङ्क गर्दा अत्यधिक शुल्क लाग्ने भएकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुनुपर्ने उहाँको भनाइ छ । प्राकृतिक सौन्दर्य र संस्कृतिको धनीमुलुक नेपाल चलचित्र छायाङ्कनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुुभयो, ‘यस सन्दर्भमा नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्तालाई उत्प्रेरित गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।    नेपालमा ‘चलचित्र नगरी’ निर्माण गर्न लगानी गरी लगानीकर्ताले उचित प्रतिफल प्राप्त गर्न सक्छन् उहाँले भन्नुभयो । नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न भारत सरकारले लामो समयदेखि विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउँदैआएको र अहिले पनि नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक परेको उहाँले चर्चा गर्नुभयो ।   शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उहाँले भारत सरकारसँग अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसैगरी सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट अधिकाधिक सहभागिता हुने वातावरण बताइदिन उहाँले आग्रह गर्नुभयो ।    ‘सूचना प्रविधिको विकाससँगै यस क्षेत्रको जोखिम पनि बढ्दैगएको छ । साइबर सुरक्षा प्रमुख चुनौतिको रूपमा देखापर्न थालेको छ’ बैठकमा मन्त्री शर्माले भन्नुुभयो, ‘यसका लागि हामी दुई मुलुक मिलेर अघि बढ्नुपर्ने आवश्यकता मैले महसूस गरेको छु ।’ आपसी सूचना, अनुभव र अभ्यास आदानप्रदान गर्ने दिगो संयन्त्र तयार गरी क्षमता विकास गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।    रेडियो नेपाल र अल इण्डिया रेडियोबीच एक अर्काका विषयवस्तु प्रसारण गर्नेलगायतका विषयमा समझदारी गर्नेगरी तयारी भएको आफूूले बुुझेको उहाँले बताउनुभयो । मन्त्री शर्माले समझदारीपत्रको मस्यौदामा नेपालको प्राविधिक टीमले अध्ययन गरिरहेको र छिट्टै यो विषय निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।    अन्तर्राष्ट्रिय दूरसञ्चार संघको क्षेत्रीय कार्यालय भारतमा उदघाटन हुनुुले यस क्षेत्रको दूरसञ्चारसम्बन्धी क्रियाकलापमा थप मद्दत पुग्ने अपेक्षा व्यक्त गर्दै उहाँले सूचना प्रविधिको तीब्र विकास भइरहेको यस युगमा यो कार्यालय नयाँदिल्लीमा स्थापना गर्न सफल भएकोमा भारत सरकारलाई बधाई दिनुुभयो ।    ‘यहाँलाई अवगत नै छ नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । समुद्रसम्मको हाम्रो पहुँचलाई भारत सरकारले रेल तथा सडक यातायातबाट सहज बनाइदिएको छ । यसका लागि म धन्यवाद दिन्छु’ मन्त्री शर्माले थप्नुभयो, “सूचना प्रविधिको उपयोगलाई थप सहज र सुलभ बनाउन समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु । विशेषतः नेपालले अन्तर्राष्ट्रिय ब्याण्डवीथ प्राप्त गर्न सक्षम हुनेगरी सबम्यारिन केवलसम्मको पहुँच सुनिश्चित गर्न भारतले सहयोग गरोस् भन्ने मेरो आग्रह छ ।”    हाल नेपालले भारतका सेवा प्रदायकमार्फत् इन्टरनेट ब्याण्डवीथ प्राप्त गर्नेगरेको स्मरण गराउँदै उहाँले नेपालले प्राप्त गर्ने ब्याण्डवीथमध्ये ८० प्रतिशत एकै बिन्दु (भैरहवा–सुनौली) बाट मात्र आइरहेकाले भारतीय सेवा प्रदायकहरूलाई वैकल्पिक रुटबाट समेत ब्याण्डवीथ उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।    भारतले मोबाइल सेवामा फाइभजी प्रविधि भित्र्याएको हुँदा सोको कार्यान्वयनको अवस्था र उपयोगका सम्बन्धमा अनुभव नेपालका लागि पनि लाभदायी हुनसक्ने महसुुस गरेको उल्लेख गर्दै मन्त्री शर्माले यस सम्बन्धमा प्राविधिक तहमा कुरा अगाडि बढाउन सकिने बताउनुुभयो ।    भारत सरकारले नेपाललाई स्याटेलाइट उपयोग गर्न प्रस्ताव गरेकोमा धन्यवाद दिंदै उहाँले यसको प्राविधिक र सञ्चालन लागतका बारेमा थप अध्ययनगरी निस्कर्षमा पुग्ने जानकारी दिनुुभयो । 

पोखरा: अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्षित गरि तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कास्की जिल्लामा रहेर अनलाईन सम्बद्ध पत्रकार, संचारकर्मीहरुलाई संघमा समेट्ने नीति अवलम्बन गर्ने निर्णय अनुसार नयाँ सदस्यता आह्वान गर्न निर्णय गरिएको अनलाईन पत्रकार संघ गण्डकीका सचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिनुभयो । कास्की जिल्लामा अहिले ९३ अनलाईन दर्ता भएर सञ्चालनमा रहेपनि ५२ जनामात्रै संघमा सदस्य रहेको कारण सबैलाई समेट्ने उद्देश्यले चैत मसान्तभित्र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको हो । दर्ता भएका अनर्लाइनसम्बद्ध पत्रकार र संचारकर्मीलाई संघको नियमानुसार सदस्यता वितरण गर्ने र सदस्यहरुलाई तालिममा सहभागि गराइने उहाँको भनाई छ । सदस्यता लिन https://ojag.org.np/ मा गएर लगइन गरि अनलाईनबाट सदस्यता फारम भर्न सकिने संघका अध्यक्ष बरालले बताउनुभयो । विधिवत दर्ता भएर स‌ंचालनमा रहेका अनलाइनका संचारकर्मी, पत्रकारहरुलाई संघमा आवद्द हुन अध्यक्ष बरालले अनुरोध गर्नुभएको छ । त्यस्तै बैठकले समितिको सल्लाहकारमा सागरराज तिमिल्सिना, प्रकाश ढकाल, केशव पाठक, रञ्जन अधिकारी, कमल सुवेदी र सन्देश श्रेष्ठलाई चयन गरेको छ । बैठकले संघको तेश्रो साधारसभा र दोश्रो अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चयन गर्न भुमिका खेलेका निवर्तमान कार्यसमिति, निर्वाचन समिति लगायत सम्पुर्ण सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरेको छ ।