पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

काठमाडौं:     प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताउनुभएको छ । एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त  गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गर्नुभयो ।  “एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामी पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भन्नुुभयो, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।’’ स्वस्थ एवं रचनात्मक आलोचना पार्टीभित्र ग्राह्य हुने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने ढङ्गको गुटबन्दी र अराजकता कदापि स्वीकार्य नहुने अध्यक्ष ओलीले बताउनुभयो ।  उहाँले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेसको  सहकार्यमा बनेको वर्तमान सरकारले देश र जनताका पक्षमा हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  आफूहरु चुनावदेखि चुनावसम्मको ‘केवल’ सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका असल कामको प्रचार गर्न आव्हान गर्नुभयो ।  उहाँले असंलग्न परराष्ट्र नीति र सन्तुुलित छिमेक नीतिमा सरकार सदैव अडिग रहेको स्मरण गराउँदै छिमेकी देशको विकासबाट हामीले पनि लाभ लिनुपर्ने बताउनुुभयो । उहाँले देशको राजनीतिक नक्सामा समेटिएको नेपाली भूमि फिर्ता लिइने अठोट पनि व्यक्त गर्नुभयो । यही पुस २१ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र सङ्गठन सुधारका योजना पारित गरेर टुङ्गिएको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताउनुभएको छ ।  तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई आज सम्बोधन गर्दै उहाँले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताउनुभयो ।       बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताउनुभयो । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको जिकिर गर्नुभयो ।   छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन       बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संष्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ ।  छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने अध्यक्ष दाहालले घोषण गर्नुभयो ।  अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले छ महिने अभियान पनि अन्ततः महाधिवेशनकै तयारी हुने उहाँले स्पष्ट गर्नुभयो ।      माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।  त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।      बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिमरूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।  बैठकले विचार मिल्ने पार्टीसित एकताको तयारी गर्न उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरेको छ । समितिले चाँडै एकता वार्ताको पहल गर्ने निर्णय गरेको छ ।       बैठकले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘पार्टी रूपान्तरण र पुनर्गठनको सङ्कल्प, आजको ऐतिहासिक आवश्यकता’  शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ । सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी एक सय १८ जनाले सुझाव दिनुभएको थियो ।

ललितपुर:    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्ने बताउनुभएको छ । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टरको संयुक्त आयोजनामा आज यहाँ भएको ‘सङ्घीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक कार्यक्रममा उहाँले सङ्घबाट प्रदेश र स्थानीय तहलाई कानुन र कार्ययोजना बनाएर कानुनअनुसार काम गर्ने गरी सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।  “जनआक्रोशबाट मुक्ति पाउन सजिलोका लागि प्रदेशलाई अपजस बोकाउने काम भइरहेको छ, यो गलत छ । सङ्घीयता सबलीकरणका लागि सङ्घीय संसद्बाट सहजतापूर्वक कानुन बन्नुपर्छ”, महामन्त्री थापाले भन्नुभयो, “यसका लागि संसद्मा भएका विधेयकलाई चैत महिनाभित्र पारित गर्ने र बाँकी कानुनहरू संसद्मा पेस गर्नका लागि दलहरूको समूह बनेको छ ।” उहाँले सबै तहका सरकारले तीन वर्षभित्र प्रभावकारी सेवा प्रदान गरेर मतदातालाई उत्साहित गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।  मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घीयता सबलीकरणका लागि सङ्घले प्रदेश र स्थानीय तहलाई रचनात्मक सहयोग र समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सातै प्रदेशमा भएका अन्तक्र्रिया, त्यसमा उठेका सवाल तथा सुझावले आगामी दिनमा थप कार्य गर्न मार्गनिर्देश गर्ने बताउनुभयो ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव छविलाल विश्वकर्माले संविधानको मर्मअनुसार सङ्घीयता कार्यान्वयनमा देखिएका कमजोरी सुधार गरेर अगाडि जानुपर्ने बताउनुभयो ।  उहाँले एउटै प्रकृतिका योजना कार्यान्वयन गर्ने तीन तहका मन्त्रालय फरक हुँदा समस्या भएको र यसलाई सुधारका लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले सरकारको स्थायित्व नहुँदा योजना, नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समस्या हुने गरेको सुनाउनुभयो ।  बजेट बनाउने बेला एउटा र कार्यान्वयन गर्ने बेलामा अर्कै सरकार बन्ने प्रवृत्तिले सिर्जना हुने अन्यौलता हटाउन सबै दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।  कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) नेता महेन्द्रबहादुर शाहीले संविधानको मर्मअनुरुप तीन तहका सरकारको कार्यसम्पादनमा देखिएका जटिलता समाधानमा नेताहरुको चासो नरहेको गुनासो गर्नुभयो ।  संविधानप्रदत्त अधिकारअनुसार काम गर्ने वातावरण सिर्जना गर्न सङ्घीय सरकारले सहजीकरण र व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।  कार्यक्रमा जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य जयकान्त राउत, संविधानसभा सदस्य प्रह्लाद लामिछाने, फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष खिमलाल देवकोटा, डा दीपेन्द्र रोकायाले संविधान कार्यान्वयन, सङ्घीयतालगायत विषयमा आफ्नो धारणा राख्नुभएको थियो  ।

