पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।   नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ५६ पैसा पाइन्छ।    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा तोकिएको छ।    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ११ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९८ पैसा पाइन्छ।   यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ५० पैसा र बिक्रीमा २९ रुपैयाँ ६४ पैसा पाइन्छ।   बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २२ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५५ पैसा तोकिएको छ।  

काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको सुरुवात गरिएको छ ।   सामाजिक सुरक्षा कोषले आजदेखि वैदेशिक रोजगारमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको हो ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गरेको हो । वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरीएको कोषले जनाएको छ ।   वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल संग्रौलालाई कोषमा आवद्ध भएको परिचयपत्र हस्तान्तरण गर्दै योजनाको सुरुवात गरे ।    कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा रहेको बताए ।   अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवेदन दिन पाउने छन् ।

काठमाडौं:  काठमाडौं गएराती ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।    प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–११ फ्रुटी कारखानास्थित सडकमा रोकिरहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३–०२–०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक बाग्लुङको जैनिनी नगरपालिका–६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको हो ।   दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा डकाक्टरले मृत घोषणा गरेका थिए ।   ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।  

पोखरा:   उच्च अदालत पोखराले सेती नदीमा हुँदै आएको दोहन रोक्न अन्तरिम आदेश जारी गरेको छ ।    घाटहरुबाट ढुंगा, माटो रोडा तथा बालुवा उत्खनन् गर्ने कार्यमा सम्बन्धित ठेकदारबाट ठेक्का सम्झौताका सर्तहरुको पालना नभएको हुँदा दोहन रोक्न अदालतले आदेश गरेको हो ।    उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मान्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकुल असर पर्ने सक्ने भन्दै पोखरा महानगरपालिका वडा नम्बर १९ अन्तर्गतका घाटहरुको ठेक्का बन्दोबस्तीको कार्य नगर्नू नगराउनू भनी गत सोमबार अन्तरिम आदेश जारी गरेको हो ।   जारी आदेशमा भनिएको छ, ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म वडा नम्बर १९ अन्तर्गतका घाटहरुको ठेक्का बन्दोबस्तीको कार्य नगर्नू/नगराउनू भनी विपक्षीहरुका नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’   ठेक्का सम्झौता भएका घाटहरुबाट ठेक्का सम्झौता बमोजिमको ढुंगा, गिट्टी, बालुवा र रोडा निकाल्ने कार्य तत्काल बन्द नगर्दा र नगराउँदा निवेदक सहितका स्थानीय बासिन्दाको स्वच्छ वातावरणीय हक एवं सन्तुलित पर्यावरणीय मायन्यताका साथ हुनुपर्ने विकासको अवधारणामा प्रतिकूल असर पर्न सक्ने देखिएको अदालतको ठहर छ ।   वातावरण तथा मानवीय जीवनमा असर पर्ने गरी सरकारकै प्रत्यक्ष संलग्नतामा सेतीमा हुँदै आएको दोहन रोकी पाउँ भनी डाँडाबारी फाउन्डेसन पुरन्चौरका सचिव होमनाथ पौड्यालले ८ फागुनमा रिट दायर गरेका थिए ।    उच्च अदालत पोखराले महानगरपालिका १९ को घाटलाई रोक्न आदेश दिएपनि रामघाट लगायतका अन्य घाटहरुमा पनि दोहन रोकिएको छैन । 

दैलेख:  दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।   नेपालगन्जदेखि मनकामना ग्याँस सिलिन्डर बोकेर दैलेखतर्फ आउँदै गरेको भे. १ क २२०१ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।    जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले दुर्घटनामा परी मिनि ट्रक चालक अन्दाजी ३० वर्षको कृष्ण चौधरी,  अन्दाजी वर्ष २६ को कृष्ण चौधरी र अन्दाजी २३ वर्षको विष्णु चौधरीको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले मिनि ट्रक रोक्न लागेको बेला सडक बाट करिब एक सय ५० मिटर तल खसेको बताउनुभयो ।    घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख लम्सालले जानकारी दिनुभयो । 

वीरगञ्ज:  पर्सा राष्ट्रिय निकुन्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट १ जना प्रहरीसहित तीन जना घाइते भएका छन् ।   चितुवा बाघको आक्रमणमा परी घाइते हुनेमा पोखरिया नगरपालिका वडा नम्बर ४ सतबरिया टोलका ३० वर्षका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव रहनुभएको छ । घाइतेमध्ये मियाँको अवस्था गम्भीर भएकोले उहाँलाई पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ भने तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।    बिहान सतबरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सतबरिया टोलकै एक गोठघरमा चितुवा लुकेर बसेको हालसम्म नियन्त्रणमा नआएको स्थानीय शैलेश गुप्ताले बताउनुभयो । चितुवालाई नियन्त्रणमा लिन अहिले जिल्ला वन डिभिजन कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ । यस अघि पर्साको ठोरीमा पर्सा राष्ट्रिय निकुन्जबाट गाउँ पसेको पाटे बाघले गोठमा पसी त्यहाँ रहेका सात चौपायालाई मारेको थियो ।    सोमबार राती ठोरी गाउँपालिका वडा नम्बर ४, घ्याङडाँडाका किसान मिकमार लामाको घरगोठमा पसेर बाघले एउटा वयस्क भैंसीको पाडो र ६ ओटा बाख्रा गरी ७ वटा चौपाया मारेको थियो । 

