काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मानव सभ्यता विकासका लागि जातीय विभेद र छुवाछुत बाधक रहेकाले यस्ता विकृतिका अन्त्य गर्नुपर्ने बताए। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले छुवाछुत र जातीय हिंसाविरुद्ध सबै एकजुट भएर सामाजिक न्याय,समानता,स्वतन्त्रताका माध्यमबाट शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने उल्लेख गरे। शिष्ट र सभ्य समाज निर्माणका लागि जातीय हिंसा, छुवाछूतजस्ता विसङ्गतिको अन्त्य गर्नुपर्नेमा सन्देशमा जोड दिइएको छ । नेपाली समाजलाई यस्ता हिंसा र विभेदबाट मुक्त गरी समानता कायम गर्न आफ्नो पार्टीले लामो समयदेखि राजनीतिक गतिविधि गरेको भन्दै जातीय हिंसालगायत विकृतिविरूद्ध चेतनामूलक अभियानको खाँचो औँल्याइएको छ । संयक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।
पोखरा: नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ । शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा स्व.पुन परिवारको तर्फबाट नाति नविन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ रहेको छ । सो कार्यक्रममा पुन परिवारका लोक पुन, उमेश पुन , मञ्चका सचिव शशी कुमार पौडेलको उपस्थिती रहेको थियो । मञ्चले आयोजना गर्ने उक्त अवार्डमा आफ्नो परिवारजनबाट निरन्तर रुपमा सहयोग गर्न पाएकोमा नेपाल सेभेन ए साइड फुटवल महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका नविन पुनले खुःशी व्यक्त गरे । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व.सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार उक्त विधामा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । आगामी वैशाख २३ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी मञ्चले ती विधामा अवार्ड प्रदान गर्नेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्डलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा क्लव पोखरा लगायतले सघाउने छन् । यसका साथै अवार्डलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाट पनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको जानकारी दिए ।
पोखरा: कास्की जिल्ला फुटवल संघ (एन्फा) का अध्यक्ष एवं पूर्व फुटबल खेलाडी उज्जल रन्जितलाई पितृ शोक परेको छ । पोखरा १० रामबजार निवासी रन्जितका बाबु लक्ष्मण रन्जितको ७९ बर्षको उमेरमा हिजो बेलुका निधन भएको पारिवारीक श्रोतले जनाएको छ । लामो समय वन कार्यालयमा कार्यरत लक्ष्मण मृगौला रोगबाट प्रभावित रहेका थिए । आज बिहान ९ः०० बजे उनको निवास रामबजारबाटै शवयात्रा सहित अन्तिम दाहसंस्कार हुने भएको स्थानिय शुर्दशन रन्जितले बताए । स्वर्गीय लक्ष्मणका १ श्रीमती, ३ छोरा, २ छोरी रहेका छने भने उज्जल माइला छोरा हुन्।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिंदै उनले सभ्य र सु-संस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन् । ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु-संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भने ।
काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो। कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन्। यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो। पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए। 'ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ', उनले भने। हाल काठमाडौँ उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ। उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ।
सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ बोक्चेन, नाम्थाङ, छेताङ र सुनकोशी गाउँपालिका–७ कोठे, पाखरदोभान, थुम्पाखर, दोलखा जोड्ने पक्की पुल निर्माण हुने भएको छ। पुल निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिसकिएको छ। भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानबाट हिमाली गाउँ बोक्चेन, नाम्थाङ, छेताङ पुग्न पक्की पुल बनाउने काम अघि बढाइएको सो गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जानकारी दिनुभयो। चीनको तिब्बतको सीमा उक्त गाउँमा शेर्पा समुदायको बाहुल्यता छ। वर्षौदेखि सो गाउँवासी भोटेकोशी नदी तरेर वारपार गर्दै आइरहेका छन्। पुल निर्माणपछि १५० भन्दा बढी घरधुरीका बासिन्दा लाभान्वित हुने र जोखिम मोलेर भोटेकोशी नदी तरेर घर जानुपर्ने बाध्यताबाट मुक्त हुने छन्। राज्यबाट हुने विकास निर्माणबाट वञ्चित उक्त गाउँमा भर्खरै मात्र सडक पु-याइएको छ। नागरिकको दैनिकीलाई सहजताका लागि पक्की पुल बनाउन पालिका अध्यक्ष शेर्पालगायतका जनप्रतिनिधिले गरेको प्रयास सकारात्मक रहेको नेपाल चेम्बर अफ कमर्स भोटेकोशी गाउँपालिका समितिका अध्यक्ष फुनु शेर्पाले बताउनुभयो।
काठमाडौं: राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि दुवै निर्वाचन क्षेत्र रिक्त भएको थियो। सङ्घीय संसद्ले सोमबार आयोगलाई पत्राचार गरी दुवै निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराएपछि आयोगले उपनिर्वाचन गर्ने निर्णय गर्दै निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दुवै क्षेत्रको उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुने तालिकासहितको निर्वाचन कार्यक्रम प्रकाशित गरिएको बताउनुभयो। कार्यक्रमबमोजिम मनोनयन दर्ता गराएका उम्मेदवारले चैत २३ गते नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ। आगामी वैशाख १० गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ। चितवन–२ मा समेत आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त हुन गएको थियो। उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दर्तादेखिको कार्यक्रम सँगसँगै अगाडि बढ्ने आयोगले जनाएको छ। निर्वाचन आयोगको पदाधिकारी बैठकले दुवै निर्वाचन क्षेत्रमा सहभागी हुने राजनीतिक दललाई चैत ८ देखि १२ गतेसम्म आयोगमा दर्ता गराउन आह्वान गरेको छ। आयोगले चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने जनाएको छ। निर्वाचन आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा गत माघ २९ गतेसम्म नाम दर्ता गराएका व्यक्तिले मात्र वैशाख १० गते मतदान गर्न पाउने बताउनुभयो। उहाँले भन्नुभयो, “निर्वाचन आयोगले यस आर्थिक वर्षभित्र हुने सबै उपनिर्वाचनका लागि सोही मितिलाई आधार मानेको छ। माघ २९ गतेसम्म दर्ता भई वैशाख ९ गते १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउनेछन्।” यसअघि भने निर्वाचनको मिति घोषणा भएको दिनसम्म दर्ता हुने व्यक्तिको नाम मतदाता नामावलीमा सूचीकृत हुँदै आएको थियो।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए । १० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए । सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए । नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।
पोखरा: प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताए । उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए । उनले देशमा राजनैति अस्थिरताका कारण कुनैपनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको स्पष्ट पारे । ‘उद्योग व्यवसाय फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता हो । राजनैतिक स्थिरता भयो भने स्वदेशीसंगै विदेशी पुँजीकर्तासमेत लगानी गर्न डराउँदैनन् । तपाईँहरुकै कारण लाखौंले नेपालमा रोजगार पाइरहेका छन्’ उनले भने,‘विश्वका विकसित राष्ट्रहरुलाई हेर्ने हो भने राज्य संचालन गर्ने नेताको सिर्जनशिलताले उद्योग व्यवसाय फस्टाएका छन् र देशको अर्थतन्त्र उकासिएको छ तर हाम्रो जस्तो मुलुकमा अस्थिरताका कारण केहि पनि हुन सकिरहेको छैन् ।’ उनका अनुसार देशमा स्थाईत्व हुनेगरी सरकार बनेमा लगानीकर्ताले समेत ढुक्क भएर लगानी गर्ने वातावरण बन्ने बताए । उनले अहिले सरकार परिवर्तन हुँदै गर्दा नीति समेत परिवर्तन हुनाले निकै ठूलो समस्या खेप्न बाध्य भएको बताए । विशेषगरी पछिल्लो समय बैंकले ब्याजदर वृद्धि गर्दा उद्योग तथा व्यवसायीहरु मारमा परेको र सन्तुष्ट हुने वातावरण छैन् । गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेश सामाजिक क्षेत्रमा अग्रिम स्थानमा रहेपनि उद्योग व्यवसायको क्षेत्रमा भने निकै पछि रहेको बताए । उनले अब गण्डकी प्रदेश सरकार उत्पादनसंग जोडिनुपर्नेमा जोड दिए । अब गण्डकी प्रदेशमै आयातित सामानलाई प्रतिस्थापन गर्नेगरी स्थानीय स्तरमै उत्पादन गरी बजारमा ल्याउन उद्योग तथा व्यवसायीलाई आग्रह गरे । ‘गण्डकी प्रदेशको स्थिति हेर्ने हो भने सामाजिक क्षेत्रमा अग्रस्थानमा छ तर उद्योग व्यवसायमा भने पछारी रहेको छ’ उनले भने,‘गण्डकी प्रदेशले उत्पादन मुलक क्षेत्रमा ध्यान दिन जरुरी छ त्यसका लागि तपाईँहरु आफैले उत्पादन गर्नुस भन्ने आग्रह गर्दछु । यहि उत्पादन गरेर विक्रि गरौं ।’ उनले गण्डकीमा सडक पूर्वाधारसंग अब उद्योग पूर्वाधारलाई समेत अघि बढाउनुपर्ने बताए । उनले गण्डकीमा सुरक्षित औद्योगिकीकरण सुरु भएकाले लगानीकर्ता तथा उद्योगपतिलाई गण्डकीमै ठूला उद्योग खोल्न आग्रह गरे । साथै अहिले बंैकहरुले लिएको चर्को ब्याजदरको विषयमा आफै बसेर छलफल गरी समस्याको समाधान निकाल्न समेत सुझाव दिए । गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसिले उद्योग व्यवसायी र राज्य एकअर्का संग जोडिएको क्षेत्र रहेको बताए । उनले अहिलेको स्थितिमा एकले अर्कोलाई समस्या सुनाउने स्थिति बाहेक अन्य विकल्प नबनेको बताए । गण्डकी प्रदेश सरकारसंग आवश्यक अधिकार नहुँदा उद्योग, व्यवसायी तथा व्यापारीको मर्का सुन्ने र संघ सरकारलाई गुनासो सुनाइदिने काम मात्रै गर्न परेको बताए । नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले राज्य आर्थिक धरातलमा दिनप्रतिदिन फस्दै गएको बताउँदै यसको रोकथामका लागि राज्य निरिह देखिएको स्पष्ट पारे । राज्यले राजस्व चुहावट र कर छलिका कारण आन्तरिक ऋण लिन बाध्य भएको बताए । राज्यले उचित नीतिको व्यवस्था नगर्दा उद्योग व्यवसायीको मात्र नभई समग्र राज्यकै अर्थतन्त्र धरासायी बनेको उनको भनाइ रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिब कोइरालाले बैंक तथा वित्तीय संस्थाले कर्जामा गरेको ब्याज वृद्धि तथा अव्यवहारिक चालु पुँजी कर्जा निर्देशिकाका कारण यो वर्ष सिंगो निजी क्षेत्र प्रताडित बनेको बताए । आफुहरुले पटक -पटक सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएपनि मागको सुनुवाई नभएको गुनासो पोखे । उनले महासंगको मुख्य चासो उद्योग व्यवसायीमैत्र वातावरण रहेको सुनाए । राज्यलाई कर तिरेर समेत आफुहरुले सहज रुपमा सामग्रीहरु विक्रि गर्न नपाएको बताए । ‘राज्यलाई कर तिरेर निश्चित ठाउँमा मदिरा र मनोरञ्जन प्रदान गर्न पर्यटन उद्योगको धर्म हो । तर रातको समयमा मदिरा र अन्य अत्यावश्यक सामग्रीका पसलहरु खुल्न पाइदैन’ उनले भने,‘देशका मुख्य पर्यटकीय केन्द्रहरु ठमेल, लेकसाइड, सौराह, नवलपुर लगायतका निश्चित मापदण्ड कायम सहज विक्रि वितरणको व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघाइ, पुर्व अध्यक्ष चण्डीराज ढकाल, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले आफ्नो भनाइ राखेका थिए । पत्रकार बासुदेव मिश्र सम्मानित पत्रकार बासुदेव मिश्र नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट नीजि क्षेत्रका एजेण्डा मुखरित गर्ने काम गरेको भन्दै संस्थाका सचिवालय कर्मचारी समेत रहेका पत्रकार मिश्रलाई नगद सहित सम्मान गरिएको हो । मिश्रलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला आढाई सम्मानपत्र र नगदले सम्मान गरेको हो । पत्रकार मिश्रसंगै कर्मचारी निशान खनाल, कोषध्यक्ष श्रवणकुमार जोशी, उपाध्यक्ष ओमप्रसाद पौडेल र स्थापनाकाल देखी नै संस्थामा योगदान दिएका मोति प्रसाद पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदले सम्मान गरिएको हो । यस्तै महासंगले उत्कृष्ट शाखाको रुपमा गैडाकोट उद्योग वाणिज्य संघलाई सम्मान समेत गरेको छ ।