पोखरा:    आगामी पुष २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ ।  महोत्सव आयोजक युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।   पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा वोल्दै युनाईटेड क्लबका महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले १३ औं संस्करणको महोत्सवको पूर्व सन्ध्यामा युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबासको सिलान्यास समेत सम्पन्न भइसकेकाले १३ औं संस्करणको पोखरा महोत्सव पश्चात छात्राबासको कामको शुरुवात हुने बताए ।  पोखरा महोत्सवकै आम्दानीबाट १३ औं पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा र आसपासमा रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिसकेको र स्वास्थ्यको क्षेत्रमा विभिन्न दुर दराजका ग्रामीण भेगमा रहेकाहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले बताए ।  त्यसैगरी क्लबले खेलकुदको क्षेत्रमा आफै खेलकुदका प्रतियोगिता संगै खेलकुदका कार्यक्रमहरुमा प्रायोजन संगै सहयोगी संस्थाको रुपमा काम गर्दै आइरहेको बताउदै अध्यक्ष थापाले महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले हाल सम्म पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखाना निर्माणमा  ५८ लाख ८५ हजार हस्तान्तरण गरिसकेको र हाल उक्त परियोजना  गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला डिभिजन बन कार्यालयले स्वामित्व लिएर प्रदेश सरकारकै गौरवको आयोजना अन्तर्गत काम भइरहेको बताए ।  पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणको क्षेत्रमा समेत काम गर्दै आइरहेको र यस वर्ष पनि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने कार्यलाई निरन्ता दिएको छ ।  १३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर, प्रायोजकहरुमा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रीकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप (शिवचोक पोखरा १०), ओमडा जेको, भिजन लिंक कन्सल्टेन्सी प्रालि रहेका छन ।  महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन ।  महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ ।  महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन ।  महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुलक प्रवेश गराइने छ ।  १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ ।  महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणमा टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरुसँगै राष्टिय कलाकारहरुको सांगितिक प्रस्तुति रहनेछन् । १३ औं महोत्सवको थप आकर्षण र व्यवसायीक जानकारीको लागि अष्ट्रिच पंक्षीको प्रदर्शनी र जानकारी दिइने छ ।   

काठमाडौं:     उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कलाकारले कला संस्कृतिको प्रवद्र्धन गरेर मुलुकलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन मद्दत गरेका बताउनुभएको छ ।        नेपाल व्यावसायिक कलाकार सङ्घ (क्यान)को ३०औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवसका अवसरमा कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान कार्यकम’ मा उपप्रधानमन्त्री सिंहले कलाकारसँग भेट्न पाउँदा र सम्मान गर्न पाउँदा आफू हुर्षित हुने गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “जीवन नै कलाकारितामा समर्पण गरेर योगदान दिने स्रष्टालाई सम्मान गर्नुपर्दछ । कलाकारको योगदानको कदर जति गरे पनि कम हुन्छ । कलाकारलाई राज्यले सक्ने सहयोग गर्छ ।” पुरस्कारबाट पुराना कलाकारप्रति सम्मान हुनाका साथै नयाँलाई यस पेसाप्रति रुचि बढ्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।       सो अवसरमा ‘हेम–गङ्गा युवा कला प्रतिभा पुरस्कार’बाट केदार दाहाल, ‘हेम–गङ्गा नारी कला प्रतिभा पुरस्कार’बाट इन्दु पन्त, ‘क्यान आइडियल कला पुरस्कार’बाट विपिन श्रेष्ठ, ‘अमात्य कला पुरस्कार’बाट सुन्दर लामा, ‘मुल्मी ग्राफिक डिजाइन पुरस्कार’बाट राजन काफ्ले, ‘निर्वाण कला सम्मान’बाट स्मिता श्रीवास्तव र ‘सुरेन्द्र सम्मान दीर्घ कला–साधक सम्मान’बाट प्रा गोविन्दनारायण ज्यापूलाई पुरस्कृत गरिएको थियो ।      यसैगरी, ‘क्रोधकला शिरोमणि पुरस्कार’बाट मनबहादुर विक, ‘क्यान सिग्देल आर्ट पुरस्कार’बाट डा कृष्ण ओझा, ‘बालकृष्ण स्मृति कला पुरस्कार’बाट देवेन्द्र पौड्याल, ‘नारायणदेवी स्मृति पुरस्कार’बाट रवीन्द्र राजभण्डारी, ‘राजेश मानन्धर कार्टुन पुरस्कार’बाट पदम घले, ‘ज्ञानी शाह क्यान अमूर्त कला सम्मान’बाट रमेश खनाल, ‘ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कार’बाट भुवन थापा र ‘ऋचा मैनाली रिजाल स्मृति पुरस्कार’बाट प्राश्ना बुढा मगरलाई नगद राशिसहित पुरस्कृत गरिएको थियो ।

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।  समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो ।  घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो ।  “दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,” उहाँले भन्नुभयो, “ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।” हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् ।  आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।

सोलुखुम्बु:   भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ ।       खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिनुभयो । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए ।       प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक÷एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ ।       आज बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर  ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

काठमाडौं:   चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १ सय ३० जना घाइते भएका छन् ।  बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।  भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् । डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।

काठमाडौं:    चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ ।       नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिनुभयो । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उहाँले भन्नुभयो ।       यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताउनुभयो । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उहाँले भन्नुभयो, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”      नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिनुभयो ।        चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।