नवलपरासी: पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका छन् । आगलागीबाट सोही स्थानका इद्रिस अलीकी श्रीमती सतारुल नेसा, निजामोदिन मियाँ र तैमुरदिन मियाँ घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सतारुलको अनुहार, टाउको र हात जलेको छभने निजामोदिनको दुवै हात र खुट्टा जलेका छन्, तैमुरदिनको भने सामान्य हात जलेको छ । आज दिउँसो विद्युत्को मिटरबक्स सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँचजना दाजुभाइ इद्रिस अली, कसिम अलि, नुर महमद अलि, मो शेख आलम मियाँ, अफताव अलिको घर जलेको सूचना अधिकारी क्षेत्रीले बताउनुभयो । आगलागीबाट खद्यान, लत्ताकपडा, भाडा, बोइरल कुखुरा, चार थान मोबाइल, फर्निचरका सामान, गरगहना तथा नगद गरी रु २७ लाख २९ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनुभयो । आगोलाई बर्दघाट नगरपालिका र रामग्राम नगरपलिकाको दमकल तथा प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रण लिइएको थियो ।
काठमाडौं: सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने सन्दर्भमा अन्तरतह र निकायबीच समन्वय र सहकार्य गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पहिल्याउन र व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकभित्र के–कस्तो रोजगार आवश्यक छ, त्यसका लागि कस्तो शीप चाहिन्छ । उद्यमशीलताका आधारमा उत्पादन बढाउने र रोजगारी प्रदान गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ ।” शीपको अभावमा मानिस बेरोजगार हुनुपरेको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नभएसम्म वैदेशिक रोजगार घटाउन कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारको विकल्प आन्तरिक रोेजगार नै हो । नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनमार्फत दिऔँ ।” उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ । वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जना नीतिगत र कानुनी व्यवस्थाका लागि सम्मेलनमा सुझाव प्राप्त हुने मन्त्रालयको विश्वास छ । वैदेशिक रोजगार ऐन र राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन तथा सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको सुधारका लागि गठित कार्यदलको प्रतिवेदनउपर समेत सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दशवर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयको भनाइ छ । सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्तारविज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता रहने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । नेपालको रोजगारीको क्षेत्रमा देखापरेका सङ्कुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम तर्जुमाका लागि ठोस राय सुझाव प्राप्त गर्नु सम्मेलनको मुख्य उद्देश्य रहने मन्त्रालयको भनाइ छ । वैदेशिक रोजगारी अर्थतन्त्र र समाजको अभिन्न अङ्ग भएकाले वैदेशिक मुद्रा आय आर्जनको प्रमुख श्रोत भएको छ । विप्रेषणलाई के कसरी मुलुकको रूपान्तरणमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा बहस हुनेछ । वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिने गरिएको छ । सामाजिक न्यायसहितको समावेशी विकास गर्नेगरी सोह्रौँ योजनाले लिएको लक्ष्य प्राप्तिका लागि यस मन्त्रालयले विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्दै आएको छ । मुलुकमा आन्तरिक रोजगारीमा नेपाली श्रमिकको उपयुक्त प्रशोचन हुन नसक्दा वैदेशिक रोजगारीमा अतिरिक्त चाप परेको तथा आर्थिक वर्ष २०८०र०८१ मा कूल ७ लाख १४ हजार २९७ जना नेपाली जनशक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृति लिएको सो अवसरमा जानकारी दिइयो । वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन तथा वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरे पनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव न्यून रहेको मन्त्रालयको भनाइ छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षभित्र संविधान