काठमाडौँ:   त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ ।   स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्रचार गर्दै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरेका हुन् ।   ‘देशभरिका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको हो ? तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ सदस्य सचिव अधिकारीले लेखेको पत्रमा उल्लेख छ ।   निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र उपत्यका बाहिरका १० आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिँदै बिबादका कारण खोज्दै सहमति जुटाउन पनि निर्देशन दिएका छन् ।   उपत्यकाका आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, विश्व भाषा क्याम्पस  र आयुर्वेद क्याम्पसमा निर्वाचत हुन सकेको थिएन । उपत्यकाका क्याम्पस मध्ये आर आर क्याम्पसले बिद्यार्थी संगठनलाई वार्ताका लागि बोलाइसकेको छ ।   यसैगरी,  उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, पोखरा नर्सिङ क्याम्पस, चितवन इञ्जिनियरिङ क्याम्पस, कृषि क्याम्पस चितवन,  पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।   पृथ्वी नारायण क्याम्पसमा अदालतको आदेशका कारण रोकिएको भए पनि अन्य क्याम्पसमा भने सहमति हुन नसक्दा तालाबन्दीसमेत भएका थिए । सो क्याम्पसको बिबाद हल गरी तत्काल निर्वाचन गराउन बिश्वविद्यालयले निर्देशन दिएको हो ।   त्रिविका उपत्यकाका २२ मध्ये १५ वटा आंगिक र उपत्यकाबाहिर ४० मध्ये ३० क्याम्पसमा भने गत चैत ५ गते नै निर्वाचन सम्पन्न भई नेतृत्व चयन भइसकेको छ ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित कृष्ण हमाललाई प्रकाउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले पोखरा १३ बस्ने हमाललाई प्रकाउ गरेको हो ।   प्रकाउ परेका हमालको कोठाबाट नर्फिन २ सय ७ एम्पुल, डाइजेपाम २ सय ७ एम्पुल र फेनारागन २ सय ७ एम्पुल  गरी ६ सय २१ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।  प्रकाउ परेका हमाललाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।   

पोखरा:  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व हेर्ने गरि तीन जना सदस्य मनोनित गरेको हो ।  बैठकले शिक्षा क्षेत्रबाट प्रतिनिधित्व हुने गरि, प्राध्यापक डाक्टर सरस्वती न्यौपाने, उद्योग तथा व्यववसाय क्षेत्रबाट छत्रधर आत्रेय र नारायण पौडेललाइ मनोनित गरेको छ । शिक्षालयको संचालक समितिमा चार जना मनोनिति सदस्य रहने प्रावधान छ । समितिले यस अघि श्री राम पोखरेललाइ मनोनित गरिसकेको थियो । यस अघि उक्त पदमा रहेका सदस्यहरुको कार्यअवधी सकिएकोले नयाँ सदस्य मनोनिति गरिएको हो । समितिमा मनोनित सदस्यको पदावधी तीन वर्षको रहने प्रावधान छ । यसअघि उक्त पदमा गेहेन्द्रश्वर कोइराला, आनन्द राज बतास र निरुपा थापा रहनुभएको थियो ।   गण्डकी बहुप्राविधिक शिक्षालय ऐन २०७६ अनुरुप , शिक्षालयको सम्पुर्ण नीति निर्माण तथा काम कार्वाहिको संचालन, रेखदेख, तथा प्रवन्ध गर्नका लागि महानगरपालिकाका प्रमुख पदेन अध्यक्ष रहने गरि ९ जनाको संचालन समिति रहेको छ ।  प्राविधिक शिक्षा तथा व्यवासायिक तालीमलाइ प्रवद्र्धन गर्दै स्थानीय स्तरमै निम्न मध्यमस्तरिय प्राविधिक दक्ष जनसक्ति उत्पादन गरि सक्षम , आत्मनिर्भर तथा स्वालम्बित जनसक्तिको तयार गरि स्थानीय स्तरमै उद्ययमशिलताको प्रवद्र्धन गर्न पोखरा प्राविधिक शिक्षालयको स्थापना गरिएको हो ।  समितिका अन्य सदस्यहरुमा मा महानगरपालिकाका कार्यपालिका सदस्यहरु मध्य प्रमुखद्धारा मनोनीत एक जना सदस्य, सिटिइभिटीका प्रतिनिधि पदेन सदस्य, स्थानीय शिक्षा प्रेमी मध्यबाट अध्यक्षद्धारा मनोनित एक जना महिला सहित दुइ जना मनोनित सदस्य, महानगर शिक्षा शाखा प्रमुख, शिक्षालयमा प्रशिक्षण दिइने विषयसँग सम्बन्धित रोजगारदाता, व्यवशायि,उद्योगी, ख्यातीप्राप्त प्राविधिक मध्ये संचालक समितिबाट मनोनित दुइ जना र शिक्षालयका निर्देशक पदेन सदस्य सचिव रहने गरि ९ जनाको संचालनसमिति रहेको छ ।