काठमाडौँ:    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।   अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

ढोरपाटन:   दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झन थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना वस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् ।  जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरु दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरि रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । गोठालाहरु ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङसहित निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडालगायत क्षेत्रमा पुग्ने गर्छन् । ती क्षेत्रहरु समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पर्छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बेसी क्षेत्रमा गोठालाको चहलपहल बढेको छ । पश्चिम बागलुङका धेरै किसान पशुपालनमा आबद्ध रहेका छन् । चार महिनापछि बेसी झरेका गोठालालाई ठूलो पर्व नै आएको छ । महिनौँ परिवारसँग टाढिएका उनीहरु अब आगामी जेठ महिनासम्मसँगै हुने छन् । एकै परिवारले दुई सयदेखि एक हजार बढीसम्म भेडा पाल्दै आएका छन् । गोठालाहरु हप्तौँको यात्रा गरेर बुकी चढ्ने र बेसी झर्ने गर्छन् । बेसीमा भन्दा बुकी क्षेत्रमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठदेखि नै लेक चढ्न थाल्छन् । यतिबेला ढोरपाटन उपत्यका, पातीहाल्ने, सोलेडाँडा, भर्कोबाङलगायत क्षेत्रमा भेडाको ठूलो बथान भेटिन्छन् । यो समय भेडाबाख्रा बेच्ने सिजन भएको हुँदा गोठालाहरु बेसी झरेर बजार तिर लाग्ने गर्छन् । बेसी झरेका गोठालेहरु अब केही दिनमै मुख्यमुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जाने गर्छन् । दसैँका लागि भेडा च्याङ्ग्रा बेचेर खर्च जोहो गर्छन् । निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले तीन महिना २३ दिनमा लेकबाट फर्किएको बताउनुभयो । आफ्ना दुई सय बढी भेडा रहेको सुनाउँदै छिटो झर्दा घाँस पु¥याउन समस्या हुने गरेको उहाँको भनाइ छ । चार महिनालाई पुग्ने खर्च पहिले नै लिएर लेक उक्लिएको विश्वकर्माले सुनाउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा बाउबाजेले यहीँ पेशा गरे, हामीहरुले यसलाई निरन्तरता दिँदै आयौँ, तर हाम्रो छोरानातीले भेडा गोठाला बन्न चाहेनन्, उनीहरुले पढ्ने लेख्ने भए, विदेश जाने भए, जेठ असारमा लेक उक्लिने र असोजमा बेसी झर्ने त हाम्रो लागि संस्कृति नै भयो, यो साल मात्रै होइन हामीहरु हरेक वर्ष वर्खामा लेक उक्लिने र हिउँद सुरु भयो भने बेसी झर्ने गर्छौँ, घर परिवारसँग महिनौँ दिन टाढा भएर बस्न त मन हुँदैन तर के गर्ने गोठालाको बाध्यता यस्तै छ ।” वर्खाभरी पोषिलो घाँस खाएर सप्रिएका खसी, बोका र भेडाको मूल्यसमेत राम्रो पर्ने हुँदा एउटै भेडापालक किसानले वार्षिक लाखौँ आम्दानी गर्ने गरेका छन् । बेसी झरिसकेका गोठालालाई बजारमा कुन–कुन खसी, बोका र भेडा लैजाने भनेर छनोट गर्न थालेका छन् । गोठालाहरु भेडा बेच्नका लागि केही बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवलसम्म पुग्छ भने कोही गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने तयारीमा छन् । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले लेकमा विस्तारै चिसो बढ्न थालेपछि बेसी झरेको बताउनुभयो ।  आफू असार ३ गते बुकीपाटन उक्लिएको सुनाउँदै चाडबाड मान्नका लागि हरके वर्ष घटस्थापनाका दिन बेसी झर्ने गरेको उहाँको भनाइ छ । “म यसरी लेकबेसी गरेर वस्तुभाउ पाल्न थालेको ४०÷४२ वर्ष भयो, यो अवधिमा कात्तिकसम्म लेकमा बसेको छैन, लेकमा बस्दा धेरै समस्या हुन्छ, अब त विस्तारै जाडो बढ्न थाल्यो, भेडाबाख्रा मर्छन्, दसैँ अल्ली पछाडि हुँदा असोज २०÷२२ तिर झथ्र्यो अहिले त अलि छिटै प¥यो”, उहाँले भन्नुभयो, “असारमा गएपछि म तीज बेला एकपटक घरमा झरेको थिएँ, पटक–पटक आउजाउ गर्ने गाह्रो हुन्छ, नजिक छैन लेक त्यहीँ भएर खर्च पर्च एकै पटक लिएर जाने र दसैँ मनाउन आउने गर्छौँ ।” लेकबाट वस्तुभाउ बेसी झरेपछि तल्लो क्षेत्रमा चहलपहल बढेको छ । जसले दसैँको माहोल बढाएको छ । निसीखोला–६ का कुलबहादुर घर्तीले डेढ सय भेडा बेसी झारी सकेको सुनाउँदै ५५ वटा गाई अझै लेकमा रहेको बताउनुभयो । गाई लिनका लागि एक जना आफन्तलाई लेक पठाएको उहाँको भनाइ छ । गाई १३ गतेसम्म बेसी झारी सक्ने घर्तीले सुनाउनुभयो ।