संशोधन प्रक्रिया पूरा हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधान संशोधन सरकारको महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । “सरकार अहिले सुशासन प्रणालीलाई गतिशील बनाउन कटिबद्ध छ, संविधान संशोधनको काम तीन वर्षभित्र पूरा हुन्छ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस मिलेर वर्तमान सरकार गठन हुँदा भएको सहमतिमा संविधान संशोधन पनि एउटा महत्वपूर्ण बुँदा रहेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका चरणमा देखिएका समस्या पहिचान गर्ने काम भइरहेको समेत बताउनुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अहिले शासन प्रणालीलाई जनतामुखी कसरी बनाउने भन्नेतर्फ यो सरकार केन्द्रित रहेको बताउनुभयो । कोमामा रहेको मुलुकको अर्थतन्त्र सुधार गर्दै सुशासनमा जोड दिएको अहिलेको सरकारले संविधान संशोधन तीन वर्षभित्र गरेरै छाड्ने उल्लेख गर्नुभयो । “संविधान संशोधनको विषय पहिचानका लागि समिति बनाएका छौँ । समस्या पहिचान गरेर मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउछौँ”, मन्त्री गुरुङले भन्नुभयो, “संविधान संशोधन सबै दलको साझा सहमतिमा मात्रै हुन्छ ।” त्यसअवसरमा पछिल्लो समय राजतन्त्रका सम्बन्धमा भइरहेका गतिविधिसम्बन्धी प्रतिक्रिया दिँदै मन्त्री गुरुङले आजका दिनमा राजतन्त्र रोज्नु भनेको सामन्ती व्यवस्थालाई रोज्नु रहेको बताउनुभयो । “लोकतन्त्र विरोधी राजतन्त्र कहिल्यै जनताको हितमा हुँदैन, आफ्नो दरबारको रक्षा गर्न नसक्ने राजतन्त्रले देश कसरी बचाउन सक्छ रु”, उहाँले भन्नुभयो । उहाँले राजतन्त्रात्मक प्रणालीमा विश्वास गर्नु लोकतन्त्र विरोधी रहेको समेत उल्लेख गर्नुभयो ।
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा यही फागुन २५ गतेदेखि राजधानीमा सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता हुने भएको छ । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ वटा खेल सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगितामा देशभरका १४ क्लबको सहभागिता रहने छ । जसमा आरसिटी क्लब, श्री भगवती क्लब, टुसाल युथ क्बल, ब्रिगेड व्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब र बाँसबारी क्लब सहभागी छन् । त्यसैगरी श्रीकुमारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्बल र प्लानिङ युनाइटेड क्लब रहेका छन् । एन्फाले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्टस्लाई प्रदान गरेको छ । उक्त प्रतियोगिताको टिकट दर दशरथ रङ्गशालामा साधारण प्याराफिटतर्फ रु एक सय र भिआइपी प्याराफिटतर्फ रु तीन सय तोकिएको छ । त्यस्तै सातदोबाटोमा सामान्य प्याराफिटर्फ रु एक सय कायम गरिएको छ । प्रतियोगिताको विजेताले रु १५ लाख प्राप्त गर्ने छ भने उपविजेताले रु १० लाख पाउने छ । त्यसैगरी तेस्रो हुने टोलीले रु पाँच लाख पाउने छ । प्रतियोगितामा फेयर प्ले टिमले रु एक लाख, उत्कृष्ट गोलकिपरले रु ५० हजार, सर्वाधिक गोलकर्ताले ५० हजार र प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले रु सात हजार पाँच सय पाउने छ । त्यसैगरी हरेका खेलका विजयी हुने टोलीले रु २५ हजार तथा बराबरी भएमा टोलीले रु १० हजार पाउने छ । उक्त प्रतियोगिताको सञ्चालनका लागि कुल रु तीन करोड ९३ लाख एक हजार आठ सय १३ लाग्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने छ ।
दार्चुला: भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ । गत शनिबार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा विष्टलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुनाकाबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल नेतृत्वको टोलीले विष्टलाई पक्राउ गरेको जनाएको छ । बैतडीबाट आएका सादा पोशाकका प्रहरीसहितको सहयोगमा विष्टलाई पक्राउ गरिएको प्रनाउ दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार विष्ट नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका थिए । मोबाइल लोकेसनका आधारमा पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो । लेनदेनका विषयमा विवाद हुँदा विष्टले भरुवा बन्दुकबाट गोली हानेर सुरेन्द्रको हत्या गरेको अभियोग छ । कर्णबहादुर विष्टले सुरेन्द्रलाई रु ४० हजार तिर्नुपर्ने थियो । सोही विषयमा विवाद हुँदा उनले गोली चलाएको जनाइएको छ ।
