पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

पर्वत:    आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन क्षेत्रमा पाइने करोडौँ मूल्यका जडीबुटीको चोरीनिकासी बढ्दै गएको पाइएको छ ।       जडीबुटी संरक्षण, प्रवर्द्धन, सङ्कलन र निकासी गर्ने आधिकारिक निकायको बेवास्ताका कारण दैनिकजसो चोरीनिकासी बढ्दै गएको हो ।  जिल्लाका उच्च पहाडी भेगमा रहेका जङ्गलमा बहुमूल्य औषधीय गुणयुक्त जडीबुटी प्रशस्तमात्रामा रहेको छ । जिल्लाको जलजला र मोदी गाउँपालिकामा पर्ने हम्पाल क्षेत्र, मोदी र कुश्मा क्षेत्रमा पर्ने पञ्चासे, डहरे, चिसापानी, गोल्र्याङ ठूला जङ्गल क्षेत्र हुन् ।  यी क्षेत्रमा अल्लो, सत्तुवा, नागबेली, पाखनभेद, रक्तमूल, भूतकेश, चिराइतो, पदमचाल, बज्रदन्ते, लोठसल्ला प्रशस्तमात्रामा पाइन्छ । यसैगरी सुनाखरी, चिराइतो, अर्गेली, टिमुर, ढकायो, चुत्रो, लोक्ता, सिल्टिमुर, धसिङ्ग्रे, खोटो, हर्रोबर्रोलगायत सयौँ प्रकारका जडीबुटीसमेत प्रशस्तै पाइन्छ । डिभिजन वन कार्यालय पर्वतका अनुसार जडीबुटी पकेट क्षेत्र तोकेर संरक्षण गर्न नसक्दा ठूलोमात्रामा नोक्सानी भइरहेको छ ।       जिल्लामा कुन जडीबुटी कति परिमाणमा पाइन्छ भन्ने यकीन नभए पनि चोरीनिकासीकै कारण जडीबुटीको आनुवंशिक स्रोतसमेत नष्ट हुने खतरा बढेको जनाएको छ ।  जिल्लाको उत्तरी भेगमा पर्ने तीन हजार मिटर उचाइसम्म फैलिएका सामुदायिक वन सहस्रधारा सामुदायिक वन, खर्सुबास सामुदायिक वन, रेसापातल सामुदायिक वन, ठूला टाउका गैँडाखर्क सामुदायिक वन, छिपछिपे सिलिङ्गे सामुदायिक वनमा औषधीय जडीबुटी प्रजातिका वनस्पति पाइन्छ ।       पर्वतको मोदी–४ लेस्पारका ७३ वर्षीय वृद्ध टेकबहादुर पुनले जडीबुटीको प्रयोग गरी गाउँलेको उपचारसमेत गर्दै आउनुभएको छ । पुनले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “पर्वतका सामुदायिक वनमा धेरै प्रकारका जडीबुटी पाइने भए पनि अहिले उचित संरक्षणको अभावले कतिपय नासिँदै गाएका छन् भने चोरी हुनेक्रम पनि बढेको छ ।”  पहिले प्रशस्तै पाइने धेरै प्रकारका जडीबुटी अहिले थोरैमात्रामा देखिने गरेको उहाँको भनाइ छ । गाउँमा बस्ने मानिसको सङ्ख्या घट्दै जानु र भएकालेसमेत चासो नदिएका कारण बहुमूल्य जडीबुटी जोखिममा पर्दै गएको उहाँको गुनासो छ ।       खर्सुबास सामुदायिक वन उपभोक्ता समूह मोदी–४ क्याङका अध्यक्ष नरसिं पुनले जडीबुटीको उचित संरक्षण हुन नसक्दा धेरै प्रकारका जडीबुटी चोरीनिकासी हुने र जङ्गलमै खेरजाने तर गाउँलेलाई कुनै लाभ नहुने गरेको बताउनुभयो ।       डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत रामबहादुर विकले जिल्लामा वनजन्य जडीबुटी प्रशस्तै पाइने भएर पनि बजेट र कार्यक्रम नहुँदा यस क्षेत्रमा कुनै कार्य हुन नसकेको बताउनुभयो ।  वनजन्य जडीबुटीबाट आर्थिक लाभ लिन सबैभन्दा पहिले कुन स्थानमा कुन जातिको प्रजाति कतिमात्रामा पाइन्छ सोहीअनुसार पहिले पकेट क्षेत्र तोकिनु पर्दछ विकले भन्नुभयो, “जडीबुटीको विस्तृत स्रोत सर्वेक्षण गरिनुहुन सकेको छैन ।”       डिभिजन वन कार्यालय, पर्वतमा चालु आर्थिक वर्षमा जडीबुटी संरक्षण र प्रवद्र्धनसम्बन्धी एउटै कार्यक्रम नसमेटिएको उहाँको भनाइ छ ।  जिल्लामा वन उपभोक्ता समूह गठन भई १४ हजार चार सय २२ हेक्टर वन क्षेत्रमा करिब ४४ हजार एक सय चार घरधुरीका स्थानीय समुदाय वनसँग जोडिएको भए पनि अहिलेसम्म समुदायस्तरबाट जडीबुटी संरक्षण र प्रवर्द्धनमा प्रत्यक्ष जोडिएर आम्दानी गर्न नसकेको उहाँको भनाइ छ । 

