पोखरा: पोखराको हेमजामा रहेको मानव सेवा आश्रममा नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० २९ औं स्थापना दिवस ‘इक्यान डे’ मनाइएको छ । इक्यान कास्कीले शुक्रबार आश्रममा आश्रित वृद्धवृद्धालाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । २९ वर्षअघि भदौ १३ मा औपचारिक रुपमा इक्यानको सुरुआत भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि इक्यानकी केन्द्रीय उपाध्यक्ष गीता शिवाकोटीले देशैभरका शाखाले शुक्रबार विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको बताइन् । उनले यसपल्ट मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाबीच स्थापना दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरिन् । इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्न विभिन्न सामाजिक काम गरिरहेको बताए । उनले इक्यान कास्कीको आयोजना र टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा भदौ २० र २१ गते पोखरामा हुने आठौं इक्यान एजुकेसन फेयरको तयारी द्रूत गतिमा चलिरहेको जानकारी दिए । कार्यक्रममा इक्यान कास्कीका निवर्तमान अध्यक्ष रमेश थापा, उपाध्यक्ष सन्तोष शाही, कार्यसमिति सदस्य विक्रम बस्नेत लगायतले स्थापना दिवसको शुझकामना दिएका थिए ।
काठमाडौं: मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा आउँदो कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा रिक्त गण्डकी प्रदेशको प्रदेश सभा सदस्य पदको लागि निर्वाचनको मिति तोक्ने निर्णय भएको आयोगले जनाएको छ । सर्वोच्च अदालतको फैसलाबाट विक्रम संवत २०७९ मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित हुनुभएका दिपक मनाङगेका नामले समेत चिनिने राजीव गुरुङको सदस्यता खारेज भएको थियो । आयोगले रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा पनि प्रतिनिधि सभा सदस्यका लागि कात्तिक १७ गते निर्वाचन हुने गरी यस अघि नै मिति तोकिसकेको छ ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गर्नुभयो । प्रधानमन्त्रीको बिदाइका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि विमानस्थल पुग्नुभएको थियो । त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ । शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ । हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले हिजै सदनलाई जानकारी गराई सक्नुभएको छ । प्रधानमन्त्री ओलीसँग उहाँका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।
पोखरा: स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको आयोजनामा भोलिदेखि हुने अन्तर क्याम्पसस्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पस समितिले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । स्ववियु पिएन क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसस्तरीय छात्रा÷छात्र फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘पिएन क्याम्पसमा स्ववियु निर्वाचनबाट हामी निर्वाचित भएर आइसकेपछि हामीले खेलकुदको विधामा विभिन्न कार्यक्रमहरु आयोजना गरेर सम्पन्न गरिसकेका छौं, अध्यक्ष पोखरेलले भने, ‘क्याम्पसस्तरीय फुटबल प्रतियोगिता पिएन क्याम्पसको ६६ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेका हौं ।’ उनले यस प्रतियोगिताबाट विद्यार्थीहरुलाई राष्ट्रिय स्तरको प्रतियोगिताको अनुभव गर्न, आत्मविश्वास बढाउन, मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न र क्याम्पसबीच शैक्षिक , सांस्कृतिक सम्बन्धलाई मजुबट बनाउन सहयोग पुग्ने अपेक्षा लिएको बताए । स्ववियु पिएन क्याम्पसका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक विक्रम क्षेत्रीले छात्र फुटबल प्रतियोगितामा आयोजकको २ टिम गरी ९ समूह र सेभेन ए साइड छात्रा फुटबलतर्फ आयोजकको २ टिम गरी ८ समूहको सहभागिता रहेको बताए । उनका अनुसार प्रतियोगितामा