पोखरा:   बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणमा गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ ।  सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...

तनहुँ:   तनहुँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन्। आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए। उनले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताए। गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाएका छन्। ‘बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ’, उनले भने,‘गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहज रूपमा काँक्रो बिक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो।’ सोही ठाउँका जितबहादुर गुरुङले रु ३० हजार ५००, तुलबहादुर गुरुङले रु १२ हजार ५००, सङ्गीता गुरुङले रु ४५ हजार ५००, लालश्री गुरुङले रु ४५ हजार ५००, तेजबहादुर गुरुङले रु २० हजार ५००, डिलुमाया गुरुङले रु १२ हजार ५००, रत्नमाया गुरुङले रु १४ हजार ५००, सीता गुरुङले रु नौ हजार ५००, रजमाया गुरुङले रु दश हजार ५००, फूलमाया गुरुङले रु ३५ हजार ५००, धनमाया गुरुङले रु १५ हजार ५००, खड्क गुरुङले रु ५० हजारको मादले काँक्रो बिक्री गरेका छन्। छिम्केश्वरी कृषक समूहमा आबद्ध यीलगायत कृषकले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिए। आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उनले सुनाए। ‘गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ । यसले कृषकलाई आकर्षित गरेको हो’, गुरुङले भने। गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकले करिब पाँच हजार ५०० केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेको जानकारी दिए। उनका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले रु चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले रु एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले रु ७६ हजार, माई छिम्केश्वरी कृषक समूहका कृषकले रु १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले रु तीन हजार, एकता कृषक समूहका कृषकले रु २६ हजार बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना कृषक लाभान्वित भएका छन्। केसीका अनुसार आँबुखैरेनी गाउँपालिका–५ र ६ मा धेरैले काँक्रोखेती गरिरहेका छन्। विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरुप उत्पादन हुन सकिरहेको थिएन। गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ। उनले भने, ‘यस वर्ष दुई वडाका ४४ जना कृषकले पाँच दशमलव पाँच मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल हुनुभयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थिया । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ।’ आँबुखैरेनी गाउँपालिका–२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका–३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ। गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन्।

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो ।  मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रुपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ । गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे(नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ । गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रुपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छभने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ 

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा चार पक्की पुल निर्माण गरिएको अधिकारीले बताउनुभयो । व्यास नगरपालिकामा नौ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पाँच दशमलव दुई किलोमिटर ग्राभेल, तीन दशमलव ९४ किलोमिटर कालोपत्र गरिएको छ एउटा पक्की पुल निर्माण गरिएको छ । ऋषिङ गाउँपालिकामा पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईले जानकारी दिए । उनका अनुसार १२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने एक किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै एउटा पक्की पुल निर्माण भएको उनले बताए । बन्दीपुर गाउँपालिकामा १८ किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले जानकारी दिए । तेह्र किलोमिटर सडक ‘ग्राभेल’ गरिएको बन्दीपुरमा चार किलोमिटर सडक कालोपत्र गरिएको उनले बताए । घिरिङ गाउँपालिकामा एक दशमलव दुई किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुई दशमलव पाँच किलोमिटर सडकको ग्राभेल गरिएको छ भने एक किलोमिटर सडक कालापत्रे गरिएको छ । आँबुखैरेनी गाउँपालिकामा चार दशमलव ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ भने दुई दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए ।

काठमाडौं:  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ । बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेर घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आज पहिलो पटक पार्टीको बैठकमा उपस्थित हुँदैछन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका हस्ताक्षर सङ्कलन अभियान चलाइरहेका बेला पदाधिकारी बैठक बस्न लागेको हो ।

काठमाडौं:  ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। बुधबार अल अमेरतमै भएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट झारे।   यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको शानदार पारी खेले भने गुल्सन झाले ६ बलमा २० रन जोडे। दीपेन्द्रसिंह ऐरी २० र कप्तान रोहित पौडेलले १६ रन थपे। कुवेतका बलर अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले दुई–दुई विकेट हात पारे। नेपाल अब शुक्रबार जापानविरुद्ध दोश्रो खेल खेल्नेछ। नौ टिम सहभागी प्रतियोगिताबाट सुपर–६ हुँदै शीर्ष तीन टिमले भारत–श्रीलंकामा हुने २०२६ टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

