पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

पोखरा:  पोखरा महानगरपालिका वडानम्बर १४ मा सम्पन्न वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका वडानम्बर १६ ले जितेको छ ।  मनोहर युवा क्लबको खेलमैदान मनकामना टोलमा भएको खेलमा वडानम्बर १९ लाइ ३–० को सोझो सेटमा हराउदैँ १६ ले उपाधि जितेको हो ।  जितका लागि वडानम्बर १६ ले २५–१९, २५–२२ र २५–२२ को सोझो सेटमा सहज जित निकाल्यो । उपाधिसगै वडानम्बर १६ ले एक लाख १ हजार ४१४ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता वडानम्बर १९ ले ५५ हजार १४ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । सान्त्वना भएको वडा नम्बर २१ र २३ ले २०/२० हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।    प्रतियोगितामा विधागत तर्फ वडानम्बर १६ का विजय परियार सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले नगद ७ हजार १४, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  यस्तै उत्कृष्ट स्पाइकर नरबहादुर सुनार(जिवन) वडानम्बर १९, उत्कृष्ट लिफ्टर सौरभ गुरुङ वडानम्बर १६, उत्कृष्ट डिफेन्डर बविल गुरुङ वडानम्बर १६ र अनुशासित खेलाडी भुपेन गुरुङ वडानम्बर १९ धोषित भए  । उनीहरुले जनही नगद ५ हजार,ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा पोखरा महानगरपालिका अन्तरगतका १३ टिमको सहभागिता रहेको थियो ।   पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजना खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । 

तनहुँ:  सूर्य नेपाल प्रालिले यहाँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्स सहयोग गरेको हो । दुई पालिकालाई रु २६ लाख मूल्यका एक–एक थान कृषि एम्बुलेन्स हस्तान्तरण गरेको प्रालिका मानव संशाधन विभाग प्रमुख अन्जान दुवाडीले जानकारी दिनुभयो ।  नगरपालिकाका प्रमुख कृष्णराज पण्डितलाई प्रमुख दुवाडीले एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो । प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले आफूहरुको सहयोगपश्चात स्थानीय सरकारले कृषि क्षेत्रमा काम गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  शुक्लागण्डकी नगरपालिकाका प्रमुख पण्डितले अब गाउँगाउँमा बारअनुसार तालिका बनाएर कृषि उपज सङ्कलन गरी बेलचौतारामा निर्माण गरिएको कृषि सङ्कलन केन्द्र सञ्चालनमा ल्याइने बताउनुभयो ।  किसानले न्यूनतम मूल्यमा कृषि एम्बुलेन्स प्रयोग गर्न पाउने भएकाले व्यावसायिक कृषि उत्पादनमा जोड दिन उहाँले आग्रह गर्नुभएको छ ।   नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले केन्द्र सञ्चालका लागि महत्त्वपूर्ण सहयोग प्राप्त भएको जानकारी दिँदै केन्द्र सञ्चालन कार्यविधि तयार रहेको बताउनुभयो ।  उहाँले गाउँगाउँमा रहेको सामुदायिक भवनलाई कृषि सङ्कलन केन्द्रका रूपमा विकास गरी कृषि उपज बजार ल्याउन कृषि एम्बुलेन्स प्रयोग गरिने  बताउनुभयो । 

काठमाडौं:   शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ ।  ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो ।   चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहनुभएका निर्देशक कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने बताउनुभयो ।   “दर्शकको प्रतिक्रिया निकै राम्रो छ, उहाँहरूले अन्य साथीभाइ, घरपरिवारलाई चलचित्र हेर्न सिफारिस गर्छु भन्नुभएको छ । यसले आइतबारदेखि चलचित्रको व्यापार राम्रो हुने देखिन्छ । मेरा लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकको माया र सकारात्मक प्रतिक्रिया हो”, निर्देशक कँडेलले भन्नुभयो ।   निर्देशक कँडेलसँगै दर्शक भेट्न पारसबम ठकुरी, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुलीलगायत कलाकार चलचित्र भवन पुग्नुभएको थियो । युवाको होस्टेल जीवनमात्र नभई ‘टिनएज’मा आउने उतारचढाव, तन्नेरी पुस्ताको कथा र व्यथा ‘होस्टेल ३’ मा देख्न पाइने ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रूपमा परिचय बनाउनुभएका अभिनेता ठकुरीले बताउनुभयो ।   “यो चलचित्रमा प्रस्तुत गरिएको विषय र त्यसलाई निर्वाह गर्ने हामी कलाकार उस्तै उमेर समूहका छौँ । यसकारण पनि यो सबै युवाले महसुस गर्न सक्ने चलचित्र बनेको छ भन्नेमा विश्वस्त छौँ । टिकटकरका रूपमा चिनिएर अहिले चलचित्रमा अभिनय गर्न पाउँदा निकै उत्साहित छु । मैले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गरेको छु”, अभिनेता ठकुरीले भन्नुभयो ।   विशेषतः यसलाई ‘नयाँ पुस्ता’को चलचित्र भन्न सकिन्छ । नेपाली चलचित्रमा देखिएको नयाँ पुस्ताको कमीलाई ‘होस्टेल ३’ पूरा गर्ने अपेक्षा गरिएको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक कँडेलले बताउनुभयो ।   “म आफैँ निर्देशकका रूपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहेनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा अभिनयका लागि मौका दिएको छु”, उहाँले भन्नुभयो । यस अगाडिका ‘होस्टेल’का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनुका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो ।

काठमाडौं:  हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ ।  आगामी २४ घण्टामा कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा  आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।  कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अनाउन विभागले अनुरोध गरेको छ ।

चितवन: पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् ।   चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो ।  जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । 