काठमाडौं:    पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०) को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिस गर्न निर्देशन दिएको छ ।       परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले कक्षा ९ र  १० को उक्त दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादाम्यता मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्नेलगायत सुझाव समेट्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।        बैठकमा सहभागी शिक्षा क्षेत्रका विज्ञहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यताको इतिहासबारे थप प्रष्ट हुने गरी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।        उहाँहरूले वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधता संरक्षण, हिमाल पग्लने, चुरे विनास र जलवायु परिवर्तनले नेपालमा पारेका असरलाई विद्यार्थीले बुझ्ने र त्यसको समाधानमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयसमेत पाठ्यक्रममा समावेश गर्न सुझाव दिनुभएको थियो ।       यस्तै, उक्त बैठकले मातृभाषातर्फ आधारभूत तह (कक्षा ६–८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागिसमेत सिफारिस गरेको  छ ।  बैठकले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ मा रहेका ऐच्छिक विषयको समूह मिलान गर्दै माध्यमिक तह (कक्षा ९–१०) मा हाल कार्यान्वयनमा रहेको ऐच्छिक पहिलो समूहमा रहेका २७ भाषामध्ये नेपालमा बोलिने भाषाको छुट्टै समूह बनाउने निर्णय गरेको छ । तीन समूहमध्ये कुनै दुई समूहबाट एक–एकवटा विषय छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।       उक्त बैठकले उच्च माध्यमिक तह (कक्षा ११–१२) मा ऐच्छिक तेस्रो समूहमा रहेका १४ भाषामध्ये नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाउने र पाँच समूहमध्येबाट विद्यार्थीले कुनै तीन विषय लिन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।       बैठकको निर्णयअनुसार कक्षा ११–१२ को ऐच्छिक दोस्रो समूहमा रहेको जनसङ्ख्या अध्ययनलाई ऐच्छिक तेस्रो समूहमा र तेस्रो समूहमा रहेको ‘जेरोन्टोलोजी’ र ‘केयर ट्रेकिङ’ शिक्षा विषयलाई दोस्रो समूहमा राखिएको छ । अब विद्यार्थीले आफ्नो इच्छाअनुसार पाँचवटा समूहमध्ये कुनै तीन ऐच्छिक विषय रोज्न पाउने छन् ।       विद्यार्थीको मूल्याङ्कनमा घरायसी तथा दैनिक जीवनमा गरेका कार्य पनि समावेश गरिने भएको छ । बैठकले विद्यार्थीको घरायसी एवं दैनिक जीवनका कार्यलाई आधारभूत तह (कक्षा ६–८) तथा माध्यमिक तह (कक्षा ९–१०) को आन्तरिक मूल्याङ्कनमा समावेश गर्न आवश्यक छलफल र आवश्यक तयारी गरी परिषद्मा पेस गर्न केन्द्रलाई सैद्धान्तिक सहमतिसमेत दिएको छ ।      उक्त बैठकले लिएका यी निर्णयहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने र पाठ्यक्रमलाई समयसापेक्ष बनाउने अपेक्षा गरिएको छ ।