काठमाडौं:  जल तथा मौसम विज्ञान विभागले बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवम् स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।   स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले बडा दशैं (विजयादशमी) को अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित मंगलबार सांस्कृतिक सन्ध्याको आयोजना गरेको हो ।   उक्त कार्यक्रमबाट करिब १ लाख संकलन भएको क्लबका अध्यक्ष धिरज गाहामगरले जानकारी दिए ।    उनका अनुसार उक्त रकम सामाजिक कार्यमा खर्चिने गरी कोषमा राखिने छ ।    ‘हामीले हरेक वर्ष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौ । यो वर्षपनि भव्य रुपमा सफल भएको छ, उनले भने,  ‘हरेक क्षेत्रबाट र आर्थिक सहयोग गर्ने सम्पूर्णलाई क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छु र उक्त रकम कोषमा राख्ने निर्णय गरेका छौं ।’   उनले सो कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने बताए ।    ‘मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यो कार्यक्रमले धेरै थोरै भएपनि यसको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास छ ।’   अध्यक्ष गाहामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का, साकेला, तामाङ सेलो तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।   सहिद केवल गाहामगर स्मृति खेलमैदाममा भएको कार्यक्रमको सञ्चालन विष्णु रानामगर र गुनबहादुर आलेमगरले गरेका थिए ।   कात्तिक ७ गतेदेखि ढल्क्यो जोवान (३० वर्ष माथी) भलिबल प्रतियोगिता हुने   माउण्ट एभरेष्ट युवा क्लबले आगामी कात्तिक ७ गतेदेखि ढल्क्यो जोवान (३० वर्ष माथि) खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सहिद केवल गाहामगर स्मृति खेलमैदाममा प्रतियोगिता संचालन गरिने पूर्व क्लब अध्यक्ष दान बहादुर रानाले जानकारी दिए ।   उनका अनुसार आफ्नो समयमा छवि बनाएका खेलाडीहरुको सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित पहिलो संस्करणको ढल्क्यो जोवान (३० वर्ष माथि) खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।     उक्त प्रतियोगिताको विजेता टिमले नगद रु २० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने समूहले नगद रु १० हजार र सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ५ हजार प्राप्त गर्नेछ ।    प्रतियोगितामा सहभागिता जनाउनका लागि नगद रु २ हजार निर्धारण गरिएको छ ।    प्रतियोगितामा सहभागी हुने खेलाडीले उमेर खुल्ने परिचय पत्र (नागरिकता वा लाइसेन्स वा मतदाता परिचयपत्र) अनिवार्य साथमा लिएर जानुपर्ने क्लबका सचिव तारा थापामगरले बताए ।    उनका अनुसार टिम दर्ता फोनमार्फत (९८६९६२८६००, ९८६७३९४०७ ) पनि गर्न सकिने छ ।    सो प्रतियोगिता सम्पन्न गर्नका लागि कल्पना रानामगर (हाल हङकङ) ले स्वं श्रीमान नारायण रानामगरको स्मृतिमा नगद रु २० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।  

नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्।   प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।   आफूखुशी गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।   मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत प्रहरी सहायक हवलदार निजामुद्दिन पठान साउन १ गतेदेखि गैरहाजिर छन्।   अर्का सहायक हवलदार देवराम लावड साउन ११ गतेदेखि गैरहाजिर छन्। उनी इलाका प्रहरी कार्यालय चिसापानी कैलालीमा कार्यरत थिए।   इलाका प्रहरी कार्यालय यदुकुवा, धनुषामा कार्यरत प्रहरी जवान रोहल्ला राय भाट असार २ गतेदेखि सम्पर्कविहीन छन्।   अरू प्रहरी जवानहरू साउनको विभिन्न मितियता गैरहाजिर छन्।   प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजतलास गर्दा र प्रक्रियाअनुसार सूचना टाँस गराउँदा पनि सम्पर्कमा नआएको जनाएको छ।   उनीहरूलाई गैरहाजिर हुनुको कारण खुल्नेगरी स्पष्टिकरण जबाफसहित बाटोको म्यादबाहेक सात दिन भित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ।   अन्यथा प्रहरी नियमावालीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।