झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका हुन्। स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेका ती हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका ३०३ थान राइफल म्यागजिनसहित भएको पुष्टि गरे। उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका हुन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन् ।
कैलाली: कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । सँगै बसेर मदिरा सेवन गरेका बलबहादुर विक र गंगा बुढा क्षेत्रीले केशरको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताए । हत्यामा संलग्न विक र बुढा क्षेत्री मृतकको टाउको बोकी सोही वडाको प्रतिखेतस्थित प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको छ । बीभत्स घटना भएपछि सो क्षेत्रका स्थानीय त्रसित भएका छन् । मृतक बुढाका बाबुआमा सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवनस्थित घरमा बस्दै आएका छन् । सुर्खेतबाट मृतकका आफन्तहरू आइपुगेपछि शवको मुचुल्का, पोस्टमार्टम लगायतका कानूनी प्रक्रिया सुरु हुने अवस्थीले जानकारी दिए ।
डोटी: डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालिका– २ मा दुर्घटना अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको थियो । तीव्र गतिमा रहेकाले गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दललाई आग्रह गर्दै शुक्रबार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले यस्तो आग्रह गरेका हुन । उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । उनले पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पु¥याउँछ भन्ने पनि सोच्न आग्रह गरे । उनले पार्टीले कन्फ्युजन सिर्जना नगरी जेनजीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संसय पैदा भएको बताएका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिता विना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाए । जेनजीहरू हामीहरू सबैको छोरा नाती भएकाले उनीहरूले किन आज यस्तो असंतुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेका थिए । बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए । सो बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुनलगायत सहभागी थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषालको सहभागीता थियो। त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा। जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, सहभागी थिए ।
काठमाडौं: आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई अंकका साथमा नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । सुरुमा ब्याटिङ गरेको जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर भेट्टाएको हो । समूह उपविजेता बन्दै जापानसमेत सुपर सिक्समा प्रवेश गरेको छ । नेपालका लागि आशिफ शेखले सर्वाधिक ३८ रन बनाए । शेखले २१ बलको सामना गर्दा एक छौका र चार छक्का प्रहार गरे । गुल्सन झाले २८ रन बनाउँदा कुशल भुर्तेलले २१ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १८ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १४ रन थपे । जापानका लागि शोमा स्लेटरले दुई विकेट हात पार्दा रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एकएक विकेट लिए । सुरुमा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । जापानका लागि केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गरे । उनले ४६ बलमा ६० रन जोडे । उसका लागि इसम रहमानले २५ बलमा ३१ रन थपे । सुरुमा आक्रामक ब्याटिङ गरेको जापानको पछिल्लोक्रम नेपाली बलरसामु टिक्न सकेको थिएन । जापानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुईदुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए । कसिलो बलिङ गर्नुभएका दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गर्दा १५ रन खर्चिए । नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने । उनले बलिङमा दुई विकेट हात पार्दा ब्याटिङमा महत्त्वपूर्ण २८ रन जोडे। नेपालले सुपर सिक्सको पहिलो खेल समूह ‘ए’को विजेता यूएईसँग आइतबार खेल्नेछ ।
पोखरा: जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । घाइतेहरूलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ। २०८२ साल भदौ २३ र २४ गते देशभर भएका जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारको असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयबाट प्राप्त सूचनाअनुसार ‘जेन–जी आन्दोलन घाइते परिचयपत्र’ तयार भइसकेको र असोज २६ गते आइतबारदेखि देखि वितरण सुरु गरिने सूचनामा जनाइएको छ। कास्की जिल्लामा स्थायी ठेगाना भएका घाइतेहरूले आफ्नो नाम सूचीकृत रहेको भए कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने भनिएको हो । आवश्यक कागजातमा अस्पतालको उपचार पूर्जी वा डिस्चार्ज कागजात, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल_, दुई थान फोटो र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि समावेश छन्। साथै, आन्दोलनका क्रममा घाइते भई उपचार गराएका व्यक्तिहरूलाई तत्कालका लागि भैपरी खर्च वापत प्रति व्यक्ति २० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। सो रकम उपलब्ध गराउन आवश्यक बजेट प्राप्त भइसकेको छ। सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको सूचनामा भनिएको छ, ‘परिचयपत्र र त्यसको अभिलेखमा घाइतेको औंठाछाप अनिवार्य रूपमा आवश्यक पर्ने भएकाले घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।’ स्वयं उपस्थित हुन नसक्ने घाइतेको हकमा, परिवारका सदस्यहरूले कार्यालयमा जानकारी गराउन सक्ने प्रावधान गरिएको छ। उक्त कार्यको समन्वयका लागि प्रशासकीय अधिकृत झविश्वर रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारको सीमा फेबदल गरेको हो। यसअनुसार अब डेबिट कार्डबाट एक पटकमा २० हजार रुपैयाँ झिक्न पाइनेछ भने एक दिनमा ५० हजार रुपैयाँ झिक्न पाइनेछ। पहिले एक पटकमा २५ हजार र एक दिनभित्र १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाले सीमा घटाएको हो। यस्तै महिनाभरमा भने ३ लाखसम्म झिक्न पाइनेछ। यसअघि ४ लाखसम्म झिक्न पाइने व्यवस्था थियो। राष्ट्र बैंकले प्रिपेड कार्डमा पनि प्रतिकारोबार रकम १० हजार र प्रतिदिन रकम २० हजार र प्रतिमहिना २ लाख रुपैयाँको सीमा कायम गरेको छ भने क्रेडिट कार्डमा स्वीकृत सीमाको १० प्रतिशतसम्मको सीमा कायम गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुबाहेकका सेवा प्रदायक संस्थाहरुको प्रिपेड कार्डबाट भने प्रतिदिन ५ हजार र प्रतिमहिना २५ हजार रुपैयाँ निकाल्न सक्ने गरी सीमा कायम गरेको हो।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको हो। एक समय १२.४ ओभरमा ९७-१ को बलियो अवस्थामा रहेको जापानले तेह्रौँ ओभरको पाचौँ बलमा विकेट गुमाएको थियो। नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान एक विकेट झारे। जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। इसाम रहमानले ३१ रन बनाए। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