काठमाडौं:  युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो खेलमा नेपाल नामिबियासँग छ विकेटले पराजित भएकोे छ ।  युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज भएको खेलमा नामिबियाले नेपाललाई छ विकेट हराएको हो ।       नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याइरहने क्रममा वर्षाले केही समय अवरोध भएपछि खेललाई ‘डिएलएस’ विधिबाट १५ ओभरमा झारिएको थियोे । खेललाई १५ ओभरमा झारिएपछि लक्ष्य ७१ रनको बनेको थियो । नामिबियाले १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।       नामिबियाका लागि मेकेलान्ये म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् । उनले ३५ बलमा तीन चौकाको मद्दतले २६ रन बनाएकी हुन् । यस्तै, जुरिएन डियर्गाड्र्टले ‘नकआउट’ १३ रन बनाइन् । उनले सात बलमा एक चौकासमेत प्रहार गरिन् ।  नामिबियाका लागि एडेल भान जिलले आठ, सुन विटम्यानले सात, यास्मिन खानले छ र विल्का म्वाटिलेले नकआउट पाँच रनको योगदान दिइन् । नामिबियाले अतिरिक्त छ रन प्राप्त गर्‍यो ।       नेपालका लागि कप्तान इन्दु बर्मा, कविता जोशी, पूजा महतो र ईश्वरी विष्टले समान एक÷एक  विकेट हात पारे । त्यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।       नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको थियो ।       नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारेका थिए । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिएकी थिइन् ।       नेपालले आफ्नो दोस्रो खेल आइतबार युगान्डासँग खेल्नेछ । त्यस्तै, फागुन २६ गते हङकङसँग, फागुन २८ गते नामिबियासँग, फागुन २९ गते युगान्डासँग र आगामी चैत १ गते हङकङसँग खेल्नेछ ।

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तत्कालका लागि ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ स्थगित गरिएको जनाएको छ ।      मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने उद्देश्यका साथ अभियान तत्कालका लागि स्थगित गरिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।  “सदनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता बोध गरी, महँगी, जनजीविका, राष्ट्र राष्ट्रियता, महत्वपूर्ण कानुन निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई ख्याल गरेर तत्कालका लागि अभियान स्थगित गरिएको छ”, उहाँले भन्नुभयो,“आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा केन्द्रित हुनुपर्ने र तराई मधेस क्षेत्रमा होली, रमजानलगायत सांस्कृतिक पर्वसमेत परेकाले अभियानलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।” प्रवक्ता सापकोटाले आगामी चैत महिनाको सुरुआतदेखि पुनःअभियान सञ्चालन गरिने बताउनुभयो ।  झापाबाट सुरु भएको अभियान आज रौटहत पुगेर स्थगन भएको हो । अभियान स्थगित भएसँगै माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको छ ।  अभियानअन्तर्गत आज रौतहत केन्द्रीत कार्यक्रम आयोजना गरिएको थियो । पार्टीले आइतबार पर्सा र सोमबार चितवनमा अभियानअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो ।

पोखरा:  पोखरामा सम्पन्न भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको छ ।  चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिताको उपाधि समिर सुनचाँदी पसलले जितेको हो ।  पोखरा महानगपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा भएको फाइनल खेलमा समिर सुनचाँदी पसलले पर्वतको पकुवालाई ३–१ को सेटमा पराजित गदैै उपाधि जितेको हो ।  समिर सुनचाँदीले पहिलो सेट २५–१९ ले जितेको पनि दोस्रो सेट २८–३० ले गुमाएको थियो । तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जित्दै समिर सुनचाँदीले पहिलो पार्क पुरुष भलिबलको उपाधि जितेको हो ।  उपाधि जितेको समिर सुनचाँदीले ६० हजार र उपविजेता पर्वत पकुवाले ३५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।  विधागततर्फ सञ्जु विक्रम शाह सर्वोत्कृष्ट  यस्तै विधागतर्फ समिर सुनचाँदी पसलका सञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए ।  यस्तै समिर सुनचाँदीका देवेन्द्र परियार उत्कृष्ट सेटर, रमेश गुरुङ ब्लकर, पर्वत पकुवाका रिम गुरुङ उत्कृष्ट डिफेन्डर, साहिल क्षेत्री सर्भर, पर्वत पकुवाका सन्दिप बस्याल उत्कृष्ट स्पाइकर र समिर सुनचाँदीका समिर विश्वकर्मा उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।  चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द नदीपुरको संयोजनमा भएको पहिलो पार्क पुरुष भलिबल प्रतियोगिता फागुन २० देखि २४ गतेसम्म सञ्चालन भएको थियो । 

तनहुँ:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताउनुभएको छ ।       पार्टीको भिमाद नगर समितिको आज आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले देशभर पार्टीको पक्षमा जनलहर बढेरहेकाले जनताको विश्वास कायम राख्नेगरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।        तल्लो स्तरसम्म पुगेर पार्टीको गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उहाँले सबै मिलेर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । जनताले पार्टीप्रति गरेको विश्वासलाई डगमगाउन नदिने उहाँको भनाइ छ ।       पार्टीका जिल्ला संयोजक विश्व बास्तोला र व्यास नगर समितिका सभापति चुडामणि दाहालले जिल्लाका सबै पालिकामा पार्टीको भेलालाई तीव्र पारिएको जानकारी दिनुभयो ।        भेलाले नगर समितिको सभापतिमा हरिप्रसाद लम्साललाई चयन गरेको छ । त्यस्तै, उपसभापतिमा उत्तम सुवेदी, सचिवमा अमृत थापा, सहसचिवमा कमलभक्त गैह्रे, कोषाध्यक्षमा विमला भण्डारी र सदस्यहरूमा सुकुमाया गोतामे, टीकाराम राना र रामु नेपाली चयन हुनुभएको छ ।