पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले पार्टीलाई उत्पादनसँग जोड्न अध्यक्षसहित सम्पूर्ण नेता कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।            राजधानीमा जारी आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक प्रस्तावमाथिको छलफलमा नेताहरुले प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्नेमा जोड दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।         बैठकमा आज ८० जनाले आफ्नो धारणा राख्नुभएको थियो । अधिकांश नेताहरुले कम्युनिष्ट पार्टीका नेताहरुको जीवनशैली पारदर्शी, उच्च नैतिक चरित्रवान्, जनताको मन जित्ने बोली र व्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।          नेताहरुले पार्टीलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने, पार्टीभित्रको दण्डहीनतालाई प्रश्रय दिन नहुने, पार्टीका सबै संरचनालाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखे ।  आसन्न निर्वाचन केन्द्रित रहेर मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उपत्यका र काँठ क्षेत्रमा जनजागरण अभियान सञ्चालन गर्नुपर्ने र पार्टी नेतृत्वको सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको पक्षमा थालेका अभियानबारे जनतालाई जानकारी गराउनुपर्नेमा जोड दिइएको प्रवक्ता सापकोटाले बताउनुभयो ।            पार्टीको महाधिवेशनका सम्बन्धमा नेताहरुले मिश्रित धारणा व्यक्त गरेका छन् । महाधिवशेन गर्नेमा सबै सहमत भएपनि कार्यतालिका तोक्ने विषयमा नेताहरुको धारणा बाझिएको छ । कतिपय नेताले विशेष महाधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिए ।  नेताहरुले अध्यक्ष दाहालद्वारा प्रस्तुत प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेको र यसले पछिल्लो राजनीतिक अवस्थालाई सही ढङ्गबाट विश्लेषण गरेको टिप्पणी गरेका छन् ।          आइतबारदेखि सुरु भएको बैठक मङ्गलबार बिहान ११ बजे पुनः बस्नेछ । आज बैठकको प्रारम्भमा अध्यक्ष दाहालले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी सम्बन्धी मुद्धामा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपको उपाधि नदिएर ठगी गरेको आरोपमा आइतबार २ जनालाई पक्राउ गरेको हो ।  पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीपका सञ्चालक तथा निर्देशक अछाम घर भई पोखरा ६ जरेबर बस्ने ३१ वर्षीय जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष पोखरा प्रस्याङ बस्ने २९ वर्षीय सोनिक क्षेत्रीलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  उनीहरुले पोहोर चैत २३ र २४ गते पोखरा राईडर्सको आयोजनामा पोखरा–२३ बाम्दीमा पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप २०८१ सञ्चालन गरेर प्रतियोगीबाट दर्ता शुल्क बापत १७ हजार लिएर विजेता हुने खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार घोषणा गरेपनि आयोजक पुरस्कार रकम नदिइ सम्पर्क विहिन भएको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:     चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले १५ हजार ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद गरेको छ ।       प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएका प्रहरीले सुनौलीबाट काठमाडौँतर्फ आउँदै गरेको लु।२ ख ६८१८ नम्बरको बस जाँच गर्ने क्रममा डिकीमा राखी ल्याएको उक्त परिमाणको लागुऔषध फेला पारी आज बरामद गरेको हो ।      उक्त लागुऔषधबारे अनुसन्धान गर्ने क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने २७ वर्षीय किरण श्रेष्ठको संलग्नता रहेको सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई गोंगबुस्थित नयाँ बसपार्कबाट पक्राउ गरेको छ ।

काठमाडौं:    सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।  न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकामा थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा आज निवेदन दर्ता गराउनुभएको थियो ।  सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सोही निवेदनमाथिको सुनुवाइपछि थप कागजात मगाउने आदेश गरिएको जानकारी दिनुभयो ।      यसअघि गत असार १४ गते थापालाई सो प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले निजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो निर्णयविरुद्ध थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।  उच्च अदालतले पनि जिल्लाकै निर्णयलाई सदर गरेपछि निजले धरौटीमा रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।

काठमाडौं:    सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि  यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी  साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी गराएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ । सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यस विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, संचालन खर्च, हाककट्टी र संचालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका  गरिएको विभागले जनाएको छ । सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस विभागको मिति २०८१-०९-२२ को निर्णयानुसार आजै बाट लागु हुने बताइएको छ । हेर्नुहोस कहाँ कति सूची    

मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक युवकको ज्यान गएको छ ।   मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर शनिबार पोखरा महानगरपालिका—३० गगनगौंडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।   ठकुरी व्यापार व्यवसायका क्रममा मुस्ताङको जोमसोममा बस्दै आएको त्यहाँका पत्रकार सुन्दरकुमार थकालीले बताए ।   जोमसोम स्थित नेपाली सेनाको क्याम्प अगाडी ईलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाईटीको भवनमा भाडामा बस्दै आएका थिए । कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडीको झोलुङ्गे पुल प्रयोग गर्ने गर्दथे ।   पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्दार गरी जोमसोम अस्पताल लगेको थियो । ठकुरीलाई अस्पताल लग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।   पुलबाट खसेर मृत्यु भएका ठकुरीको आइतबार पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाइसकिएको छ ।

