पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै उपाधि जित्ज सफल भएका हुन् । प्रतियोगितामा फस्ट रनरअप तर्फ संगिता ल्वागुन, सेकेन्ड रनरअप तर्फ संगिता सुनार तथा अर्गनाइजर च्वाइस अवार्ड बिबिसा बिश्वकर्माले प्राप्त गरेकी छन्। विजेताहरूले मिस्टर एन्ड मिस बिश्वकर्मा राष्ट्रिय प्रतियोगितामा सिधै सहभागिता जनाउने अवसर, नगद पुरस्कारसहित आकर्षक उपहारहरू प्राप्त गरेका छन्। बी ब्रोज इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बिश्वकर्मा समुदायको पहिचान, संस्कृति र प्रतिभा उजागर गर्ने उद्देश्यसहित समुदायभित्र रहेका युवायुवतीहरूको आत्मविश्वास, व्यक्तित्व विकास र सामाजिक चेतनालाई केन्द्रमा राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिश्वकर्मा समुदाय ऐतिहासिक रूपमा सीप, कला र श्रमसँग जोडिएको समुदाय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको आत्मसम्मान र पहिचान मजबुत बनाउने बताए। कार्यक्रमका विशेष अतिथि लोकप्रिय गायक प्रकाश सपुतले विजेता तथा सहभागीहरूलाई शुभकामना दिँदै बिश्वकर्मा समुदायको संघर्ष, प्रतिभा र सम्भावनाको खुलेर प्रशंसा गरे। कार्यक्रमको अर्को आकर्षणका रूपमा बिश्वकर्मा समुदायको मौलिक पोषाक सार्वजनिक गरिएको थियो, जसले समुदायको संस्कृति र पहिचानलाई थप उजागर गरेको सहभागीहरूको भनाइ थियो। प्रतियोगिताको मूल्यांकन अनुभवी तथा प्रतिष्ठित निर्णायक मण्डलद्वारा गरिएको थियो। निर्णायकको भूमिकामा डिजाइनर अमित बराल, सामाजिक अभियन्ता सारिका गुरुङ, मिस्टर एन्ड मिस बिश्वकर्मा नेशनल सिजन–४ का विजेता शौरव बिश्वकर्मा तथा डिजाइनर शुष्मा गुरुङ रहेका थिए। निर्णायकहरूले सहभागीहरूको व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास र सामाजिक दृष्टिकोणका आधारमा मूल्यांकन गरेका थिए। कार्यक्रममा मञ्जु विश्वकर्मा, बिपास सुनार र समिर रामदामले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि पनि भोलि नै निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेकोले अझै समय लाग्ने भएकाले भोलि पनि हल बुक गरिएको र नेतृत्व चयनका लागि भोलि नै निर्वाचन प्रक्रियामा प्रवेश गर्ने गरी छलफल अघि बढेको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइयो । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गरी छलफल अघि बढाइरहेको भएपनि संस्थापन पक्षसँगको संवाद र वार्ता जारी छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्य र नेताहरुलाई बोलाएर पार्टी विभाजनलाई रोक्ने उपायको बारेमा कुराकानी भइरहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिनुभयो ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका विधाहरुमा लाइफटाइम एचिभमेण्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट उदयमान, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब÷संस्था तथा वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् । अवार्डको नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको स्पोर्ट्स अवार्ड सरोकारवाला सबैको साथ, सहयोग र सल्ल्लाहमा भब्य बनाउने गरी लागिपर्ने अध्यक्ष आस्थामगरले बताए । अवार्डका लागि प्रदेश खेलकुद गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । अवार्डले गण्डकी प्रदेशको खेलकुद प्रवद्र्धन तथा खेल पत्रकारिताको सम्मानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ ।
काठमाडौं: सरकारले राष्ट्रियसभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनस्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रपरिषद्ले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर दुई लाख ८३ हजार ५०३ प्रदान गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले वित्तीय क्षेत्र रणनीति (२०८२/८३–२०८६/८७) र मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा दोलखाको मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष ईश्वर कोइराला, तत्कालीन वडासचिव विनय उप्रेती र कार्यालय सहायक दलबहादुर थापा छन् । मेलुङ गाउँपालिका–१ का वडाध्यक्ष समेतले मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ताबापतको रकम निकाली हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा मेलुङ गाउँपालिका–१ बाट आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷७६ सम्ममा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ लाभग्राहीको सामाजिक सुरक्षा भत्ता उनीहरूले बुझेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ । खड्काले २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनले सहज रूपले नेतृत्व परिवर्तन गर्न सकिने अवस्था भएको भन्दै अहिले प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरेका छन् । ‘प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदै छ’, खड्काले भनेका छन्, ‘तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।’
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् । उत्तरतिर लस्करै देखिने हिमश्रृङखला र आतिथ्यताले पाहुनाहरु पुलकित हुन थाल्छन् । यो पर्यटकीय राजधानी पोखराको छिमेकी पालिका माछापुच्छ्रे गाउँपालिकाको ह्याङ्जाकोट गाउँ हो । जहाँ २०६४ सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा छ । २० घरदेखि सुरु भएतापनि बसाइँसराइँका कारण हाल १ दर्जन घरले होमस्टे सञ्चालन गर्दै आएका छन् । जुन गाँउ प्रकृति र संस्कृतिमा निकै धनि छ । कसरी जाने ? पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस गाउँसम्मै पक्की सडकको सुविधा छ । सिमपानी, याम्दी, हेम्जाको मिलनचोक, मेलबोट झिझिर्का, धितालबाट हुँदै ह्याङ्जाकोट पुग्न सकिन्छ । अधिकांश गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा करिब ५० घर रहेको छ । तर, १२ घरमा मात्रै होमस्टे सञ्चालनमा छ । करिब ८० जना पाहुना राख्ने क्षमता भएको यस होमस्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ प्याकेजको व्यवस्था छ । हेर्नुहोस्, थप तस्बिर:
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिने छ । महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा हुने बन्दसत्रको सुरुआत विशेष महाधिवेशनको कार्यविधि निर्माणबाट गरिने छ । त्यसपछि नौ वटा समूह निर्माण गरी चार प्रमुख विषयमा नीति मन्थन गरिने कार्यसूची तय गरिएको छ । उहाँका अनुसार बन्दसत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयहरूमा विस्तृत छलफल हुनेछ । नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा पनि व्यापक छलफल हुने उनले जानकारी दिनुभयो । नेतृत्व परिवर्तन गर्ने पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने पोखरेलले बताउनुभयो । नयाँ कार्यसमिति निर्विरोध चयन हुने सम्भावना रहेकाले मतदान गर्नुपर्ने अवस्था नआउने उहाँको धारणा छ।यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौँ आइपुगेकाले उहाँहरूलाई बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो ।
तनहुँ: तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो । उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताउनुभयो । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

