काठमाडौं: संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । सडक दुईतर्फी रुपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरीपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिनुभयो । अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । काभ्रेको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार, कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्तीमा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक ९झोलुङ्गे पुल०मा सडक क्षति पुगेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिनुभएको थियो । उहाँले उपकरण तथा जनशक्ति थप गर्न र बत्तिको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिनुभएको थियो ।
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनस्निर्माण र मर्मत सम्भार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनःउत्थान र सार्वजनिक सेवा सुचारु गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपदबाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमभित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने निर्णय बैठकले गरेको छ । यस्तै, सरकारले तीन महिना अवधिको लागि इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।
काभ्रेपलाञ्चोक: गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ । “ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, उहाँले भन्नुभयो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।” उहाँका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो । घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भन्नुभएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ ।
काठमाडौं: जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष नेपालमा ३१ जनाको मृत्यु भएको छ। नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा।अभियान गौतमले जानकारी दिए। जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो। सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन। ‘विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो’, उनले भने, ‘मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन्।’ उनका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो। खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताए। जापानिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ। ‘विगतको तथ्यांक हेर्दा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गइरहेको छ’, उनले भने,’लामखुट्टे सक्रिय भएर हो कि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौँ।’ उनका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा पाँच, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी ३१ जनाको मृत्यु भएको छ। इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन्। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ। नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ। नेपालमा सन् १९९८ देखि वर्ष मुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको छ। नेपालमा सन् १९७८ मा पहिलो पटक रूपन्देहीमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो। खोपशाखा प्रमुख डा गौतमले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताए। त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ । पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रवर्द्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्त्वपूर्ण योगदान रहेको छ । “विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाइ गरेर लुङटुङको डाँडामा पर्यटक भित्र्याउन पहल नगरेको भए जति नै सुन्दर भए पनि यो क्षेत्र ओझेलमै रहन्थ्यो”, उहाँले भन्नुभयो, “मेजर टेकबहादुरले लुङटुङको डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलियो, पर्यटकीय गतिविधि सुरु भएपछि गाउँलेको आर्थिक हैसियत पनि बदलियो ।” पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने, मुक्तिनाथ तीर्थयात्राका क्रममा थकान मेटाउने र बटुवाहरूले घोडालाई पानी खुवाउने थलो थियो । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रका बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उहाँले बताउनुभयो । स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रूपक रिमालले बताउनुभयो । “चैतवैशाखमा पाखाभरि ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुसमाघमा यहाँ हिउँ खेल्न पाइन्छ”, उहाँले भन्नुभयो, “प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी–पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।” घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५४ लाखमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति रु एक सय ५० र नेपालीले रु ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक एक सय ५० देखि दुई सय जनासम्म विदेशी पर्यटक आएका बताउनुभयो । “गत वर्ष यही याममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ ।” घोडेपानीमा बास बसेका पर्यटकहरू एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटल छन् । पर्यटकलाई अग्र्यानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायत सुविधा उपलब्ध गराइएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरू सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ ”, उहाँले भन्नुभयो, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्र्याउन प्रयास गरिरहेका छौँ ।” हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा–जोमसोम आवतजावतका लागि छोटो र विकल्पका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।