सर्लाही: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको बताउनुभएको छ । सर्लाहीको मलङ्गवामा आज ‘हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’अन्तर्गत एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समितिले आयोजना गरिएको कार्यक्रममा उहाँले झापाबाट सर्लाहीसम्म आइपुग्दा बुद्धिजीवी, किसान, मजदुर, मधेसी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महसुस गरेको बताउनुभयो । अध्यक्ष दाहालले अहिले विद्यमान रहेका भ्रष्टाचारलगायत बेथिति अन्त्यका लागि सबै तह र तप्काका जनता एकजुट भएर सरोकार भएका निकाय र प्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समाजिक, आर्थिक, राजनीतिक रुपान्तरण शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै शिक्षासम्बन्धी विधेयकबारे सम्बन्धित समितिमा छफलफल भइरहेको जानकारी दिनुभयो । अध्यक्ष दाहालले उक्त विधेयकमा एक हजार सात सय संशोधन परेको बताउँदै जटिलताका बाबजुद पनि निरन्तर छलफल भइरहेकाले सबैको हितलाई मध्यनजर गर्दै सहमतिका आधारमा विधेयक आउने धारणा राख्नुभयो । माओवादी केन्द्रले अभियान सुरु गरेपछि राज्यको सम्पूर्ण ध्यान अहिले मधेसतिर केन्द्रित भएको उहाँको दाबी छ । मधेसको दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानका हकअधिकार प्रदान गर्न पहल गर्ने, यहाँको आर्थिक, पर्यटन र कृषि क्षेत्रको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरिएको अध्यक्ष दाहालले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर निर्माण अघि बढाएको दाबी गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले आज जिल्लाका एक दर्जन बढी स्थानमा पार्टीका नेता, कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । उक्त अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रम सकेर आजै अध्यक्ष दाहालसहित पार्टीका शीर्षनेता रौतहट प्रस्थान गर्ने कार्यतालिका रहेको पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिनुभयो ।
पोखरा: पोखरामा आयोजित महिला संवादमा महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पोखराका प्रमुख नितु गर्तौलाले महिलाका विषयमा पुरुष जानकार नभएसम्म महिलाले न्याय नपाउने उल्लेख गरिन् । महिला घरयासी काममा सिमित हुनुपर्छ भन्ने पुरुषको गलत सोंचाइका कारण घर छाडेर पर काम गर्न जाने महिलाले हिंसा भोग्नु परेको उनले भनाइ थियो । महिला अधिकार विषयमा प्रस्तुति दिने क्रममा कार्यालय वा बाहिर महिलाहरुलाई अझै ढुक्कसँग काम गर्ने वातावरण नभएको उनले सुनाइन् । यसको न्यूनिरकरणका लागि पत्रकारको कमल र क्यामेरा चल्नुपर्नेमा उनले जोड दिइन् । महिला संवादकी अर्की प्रस्तुतकर्ता किताबखाना तथा प्रदेश सञ्चार समन्वय शाखा, गण्डकी प्रदेशकी प्रमुख पार्वती लामिछानेले श्रमिक महिलाहरुको अधिकारका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन् । महिलाहरु दोहोरो अधिकारको लडाईमा परेको बताइन् । उनका अनुसार महिला अधिकारको लडाइमा रहेकाहरु श्रमिक महिलाको हक, अधिकारका लागि जुध्नुपरिरहेको छ । यस्तो अवस्था समाधानका लागि पुरुषहरु नै जागरुक र महिला अधिकारका विषयमा जानकार हुनुपर्ने उनको भनाइ थियो । उनले कार्यक्रममा श्रमिक महिला दिवस र महिलाका सवाल विषयमा प्रस्तुतिकरण राखेकी थिइन् । महिला संवादमा नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले पत्रकार महिलाका अवसर र चूनौतिका विषयमा प्रस्तुति राखेकी थिइन् । उनले पत्रकारिता क्षेत्रमा महिलाका लागि अवसर धेरै भएपनि हिंसा लगायत अन्य घटनाका कारण यो क्षेत्रमा टिक्न सक्ने अवस्था रहेको बताइन् । मिडियाका क्षेत्रमा पनि केही हिंसाका उजुरी परिरहेकाले पत्रकारिता क्षेत्रका श्रमिक महिला पनि समस्यासँग जुध्न बाध्य रहेको उनको भनाइ थियो । यसका लागि सम्बन्धित क्षेत्र नै कडा कानुन बनाएर लाग्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सरला ढकाल, ब्रोडकास्टिङ एसोसियशन अफ नेपाल (बान) का उपाध्यक्ष दुर्गा अधिकारी, पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारी लगायतले महिलाका मुद्दामा राज्यसँगै पुरुष जानकार भएर लाग्नुपर्नेमा जोड दिएका थिए । महिला अधिकारसँगै श्रमिक महिलाका अधिकारको पक्षमा पत्रकारको कलम र क्यामेरा धेरैभन्दा धेरै चल्नुपर्नेमा उनीहरुको जोड थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाल बरालको अध्यक्षतामा भएको महिला संवादमा उपाध्यक्ष माधव रेग्मीले स्वागत र कार्यक्रम संयोजक तथा उपाध्यक्ष कञ्चन थापाले सञ्चालन गरेकी थिइन् । कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशले सहयोग गरेको थियो ।
काठमाडौं: चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । मिनभवनस्थित अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चुइ लीको नेतृत्वमा रहेको टोलीले ती उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने माइक्रोस्कोप, कम्प्युटर, स्क्यान मेसिन, क्यामेरालगायत छन् । त्यसअवसरमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीनबीच प्राचीनकालदेखि नै बहुआयामिक, मैत्रीपूर्ण र घनिष्ट सम्बन्ध रहेको बताउनुभयो । चीनसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताउँदै उहाँले चीनले नेपालमा लगानी प्रवद्र्धनका साथै सडक पूर्वाधार, विद्युत् विकासलगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दैआएकोमा धन्यावाद ज्ञापन गर्नुभयो । साङ्घाई सहयोग सङ्घसँग सम्बिन्धित छिमेक सहयोग नियोगनका उपाध्यक्ष एवं चीनका पूर्वउपमन्त्री चुइ लिले नदी र पहाडले जोडिएको नेपाल–चीनबीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमासमेत न्यानो, मितवत् र बहुआयामिक रहेको बताउनुभयो । उहाँले चीन सरकारले लिएको नीति तथा कार्यक्रमलाई सघाउने उद्देश्यसहित छिमेकी देशहरूको सम्बन्धलाई अझ सुदृढ र घनिष्ट बनाउन बनाउन साङ्घाई सहयोग सङ्घ क्रियाशील रहेको स्पष्ट गर्नुभयो । फाउण्डेसनका अध्यक्ष तामु यु चुङले चिनियाँ सरकारको सहयोगमा नेपालमा सञ्चालित निजामती अस्पतालको क्षमता विस्तार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा डा विधाननिधि पौडेलले चीन सरकारको लाइफ लाइन एक्सप्रेस संस्थामार्फत अस्पतालका आँखा विभागका लागि रु दुई करोड मूल्य बराबरको आँखा उपचारसँग सम्बन्धित उपकरण प्राप्त भएको जानकारी दिँदै आँखाका उपचारलाई प्राथमिकता दिई विशिष्टीकृत सेवा प्रदान गर्ने पक्षमा अस्पताल रहेको बताउनुभयो । आँखा रोगसम्बन्धी रोगको उपचारका लागि पहिलो चरणमा उपकरण उपलब्ध हुनेछ भने त्यसपछि चिकित्सकलाई तालिम र प्रशिक्षणको व्यवस्था चीनले गर्ने भएको छ । तालिमपश्चात दुवै देशका चिकित्सकले शल्यक्रियासहितका उपचार सेवा प्रदान गरी बिरामीलाई सहयोग पु¥याउने सन्दर्भमा सम्झौता भएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । सो सम्झौतापत्रमा कार्यकारी निर्देशक पौडेल र लाइफलाइन एक्सप्रेस हङ्कङ फाउन्डेशनका अध्यक्ष ताम यु चुङले हस्ताक्षर गर्नुभएको छ । उक्त अस्पताल चीनको सहयोगमा १६ वर्षअघि निर्माण भई सञ्चालन छ । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई एसियाकै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट केन्द्रका रुपमा विकास गर्दै लैजाने योजना बनाएको छ । करिब तीन सय शय्याको निजामती अस्पतालमा दैनिक सरदर एक हजारको सङ्ख्यामा बिरामीले स्वास्थ्योपचार सेवा लिइरहेका कार्यकारी निर्देशक पौडेलले जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवाका कारण अस्पतालमा अहिले बिरामीको ठूलो चाप देखिन्छ । निजी क्षेत्रका अन्य अस्पतालका तुलनामा निजामती अस्पतालले कम शुल्कसहित गुणस्तरीय सेवा उपलब्ध गराइरहेको अस्पतालको दाबी छ । अस्पतालमा पुग्ने जोकोही बिरामीले सजिलै विशेषज्ञ चिकित्सकसँग परामर्श र परीक्षण गर्न पाउने भएकाले पनि अस्पतालमा बिरामीको चाप बढेको कार्यकारी निर्देशक पौडेलको भनाइ छ । वरिष्ठ नेत्र विशेषज्ञ डा प्रज्ञा बस्नेतले अस्पतालको आँखा विभागका लागि अतिआवश्यक मानिएका आँखा परीक्षणसम्बन्धी अत्याधुनिक उपकरणहरु चीन सरकारबाट सहयोगस्वरुप प्राप्त भएपछि बिरामीले गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । अस्पतालका नेत्ररोग विशेषज्ञ डा राजेश भूर्तेलले आँखाको माइक्रोस्कोप, आँखाको पर्दा, मधुमेह र प्रेसरको परीक्षण तथा राख्नुपर्ने लेन्स अनुमान गर्ने उपकरण प्राप्त भएको जानकारी दिनुभयो ।