काठमाडौं:  गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो । चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो । राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठुलो क्षतिका बिच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ । नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन् । सरकारले यी सबै विषयमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसकेको छ । सो आयोगले सत्यतथ्य सार्वजनिक गर्ने नै छ । मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो । नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका निजी संस्थाले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । यद्यपि, प्रारम्भिक विवरण भने सार्वजनिक गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार निजी क्षेत्रको मात्रै करिब रु ८० अर्ब बराबरको क्षति भएको छ । अध्यक्ष ढकाल निजी सबैभन्दा ठुलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनुहुन्छ । आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न र बुझाउन नसकिएको उहाँको बुझाइ छ । सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासङ्घले सकारात्मक रुपमा लिएको उहाँको भनाइ छ । देशभर चेन निर्माण गरेर व्यापारमा विविधिकरण गर्दै आएको भाटभटेनी सुपरमार्केटमाथि आक्रमण भयो । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले रु १० अर्ब ८५ करोड बराबरको क्षति भएको प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा विवरण दिनुभएको छ । सो व्यापारिक प्रतिष्ठानको १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र नौ वटामा आशिंक क्षति पुगेको छ । कूल २८ स्टोरमध्ये १६ वटा भने पुनःसञ्चालनमा आइसकेको छ । भाटभटेनीले नेपालीको सबैभन्दा ठुलो चाड दसैँको अवसरमा स्टोर बन्द भएकै कारण कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने यसअघि नै स्पष्ट पारिसकेको छ । दसैँ भत्तासमेत दिने उसको घोषणा छ । “रोजगारी कोही कसैको पनि जाँदैन, तलब भत्ता पनि रोकिदैन”, गुरुङले भन्नुभएको छ । भाटभटेनीका स्टोरमा राखिएका रु पाँच अर्ब ९६ करोड तीन लाख ६७ हजार पाँच सय ९३ बराबरको सामग्री पूर्णरुपमा जलेका छन् । यस्तै, झण्डै ५० करोड बराबरको सामग्री तोडफोड र लुटपाट भएको छ ।   त्यस्तै, दूरसञ्चार सेवा प्रदायक एनसेलको लैनचौरस्थित मुख्य कार्यालयमा राखिएका दुई दर्जनभन्दा बढी सवारीमा गत भदौ २४ गते आगजनी गरिएको जनाएको छ । मुख्य कार्यालयको पहिलो तल्ला आगजनीका कारण क्षतिग्रस्त छ । १०औँ तल्लासम्म लुटपाट भएको छ । कर्मचारीका व्यक्तिगत सामानसमेत हराएका छन् । लैनचौरका साथै एनसेलको पोखरा, धनगढी र कञ्चनपुरको महेन्द्रनगरको कार्यालयमा तोडफोड र अगजनी गरिएको छ । सो कम्पनीका करिब चार सय कर्मचारीले हाल घरैबाट सेवा दिइरहेका छन् । आगजनी र लुटपाटमा बाबजूत सो कम्पनीले तीन दिनसम्म आफ्ना सबै सेवा निःशुल्क दिएको थियो । नेपाल टेलिकमले जस्तै भ्वाइस, इन्टरनेट र एसएमएस निःशुल्क प्रदान गरेको सो कम्पनीले जनाएको छ । एनसेलको सिमकार्ड बिक्री गर्नेदेखि त्यससँग जोडिएका झण्डै एक लाख बढीले रोजगारी पाएका छन् । मुलुकमा रोजगारी दिनेदेखि आर्थिक क्रियाकलापमा सहयोग गर्ने सङ्घ संस्था, उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले निजी क्षेत्र तस्त्र अवस्थामा रहेको महासङ्घले जनाएको छ । होटल एशोसिएशन अफ नेपाल  (हान) का अनुसार जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै झण्डै रु २५ अर्ब बराबरको क्षति पुगेको छ । काठमाडौँमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ ।  राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्वद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमाथि आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ । यस्तै, काठमाडौँको वर्णवास होटल पनि आक्रमणको शिकार भएको छ । व्यवसायी विनोद चौधरीको गुर्जुधारामा रहेको सिजी पार्कमा आगजनी र तोडफोड भएको छ । त्यहाँ राखिएका सामान लुटपाट भएको छ । चौधरीको निवासमा पनि आक्रमण र आगजनी गरिएको विवरण सार्वजनिक भएको छ । चौधरी समूहमा मात्रै करिब पाँच अर्बको क्षति पुगेको प्रारम्भिक आकलन छ । महासङ्घका अध्यक्षसमेत रहनुभएका ढकाल सम्वद्ध चन्द्रागिरि केवलकारको बेस स्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केवलकार बन्द छ । मौलाकालिका केवलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केवलकार मर्मतपछि तत्कालै सञ्चालनमा ल्याउन सकिए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ । ढकालको आइएमई समूहले सातै प्रदेशमा केवलकार निर्माण गर्ने योजना अगाडि सारेको छ । सोही क्रममा पूर्वको पाथीभरामा केवलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । यस्तै, काठमाडौँको थापाथली, पानीपोखरी, नक्साललगायतका स्थानका गाडी शोरुममा आगजनीका कारण ठूलो धनमालको क्षति भएको छ । विभिन्न प्रदर्शनी तथा मेला आयोजना गरेर अटो व्यवसायमा नयाँ उभार आइरहेको बेला जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडले ठूलो क्षति पुगेको व्यवसायीहरुको भनाइ छ । सरकारले यसबिचमा के गर्‍यो जेनजीको प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको मूल्याङ्कनका निम्ति राष्ट्रिय योजना आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विषयगत मन्त्रालय र जेनजीका प्रतिनिधिसहितको समितिले ४५ दिनभित्र क्षतिको मूल्याङ्कनको प्रतिवेदन सरकारलाई प्रस्तुत गर्ने निर्णय गरेको छ । आगजनी तथा तोडफोडबाट सिंहदरबारस्भित्र क्षति भएका भौतिक संरचना, सवारीसाधन, मेसिनरी औजारलगायतको मिनाहा गर्ने र लिलाम बिक्री गर्ने सरकारले निर्णय गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरूले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय भएको भएको अर्थमन्त्री डा रामेश्वर खनालले जानकारी दिनुभयो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । बिमाबाट अग्रीम रुपमा क्षतिको ५० प्रतिशतसम्म दिनुपर्ने गरी व्यवस्था मिलायएको छ । त्यसैगरी सरकारले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने निणर्य गरेको छ । जसले कर्जा लिएर भुक्तानी गर्न सक्नेछन् । यस्तै, सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट प्रदान गरिनेछ । त्यस्तै, सरकारले पुनर्निर्माणका लागि पुनर्निर्माण कोण खडा गर्ने निर्णय गरिसकेको छ । कोषमा नेपालभित्र र नेपाल बाहिरबाट नेपालीले इच्छाअनुसार योगदान गर्न पाउने छन् । अर्थमन्त्री खनालका अनुसार बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानले कम्पनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम राख्न पाउने र त्यस्तो रकममा करकट्टी गर्न पाउनेछन् । यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यही असोज ५ गते निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र दुवैलाई साझा चुनौती आएको बताउनुभएको थियो । सरकारले अर्थतन्त्रका सुधारका लागि छिट्टै सुधारात्मक प्याकेज घोषणा गर्ने तयारी गरेको छ । बिमा दाबी २२ अर्ब २५ करोड जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बिमा दाबी रु २२ अर्ब २५ करोड ६५ लाख बराबर पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार तीन सय ४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार चार सय ७८ वटा बिमा दाबीको आवेदन हो । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । यो निजी क्षेत्रको क्षतिको मात्रै दाबी हो । सरकारी संरचनाको भने बिमा नभएका कारण दाबी भुक्तानी हुन सक्दैन । प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार, दिन ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै रु पाँच अर्ब २२ करोड ९८ लाख बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा रु पाँच अर्ब आठ करोड २८ लाख बराबरको आवेदन प्राप्त भएको छ । सम्पत्ति बिमाको पाँच सय ३८, मोटर बिमा एक हजार सात सय ७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका एक सय ३२, परिवहन बिमा ११ र अन्य बीमाका १९ वटा आवेदन प्राप्त भएको जनाइएको छ ।