म्याग्दी: मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ । आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रयस्थलको भवनमा एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता छ । दैनिक एक सय ५० जनाभन्दा बढी पर्यटकहरु आउन थालेपछि आवास व्यवस्थापनमा कठिनाइ भएको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने भएकाले गाउँपालिकासँग समन्वय गरेर गत वसन्त यामदेखि टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो “क्षमताभन्दा तीन गुणा बढी पाहुनाहरु आउन थालेपछि समस्या भएको हो ।”फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत वैशाख महिनादेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्ने व्यवस्था मिलाएका छन् । अपेक्षा गरेको भन्दा धेरै सङ्ख्यामा पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको सङ्ख्या थप गर्न लागिएको पुर्जाले बताउनुभयो । होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । आधार शिविरको भ्रमण गरेर आउनुभएका बेनीका सन्दीप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपरेको बताउनुभयो । मानव बस्तीदेखि टाढा रहेको उक्त क्षेत्रमा सञ्चार, विद्युत् अभाव र आवास व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । अर्का पदयात्री बिशाल खत्रीले भुसकेतदेखि आधार शिविर सम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरुको आवश्यकता महसुस गरेको अनुभव सुनाउनुभयो । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोँच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै वि।सं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि।स। २०७७ मा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको र थप पूर्वाधार निर्माणका लागि पहल गरेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा। सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ लिई संस्थालाई आर्थिक हानि पुर्याएको आरोपमा विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको जानकारी आयोगले दिएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार, एमआरआई मेसिन खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को उल्लङ्घन गर्दै बदनियतपूर्वक निर्णय, प्रक्रिया र मूल्याङ्कन गरिएकाले प्रतिष्ठानलाई करिब ६२ लाख रुपियाँभन्दा बढी आर्थिक क्षति पुर्याइएको ठहर गरिएको हो। मेसिन खरिदमा खरिद आवश्यकताको पहिचान र गुरुयोजना बिना बजेट माग, निश्चित कम्पनीलाई मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको र एकै परिवारद्वारा सञ्चालित कम्पनीहरूमार्फत दररेट माग गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार राष्ट्रियस्तरको बोलपत्रमा नेपाली रुपियाँमा सम्झौता गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि अमेरिकी डलरमा शुल्क र भन्सार खर्चसमेत प्रतिष्ठानको कोषबाटै भुक्तानी गरिएको पाइएको छ। यसरी कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपियाँ १८ पैसा बराबरको खर्च भई प्रतिष्ठानलाई ६२ लाख ६० हजार ९४६ रुपियाँ बराबरको अतिरिक्त आर्थिक हानि पुगेको आयोगको निष्कर्ष छ। अनियमिततामा संलग्न १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आरोपितहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. सङ्गिता सिंह भण्डारी तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछाने तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव बायोमेडिकल इन्जिनियर शरद भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी शाखा अधिकृत छायाँ डीसी शाखा अधिकृत श्रीराम चौधरी आइटी अफिसर हीरालाल भण्डारी सिभिल इन्जिनियर मदन भण्डारी वरिष्ठ सहायक अन्जु शर्मा स्वास्थ्य सेवा विभागकी बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोष्टराज ज्ञवाली सजायको माग आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ बमोजिम कैद सजाय, विगो रकम बराबर जरिवाना र बिगो असुलउपर गर्न माग गरेको छ। साथै, ऐनको दफा १९ र २२ बमोजिम अतिरिक्त सजायसमेत माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ । आयोगले दायर गरेको यो मुद्दा पछिल्लो समय सार्वजनिक खरिद प्रक्रियामा देखिएको प्राविधिक मिलेमतो र विदेशी भुक्तानीजस्ता अनियमितताविरुद्धको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
पोखरा: पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्ट्रिट र छ वटा टोलहरुलाई लक्षित गरी तोकिएका संयोजकहरुले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी सदस्यहरु तोकेर उपसमिति बनाउने छन् । उल्लेखित स्ट्रिट बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत यस्ता संयोजक तोकिएको हो । संघको कार्यालय डिहिको पाटनमा हालै आयोजित व्यवसायीको भेलाले उल्लेखित संयोजकहरु तोकेको संघले जनाएको छ । जेन–जी विद्रोहपछि प्रभावित हुन पुगेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटक र व्यवसायी तथा टोलबासीको सुरक्षाको लागि संयोजकहरु तोकेर अगाडि बढिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । ‘पर्यटन क्षेत्रमा चोरीका घटनापनि फाट्टफुट्ट देखिन थाले,’ ‘अध्यक्ष सुवेदीले भने, हाम्रो अभियान कसैप्रति लक्षित भन्दा पनि व्यवसायीको हकहित, पर्यटनको विकास र पर्यटकको सुरक्षासँग सम्वन्धित छ ।’ व्यवसायीलाई जागरुक बनाउने र पर्यटकलाई गुणस्तरीय सेवा दिन समेत आफूहरु एकजुट भएको अध्यक्ष सुवेदीले बताए । सबै होटल र टोलका सीसीटीभी क्यामेरा चालु अवस्थामा राख्ने, विग्रेका क्यामेरा र प्रणालीको मर्मत गर्ने, सुरक्षाकर्मीको आत्मबल बढाउन मद्दत गर्ने, सुरक्षाका लागि सहकार्य गरेर अगाडि बढ्ने, सडक वत्तीको मर्मतसंभार गर्ने र खाल्डाखुल्डी परेका सडकलाई मर्मत गर्न समेत तोकिएका संयोजक र उपसमितिले सघाउने संघले जनाएको छ ।