काठमाडौं:    सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ ।       समितिका अनुसार बुधबार थोकमा डल्ले च्याउ प्रतिकेजी अधिकतम रु दुई सय ८० तोकिएकामा आजका लागि रु तीन सय ३० तोकिएको छ । साथै घिउ सिमीको मूल्य आज प्रतिकेजी रु २५ ले घटेर रु ५० कायम भएको छ ।           आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी रु ८०, गोलभेडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेडा सानो (तराई) प्रतिकेजी रु ४०, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु १००, गाजर (तराई) प्रतिकेजी रु ९०, बन्दा (लोकल) प्रतिकेजी रु २५, बन्दा (तराई) प्रतिकेजी रु २०, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु ३०, काउली तराई प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु २५, मूला सेतो ९लोकल० प्रतिकेजी रु २५, सेतो मूला ९हाइब्रिड० प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३५, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ । यसैगरी, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु ९०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ६०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १००, लौका प्रतिकेजी रु ५०, परवर (तराई) प्रतिकेजी रु १००, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु २०, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु २०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु १००, सखरखण्ड प्रतिकेजी ८०, बरेला  प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, स्कूस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ६०, चमसुरको साग रु ६०, तोरीको साग प्रतिकेजी रु ४०, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी रु ९०, तरुल प्रतिकेजी रु ८०, च्याउ ९कन्य० प्रतिकेजी रु ८०, च्याउ ९डल्ले० प्रतिकेजी रु ३३० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ५०, चुकुन्दर प्रतिकेजी रु ९०, सजिवन प्रतिकेजी रु २५०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठ कोबी प्रतिकेजी रु ९०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ८००, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकेजी रु ४००, गान्टे मूला प्रतिकेजी रु ८०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्दुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १७०, कागती प्रतिकेजी रु १४०, अनार प्रतिकेजी रु ४००, अङ्गुर (हरियो) प्रतिकेजी रु २४०, अङ्गुर (कालो) प्रतिकेजी रु ३८०, सुन्तला (नेपाली) प्रतिकेजी रु १२५, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काक्रो (हाइब्रिड) प्रतिकेजी रु ९०,नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु ९०, अम्बा प्रतिकेजी रु ११०, लप्सी प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु २५०, अमला प्रतिकेजी रु ८० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १३०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु १६०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी रु १६०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ३३० तोकेको छ ।

सोलुखुम्बु:     सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वडासदस्य हीराकाजी श्रेष्ठले जानकारी दिनुभयो ।            उहाँका अनुसार बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो । खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए ।  बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो ।       घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ ।  आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रजिअ घिमिरेले बताउनुभयो ।

गण्डकी:   राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ ।   कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ ।   आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमि सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।   लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमि सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिए ।   याम्दीदेखि पर्वत हुँदै बागलुङको मालढुङ्गासम्मको सडक पनि कालोपत्र गरेर सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको उनले बताए ।   मालढुङ्गादेखि बागलुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किमि सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको प्रमुख आचार्यको भनाइ छ ।   उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २६ किमि सडकमध्ये १३ किमि कालोपत्र भइसकेको र १३ किमि कालोपत्र हुने चरणमा रहेको उनले बताए । उक्त खण्डको काम लामो समयसम्म अलपत्र परेपछि पुरानो ठेक्का तोडेर नयाँ   ठेक्कामार्फत काम काम सुरु गरिएको प्रमुख आचार्यले बताए । ‘बयलडाँडादेखि घोडाबाँधेसम्मको कालोपत्र एक वर्षभित्र पूराना गर्ने लक्ष्य लिइएको छ’, उनले भने, ‘उपल्लाचौरदेखि बयलडाँडासम्मको खण्डमा पनि पाँच किमि सडक कालोपत्र हुन बाँकी छ ।’   घोडाबाँधेदेखि रुकुमपूर्वको सीमाना पातीहाल्नेसम्मको ९९ सय किमि सडक भने कालोपत्र भइसकेको छ ।   घोडाबाँधेदेखि-हटियासम्म कालोपत्र गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले जानकारी दिए । पश्चिमतर्फको खण्डमा पनि आयोजना कार्यालयमार्फत सडक मर्मतसम्भारको काम भइरहेको छ ।   निसीखोला गाउँपालिका हुँदै पातीहाल्ने जोड्ने सडकमध्ये १४ किमि सडक मात्र सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । अन्य खण्डमा भने निर्माण कम्पनीले योजना फरफराक समयमा नगरेका कारण हस्तान्तरण हुन बाँकी छ ।   सूचना अधिकारी सुवेदीले कास्की, पर्वत र बागलुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्र गरिने बताए । सडक स्तरोन्नतिसँगै उक्त खण्डभित्र कास्कीको याम्दी खोला, पानीबिहाद, पर्वतको तमादी खोला, सुन्दरे खोला र बागलुङको काठेखोलामा गरी पाँच पुल निर्माणाधीन अवस्थामा रहेका छन् ।   पर्वतको मोदी र पाती खोलामा ठेक्का व्यवस्थापन भई डिजाइन स्वीकृतिको क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ ।   लोकमार्गअन्तर्गत कास्की, पर्वत र बागलुङमा सडक तथा पुल निर्माणका लागि चालु आवमा ७६ करोड ८० लाख विनियोजन भएकामा गत मङ्सिर मसान्तसम्म २० करोड ४० लाख ४८ हजार पाँच सय १२ खर्च भइसकेको सूचना अधिकारी सुवेदीले बताए ।   ठेक्कामार्फत सडक र पुलका गरी ११ वटा योजना सञ्चालनमा रहेको उनको भनाइ छ ।   लोकमार्गअन्तर्गतकै हरिचोक–याम्दी खण्ड पनि कालोपत्रका लागि अहिले ‘प्लान्ट’ राख्ने काम भइरहेको सूचना अधिकारी सुवेदीले बताए । करिब २२ सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो ।   आगामी माघभित्र सडक कालोपत्रको काम पूरा हुने जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन ।   समयमा काम नभएपछि आउँदो चैतसम्मलाई ठेक्काको म्याद थप गरिएको थियो ।   दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड निर्माण नहुँदा लोकमार्गको यात्रामा असहजता थपिएको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ हुँदै आएको थियो ।   लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो ।