कास्की, बागलुङ, म्याग्दी, चितवन, काठमाडौं, भक्तपुर जिल्लाका त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले सहभागिता जनाएका छन् । प्रतियोगिताको छात्रतर्फको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ७१ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छात्रातर्फको विजेताले ७१ हजार १ सय ११ र उपविजेताले ४१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त कोषाध्यक्ष सन्दिका गुरुङले जानकारी दिईन । प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको अन्नपूर्ण रंगशालामा हुनेछ । भदौ १४ देखि १७ गतेसम्म हुने प्रतियोगितामा दैनिक तीन खेल हुने स्ववियुले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताउनुभएको छ । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उहाँको भनाई छ । कानुनी युवा मञ्च (फ्लाई) ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उहाँले जलवायु परिवर्तनका असरहरुबारे विभिन्न कार्यक्रम गरेर विश्व समुदायलाई सचेत गराएपनि सोचेअनुसारको प्रगति गर्न नसकिरहेको उल्लेख गर्नुभयो । ‘जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर खासगरी जलवायु परिवर्तनको प्रभाव बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो ।’ उहाँले भन्नुभयो – ‘हाम्रा हिमालहरुमाथि सोझो चोट परेको छ । हिमताल जोखिममा छन् । वर्षा अनियमित मात्रामा भइदिनाले पहाडमा बाढी पहिरोबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । तराई डुब्दा खाद्य सङ्कट उत्पन्न भइरहेको छ ।’ अब ढिला नगरी जलवायु परिवर्तनबाट प्रमुख मार खेप्नुपरेका विकासोन्मुख मुलुकहरुले न्यूनीकरणका लागि पहल कदमीहरु चाल्नु जरुरी भइसकेको उहाँको भनाई छ । वातावरणीय प्रभाव मूल्यांकनको सीमामा रहेर दीगो विकासको अवधारणा अवलम्वन गर्न आवश्यक रहेको उहाँको भनाई छ । ‘हामी विकास र समृद्धिको युगमा छौँ । औद्योगिक विकासका कारण हरितगृह ग्यॉस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भएर वातावरणीय अवस्थामा असन्तुलन परिवर्तन आएको छ ।’ उहाँले थप्नुभयो – ‘सन् २०३० सम्म नेपालको तापक्रम १।७ डिग्री सेल्सियले बढ्ने अनुमान गरिएको छ । हामीले समयमै सजगता नअपनाउने हो भने ठूलो वातावरणीय समस्या निम्तिन सक्छ ।’ यो क्याम्प नेपालका लागि मात्र नभई दक्षिण एशियामा नै जलवायु परिवर्तनका कारण र असर र समाधानका लागि फलदायी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जलवायु न्यायको अवधारणा अन्वेषण, क्षेत्रीय असमानता र संवेदनशीलता, सीमा–पार जलवायु प्रभाव र साझा चुनौती, न्याय प्रवद्र्धनमा युवाको भूमिका, न्यायपूर्ण जलवायु रुपान्तरण र वित्तीय पारदर्शिता लगायतका विषय निकै महत्वपूर्ण रहेको उहाँको भनाई छ । कार्यक्रममा दक्षिण एशियाका ७ राष्ट्रका ४५ जना युवाहरुलाई जलवायु न्यायको पक्षमा सशक्त बनाउन विशेष छलफल र गतिविधिहरू सञ्चालन हुने भएकाले युवाहरुलाई उप्रेरित गर्न आफू उपस्थित भएको प्रदेश प्र्रमुख भट्टको भनाई छ । यस्ता क्याम्पहरु छलफल गर्ने मञ्च मात्र होइन, नीति निर्माण गर्ने र यसलाई आकार दिने अवसर पनि रहेको उहाँले बताउनुभयो । यो क्याम्पमा दक्षिण एसियाका युवाहरुबीच जलवायु न्यायका लागि सीमा–पार युवा एकता, आदिवासी तथा उपेक्षित आवाजलाई जलवायु शासनमा समावेश गर्ने गरी राष्ट्रिय नीति संवादमा एकीकृत गर्ने, जलवायु सम्बन्धी समसामयिक चुनौती र दक्षिण एसियाली विकल्पहरुमा युवाको ज्ञान बलियो लिने लक्ष्य लिइएको आयोजक संस्थाका चेतन जेठाराले जानकारी दिनुभयो ।