काठमाडौं: सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ ६९ पैसा तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भन्नुभयो, “१८ प्रतिशतभन्दा चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।” यही फागुन २१ गतेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उहाँले आगामी चैत २६ देखि २७ गतेसम्म अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने ‘एन्टी करप्सन ग्लोबल फोरम’मा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दलाई स्वीकृति प्रदान गर्ने निर्णय जानकारी दिनुभयो । बैठकले थाइल्यान्डको बैङ्ककमा यही फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने एसिया प्यासिफिक रिजनल प्रिप्रेटरी मिटिङ फर द सेकेन्ड युनाइटेड नेसन्स फूड सिस्टमस् समिट स्टकटेकिङ मोमेन्ट (युएनएफएसएस–४) कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, प्रधानमन्त्रीको मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकारमा अग्निप्रसाद खरेललाई नियुक्त गर्ने, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । साथै आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ । आगामी चैत ५ देखि ६ सम्म जर्मनीको बर्लिन आयोजना हुने ११औँ ‘एडिसन अफ द बर्लिन इनर्जी ट्रान्जिसन डाइलग’ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवाको सर्त तथा सुविधासम्बन्धी विनियमावली, २०६१ (संशोधनसहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट किन नहटाउने ? भनी सोही विनियमावलीको विनियम २३ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने निर्णय गरेको छ । नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षक जनक भट्टराईलाई यही फागुन १८ गतेदेखि लागू हुने गरी बढुवा नियुक्त गरी नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ को प्रतिस्थापन विधेयक सङ्घीय संसद्बाट अध्यादेश स्वीकृत भएपश्चात् पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । यही फागुन २६ गतेदेखि चैत ८ गतेसम्म न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ६९औँ सम्मेलनमा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने, यही फागुन २९ मा बेलायतको लन्डनमा आयोजना हुने मिनिस्ट्रियल राउन्ड टेबल इभेन्ट अन टेकिङ वाटर सेक्युरिटी एक्रस द क्लाइमेट–नेचुरल–डेभलपमेन्ट नेक्सस् कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने, सहसचिव वीरेन्द्रकुमार यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रमुख सचिव पदमा कायममुकायम मुकरर गर्ने पनि निर्णय गरेको छ । साथै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शासकीय मामिला), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य तथा आपूर्ति), महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको विभिन्न देशमा हुने वैदेशिक भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ । त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा मधेस प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेललाई बढुवा गरी मधेस प्रदेशमा पदस्थापन गर्ने, नेपाल स्वास्थ्य सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा अधिकृत बाह्रौँ तहका डा विकास देवकोटालाई बढुवा गर्ने, राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरु सचिव सुमन अर्याल राष्ट्रिय योजना आयोग र सचिव लोकनाथ पौड्याललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने मन्त्रिरिषद्को निर्णय छ ।

