काठमाडौँ:    नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।   अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर...

काठमाडौं:   इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ।   समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना कैदी बन्दी रहेको बताएको छ। जसमा नेपालमा विपिन जोशी पनि छन्।  हमासले बन्दी भन्दै सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जीवितै रहेका छन्। कसको मृत्यु भएको हो र को(को जीवित छन् भन्ने चाहिँ खुलेको छैन। नेपालका विपिन अहिलेसम्म जीवितै रहेको आसा गरिएको छ। यद्यपि, इजरायली अधिकारीहरूले करिब २० जना बन्दीहरू अझै पनि गाजामा जिउँदै राखिएको विश्वास व्यक्त गरेका छन्। सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad” राखिएको छ। सन् १९६८ देखि लेबनानमा हराइरहेका इजरायली वायु सेनाका क्याप्टेनको नाममा उक्त क्याप्सन राखिएको हो।  हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ( ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’ त्यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भएको नरसंहारकारी युद्ध अन्त्य गर्न हमाससँग सम्झौता गर्न गरेको अस्वीकार तथा इजरायली सेनाप्रमुख एयाल जामिरको नेतृत्वमा भइरहेको स्थल तथा हवाई आक्रमणतर्फ संकेत गरेको अलजजिराको भनाइ छ।  इजरायलले गाजा सहरलाई पूर्णरुपमा कब्जामा लिने घोषणा गरेको छ। उक्त घोषणापछि गाजामा स्थल र हवाई आक्रमणमा तिब्रता दिएको छ।  सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा सरप्राइज खालको आक्रमण गरेर करिब १ हजार जनाको हत्या गरेपछि इजरायलले त्यसको बदलामा गरेको आक्रमणमा अहिलेसम्म ६५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

काठमाडौं:   मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।  जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो। ठुलो पहिरो खसेपछि रातभर सडक खुल्ने सम्भावना कम देखिएको प्रहरीले जनाएको छ।  अहिले निरन्तर पहिरो खसिरहेकाले तत्काल सडक खुल्ने अवस्था छैन। सडकको दुई तर्फबाट पहिरो हटाउनेकाम भए पनि पहिरो निरन्तर झरिरहेकाले समस्या भएको छ। थप पहिरो खस्नेक्रम रोकिएमा चार घण्टामा पहिरो हटाउने सकिने अनुमान गरिएको छ।     शुक्रबार साँझदेखि मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहँदा पहिरो आएर समस्या बनाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।   करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुङ्गा झरिरहेको छ । शनिबार बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाई र १६ मिटर उचाइमा पहिरो रहेको छ । अहिले पनि सानो पहिरो र ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाउनको लागि समस्या भएको उहाँले बताउनुभयो ।  

बागलुङ:   चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ ।  विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । रु आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल विसं २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएसरएसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उनको भनाइ छ ।  पालिकाबाट भुक्तान गर्न बाँकी रहेको रु एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्नसके काम गर्न समस्या नहुने उनी बताउछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । पोहोर सालनै सकिनुपर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो । बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउछन् । अदैले भने, “यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्योबाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्नसके काम अगाडि बढ्थ्यो, बजेट नआउँदा काम गर्न सकिएन ?” निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले रु एक करोड ५० लाख सङ्घीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताए । सङ्घीय सरकारअन्तर्गतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उनको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थमन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुनमगरले बताए । अहिले पनि बजेटका लागि पहल भइरहेको उनी बताउछन् । 

