काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो । मन्त्रिपरिषद् विस्तारपछि सोमबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय गरेको छ। आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ। घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णयसमेत सरकारले गरेको छ। सरकारले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गर्ने भएको छ। सरकारले आयोगको प्रतिवेदनको आधारमा थप काम गर्ने गृहमन्त्री अर्यालको भनाइ छ। भदौ २३ र २४ भएको आन्दोलनमा साहदत प्राप्त गर्नेको नाममा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले बताउनुभयो।
काठमाडौं: नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव पनि हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनलाई आइतबार साँझ अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
काठमाडौं: नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनी आइतबार साँझ मन्त्री बनेका हुन् । उनले ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
काठमाडौं: वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। हालै भारत गएर ५ टी–२० खेलेको नेपाल ए टिमबाट सन्दिप जोरा, आदिल आलम लगायतका खेलाडी पनि समेटिएका छन्।
काठमाडौं: संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो । ‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन रहेको स्थान तथा व्यक्तिको वतन जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । संसद् सचिवालयले मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि आह्वान गरेको छ । भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ । भवन परिसरमा भएको आगजनी, तोडफोड एवम् लुटपाटका घटनापश्चात् गरिएको स्थलगत अनुगमन, निरीक्षण तथा विभिन्न माध्यमबाट प्राप्त जानकारीअनुसार संघीय संसद सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको सूचनामा उल्लेख छ ।
काठमाडौं: सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघमा अनुसार सुनको मूल्य सोमबार १०० रुपैयाँले बढेको छ । आइतबार २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मुख्य समेत बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । आइतबार २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको छ ।
काठमाडौं: ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन्। आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो। चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए। उनले भने, “सुरक्षालाई उच्च प्राथमिकता दिँदै हामीले चलचित्र भवन सञ्चालनमा ल्याउन लागेका हौँ। अवस्था सामान्य भएसँगै हामी पनि सामान्य अवस्थमा फर्किन लागेका हौँ।” अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताए। चलचित्र ‘रिमै’, ‘मोहर’ लगायतका नेपालीसँगै केही विदेशी चलचित्र दर्शकले हेर्न पाउनेछन्। दसैँको अवसर पारेर फूलपातीदेखि भने तीन नेपाली चलचित्र प्रदर्शन हुनेछन्। भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा यही भदौ २४ गते भएको प्रदर्शनमा विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको सङ्घले जनाएको छ।
काठमाडौं: आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले लगातारको झरी नभए पनि बदली भने देशभर हुने तर भारी वर्षा भने खण्डित हुने जानकारी दिनुभयो । उहाँले मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको भए पनि जलवाष्पयुक्त हावा अरब सागरबाट र बङ्गालको खाजीबाडीबाट आइरहेकाले वर्षा गराउने प्रणाली विकास भएको बताउनुभयो । त्यसका साथै कतैकतै स्थानीय प्रणालीसमेत विकास भएका छन् । आज साँझ चितवन र नवलपुर जिल्ला आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई नारायणघाट र डण्डामा भारी वर्षा भएको महाशाखाले जनाएको छ । उक्त प्रणाली पूर्वदिशामा सर्ने क्रममा रहेको छ । पछिल्लो तीन घण्टामा चितवन, नवलपरासी, बारा, गुल्मी र गोरखा कास्कीमा वर्षा भएको छ । अहिले देशभर साधारणतया बदली रहेको छ । वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार देशभर बदली रही लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो । यही भदौ ३० गते राति कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

