पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

काठमाडौं:  हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।

काठमाडौं:  काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पुजा परियार र एक नाबालक रहेका छन् ।      काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०÷३५ की महिला यही फागुन २४ गते बिहान ११।५० बजे मृत फेला परेकी थिइन् ।  प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गएको टोलीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।      प्रारम्भिक अनुसन्धानका क्रममा निजको हत्यामा ती व्यक्तिको सङ्लग्नता खुल्न आएकोले उपत्यका स्थित विभिन्न स्थानबाट निजलाई जिल्ला प्रहरी परिसर काठमाडौँसमेतको प्रहरी टोलीले पक्राउ गरेको थियो ।  आरोपीलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी:  पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको सुधार र सेवा विस्तारसँगै पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ ।  पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा दिइएको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो ।    दैनिक सरदर तीन सय बिरामी आउने उक्त केन्द्रमा जनशक्ति र उपकरण पनि थप गरी सेवालाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।  पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा जनशक्ति र उपकरणको अभाव रहँदै आएको थियो । यसअघि प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन हुँदै आएकामा अहिले त्यसलाई छुट्टाछुट्टै कोठाबाट सञ्चालन गरिएको उहाँले बताउनुभयो ।  महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधासम्पन्न बनाउन पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो ।  “प्रयोगशाला सेवा अनलाइन प्रणालीबाट सञ्चालनमा आइसकेको छ, भिडियो एक्सरेका लागि उपकरण ल्याउने प्रक्रिया अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई पोखरा महानगरपालिकाकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन सकिन्छ ।” केन्द्रले प्रयोगशाला परीक्षणको ‘रिपार्ट’ अनलाइन प्रणालीबाट घरमै हेर्न सकिने सुविधा दिएको छ । “क्यूआरबाट प्रयोगशालाको रिपोर्ट मोबाइलमै हेर्न सकिन्छ”, प्रमुख सुवेदीले भन्नुभयो, “अहिले इसिजी जाँच सेवा पनि थप गरिएको छ, थाइराइडका जाँचका लागि उपकरणको खाँचो छ ।” बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवालाई थप व्यवस्थित बनाउन लागिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालित छ ।  केही समय अघिसम्म अस्तव्यस्त देखिने उक्त केन्द्रमा गत मङ्सिरदेखि पूर्वाधार व्यवस्थापन र सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको हो ।  घेराबार नहुँदा केन्द्रको भवन परिसर सवारीसाधन पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने स्थलका रुपमा प्रयोग हुँदै आएकामा अहिले पर्खाल र प्रवेशद्वारा निर्माण गरिएको छ । स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो ।  बिरामीको चापअनुसार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको संख्या अपुग रहेको छ । १५ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा दुई जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् ।  दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ती हुन नसकेको प्रमुख सुवेदीले बताउनुभयो । उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् ।  बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको छ ।  केन्द्रमा स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतन आदि सेवा उपलब्ध छन् ।  प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ । केन्द्रले बहिरङ्ग सेवा, खोप तथा पोषण सेवा, एकीकृत बालरोग व्यवस्थापन, परिवार नियोजन सेवा, सुरक्षित मातृत्वलगायतका सेवा प्रदान गर्दै आएको छ । 

काठमाडौं:  पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्किनुभएको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उहाँलाई स्वागत गरेका थिए ।        पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो ।  राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस किसिमको कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो ।        पोखरा केन्द्रित भई आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौँ आउनुभएको हो ।

पोखरा:   आगामी चैत्र १ गतेदेखि ५ गतेसम्म पोखरा महानगरपालिका ४ चिप्लेढुंगास्थित आरके बिल्डिङमा सञ्चालित ए वान गाउँशहर दोहोरी साँझ एण्ड रेष्टुरेन्ट प्रालिले पाँचौ वार्षिकोत्सवको आयोजना गर्ने भएको छ ।   लोक संस्कृतिको उजागर गर्ने उद्देश्यसहित सञ्चालित दोहोरी साँझले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव आयोजना गर्न लागिएको सञ्चालक शिव गुरुङले जानकारी दिए ।   उनका अनुसार ५ दिन सञ्चालन हुने उक्त कार्यक्रम साँझ ७ बजेदेखि बिहान २ बजेसम्म सञ्चालन हुनेछ ।    विविध सांस्कृतिक कार्यक्रममा गायक कृष्ण सुवेदी, कृष्ण गुरुङ, ज्योती लोहनी, सरुन गुरुङ, रमा राना, शोभा परियार, केश बहादुर गुरुङ, निता गुरुङ, ममता गुरुङ, भानु पौडेल, उमेश अधिकारी, सिम्रन, रश्मी सुनार, आँचल थापा, मनिष गायक र ममता सुनारको बेजोड प्रस्तुती रहने गाँशहर दोहोरी साँझले जनाएको छ ।    

पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले ११५ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा टपरी गाँस्ने र धूपबत्ती बाट्ने प्रतियोगिता सम्पन्न गरेको छ ।   ‘सबै महिला तथा बालिकाहरुका लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित वडा भित्रका महिला समूहहरुबीच प्रतियोेगिता आयोजना गरिएको वडाध्यक्ष राधिका कुमारी शाहीले जानकारी दिइन् ।    उनका अनुसार टपरी गाँस्ने प्रतियोगितामा छिमेकी आमा समूह विजयी बन्यो । यस्तै जनजागरण आमा समूह द्वित्तिय, लगनशिल आमा समूह तृतीय र संकल्प आमा समूहले सान्त्वना स्थान गर्याे ।      ति समूहले क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । टपरी गाँस्ने प्रतियोगितामा कुल २१ आमा समूहको सहभागिता रहेको थियो ।   यस्तै धूपबत्ती बाटनेतर्फ शितलपथ महिला समूह प्रथम बन्यो । ड्यामसाइड टोल विकास आमा समूह द्वित्तिय, छिमेकी आमा समूह तृतीय र श्रीराम जानकी शान्तिपथ आमा समूहले सान्त्वना स्थान हाँसिल गर्याे ।   उनीहरुलेपनि ​क्रमश: नगद रु १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्राप्त गरे । धूपबत्ती बाटने प्रतियोगितामा कुल २० टिमले प्रतिस्पर्धा गरेका थिए ।      विजयी तथा उपविजेता समूहलाई कार्यक्रमका प्रमुख अतिथीसमेत रहेकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ वडाका जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरिएको थियो ।    सो अवसरमा बोल्दै पोखरा महानगरकी उपप्रमुख गुरुङले उक्त कार्यक्रमले महिला सशक्तिकरणको पक्षमा सघाउ पुर्याउने विश्वास व्यक्त गरिन् ।   उ​नले आगामी दिनमा पनि वडाबासीलाई सशक्तिकरण बनाउने खालका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेकी थिइन् ।      कार्यक्रममा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बास्तोला, वडासदस्य विक्रम गुरुङ, पोखरा-१७ का वडासचिव सुरेन्द्र शर्माका साथै सहभागीका तर्फबाट शितलपथ आमा समूहका अध्यक्ष सुमित्रा लम्साल र छिमेकी आमा समूहका अनिता पनेरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   वडाध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक एवं वडासदस्य विष्णुकुमारी थापा भुजेलले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन वडाका कर्मचारी तिर्सना बरालले गरेकी थिइन् ।      

काठमाडौं:  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा रु तीन करोडभन्दा कम लागतका आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न नहुनेमा जोड दिनुभएको छ ।  आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालका पदाधिकारीसँग आज बेग्लाबेग्लै भएका छलफलका उहाँले असङ्ख्य योजना तथा कार्यक्रम बजेटमा राख्ने प्रवृत्तिबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सकिएका ठूला रुपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम मात्र प्रस्ताव गर्न जोड दिनुभयो ।  अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनुपर्ने र एक पटकका लागि बीउपुँजी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।  बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, सङ्घीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, अर्थ सचिव, राजस्व सचिव,  खानेपानी सचिव, सङ्घीय मामिला सचिवगायत सहभागी हुनुहुन्थ्यो । 

काठमाडौं: चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डाले नेपाललाई जितको लागि ७७ रनको लक्ष्य दिएको छ ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७६ रनको योगफल बनायो ।  युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले  ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।  त्यसैगरी स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् ।   नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

लमजुङ:  प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ ।      गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।      अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार र स्वास्थ्यकर्मीको उपस्थिति थियो ।  यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।