पोखरा महानगरपालिका–१६ दिपहाउजिङ तल रहेको सेती नदीको नहरमा खस्दा १ युवकको मृत्यु भएको छ ।   कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी स्थायी घर भई पोखरा–१९ लामाचौरमा बस्ने २१ वर्षीय संगम पौडेल रहेका छन् ।   उनी पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत थिए ।   प्रहरीका अनुसार हिजो (बुधबार) बेलुकी करिब सवा ७ बजे सेतीको नहरमा युवक खसेको सूचनापछि सशस्त्र प्रहरी बल कालीका गणबाट उद्धार टोली खटिएको थियो ।    ४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पौडेलको शव करिब २० मिनेटमै फेला पारेको थियो ।   पौडेल नहरमा कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।  

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ ।  मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।       “जाडो महिनामा श्वासप्रश्वासजन्य सङ्क्रमणको दर बढ्नु स्वाभाविक मानिन्छ, मानव मेटाप्न्यूमो भाइरस नयाँ भाइरस होइन, जुन नेपालमा विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो, जसको परीक्षण, निगरानी र प्रतिकार्यका लागि आवश्यक क्षमता र तयारी नेपालले गरिसकेको छ”, विज्ञप्तिमा भनिएको छ ।       मन्त्रालयले यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको सङ्क्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्तिहरू, साना बालबालिका र वृद्ध व्यक्तिहरूमा मात्र हुने सम्भावना रहेको जानकारीसमेत गराएको छ ।  तथापि  मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरू र प्रयोगशालाद्वारा निगरानी तथा सजगता बढाइएको मन्त्रालयले जनाएको छ ।       एचएमपिभी, एम्प्क्सलगायत सङ्क्रामक रोगहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय (मास्क लगाउने, भीडभाडमा नजाने) अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।  यस्तै, बिरामीको नजिक÷सम्पर्कमा नजान, साबुन पानीले हात धुन र स्वास्थ्यमा समस्या आइपरेमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि मन्त्रालयले अनुरोध गरेको छ । 

पोखरा:  तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको जलपंछी गणनामा ५३ प्रजातिका जलपंछी फेला परेका छन् ।      टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनामा ५३ प्रजाति अभिलेख गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले जानकारी दिनुभयो ।      सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको जानकारी लिन, संख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्दै संरक्षणमा हातेमालोका लागि सन् २००४ बाट पोखरा उपत्यकामा जलपंछी गणना गरिंदै आइएको उहाँले बताउनुभयो ।      उहाँका अनुुसार पोखरा उपत्यका भित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपंछी गणना गरिएको थियो ।      गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुुई हजार १२ जलपंछी फेला परेका छन् । त्यस्तै बेगानास तालमा १४ प्रजातिका १५८, रुपा तालमा २६ प्रजातिका ३६४, गुँदे तालमा १३ प्रजातिका ३०१, खास्टे र न्युुरेनी तालमा १६ प्रजातिका १८९, दिपाङमा १३ प्रजातिका २१७, मैदीमा १० प्रजातिका १२१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ संख्यामा जलपंछी भेटिएका छन् ।      गणनाका क्रममा फेवा र दिपांग तालमा चराहरूको संख्या यस अघिकोमा केही बृद्धि भएको भने रुपा र मैदीमा बराबर तथा अन्यमा घट्दो अवस्थामा रहेको छ ।      पछिल्लो समयमा सिमसार संकुचित हुँदै जानु, मानवीय गतिविधिहरू बढ्नु, अवैध चोरी शिकार, ध्वनी प्रदुषण, वासस्थानको व्यापक विनाश, पंछी संरक्षणमा सचेतनाको कमी आदि कारणले केही तालमा थोरै बढेता पनि अन्यमा अघिल्लो वर्षको तुलनामा धेरै घटेको उहाँले जानकारी दिनुभयो ।      सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपंछी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको टाइगर माउन्टेन पोखरा लजका चरा विज्ञ एवम् क्षेत्रीय संयोजक झलक चौधरीले जानकारी दिनुभयो ।      उहाँका अनुुसार जलपंछी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाई सराई गर्ने र पानीमा र यस वरिपरी बस्ने चराहरुको संख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु रहेको छ । यसबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे जानकारी पाइने उहाँले जानकारी दिनुभयो । 

गण्डकी:    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् ।  आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभयो । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।  प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।  थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।  यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।  सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।  लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।