पोखरा: नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो । सिनेमाको प्रदर्शनपूर्व शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण पक्षले ‘रिमै’ सम्बन्धी जानकारी गराएका छन् । कार्यक्रममा कलाकार रिश्मा गुरुङ, माओत्से गुरुङ, डिबी गुरुङ, कार्यकारी निर्माता बिरबल घलेको उपस्थिति थियो । पत्रकार सम्मेलनमा बोल्दै कलाकार माओत्से गुरुङले रिमै आदिवासी कथाको प्रतिनिधित्व गर्ने चलचित्र भएको उल्लेख गरे । मेकरहरूको बदलिँदो सोच र दर्शकले मौलिक कथामा देखाएको रुचिले गर्दा यस्तो विषयवस्तु उठाउन सम्भव भएको भनाई उनको छ । ‘रिमै’ भन्ने शब्द गुरुङ भाषामा छोरीचेलीलाई सम्बोधन गर्ने अर्थमा प्रयोग गरिने उनले प्रष्टाए । उक्त सिनेमामा आफु एक कठोर बुबाको भूमिकामा देखिएको उनले बताए । चलचित्रकी मुख्यपात्र नायिका रिश्मा गुरुङले रिमै आफ्ना लागि विशेष रहेको बताइन् । “ रिमै मेरो लागि विशेष फिल्म हो। पहिलो अफर आउँदा नगर्ने सोच थियो, अमेरिकामा भएकाले सम्भव भएन। अहिले भने परिस्थिती मिलेकाले पहिलो पटक ठूलो पर्दामा गुरुङ संस्कारलाई उतार्न पाएको छु। अपेक्षा भएर नै यो सिनेमा गरेकी हुँ।”, उनले भनिन् । कबड्डी पछि लामो समय सिनेमामा नदेखिएता पनि आफु उक्त क्षेत्रबाट बाहिर भने नभएको उनले उल्लेख गरिन् । कार्यव्यस्तता र अध्ययनका कारण विश्राम लिएको र अब राम्रो स्क्रिप्ट र टीम भएमा निरन्तरता दिँदै जाने भनाई उनको छ । सिनेमा क्षेत्रमा सुरुवाती पलमा उत्साह धेरै भएता पनि समयक्रम अनुसार घट्दै जाने उनले बताइन् । “सुरुवाती पलमा उत्साह धेरै हुन्छ। पछि–पछि कम्प्रोमाइजका कुरा आउँछन्।”, उनले भनिन् । रिमैको कथावस्तु दर्शकलाई मन पर्नेमा उनि आशावादी छिन् । कलाकार डिबी गुरुङले सिनेमाले गुरुङ समाजको मात्र नभई सम्पूर्ण नेपाली जीवनशैलीलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, “रिमै नेपाली सिनेमामा मौलिकताको खोजी हो, जसले हरेक दर्शकलाई आफ्नोपनाको भाव दिनेछ।” कार्यकारी निर्माता बिरबल घलेले रिमै मौलिक कथा, मौलिक संस्कृति र मौलिक अभिनयको संगम भएको उल्लेख गरे । करिब ३ करोड लगानीमा निर्माण भएको उक्त सिनेमाले नेपाली फिल्म क्षेत्रमा फरक स्वाद थप्ने विश्वास उनको छ । ‘रिमै’ को छायांकन मुख्यतया गुरुङ बस्ती र पहाडी गाउँघरमा गरिएको उनले बताए । उनका अनुसार यसले ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिलाई नजिकबाट चित्रण गर्ने प्रयास गरेको छ । सिनेमामा सांगीतिक पक्षलाई पनि विशेष महत्व दिइएको र गुरुङ समुदायको मौलिक धुन र ताललाई समेटिएको उनले बताए । उपेन्द्र सुब्बाको कथा र खील बहादुर गुरुङको निर्देशनमा बनेको उक्त चलचित्रप्रति निर्माण पक्ष मात्र नभई कलाकारहरू पनि आशावादी देखिएका छन्। दर्शकले मौलिक संस्कृतिको स्वाद लिन पाउने भएकाले ‘रिमै’ नेपाली सिनेमामा फरक अध्याय बन्ने अपेक्षा गरिएको छ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको सातौं साधारण सभा भदौ २६ गते हुने भएको छ । मञ्चको बिहीबार बसेको २१ औं बैठकले साधारण सभा सम्बन्धी निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था) ले जानकारी दिए । सोही कार्यक्रममा मञ्चले आयोजना गरेको नवौं पोखरा स्पोर्ट्स अवार्डको समीक्षा र आयव्यय सार्वजनिक गरिने अध्यक्ष आस्थाले खुलाए । यसका अलावा खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि भदौ २७ गते तालिम समेत आयोजना हुँनेछ । गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चमा हाल ७४ जना पत्रकार आवद्ध छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी २०७५ सालमा केशव पाठक नेतृत्वको तदर्थ समितिले दर्ता गरी प्रदेश संरचनामा लगेको थियो । २०५८ सालमा पोखराका खेल पत्रकारहरु संगठित भई रामकृष्ण ज्ञवाली संस्थापक अध्यक्ष रहेको मञ्च कास्कीको विस्तारित रुपमा यहाँसम्म आइपुगेको हो ।
काठमाडौं: नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैंठकले खापुङलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरीका ३२औँ आईजीपी बनेका छन् । हालका आईजीपी दिपक थापा एक सातापछि भदौ १९ बाट प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएपछि खापुङलाई १९ गतेबाट नै कमान्ड सम्हाल्ने गरी आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख छन् ।