तनहुँ:  मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।  पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् । मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ ।  साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसक्नुभएका प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।  मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।  मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन–नारायण सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।

बारा: जीतपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३६ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३८ वर्षीय रमेश रूम्बालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले छोपी लुकाईछिपाई राखेको २८ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी मिनिट्रक चालक रमेशलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं:   नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू। दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो सुन प्रतितोला रू ।दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू. तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज चाँदी रू. दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सिरहा:  सिरहा जिल्लाको गोल बजार नगरपालिका–१३ स्थित भेल्हा डंगराहा गाउँमा एक किशोरको अपहरणपछि हत्या गरिएको दर्दनाक घटना सार्वजनिक भएको छ। १५ वर्षीय अभिषेक सिंहको शव मङ्गलवार बिहान गाउँकै आँपको बगैँचामा फेला परेको प्रहरीले जनाएको छ। अभिषेक गत असोज ५ गते साँझ अचानक हराएका थिए। परिवारले रातभर खोजतलास गरे पनि उनको कुनै अत्तोपत्तो लागेन। तर भोलिपल्ट बिहान अभिषेककै इमो एपमार्फत आमालाई आएको एक सन्देशले घटनाले नयाँ मोड लिएको थियो। सन्देशमा लेखिएको थियो– “तपाईँको छोरा हाम्रो कब्जामा छ। पाँच करोड रुपैयाँ नदिए उसको ज्यान लिनेछौँ। प्रहरी वा अरू कसैलाई खबर गरे परिणाम घातक हुनेछ।” यस्तै किसिमका धम्कीपूर्ण सन्देशहरू लगातार आइरहेका थिए। अपहरणकारीहरूले आफूहरू बिहारबाट भएको दाबी गर्दै पैसा नदिए हत्या गर्ने चेतावनी दिएका थिए। परिवार अत्यन्तै तनावमा परेपछि अन्ततः प्रहरीले सहयोग लिएको थियो। घटनाको अनुसन्धानमा खटिएको टोलीका अनुसार अभिषेकको शव स्थानीय आँप बगैँचामा भेटिएको हो। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको फरेन्सिक टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले घटनाको पुष्टि गर्दै अनुसन्धान तीव्र पारिएको जानकारी दिनुभयो।  “हत्या गम्भीर प्रकृतिको देखिएको छ, अपराधीको पहिचान तथा पक्राउका लागि हामी सबै स्रोत परिचालन गरिरहेका छौं,” एसपी शर्माले भन्नुभयो।  हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन। तर प्रारम्भिक अनुमान अनुसार अपहरणपछिको योजनाबद्ध हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीयवासी भने सो घटनापछि आक्रोशित र त्रसित छन्। बालकको निर्दोष हत्या र पाँच करोड फिरौतीको मागले गाउँमा सन्त्रास फैलिएको छ।

वीरगञ्ज:  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो। गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै  एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए। सो अवधिमा आयात बढेसँगै रु एक अर्ब २९ करोड बढी राजस्वसमेत संकलन भएको छ। ‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन  आयात हो,’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व संकलन गरेको थियो। त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड संकलन गरेको छ। चालु आवको दुई महिनामा रु ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा पाँच अर्ब २८ करोड राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए। चालु आवको दुई महिनामा छ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले चार अर्ब ५४ करोड राजस्व संकलन गरेको छ।  गत आवको सोही अवधिमा भने रु छ अर्ब ४० करोडको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा तीन अर्ब ९९ करोड राजस्व सङकलन भएको थियो। त्यस्तै चालु आवको दुई महिनामा पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात हुँदा ९६ करोड राजस्व संकलन भएको छ।  गत आवको सोही अवधिमा भने पाँच अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा एक अर्ब राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

म्याग्दी:  सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ ९आठ हजार १६७ मिटर० अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५० लाख ७१ हजार सलामी दस्तुर ९शुल्क० प्राप्त भएको छ । शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही नौ सय डलर सलामी दस्तुर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ । विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको ९आठ हजार १६३ मिटर अग्लो० मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन् । शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ । आरोहण अनुमति लिनेको सङ्ख्यामा धवलागिरि दोस्रो स्थानमा रहेको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका इटली आधार शिविरका होटल व्यवसायीसमेत रहेका धवलागिरि–४ का वडासदस्य हरिप्रसाद तिलिजाले बताए । यसपालि आरोहण टोली मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविरतर्फ गएका छन् । धवलागिरि गाउँपालिकाको मुदी बगर हुँदै जाने पदमार्ग बिग्रिएको, घुमाउरो र टाढा पर्ने भएकाले मुस्ताङको पदमार्ग प्रयोग गरेर गएका हुन् । गत वसन्तयाममा दुई समूहका १५ जनाले आरोहण अनुमति लिएबापत ३६ लाख ९१ हजार राजस्व सङ्कलन भएको थियो । सन् २०२४ को शरदयाममा एउटा समूहका १४ पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रुसका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणका लागि चुनौती बन्ने गर्छ । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।

धादिङ:  गए राति खसेको पहिरोका काारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गस्थित वेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्वर ७ मौवा खेला भन्ने स्थानमा गएको पहिलरोले सडक अबरुद्ध भएको हो । सडकभन्दा माथिबाट खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहे पनि समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभएको छ। राजमार्ग बन्दका कारण सयौँ सवारीका साधनहरु सडकमा नै अलपत्र छन ।