काठमाडौं:   विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।  भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई आज बिहान पक्राउ गरिएको हो ।  प्रहरीले  सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको नि:शुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ ।       कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गर्नुभयो ।       कान्ति बाल अस्पतालमा भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको विषयमा आफू जानकार रहेको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “अस्पतालले हाल सीमित स्रोत र साधनका बावजुद गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ, यसैका कारण धेरैको विश्वास कान्तिमा छ”, उहाँले भन्नुभयो ।       त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले कान्ति अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।       “अस्पतालमा शय्याको सङ्ख्या बढाए पनि बिरामीको चाप कम भएको छैन”, उहाँले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप कम गर्न प्रत्येक प्रदेशमा एक सयदेखि तीन सय शय्यासम्मको बाल अस्पताल निर्माण गर्नुपर्छ ।”      अस्पताल विकास समितिका अध्यक्ष श्रीराम सुवेदीले अस्पताल चिकित्सा क्षेत्रको राष्ट्रिय सम्पदाका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पतालले उपचार सेवामा विविधिकरण र विशिष्टीकरण गरेको छ । हाल १४ वर्ष मुनिका उपचार गर्ने बालबालिकाको सङ्ख्या २८ प्रतिशत छ । यो समूहलाई उपचार सेवा दिएर ठूलो सेवा गरेको छ ।”      उहाँले बिरामीको चापको अनुपातमा भौतिक संरचना र जनशक्ति कम रहेको बताउनुभयो । अस्पतालले वार्षिकोत्सवको अवसरमा वायु गुणस्तर मापन उपकरण जडान गरेको उहाँले जानकारी दिनुभयो ।       अस्पतालका निर्देशक डा पङ्कज रायले अस्पतालमा हाल जनशक्ति र भौतिक पूर्वाधारमा कमी रहेकाले सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।       “अस्पतालमा अहिले पनि शल्यक्रियाका लागि पालो पर्खिनुपर्ने अवस्था छ । सघन उपचार कक्ष पनि थप गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “अस्पतालको वृहत गुरुयोजना अनुरुप विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)को काम सुरु भइसकेको छ ।” उहाँले थप स्रोत जुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कतार दूतावाससँग पहल गरिरहेको जानकारी दिनुभयो ।             देशको एकमात्र सरकारी केन्द्रीय तथा रिफरल बाल अस्पतालका रुपमा रहेको कान्ति बाल विसं २०१९ पुस २२ गते स्थापना भएको हो । तत्कालीन समयमा ५० शय्याबाट सुरु भएको यस अस्पतालमा हाल तीन सय ७२ शय्या छन् ।  अस्पतालले आर्थिक वर्ष २०८०/८१ म एक लाख ८० हजार बालबालिकालाई सेवा उपलब्ध गराएको सो अवसरमा जानकारी दिइयो ।

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले देशको लोकतान्त्रिक आन्दोलन मात्र नभएर  सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासङ्घले पु¥याएको योगदान सराहनीय रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्वतन्त्र, निष्पक्ष एवं व्यावसायिक पत्रकारिता तथा जनताको सूचनाको हक लोकतन्त्रको आधारस्तम्भ भएकाले हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । त्यही भएर लोकतन्त्रको सृदृढीकरण र यसको स्थायित्व पनि पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्छ भन्ने म ठान्दछु ।” राष्ट्रपतिले सूचनाप्रविधिको क्षेत्रमा भएको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तनले पाठकको सही सूचना पाउने चाहना पूरा गर्न सहज भएको बताउनुभयो ।  उहाँले सूचना प्राप्ति र सम्प्रेषणमा सहज भएसँगै चाँडो सूचना दिने होडबाजीमा मिथ्या सूचना प्रवाह हुनसक्ने र त्यसले समाजलाई दिग्भ्रमित पार्नसक्ने जोखिमतर्फ आमसञ्चारका माध्यमहरू सचेत हुन जरुरी भएको बताउनुभयो । राष्ट्रपतिले उपलब्ध नवीन सूचना प्रविधिको अधिकतम प्रयोगसँगै राज्यको चौथो अङ्गका रुपमा रहेका  सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठताजस्ता व्यावसायिक धर्मको अधीनमा रही सत्यको अन्वेषण र त्यसको सम्प्रेषणमा वर्तमानमा देखिएका चुनौतीलाई चिर्दै सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।  राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र व्यावसायिक पत्रकारिताका लागि महासङ्घले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।