पाँचथर:  वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुग्नु भएकै थिएन । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उहाँ झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहनु भएको थियो । गत भदौ तेश्रो साता मोबाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैँसम्ममा घरको भुईं तलाको काम सक्ने बताउनुभएको थियो । “दसैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो”, गणेशले भन्नुभयो, “तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो ।” गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहा नै थिएन । घर निर्माण गरिरहेका कमल ‘जेनजी’ प्रदर्शन चर्किएको समयमा भदौ २४ गते साँझ आन्दोलनमा सहभागी हुन झापाको विर्तामोड जानुभएको थियो । कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिन । एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लाग्नुभएको थियो । रात पर्दै गएपनि कमलको फोन उठेन । श्रीमती सीता, बहिनी मायालगायतले रातैभरी मोबाइलमा फोन गरे । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो । बहिनी मायाका अनुसार गत भदौ २५ गते बिहान १० बजे कमलको फोन बिएण्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए । सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ । आएर लिएर जानु’ भने । “हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्”, मायाले भन्नुभयो, “दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।” जेनजी प्रदर्शन उत्कर्षमा पुगेका बेला भदौ २४ गते साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आउनुभएको थियो । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएण्डसी अस्पताल पुर्‍याएका थिए । कमलका परिवारजनले भोलिपल्ट मात्रै उहाँ ‘भेण्टिलेटर’मा भएको जानकारी पाए । “दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो”, बहिनी मायाले भन्नुभयो, “चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनु भएन भन्नुभयो । हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।” कमलको शवलाई भदौ २८ गते अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बस्नुभएको छ । ५७ वर्षका बाबु गणेश आफैँ बिरामले थलिनुभएको छ । बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ । बिरामी बाबु गणेशका गला अवरुद्ध छन् । गर्भवती श्रीमती सीता अझैँसम्म ‘अर्धचेत’ हुनुहुन्छ । सिकुवामा ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेर ३० वर्षका छोराको तस्बिर राखिएको छ । आफन्त र छरछिमेकी घरभरि छन् । तर गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास । झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गर्दै आउनुभएको थियो । परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै । “हामीलाई पनि घर बनाइ सकेर झापा नै लैजाने भन्दै थियो । तर खोइ आज के आइलाग्यो रु”, भक्कानिदै बाबु गणेशले भन्नुभयो । भुइ तला ढलान सकिएको घर फिनिसिङ गर्न बाँकी छ । कमल दसैँमा घर सिङ्गार्न आइपुग्नु भएन नै दसैँको मुखका परिवार र सिङ्गो गाउँ शोकमा डुबेको छ । तीस वर्षीय कमलको आठ वर्ष खाडीमै वितिसकेको थियो । खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरीद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ । कमलका पाँच वर्षका छोराले अब कहिल्यै बाबु भेट्ने छैनन्, गर्भमा रहेको सन्तानले बाबु देख्न पनि पाउने छैन । अर्धचेत श्रीमती सीताले सहयात्राको सात वर्षमै श्रीमान् गुमाउनु परेको छ । “यिनीहरुको भविश्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ”, काका शान्तिरामले भन्नुभयो । सहिद परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन् । “हामीलाई भेट्न वडाध्यक्षसमेत आउनुभएको छैन्”, सहिद कमलकी बहिनी मायाले भन्नुभयो, “देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ वित्दा कसैले वास्ता पनि गर्नुभएन ।” जेनजी आन्दोलनका सहादत प्राप्त गरेकाका परिवारलाई दिइने भनेको राहतवारे पनि भण्डारी परिवार जानकार छैन ।

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।  डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो ।  उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ ।  दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए ।  पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ ।  शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ः०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।  

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं:   गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपदमा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन् । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन् । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् । बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै, ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन् । यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन् । त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् । सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन् । यस्तै, ३५१ परिवार प्रभावित भएका छन् । सर्पदंशका ३०४ घटना भएका छन् । सर्पको डसाईबाट ७७ जनाको ज्यान गएको भने २३३ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा परेर दुई जना घाइते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् । त्यस्तै, हावाहुरीमा २८४ घटना हुँदा आठ जनाको निधन भएको छ भने ४४ घाइते भएका छन् । हावाहुरीमा परेर ५४१ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका २१७ घटना घटदा २० जानको निधन भएको छ । यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित भएका छन् । विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको, पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।

मुस्ताङ:   दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ।  यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो।  केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले मुस्ताङकै किसानका छ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिनुभयो। कर्णाली प्रदेशको जुम्लाबाट ७७५, मगुबाट पाँच सय र डोल्पाबाट पाँच हजार चार सय भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको पशु चिकित्सक अर्यालले बताउनुभयो।  मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने अनुमान गरिएको छ। गतवर्ष दसैँमा मुस्ताङबाट नौ हजार बढी भेडाच्याङ्गा अन्य जिल्ला पठाइएको थियो।  गत वर्षको तुलनामा औसत २० प्रतिशतभन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरी जिल्ला पठाइएको पशु चिकित्सक डा। अर्यालले उल्लेख गर्नुभयो। यस वर्ष ५० प्रतिशत मुस्ताङबाट र ५० प्रतिशत कर्णाली प्रदेशबाट मुस्ताङको जोमसोम, घाँसा हुँदै पठाइएको हो।  कास्कीका भेडाच्याङ्ग्रा व्यापारी पूर्णबहादुर रानाभाटले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ ताङग्याबाट कृषकको खोरबाटै २३५ वटा च्याङ्ग्रा खरिद गरी बिक्रीका लागि पोखरा लैजाने तयारी गरेको बताउनुभयो।  उपल्लो मुस्ताङका कृषकहरूको गोठमै पुगेर च्याङ्ग्रा छनोट गरी ल्याएको उहाँको भनाइ छ। यसपटक कृषकको खोरमै गतवर्ष भन्दा केही बढी मूल्य परेको उहाँले बताउनुभयो। यसवर्ष रोज्जा च्याङ्ग्रा प्रतिगोटा ३५ हजार र माउ (च्यालु) को १३ हजार रुपैयाँ मूल्य परेको व्यापारी रानाभाटको भनाइ छ। मुस्ताङबाट खरिद गरिएका च्याङ्ग्रा पैदलै पोखरा लगेर बिक्री गरिने उहाँले बताउनुभयो। सायद पोखरामा लैजाँदा रोज्जा च्याङ्ग्राको ४२ हजार र च्यालु च्याङ्ग्राको १८ हजार रुपैयाँमा बिक्री गरिने व्यापारी रानाभाटले बताउनुभयो। गतवर्ष मुस्ताङबाट २८६ वटा च्याङ्ग्रा पोखरा लगेर बिक्री गर्दा राम्रै फाइदा भएकामा यसवर्ष देशमा उत्पन्न परिस्थितिले गर्दा च्याङ्ग्रा बिक्री नहुने पो होकी भन्ने चिन्ता बढेको व्यापारी रानाभाटले जनाउनुभयो। दसैँका लागि जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्राको व्यापारी र च्याङ्ग्रा धनीको समन्वयमा खोरमै पुगेर भेटेरिनरी परीक्षण गरिएको छ। यहाँ परीक्षण गरिएका भेडाच्याङ्ग्राको अवघि ७२ घण्टासम्मको हुनेछ। मानव स्वास्थ्यको रक्षा र अस्वस्थकर च्याङ्ग्राका कारण रोगव्याधी नफैलिओस भन्ने अभिप्रायले भेडाच्याङग्राको परीक्षण गरिएको हो। मुस्ताङमा यसवर्ष करिब एक सयभन्दा बढी च्याङ्ग्रा व्यापारी आएका छन्। यहाँबाट खरिद गरिएका च्याङ्ग्रा व्यापारीहरूले पोखरा–काठमाडौँलगायत स्थानमा लगेर बिक्री गर्छन्। कतिपय व्यापारीले मुस्ताङबाट निकासी गरिएका च्याङ्ग्रा पैदल खेदाउँदा म्याग्दी, पर्वत र बाग्लुङलगायत स्थानमा लगेर बिक्री गर्ने गर्छन्। हिमाली जिल्लाको उच्च लेक तथा पाटनमा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले सहर बजारको उपभोक्ता दसैँमा च्याङ्ग्राको मासु खान रुचाउँछन्।

पोखरा:  काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् ।  खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाडौंका फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् । वेष्ट अफ इलाभेन आधारमा भएको फाइनल खेलमा जित हासिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी हाइएस्ट ब्रेकरको उपाधि बाडे । उनीहरुले नगद १०÷१० हजार पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ, कास्की बिलियार्ड स्नूकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका बरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खलि थापा, संघका महासचिव सविन जिसी, कोषाध्यक्ष धिर बहादुर लामा, खेलाडी होम नेपाली, प्रतियोगिताका संयोजक सोम बि.क. लगायतले पुरस्कार वितरण गरेका थिए ।  पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रा.लि.को आयोजनामा र कास्की बिलियार्ड स्नूकर तथा पुल संघको विशेष सहयोगमा पुनः दोश्रो पटक उक्त प्रतियोगिता पोखरामा भदौं १७ गते देखि सुरु भएको थियो ।  पोखरा महानगरको प्रबद्र्धनमा संचालन भएको प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडीको सहभागि भएको प्रा.लि.का संचालक प्रताप गुरुङले बताए । देशको विसम परिस्थिमा पनि उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने प्रति उनले धन्यवाद समेत व्यक्त गरे ।  पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा भएको उक्त प्रतियोगिताले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुगेकोे संयोजक बि.क.ले बताए । जेनजी आन्दोलनका कारण प्रतियोगिता केही दिन स्थगित हुँदा भदौं २८ गते सकिने प्रतियोगिता ३ दिन लम्बिदै भदौं ३१ गते समापन भएको हो ।