काठमाडौँ:    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।   अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

काठमाडौं:  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ ।  अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

पर्वत:  गत शनिबार रातिको भीषण वर्षाका कारण बस्तीभन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठ पूर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्ष मनबहादुर कुँवरले जानकारी दिनुभयो । कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो । बस्तीभन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्म पुगेको हो ।  विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो । जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधार तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो । विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उहाँले बताउनुभयो । 

म्याग्दी:   मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको बिदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए ।  ७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै २०६७ सालमा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरुमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ ।

चितवन: गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकको यातायात सोमबार बिहान ५ बजेदेखि एकतर्फी सञ्चालन हुन थालेको छ ।  इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो मात्रै एकतर्फी सञ्चालनमा आएको थियो । आइतबार साँझ ८ बजे पुनः पहिरो खसेपछि अवरुद्ध भएको सडक सोमबार बिहानबाट सञ्चालन भएको हो । राति झरेको पहिरो पन्छ्याएपछि सडक सञ्चालन भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए। यो सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरेका छन् । दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् । यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । सडक दुईतर्फी सञ्चालन नहुञ्जेलसम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । तुइन खेला नजिक सुख्खा पहिरो खसेपछि लामो समयसम्म सडक अवरुद्ध भएको हो ।

काठमाडौं:  प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यस अवसरमा सोमबार काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आज बिहान ९ः१३ मिनेटको शुभसाइतमा दसैँ घरमा जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धून बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा जमरा छर्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।

काठमाडौं:   प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आज (सोमबार)देखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधीका रूपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइत ९ः१३ बजे आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ः१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले  राससलाई जानकारी दिनुभयो । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ । आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष ।माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो समेत हुनेगर्छ ।   विजयादशमीको साइत असोज १६ गते बिहान ११ः५३ बजे नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष १० रात र ११ दिनको हुन पुगेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको समितिका पूर्वअध्यक्ष प्राश्रीकृष्ण अधिकारीले बताउनुभयो । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूललप्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १६ गते देवी विसर्जनको साइत बिहान ९ः२३ बजे रहेको समितिले जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११स्५३ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाइ धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । हनुमानढोकाको दसैँ घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगासहितको बलि दिइन्छ ।   रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।

पोखराः   नेपाली कांग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार बसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।   त्यसैगरी बैठकले यथाशिघ्र क्रियाशिल सदस्यता नविकरण गरी यहि मंसिर भित्र नै विशेष महाधिवेशन गर्ने त्यसो नभएमा १४ औं महाधिवेशनका प्रतिनिधिहरुबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णण गरिएको प्रवक्ता सिग्देलले जानकारी दिए ।   बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणा माथिको आक्रमण तोडफोड र आगजानीको घटना प्रति घोर निन्दा तथा भत्सर्ना गरेको छ ।   नेपाली काँग्रेस कास्कीका कार्यवहाक सभापति रामवावु भण्डारीको अध्यक्षतामा आइतबार वसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पतीमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै त्यसको भत्सर्ना गरेको हो ।   त्यसैगरी जिल्ला पार्टी कार्यालय, चिप्लेढु·ामा रहेको विपि कोइरालाको शालिक, हरिचोकमा रहेको शहिद हरिप्रसाद गुरुङको शालिकसँगै अन्य शहिदहरुको शालिक तोडफोड तथा आगजनिको निन्दा गरेको छ ।   बैठकले पार्टी कार्यलार्य पुननिर्माण तथा विपि कोइराला र शहिद हरिप्रसाद गुरुङको शालिक पुनस्थापना गर्नका लागि पार्टीका साथीहरुसँग सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ।   पार्टी कार्यालयको क्षती मूल्याड्ढन र पुननिर्माणको लागत पेश गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य ई. सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै कास्की जिल्ला माताहातमा रहेका क्षेत्र, प्रदेश सभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक वसी पार्टीका साथीहरुलाई क्रियाशिल बनाउन बैकठले आह्वान गरेको छ ।   बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्र, प्रदेश सभा र पालिकाका सभापतिहरुको सहभागिता रहेको थियो ।

पोखरा:   पामे बचत तथा ऋण सहकारीले १५ औ साधारण सभाको अवसरपारे सहकारीले विभिन्न कार्यक्रम गरेको छ । शनिबार पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको छ भने आइतबार बटुकहरुलाई खाना ख्वाउनुका साथै सिद्धबराह तपोबन आश्रमलाई सहयोग गरेको छ । सोमबार १५ औ साधारण सभा पोखरा २४ पामेमा गर्दैछ । सरसफाइ अभियानमा पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल, बाटो अवपर रहेका  झाडी लगाएतका फोहोरहरु सरसफाइ गरेको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा अभियानलाई सहकारीले प्रत्येक वर्ष गर्दै आएको बताए । सहकारीले आवश्यकता अनुसार त्यस क्षेत्रमा विभिन्न सामाजीक उत्तरदायित्वका काम गर्दै आएको उनले बताए । आइतबार पोखरा २३ माझथुममा रहेको सिद्धबराह तपोवन आश्रम आश्रमलाई आर्थिक सहयोग, खाद्यन्न सहयोग र बटुकहरुलाई खाना र दक्षिणा प्रदान गरेको पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले जनकारी दिए ।  उनले सहकारीले सामाजीक उत्तरदाइत्व अन्तरगत विभिन्न सामाजीक कार्यक्रम गर्दै आएको बताए । उनले पामे सहकारी सहकारीको सिद्धान्त पालना गरेर सञ्चालन गरेका कारणले नै सहकारीमा कुनै समस्या नरहेको बताए । 

पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ ठूलोढुङ्गास्थित दुई सय वर्ष पुरानो प्रसिद्ध बालादेवी मन्दिरमा यस वर्ष नवदुर्गा विशेष पूजा हुने भएको छ ।      विश्व शान्तिका साथै हाम्रो देश नेपाल शान्ति र विकासको मार्गमा उन्मुख बनोस् भन्ने कामनाका साथ नवदुर्गा विशेष पूजा गर्न लागिएको बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समितिका सचिव राजकुमार लामिछानेले जानकारी दिनुभयो ।      उहाँका अनुसार भोलि घटस्थापनादेखि मन्दिरका पूजारी वसन्तप्रसाद आचार्य सहितका तीन जना पण्डितहरूबाट मन्दिरमा नियमित दुर्गा शप्तशती पाठ हुनेछ । त्यस्तै फूलपाती, महाअष्टमी, महानवमी विशेष पूजा गरिने छ ।       मन्दिरका फूल प्रसादलाई विजयादशमीका दिनमा आसपासका क्षेत्रका स्थानीयका घरघरमा वितरण समेत गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।      मन्दिरमा दैवी शक्ति रहेको र श्रद्धाभक्तिपूर्वक पूजा गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पोखराको भरतपोखरी र आसपासका दर्शनार्थीहरू मन्दिरमा आउने गरेका छन् ।      मन्दिरमा बलि पूजा भने नहुने जानकारी दिदै उहाँले ठूलोढुङ्गा र आसपासका क्षेत्रबाट विभिन्न भाकल सहित पूजाआजाका लागि दर्शनार्थी आउने गरेको बताउनुभयो ।      सचिव लामिछानेका अनुुसार मन्दिरको सुरुमा पोखरा महानगरपालिका वडा नं ३३ निवासी स्व.लेखबहादुर गुुरुङबाट टिनको जस्ता प्रयोग गर्न र मन्दिरको गारो लगाउने क्रममा अतुलनीय सहयोग भएको थियो । उक्त मन्दिर निर्माण भइसकेपछि पोखरा ३३ निवासी दिननाथ आचार्यबाट पूजाआजा हुँदै आएकोमा पछि बसन्त आचार्यले हालसम्म नियमित पूजाआजा गर्दै आउनुुभएको उहाँले जानकारी दिनुभयो ।      दुई सय वर्ष अघिदेखि पूजाआजा हुँदै आएको विश्वास लिइने यस मन्दिरको स्थापनाको भने अनौठो किंवदन्ती छ । किंवदन्तीअनुसार आजभन्दा करिब दुई सय वर्ष अघि लेकतिरबाट एक जना महिला माइत जान भनी यसै बाटो बाटो हँुदै आएकी र रात परेकाले हालको बालादेवी मन्दिरको नजिकै रहेको ओढारमा वास बसिछन् ।      निज महिला गर्भवती भएको र वास बस्ने क्रममा बाघले आक्रमण गरेकाले पेट चिरिएर गर्भबाट बालिका निस्किएको किंवदन्ती छ । निज महिलालाई बाघले खाएको र बालिकालाई नागले बेरेर संरक्षण दिएको भन्ने कथन छ । केही समय पश्चात बालिका अलप भएको तर निज बालिकाको दिव्यस्वरुप त्यही नै घुमिरहेको र सो स्थानमा प्रायः बालिका रोएको तथा कराएको आवाज आउन थालेछ ।      बालिका रोएको र कराएको आवाज निरन्तर सुनिन थाले पछि के रहेछ भनि लामा धामीलाई ल्याई हेराइएछ । खोजी गर्दा उक्त बालिकाको आत्मा धामीमार्फत सबै घटनाबारे सम्पूर्ण वृतान्त बताउनुको साथै म देवी हुँ र यसै स्थानमा मेरो मन्दिर बनाउनु भन्ने निर्देशन भएछ । पछि तिनै बालिकाको नाममा बालादेवी मन्दिर स्थापना भएको र त्यसयता निरन्तर पूजाआजा हुँदै आएको मान्यता छ ।      यसअघि विसं २०२२ मा एक पाखे सानो मन्दिर निर्माण भएकोमा विसं २०५९ मा स्थानीयवासीको सामूहिक प्रयासबाट नयाँ मन्दिर निर्माण गरिएको हो ।       प्रत्येक वर्षको ज्येष्ठी पूर्णिमामा स्थानीयले विशेष पूजाआजा गर्ने गरेका छन् । पहिला पहिला ज्येठी पूर्णिमाका दिन पूजा गर्दा पाठीको बली दिने गरिए पनि स्थानीयवासीको समुहिक निर्णय अनुसार विगत तीन वर्ष यता बलिदिने प्रचलन हटिसकेको सचिव लामिछानेले जानकारी दिनुभयो ।      विभिन्न महत्वपूर्ण तिथिमितिमा पनि ठाउँ ठाउँबाट दर्शनार्थीहरू मनले चिताएको पुग्ने विश्वासका साथ पूजाआजाका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।      मन्दिरको संरक्षण र विकासको लागि बालादेवी मन्दिर संरक्षण तथा पुनःनिर्माण समिति क्रियाशिल बनिरहेको छ । मन्दिर निर्माणका लागि स्थानीय समाजसेवी मोतिप्रसाद आचार्यले जग्गा उपलब्ध गराउनुभएको सचिव लामिछानेले जानकारी दिनुभयो । मन्दिरमा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि पनि थप जग्गा दिने प्रतिवद्धता आचार्यले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।      पोखराको बिरौटा हुँदै बागमारा जाने सडकखण्डको ठूलोढुङ्गा चोकबाट नजिक पर्ने उक्त मन्दिर सडककको सहज पहुँचमा रहेको छ । पूर्णरुपमा कालोपत्रे सडक भएका कारण पछिल्ला वर्षमा यहाँको महिमा र गरिमा अझै बढ्दै गएको छ ।